१० असार २०७८ बिहीबार
विचार

हामी खोप कहिले लगाउने ?

म जे गर्न लागिरहेकी छु, त्यो गर्न विवश छु। त्यो भन्दा अर्को उपाय मसँग छँदै छैन। जे गर्दा पनि हुँदै भएन। अनि म यही गर्दैछु। चारैतिर हेर्दै सुटुक्क म त्यो कोठाभित्र पसेँ। भित्ते घडी ठूलो आवाजले टिक्टिक् गरेजस्तो लाग्यो। मुटुमा हात राखेँ– एकीन भयो, त्यो जोड–जोडको आवाज घडीकै रहेछ। सुस्त पाइला चाल्दै कोठाको कुनामा राखेको ठूलो रेफ्रिजेरेटरसम्म पुगेँ। लामो सास फेरेर रेफ्रिजेरेटरको ढोका बिस्तारै खोलेँ। मैले खोजेको ‘सञ्जीवनी बुटी’ मेरो आँखाअगाडि चम्किरहेथ्यो। ‘सञ्जीवनी बुटी’ लाई सानो कालो हातेझोलाको भित्री गोजीमा जतनसाथ राखेँ। हिम शृंखला सुमेरु पर्वतको ‘सञ्जीवनी बुटी’ को चिसो स्पर्शले मेरो मन शान्त भयो।  

अब मै चाडचाँडै फर्कनुथ्यो। ‘सञ्जीवनी बुटी’ लाई तात्न दिनुहुन्नथ्यो। म दौडेँ– कसैले आफ्नो जिउने अघिकार खोस्दै गर्दा, लडेर त्यो अधिकार फर्काइ, त्यसको संरक्षणका लागि भागे जस्तो गरी। निकै टाढा पुगेपछि म खुसी भएँ। अब बाँच्ने भएँ। मधुमेह ग्रसित मेरी बूढी आमा, उच्च रक्तचापको औषधि खाँदै गरेका ठूलाबा र मिर्गाैला खराब भइ थला परेकी उनकी पत्नी, मुटु रोगी उमेर ढल्केकी भाउजू, क्यान्सरपीडित अधवैँसे मामा, चुरोटले छियाछिया परेको फोक्सोको भरमा जीवन धानेका काका, बाथले थला परेकी काकी र भर्खर विवाह गरी सँगसँगै बाँच्ने वाचा गरेका छोरा–बुहारी आँखाअगाडि फन्फनी घुम्न लागे। म खुसी भएँ, अब उनीहरू पनि बाँच्ने भए। मैले भिरेको हातेझोला छामेँ, ‘सञ्जीवनी बुटी’ अझै ठण्डै थियो।  

मुसुक्क हाँसे, आफ्नो सफलतामा। दंग परेँ आफ्नो होसियारीमा। एकछिन आँखा चिम्लेर भगवानलाई सम्झेँ। आँखा खुल्न नपाउँदै मेरो नाडीमा कसैले समायो। मेरो वरिपरि ४ प्रहरी जवान र एक महिला प्रहरी खडिखडाउ पाएँ। म झसंग भएँ, कोठाभित्र पस्नु केहीबेरअघिसम्म सिसी क्यामरा छल्नुपर्ने कुरा ध्यानमै थियो, पछि कसरी हटेछ। महिला प्रहरीले मेरो झोला छामछुम गरेर एक भाइल ‘कोभिसिल्ड’ खोप निकालिन्। मेरो ‘सञ्जीवनी बुटी’ प्रहरी नियन्त्रणमा पुग्यो। मेरो बाँच्ने अधिकार नियन्त्रण भयो। म रंगेहात समातिएँ। मलाई प्रहरी भ्यानमा पुलिस थाना पु¥याइ केरकार गर्न थाले। मैले विनाहिच्किचाहट स्वीकारेँ– हो, मैले कोभिसिल्ड खोपको भाइल चोरी गरेँ।  

इमानदारीसाथ बयान दिने प्रण गरेँ। चोरी गरेकामा मलाई रत्तिभर पछुतो छैन्। म चोर होइन, सरकारले मलाई चोर बनायो। कोरोना महामारीबाट बाँच्ने ‘सञ्जीवनी बुटी’ खोप मात्रै भएको प्रचारका साथ सरकारले कोरोनाविरुद्धको खोप अभियान चलायो। प्रधानमन्त्रीले खोप अभियानको शुभारम्भमा एक महिनाभित्र सबै नागरिकले खोप पाउने घोषणा गरे। दोस्रो दिन स्वास्थ्य मन्त्रालयलले सच्चायो– ‘प्रधानमन्त्रीको जिब्रो चिप्लियो।’ एक महिना होइन, निकट भविष्यमै सबै खोपयोग्य नागरिकलाई खोप दिने वाचा ग¥यो।  

