७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

कोरोना, सत्ता लुछाचुँडी र देशको भविष्य

एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्। रोग हो कि समवेदना हो कि संवेदनहीनता हो ? छुट्ट्याउनै गाह्रो भएको छ। मृतकको फोटो पोस्ट गर्नेको प्रतिस्पर्धा छ। मानौँ दिनको उदय र अस्तय श्रद्धाञ्जली र समवेदनामा समावेश भएको छ। सबै थोक अभाव छ। अभावकै कारण छटपटी छ। राज्यका नाइकेहरूको गैरजिम्मेवारपनबाट मानिस निराश छन्। आक्रोशित छन्। दशकौँदेखि जीवनले अपनाउँदै आएको दिनचर्या फेरिएको छ। बेलाबेलामा घर नजिकैको सडकमा सुनिने राज्यका आदेशात्मक र अनुरोधात्मक आवाजहले एकैछिन सबैलाई आफ्ना तल्लीनताबाट विच्छिन्न गराउँदैछ। खोप वितरणमा व्यापक पक्षपात र धाँधली देखिएको छ। राज्यको जिम्मेवार तह नै यसमा संलग्न भएका कारण झन् झन् मानिस आक्रोशित हुँदैछन्।  

२०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको विषयमा परेको मुद्दामा कैयौँ दिन लगाएर गरिएको सर्वोच्च अदालतको सुनुवाइ र फैसलापछि पनि राजनीतिक जटिलता उही छ। सरकारको तानाशाही प्रवृत्तिमा रोक लागेको छैन। जसरी पनि आफ्नो सत्ता जोगाउन गरिएका हर्कतहरू दिनहुँ फेरिँदै प्रकट हुँदैछन्। विदेशीको चासो बढ्दो छ। नेपालमा भन्दा छिमेकीमा नेपालबारे बढी चासो र चिन्ता प्रकट भएका छन्। कूटनीतिक सेवाका अनुभवीहरू नेपालबारे लेख प्रकाशन गर्न र अन्तर्वार्ता दिन व्यस्त छन्। दलका कार्यकर्ता गहकिला अध्ययन र विश्लेषण भन्दा हलुका र गालीगलौजपूर्ण अभिव्यक्तिको वर्षा गराउँदै छन्। राजनीतिदेखि निराश भएका गीत बनाएका छन्। कविता लेखेका छन्। व्यङ्गयोक्तिहरू धमाधम सेयर गरिँदैछन्। बौद्धिक बहस भन्दा पनि एकअर्कामाथि खनिएर मानमर्दन गर्ने अभ्यास विकसित भएको छ। कसैलाई सत्ताको चाकरी गरेर भक्तिभाव प्रकट गर्नु छ। विवेक बन्धक राखेर लेख्ने/बोल्नेहरू सञ्जालमा बुर्कुसी मार्दैछन्। सत्ताका सञ्चालक भन्दा उनका अन्धभक्त र स्वार्थी समूहको व्यवहार चर्को भएको छ। संयम गुमाएको जस्तै छ। लड्न/भिड्न तयार भएको जस्तो छ। समग्रमा मुलुक एउटा द्वन्द्वको गोलचक्करमा फस्दै गएको छ। घर परिवारभित्रै विवाद चर्किएका छन्। गालमुखालका स्टाटस र लाइक कमेन्टहरूको बाढी नै चलेको छ।

जसरी पनि आफ्नो सत्ता जोगाउन गरिएका हर्कतहरू दिनहुँ फेरिँदै प्रकट हुँदैछन्।

पहिले पहिले नेताहरूमा टकराव हुँदा पनि कार्यकर्ताले र दोस्रो/तेस्रो तहका नेताहरू उनीहरूबीच मेल गराउँथे तर यस पटकको राजनीति यति गिजोलिएको छ कि केही नेतालाई छाडेर सबै आफ्नो पोजिसन बनाएर बसेका छन्। अस्वाभाविक र स्वार्थ केन्द्रित रहेर गरिएको भनिएको कथित एकीकरण करिब तीन वर्षको अवधि पनि पार नहुँदै विवादको भूमरीमा फसेर पुनः विभाजित हुन पुगेको छ। यसबीचमा नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेकामा नेकपा एमाले पनि करिब करिब फुटको संघारमा पुगेको छ। जसले गर्दा नेपालको राजनीतिक इतिहासमै चरमचुलीमा पुगेको वामपन्थको विकास एकाएक विलय र विसर्जनतर्फ उन्मुख हुँदै गएको छ। प्रारम्भमा सरकार गठनको प्रभावको हिसाबले कुनै भूमिका नरहेको जनता समाजवादी पार्टी (जसपा) त फुटेको जस्तो देखिइ नै सक्यो। औपचारिकता पाउन मात्र बाँकी छ।  

