१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सपनाको स्वास्थ्य शक्ति

सामान्य आयु भएको मानिसले आफ्नो जीवनकालको करिब २६ वर्ष सुतेर बिताउँछ। अनि २६ वर्षको सुताइ अवधिमध्ये झण्डै ६ वर्ष मानिसले सपना देख्छ। प्रत्येक रात स्वस्थ मानिसले सपनाको ५ चक्र पूरा गर्छ भन्छ अध्ययनले। यसरी मानिसले आफ्नो जीवनको लामो अवधि सुत्नमा बिताएको पाइन्छ, सपना देख्छ। सुत्न मानिसले खर्चिने लामो समय उत्पादनशील काममा लगाउन सके उत्पादकत्व बढथ्यो, उन्नति/प्रगति हुन्थ्यो भन्ने सोच हुनु अन्यथा होइन। प्राचीनकालदेखि नै निदाउनुलाई थकान मेटाउने कार्य मानियो अनि धेरै अध्ययनले सुत्दा विभिन्न किसिमको शारीरिक फाइदा हुने, प्रतिरोधात्मक क्षमता बढ्ने देखाएको छ। तर सपनाले यथार्थमा के गर्छ त भनी लामो समयसम्म खासै जानकारी थिएन। केही समुदायले सपनालाई भविष्यवाणीका रूपमा हेर्ने गरेका भए पनि त्यसको वैज्ञानिक कारणको अध्ययन गर्न भने लामो समय कुर्नुपर्‍यो। सपनाका सम्बन्धमा भएका अध्ययनको जानकारी गराउनु यो लेखको उद्देश्य हो। 

निदाउनु शारीरिक स्वास्थ्यका लागि आवश्यक छ भने सपनासहितको सुताइ मानसिक तथा ‘फिजिकल हेल्थ’ दुवैका लागि लाभप्रद् देखिएको छ। 

मानव शरीरमा झण्डै ९० अरब स्नायु (न्युरोन) कोस हुन्छन्। जीवनको विभिन्न चरणमा हाम्रा साथी बन्ने र टाढिने क्रम निरन्तर चलेझैं स्नायु प्रणालीका अरबौँ कोस एकअर्कासँग जुटने र छुट्टिने क्रम चलिरहन्छ। कुनै मित्रता दीर्घकालीन अनि कुनै क्षणिक भएझैं स्नायु कोसका समागमसमेत कुनै कमजोर अनि कुनै स्थायी प्रकृतिका हुन्छन्। न्युरोनका कमजोर संसर्गले सूक्ष्म स्मरण शक्ति दिन्छ भने दह्रो बन्धनले दीर्घ स्मरण राख्छ। ब्रेनका कोसहरू एकापसमा जुट्ने र छुट्टिने प्रक्रियालाई वैज्ञानिक भाषामा ‘ब्रेन प्लास्टिसिटी’ भनिन्छ। ‘ब्रेन प्लास्टिसिटी’ का कारण स्मरण क्षमता अस्तित्वमा आउने हो। कुनै निश्चित घटना स्मरणका खातिर जुटेका न्युरोन पछिल्ला दिनमा छुट्टिँदा उक्त परिदृश्य हाम्रो दिमागबाट हराउँछ। तर महत्वपूर्ण घटना स्मरणका लागि जुटेका न्युरोनका बन्धन जिग्री दोस्तको सम्बन्ध जस्तो बलियो हुन्छ अनि त्यस्ता परिदृश्य हाम्रो दिमागमा चिरस्थायी हुन्छ।  

समाजमा जन्मँदै आँखा नदेख्ने मानिसको समेत स्मरण क्षमता राम्रो देखिन्छ। एक पल्ट सुनेको कुरा लामो समयसम्म उसको स्मरणमा रहन्छ। आखिरमा त्यस्तो किन हुन्छ त ? सहजै भेटियोस् भन्नाका लागि घरायसी सामान भवनको विभिन्न भागमा भण्डारण गरेझैँ हामीले देखेका, सुनेका, भोगेका र पढेका कुराहरूसमेत मस्तिष्कको भिन्न–भिन्न भागमा ‘स्टोर’ हुन्छन्। भण्डारणका कारण आवश्यकताअनुसारको सामान घरायसी प्रयोजनका लागि सहजै निकाल्न सकिएझैं विगतको अनुभव हाम्रो मस्तिष्कबाट अविलम्ब निस्कन्छ।  