क्रमशः फ्रन्टलाइनर (अग्रपंक्ति) र ६५ वर्षमाथि उमेर हद पार गरेका समूहले ‘कोभिसिल्ड’ खोप लगाए। पछिल्लो समूहअन्तर्गत मलगायत मेरा केही आफन्तले ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा लगायौँ। तीन घण्टा लाइन बस्दा केही सिप नलागी सामाजिक दूरीको धज्जी उडाउँदै धक्कमधक्कासमेत गर्‍यौँ। उमेर ढल्केकामा पहिलोपटक उत्सव मनायौँ। सरकारको जय मनायौँ। गरिब मुलुकको नागरिक भएकामा भाग्यमानी मान्यौँ। कतिपय धनी युरोपेली मुलुकले समेत आफ्नो उत्पादन नभएकाले कोरोना खोपबाट वञ्चित भइरहेका अवस्थामा मित्रराष्ट्र भारतले दश लाख मात्रा ‘कोभिसिल्ड’ खोप अनुदान र अर्को दश लाख सशुल्क उपलब्ध गराउँदा हामीले खोप पायौँ। 

यतिमात्र होइन, सरकारले अर्को दश लाख मात्रा ‘कोभिसिल्ड’ खोपको भारत सरकारलाई अग्रिम भुक्तानीसमेत गरी हामीलाई आवश्यक दोस्रो मात्रा खोपसमेत सुनिश्चित गरेर ढुक्क बनायो। बयान लिँदै गरेकी महिला प्रहरी अधिकारीले बीच–बीचमा टाउको हल्लाइ दिएको मौन स्वीकृतिले म निकै जोसिएँ।

यसबीच चीन सरकारले अनुदानमा दिएको १० लाख मात्रा ‘भेरोसिल’ खोप १८ वर्षमाथि र ६० वर्ष नपुगेका ८ जिल्लाका जवान नागरिकले पाए। खोप कार्यक्रममा विश्व मानचित्रमा चीन प्रथम, अमेरिका दोस्रो र भारत तेस्रो हुँदा कतिपय विकसित मुलुकलाई पछारी नेपाल ९१औँ स्थान प्राप्त गर्न सफल भयो। मागेर भए पनि सरकारले आफ्नो शान राख्यो। हाम्रा नेताको यो एउटा खुबी त मान्नैपर्छ। हामी धैर्यसाथ दोस्रो मात्रा खोपको पर्खाइमा बस्यौँ। एक क्षण रोकिएर लामो सास फेरेँ।  

हप्ता दिन बित्यो, दुई, तीन, चार र पाँच गरेर दश हप्ता बितिसक्यो, हाम्रो दोस्रो मात्रा खोप पाउने दिन आएन। आठ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्छ भनेको समय गुज्रिसक्यो। कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरले अलिकति उठ्न खोजेको जीवन तहसनहस पार्‍यो। पहिलो लहरमा जबर्जस्ती धानिएको स्वास्थ्य व्यवस्था चर्मरायो।  

हप्ता दिन बित्यो, दुई, तीन, चार र पाँच गरेर दश हप्ता बितिसक्यो, हाम्रो दोस्रो मात्रा खोप पाउने दिन आएन । आठ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्छ भनेको समय गुज्रिसक्यो। 

धनी–गरिब नछुट्याइ सबैलाई संक्रमित बनाइ कोरोनाले पढाएको समानताको पाठ दोस्रो लहरमा ढुल्मुलायो। कोरोनाको दोस्रो लहरले समाजमा विद्यमान वास्तविक असमानता नंग्यायो। जसको सामाजिक र आर्थिक दबदबा छ, स्वास्थ्य सामग्री र स्वास्थ्य प्रणलीमा पहुँच छ, उनीहरूमात्र बाँचेका आँकडासहितका तथ्य प्रस्तुत गरेर। बयान दिँदादिँदै मलाई अलिकति असहज महसुस भयो। एक गिलास पानी पिएपछि सहज हुँदै बयान जारी राखेँ।

सरकारले खोप किन्ने जोडतोडको हल्ला गर्‍यो र केही समयमै सामसुम पनि भयो। दश प्रतिशतको खेलमा खोप खरिद योजना त्यत्तिकै तुहियो। सरकारले भारतसँग खोपको आश गरिरहँदा उनै खोप–गृहकलहमा फस्यो। खोप उत्पादनका कच्चा पदार्थको कमी आउँदा, भारतका विदेश मन्त्री अमेरिका गुहार्न अमेरिका भ्रमणमा हिँडे। विश्वको ८० प्रतिशत खोप विकसित राष्ट्रको कब्जामा छ।