हेर्दाहेर्दै करिब दुईतिहाइको प्रचण्ड बहुमत भएको नेकपाको सरकार अहिले प्रारम्भमा प्रभाव नै नभएका पार्टीहरूको फेर समातेर त्यस्ताको वैशाखी टेकी रक्षात्मक अवस्थामा उभिने कोसिस गर्दैछ। दुईतिहाइको बहुमतको धाक र रवाफ क्रमिकरूपमा घट्दै गएर अब प्रधानमन्त्रीको कुर्सी बचाउनका लागि केपी ओली राजनीतिक गालीगलौजको वर्षा गराउँदैछन्। उनको मनस्थिति अहिले पराजयको भयले विक्षिप्त जस्तै भएको छ। एउटा तानाशाहको पतन हुँदा उसका वरिपरिका चाकडीबाजहरू जसरी मरेको बाख्रालाई उपियाँले छाडेर हिँड्छ त्यसै गरी उनलाई छाड्ने मनोभाव तयार भएको देखिँदैछ। ओली पतनोन्मुख हुँदै जाँदा नाङ्गोरूपमा भारतपरस्त देखिएको उदाहरणमा नागरिकता अध्यादेश, चुरे क्षेत्रबाट बालुवा गिटी निकासी गर्ने बजेटको कार्यक्रम र पछिल्लो मन्त्रिपरिषद्को हेरफेरले देखाएको छ।  

केपी ओलीका हर्कतहरूको विरोध गरिरहेका माधव/झलनाथहरू पनि अहिले ओलीको चर्तिकला खप्न नसक्ने देखेर बरू बेग्लै दल दर्ता गर्ने र प्रचण्डसँग चुनावी एकता गरेर चुनाव लड्ने तयारी गर्दै गरेका देखिएको छ। तथापि यो निष्कर्षमा पुग्न उनीहरूलाई ओलीले फालेका एकताको प्रस्तावले रोकिरहेको छ। २०७५ जेठ २ गतेको स्थितिमा पार्टीलाई फर्काउन ओली तयार भए ओलीका सबै हर्कतलाई तिलाञ्जली दिएर उनका ती सबै स्वीकार गर्दै पार्टी एकजुट बनाउने भावनात्मक खेलको साङ्लोमा कार्यकर्तालाई बाँध्ने नाटक पनि मञ्चन हुँदैछ। यसरी एकता भएको अवस्थामा समेत शासन सञ्चालन गर्ने अहिलेको प्रवृत्तिमा कुनै तात्विक अन्तर आउन सक्ने अपेक्षा गर्नुपर्ने आधारहरूसमेत देखिएका छैनन्। जसले गर्दा त्यस्तो एकताले रूपन्तारणको प्रक्रियालाई अझ लम्ब्याउने काममात्र हुनेछ।

मोहनविक्रम, मोहन वैद्य, नेत्र विक्रम, ऋषि कट्टेललगायतका वामपन्थी शक्तिहरू आफूलाई असली कम्युनिस्ट देखाएर ओली, प्रचण्ड र माधव झलनाथहरूविरुद्घ मोर्चाबन्दी गर्ने सम्भावना पनि देखिँदैछ। तर प्रचण्डले नेतृत्व गरेको क्रान्तिकारी धारको तत्कालीन माओवादी पार्टीले त्यत्रो जनयुद्ध सञ्चालन गरेको पृष्ठभूमि हुँदाहुँदै त आफ्न लडाकु र पार्टीका नाममा उठेका चन्दा तथा लुटको सम्पत्तिको ठूलो हिस्सा आफू र आफू वरिपरका स्वार्थी समूहबीच बाँडेर खाएको आरोपदेखि सामन्ती शैलीमा आफूलाई रूपान्तरण गरेको आरोपसमेत प्रचण्डले बेहोरेको अवस्थामा तेस्रो धार निर्माण गर्ने यिनीहरूको प्रयासमा समेत जनताले तत्काल विश्वास गर्ने आधार देखिँदैन। उनीहरूको क्रान्तिको अलाप अझै नसेलाएका कारण मानिस उनीहरूप्रति विश्वस्त हुन सकेका छैनन्।  

नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवा जस्ता विकृति, विसंगति र सत्ता मोहको पृष्ठभूमि बोकेका व्यक्तिले गरिरहेको, उनलाई टक्कर दिन सक्ने शक्ति समूह निर्माण गर्न उनका आलोचकहरू असफल भइरहेको अवस्थामा संस्थापन पक्ष नै अझै केही समय नेतृत्व गर्ने अवस्थामा देखिएकाले नेपाली कांग्रेसले पनि आफूलाई रूपान्तरण गर्न सक्ने क्षमता देखाउन सकेको छैन।  