अन्धो मानिसले आफ्नो नजिकको चिजबिजलाई ‘इकोलोकेसन’ मार्पmत पहिल्याउँछ। ‘इकोलोकेसन’ विधिमा व्यक्तिले निकाल्ने सुस्केरा नजिकको वस्तुमा ठोक्किँदा पैदा हुने प्रतिध्वनिका आधारमा मानिसले चौतर्फी चिजबिज ठम्याउने हो। आवाज कुनै पनि वस्तुमा ठोक्किँदा पदार्थको चरित्रका आधारमा फरक फरक प्रतिध्वनि निस्कने भएकाले सुरदासले खाली बाटो, बस, कार तथा अन्य जीव ठम्याउँछ। ‘इकोलोकेसन’ विधिमा दृष्टिबिहीन मानिसले केबल वस्तुको पहिचानमात्र होइन बरु चिज कति टाढा छ भनी ठम्याउँछ। धेरै वर्षअघिदेखि नै आँखा नभएका व्यक्तिले कसरी मनको नजरले हेर्छ भन्ने ठहर भए पनि कसरी अन्धो मानिसले त्यस्तो शक्ति प्राप्त गर्छ त भन्ने प्रश्नको उत्तर भने सहज छैन।  

हाम्रो आखाले देखेका कुरा स्मरणका लागि मस्तिष्कको ‘भिज्युयल कर्टेक्स’ मा स्टोर हुन्छ। त्यसैले जन्मँदै आँखा नदेख्ने मानिसको ‘भिज्युयल कर्टेक्स’ खाली हुनुपर्ने हो। तर वैज्ञानिक उत्खननमा त्यसो देखिएन। जन्मै आँखा नदेख्ने व्यक्तिको समेत ‘भिज्युयल कर्टेक्स’ भागमा ‘मेमोरी’ ‘स्टोर’ भएको पाइयो। आखिर त्यसो किन हुन्छ त भनी अध्ययन गरियो। 

सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गर्छ।   

वैज्ञानिक उत्खननका लागि स्वस्थ स्वयमसेवकहरू छनोट गरियो। अनि, सहभागीहरूलाई दुई भागमा विभक्त गरियो। एक समूहका सहभागीहरूको महाभारतकी गान्धारीझैं कालो कपडाले आँखा छोपियो भने अर्को समूहलाई यथास्थितिमा राखियो। अनि, दुवै पक्षलाई अन्धाको ‘ब्रेल भाषा’ पढाइयो। ब्रेल अध्ययनका क्रममा आँखा छोपिएका समूह अर्को पक्ष भन्दा अबल देखिए, जाँचमा राम्रो गरे। आँखामा पट्टी बाँध्ने शिष्यलाई अधिक चलाख देख्दा अनुसन्धानकर्ता चकित परे अनि ‘बायोलोजिकल’ कारण खोजियो। ब्रेल सिकाइका क्रममा गान्धारी ढाँचाका सहभागीको दिमागको क्रियाकलाप अध्ययन गर्दा हेराइले मात्र क्रियाशील हुने ‘भिज्युयल कर्टेक्स’ अर्को समूहको भन्दा अधिक सक्रिय देखियो। खुला आँखा भएका व्यक्ति भन्दा आँखामा पट्टी बाँधेका व्यक्ति ‘ब्रेल लिपि’ अध्ययनका क्रममा अधिक सफल देखिएको परिदृश्यलाई ‘भिज्युयल कर्टेक्स’ को अस्वाभाविक क्रियाशीलताले एकीन गर्‍यो। ‘बायोलोजिक स्टडी’ ले आँखा बन्द हुँदासमेत दिमागी आँखा क्रियाशील हुन्छ भन्ने पुष्टि गर्‍यो।  

उल्लिखित अध्ययनमा ‘भिज्युयल कर्टेक्स’ को क्रियाशीलताले दिमागी दृष्टिका लागि बाहिरी आँखा खुला हुन आवश्यक छैन भन्ने मान्यता स्थापित भयो। थप उत्खननका लागि सुताइ र सपनीका बखत मस्तिष्कमा के÷कस्तो परिवर्तन आउँछ त भनी एकीन गर्न वैज्ञानिकहरू अनुसन्धानमा लागे। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका ‘न्युयोलोजी’ का प्राध्यापक डेभिड इगलम्यानको विचारमा सपना देख्दा ‘भिज्युयल कर्टेक्स’ अत्यधिक क्रियाशील हुन्छ र उक्त प्रक्रिया दिमागी स्वास्थ्यका लागि अति आवश्यक छ। सुतेका बखत सपना नदेख्ने हो भने ‘भिज्युयल कर्टेक्स’ लामो समयसम्म निष्क्रिय हुने अनि त्यसले ‘ब्रेन प्लास्टिसिटी’ मा नकारात्मक असर पार्ने ठान्छन् डा. इगलम्यान। देखेको सपना जागा भएपछि स्मरणमा नआउने भए पनि सबै स्वस्थ व्यक्तिले अनवरतरूपले सपना देख्छन् र उक्त विधि मानसिक स्वास्थ्यका लागि आवश्यक छ भन्ने कुरा धेरै अध्ययनले पुष्टि गरे। त्यसैले सपना देख्नुलाई ‘डिफेन्सिभ ब्रेन एक्टिभिटी’ भनिन्छ।  