विकसित मुलुक अमेरिकाले ८ देखि १२ र जापानले १२ देखि १६ वर्षका आफ्ना बालबालिकालाई समेत खोप लगाइसक्यो। तैपनि नेपाललाई माया गरेर कोभिसिल्डको सट्टा कोभ्याक्स उपलब्ध गराउने तर्खरमा लाग्यो। पहिले जुन खोप लियो दोस्रो पनि त्यही लिनुपर्छ रे। कोभिसिल्ड, कोभ्याक्स  र भेरोसिलको विश्व खोप राजनीतिमा फसेको हाम्रो जीवन। मेरो घाँटी सुक्यो, अलिकति असहज महसुस भयो, एक गिलास पानी पिएर बयान जारी गरेँ।  

जनता खोपबाट वञ्चित भइरहँदा सरकारको एकपछि अर्को यस्ता उटपट्याङ अभ्यासले निरन्तरता पाइरह्यो। नीति तथा कार्यक्रम र बजेट संसद्मा छलफल हुनुपर्नेमा, बजेट भाषणको पूर्वसन्ध्यामा राष्ट्रको नाममा सम्बोधनको निहुँ पारी प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे। यतिमात्र होइन, आफ्ना कुण्ठा पोख्दै धम्कीको भाषामा आफ्नो नेतृत्व स्वीकार्नसमेत आदेश दिँदै कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्यायो। 

यसरी आएको बजेटको कार्यान्वयनमा प्रश्नचिह्न त हुन्छ नै। खोपका लागि २६ अर्बै विनियोजन भए पनि खोप पाउने आशा न्यून हुने नै भयो। अब जब सरकारबाट दोस्रो मात्रा खोपको आशा मरेपछि सरकारले लुकाएर राखेको ‘कोभिसिल्ड’ चोरी नगरे मैले के गर्ने त ? यो चोरमाथि चकार भने जस्तै हो। बोल्दाबोल्दै मेरो गला अवरुद्ध भयो। बयान लिँदै गरेकी महिला प्रहरीको आँखामा मैले विवशताको छायाँ देखेँ।  

बयानमा मेरो हस्ताक्षर गराएर मलाई जेल चलान गरे। कुनैबेला सुनको चुराले सजिएको मेरो नाडी फलामे हतकडीमा जकडियो। केहीबेरमै नख्खु जेल पुर्‍याए। महिला सेलमा मैले सच्चा महिला शक्ति देखेँ। महिलाको काली रूप देखेँ। कोही सौता ल्याएपछि श्रीमान्को हत्याको आरोपमा, कोही प्रेमीसँग मिलेर श्रीमान्को हत्याको आरोपमा, कोही जन्मिँदासाथ छोरीको घाँटी निमोठेर गरेको हत्याको आरोपमा सजाय भोगिरहेका महिला– महिला शक्तिको विभत्स रूप देखेँ। एउटी महिला नजिकै आएर साखिल्ली हुँदै कानमा खुसुक्क सोधिन्– ‘तिमीले कसको हत्या गर्‍यौँ ? फुर्तीसाथ जवाफ दिएँ– मैले सरकारप्रतिको आफ्नो विश्वासको हत्या गरेँ।  

मेरो पारा देखेर मलाई हत्तपत्त एउटा काल कोठरीमा कोचे। रात परेपछि मोटो चामलको भात, दुई टुक्रा लौका र नून/पानी जस्तो दाल दिए। बिहानै उठेर बारी खन्न तयार हुने आदेश सुनाउँदै एउटी महिला प्रहरी गायब भइन्। रातभर निन्द्रा लागेन, उडुसले टोकेर बिछट्टै गर्‍यो। चारैतिर हत्याको गन्ध आयो। मन व्याकुल भयो। बितेका राम्रा दिन स्मरण गरेँ। विगतमा आफूले गरेका राम्रा काम स्मरण गरेँ। खुबै राम्रो काम गरेँ भनेर आज दिनभर चुलिएको उत्साह एकै रातमा चकनाचुर भयो। आफैँलाई धिक्कारेँ– यस्तो जीवन भन्दा त कोरोना संक्रमणको मरणै ठीक भन्दै डाँको छाडी रुन थालेँ। एक्कैचोटि फोनको घण्टीले मेरो सपना टुट्यो। आफ्नो ओछ्यानमा अप्ठेरोसँग सुतकी रहेछु। बिहानको ६ बजिसकेछ, हड्बडाएर फोन उठाएँ– खोपको दुस्वप्नबाट ब्युँझिँदा नब्युँझिँदै यही खोप दुस्वप्न यथार्थमा परिवर्तन भयो। उताबाट आवाज आइरहेथ्यो– आमा हामी दोस्रो मात्रा कोभिसिल्ड खोप कहिले लगाउने ?

प्रकाशित: १९ जेष्ठ २०७८ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App