यस्तो अवस्थामा नेपाली जनताको निराशा र आक्रोशको मनोभावनालाई प्रतिनिधित्व गर्ने एउटा लोकतान्तिक शक्ति निर्माणका लागि अनुकूल अवस्था सिर्जना भएको छ। तथापि अहिलेसम्मको पछिल्लो तीन दशकको राजनीतिक असफलताका आधारहरू केलाएर त्यस्तो विकृति/विसंगतिरहित राजनीतिक अभ्यास गर्ने शक्ति निर्माणमा केही व्यक्तिका सोच यदाकदा वैचारिकरूपमा सम्म प्रकट भए पनि त्यसलाई नेतृत्व दिएर कार्यरूपमा उतार्ने शक्ति निर्माण हुन सकेको छैन।  

यो राजनीतिक परिदृश्यले गर्दा र हिजोको परिवेशलाई चाँडै भुल्ने स्वभाव भएका नेपाली जनता निराशा र आक्रोशको झोकमा राजतन्त्रको पुनस्र्थापनातर्फ आकर्षित हुन थालेका देखिँदैछ। खासगरी छिमेकी मुलुक भारत र चीन–अमेरिकालगायत अन्य पश्चिमा शक्तिलाई पनि समयअनुकूल आफ्नो स्वार्थ सिद्धिका लागि गुहारेर सरकार बनाउने र गिराउने खेलका खेलाडीदेखि वाक्कदिक्क भएका व्यक्तिहरू त्यस्तो क्रियाकलाप भविष्यमा नदोहोरियोस् भन्ने उद्देश्यले पनि राजाको भूमिकाको अपेक्षा गर्न थालेका छन्। राजालाई नेतृत्वमा राखेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पल्केका पुराना पञ्च पृष्ठभूमिका व्यक्तिहरूले राजाको आगमनमा आफ्नो उपल्लो सफलता देख्नु झन् स्वाभाविक भएको छ।

यसले गर्दा अबको राजनीति राजाको अजेन्डालाई कसले कति आकर्षक ढंगले प्रस्तुत गर्न र राजाको आडमा आफू कसरी शक्तिशाली बन्न सकिन्छ भन्नेतर्फ स्वयम् सत्तामा रहेकै खेलाडीहरू पनि आकर्षित हुँदै गएको देखिन्छ।  

अहिलेसम्म राजनीतिक सत्ताले सिर्जना गरेको दण्डहीनता, सत्ताका सञ्चालकहरूले जस्तोसुकै कुकर्म गरे पनि पाइरहेका उन्मुक्ति र व्यक्तिको दोष पन्छाउँदै उसलाई उसले गरेको दोषप्रति जिम्मेवार बनाउनु सट्टा शासन प्रणालीमा परिवर्तन गर्दै जाने अहिलेसम्मको परिपाटीलाई हामीले पुनर्विचार गर्नुपर्ने भएको छ। स्वच्छ, पारदर्शी तथा उत्तरदायी शासन प्रणाली अपनाउन के/कस्ता आधार सिर्जना गर्नुपर्छ भन्नेतर्फ र देश सुहाउँदो निर्वाचन प्रणाली के/कस्तो बनाउनुपर्छ भन्नेतर्फ समेत बहस चल्न सकेको छैन। वैकल्पिक शक्ति निर्माणमा रुचि देखाउँदै आएका दलहरूसमेत सत्ताको पुरानै शैलीमा भुलिरहेका छन्। उनीहरूले जनताको मन जित्ने कुनै आकर्षक नारा, अभियान वा पहलकदमी लिन सकेका पनि छैनन्। अहिलेसम्मको अनुभव हेर्दा प्रणाली भन्दा पनि सत्ता सञ्चालनमा गएका व्यक्तिमा सवार हुने शक्ति उन्माद, सामन्ती संस्कार र पदको दुरूपयोग गर्ने प्रवृत्ति नै देश रूपान्तरण हुन नसक्नुको प्रमुख कारण बनेको छ।  

यी सम्पूर्ण कुरातर्फ छलफल र बहस गरेर अगाडि नबढेसम्म नेपालको राजनीति दिन/प्रतिदिन ओरालो लाग्दै गई अन्ततः मुलुकको अस्तित्व रक्षासम्म गर्न नसक्ने दिशातर्फ गइरहेको हुनाले सबै सचेत हुनुपर्ने अवस्था आएको छ। सबैलाई चेतना भया।  

(वरिष्ठ अधिवक्ता)

प्रकाशित: २४ जेष्ठ २०७८ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App