सुतेका बखत प्रत्येक ९० मिनेटमा मानिसको आँखा अत्यधिक चलायमान (र्‍यापिड आइ मोभमेन्ट) हुन्छ अनि त्यसबेला व्यक्तिले सपनी देख्छ। र्‍यापिड आइ मोभमेन्ट र सपनाका बीच प्रत्यक्ष सम्बन्ध देखिएको थियो। सपना देखेका बखत स्नायु प्रणालीका विशिष्ट कोसलगायत ‘भिज्युयल कर्टेक्स’ समेत क्रियाशील हुने भएकाले सुत्दासमेत आन्तरिक आँखा खुला हुन्छ। ‘भिज्युयल कर्टेक्स’ को क्रियाशीलता ‘ब्रेन हेल्थ’ का लागि अत्यावश्यक हुने भएकाले सपनी देख्नु प्रकृतिको बवरदान मान्छन् युनिभर्सिटी अफ् क्यालिफोर्निया लस एन्जलसका वैज्ञानिक डा. डान भाउन। उमेरको बढोत्तरीसगै ‘र्‍यापिड आइ मोभमेन्ट’ चक्र कमजोर हुँदै जान्छ। परिणामस्वरूप वृद्धावस्थामा सपना कम देख्ने अनि अन्ततः दिमागी शक्ति कमजोर हुँदै जाने ठान्छन् अनुसन्धानकर्ताहरू।  

प्राध्यापक इगलम्यानलगायतका वैज्ञानिक समूहले मस्तिष्कको विकास र सपनाबीच कुनै सम्बन्ध भए/नभएको ठम्याउन बाँदरका २५ जातिलाई जन्मदेखि मृत्युसम्म अध्ययन गरे। ‘र्‍यापिड आइ मोभमेन्ट’ का बखत सपनी देख्ने भएकाले उक्त प्रक्रियालाई अध्ययनको मुख्य आधार बनाइयो। बाँदरमा गरिएको अध्ययनले अत्यधिक सपना देख्ने प्रजातिका जन्तु बौद्धिकरूपले चलाख पाइए। बाँदर र मानव धेरै हिसाबले समान भएको ‘प्राइमेट्स’ मा गरिएको उक्त अध्ययन सार्थक देखियो।  

जन्मै अन्धो व्यक्तिको ‘ड्रिम (सपनी) सर्किट’ सकुशल हुँदैन। त्यसैले आजन्म आँखा नदेख्ने व्यक्तिले सामान्य व्यक्तिको जस्तो ‘मुभी’ प्रकृतिको सपना देख्दैन बरु अन्य ज्ञानेन्द्रिय अनुभूति दर्शाउने ‘ड्रिम’ देख्ने हो। सूरदाशमा कानले सुनेका तथा स्पर्शमा आधारित सपनीको चरित्र हुनु अस्वाभाविक भएन। तर बायोलोजिक उत्खनन गर्दा अन्धोले देख्ने विशेष प्रकृतिको सपनाले समेत आँखाको ज्योतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने दिमागको ‘भिज्युयल कर्टेक्स’ लाई नै क्रियाशील गर्ने भएकाले आजन्म अन्धो व्यक्तिको समेत दिव्य दृष्टि भने सकुशल रहन्छ भन्ने मान्यतालाई थप बल दियो।  

सुत्नु स्वास्थ्यका लागि अत्यावश्यक छ। दैनिकरूपले ६ देखि ८ घण्टा निदाउने व्यक्ति मानसिक तथा शारीरिकरूपले स्वस्थ हुन्छ भनी धेरै अध्ययनले देखायो। निदाउनु शारीरिक स्वास्थ्यका लागि आवश्यक छ भने सपनासहितको सुताइ मानसिक तथा ‘फिजिकल हेल्थ’ दुवैका लागि लाभप्रद् देखियो। सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गरेको छ। स्वस्थ शरीर तथा दिमागका लागि पर्याप्त निद्रा र सपना आवश्यक देखिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७८ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App