१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

अन्ततः को रुने, को हाँस्ने ?

प्रचण्ड बहुमतको सरकारले तय गरेको यात्राबाट मुलुक अहिले सङ्गीन मोडमा आइपुगेको छ– कानुनसम्मत जुट, लुट र फुटको त्रिवेणी हुँदै। संविधान, विधान, नियम कानुन सब व्यक्तिकेन्द्रित बनाउने प्रयास जारी छन्। अपराध र राजनीति सहयात्री बनेका छन्। अब बन्ने सत्ता समीकरणले पनि यसै सेरोफेरोबाट अगाडिको यात्रा तय गर्नुपर्ने देखिन्छ।

र, हामी चौथौ खेपमा छौँ छलफल शृंखलाको– अमूर्त संविधान र अमूर्त जनताको। आजको मुलुकको अर्थराजनीतिक परिवेश हेर्दै आएका छौँ, हिजोको पृष्ठभूमिबाट। मालिक नरिझाइकन सत्तामा पुग्न सकिँदैन र सत्तामा टिक्न पनि सकिँदैन भन्ने मानसिकता निसृत अन्तरप्रवाहले हाँकेको नेपालको राजनीतिमा अहिले सतहको वेग बढेको देखिन थालेको छ। कहाँ पहिरो जाने हो, कति मलिलो माटो बग्दै जाने हो र हाम्रा कति अर्थराजनीतिक फाँट सखाप हुने हुन् त्यो अहिले नै किटान गर्न सकिने अवस्था छैन।

हिजोको हाम्रो अर्थतन्त्र थियो जमिन आधारित। राजनीति बन्यो दरबारभित्रको दुई गुटबीचको सत्ता सङ्घर्ष। राज्य गर्ने वैधानिकता थियो राजाको– इतिहास र धर्मप्रदत्त। तर धेरै समय राजकाज भयो नेपालमा नाबालक राजाको नाममा रानी, दरवारिया वा सत्ता हत्याएका राणा शासकबाट। दरवारिया षडयन्त्रबीच पनि अर्थतन्त्रले निर्देशगरेको कारणबाट नेपालको फैलिने क्रम रोकिएन। यो क्रम नेपालको एकीकरणपछि पनि सन् १८१५ सम्म चल्यो। त्यो बेलाको ब्रिटिस इम्पेरियल शताब्दीमा जब विश्वको एक करोड स्कायर माइल जमिन विश्व शक्ति बनेको इम्पेरियल ब्रिटेनको अधीनमा थियो।

नेपालको यो फैलिने क्रम रोक्न ब्रिटिसले निहुँ खोजेर युद्धमा तान्यो। नेपाल हा¥यो र करिब एक वर्षपछि १८१६ भएको सुगौली सन्धिपश्चात मालिक रिझाएर गरिने राजनीतिक मानसिकताको प्रवाह देखिन सुरु भयो। राजा राजेन्द्रले १८३७ मा भीमसेन थापालाई नहटाउन्जेलसम्म यो हाबी हुन सकेको थिएन। तर राजा, रानीहरू र भारदार थापा र पाँडेबीचको दरबारको षडयन्त्रकारी राजनीतिभित्र खेल्न भने ब्रिटिसले थालिसकेको थियो। जङ्गबहादुरले कोतपर्वबाट सत्ता हत्याएपछि यो निर्णायक नै बन्यो तर त्यतिबेला राजनीतिको केन्द्रमा भने सधैँ मुलुक नै थियो। मुलुकको स्वार्थ सर्वोपरि थियो। ‘भारतसँगको सम्बन्ध सुधार्नु थियो त्यसैले अरुण दियौँ’ भनेर अहिलेका शासकले जस्तो भन्ने त कुरै छाडौँ, सपनामा पनि सोच्न सक्तैनथेत्यतिबेला। यसको उदाहरण सिपाही बगाबतमा ब्रिटिसलाई सहयोग गरी रिझाएर नयाँ मुलुक फिर्ता ल्याएको कुरालाई लिन सकिन्छ।

अनकन्टार र काठमाडौँ नै नेपाल बनेको त्यतिबेला जनता र लोक सम्मति कुरा जतिसुकै गरे पनि मूलतः भन्नुपर्दा जनता भनेको शासकलाई आर्थिक सम्पन्नता दिने र आमोद प्रमोदका वस्तुसरह नै थिए। संविधानमा लेखिएको कुरा मात्र गर्ने हो भने पद्मशमशेरले २००५ वैशाख १ गते लागु गरेको संविधानमा भन्दा बढ्ता अहिलेका नेताहरूले के फरक बोलेका छन् र? उनले भनेका थिए उक्त संविधानमै– ‘जनतालाई काखामा राखेको छु र मलाई विश्वास गर्नुहोस् जनताको लागि म जे पनि गर्नेछु र जस्तोसुकै त्याग पनि गर्नेछु।’ मालिक रिझाएर गरिने राजनीतिको हिजोको पृष्ठभूमिको अर्को पटकको छलफल रणोद्वीपसिंहको हत्याबाट सुरु गर्नेछौँ। आजको परिवेशमा फर्कौँ, प्रधानमन्त्रीको आफू मारिन सक्ने अभिव्यक्ति हेर्न।

ओली के भन्छन् त्यो त्यति महŒवपूर्ण छैन किनकि उनको विगत हेर्दा समयको विन्दुमा जे उनको व्यक्तिगत स्वार्थका लागि लाभप्रद् हुन्छ र जे मनमा आउँछ त्यो बोल्दै आएका छन् उनले। यस क्रममा प्रशस्त विरोधाभाषपूर्ण, राजनीतिक स्टन्टबाजी र झुटमुट कुरा उनले गर्दै आएका छन्। तर मुलुकको प्रधानमन्त्रीले गरेको कुरा भने हामी नेपाली नागरिकले महŒवपूर्ण मान्नुपर्छ। यस अर्थमा जब मुलुकको प्रधानमन्त्री भन्छन् कि म जुनसुकै बेला पनि मारिन सक्छु तब यो निश्चितरूपमा गम्भीर कुरा हुन आउँछ।

हाम्रो मुलुकको राजनीतिक इतिहास हेर्दा सर्वशक्तिमान् श्री ३ रणोद्वीपसिंह आफ्नै भतिजाहरूबाट मारिएका थिए। यसअघि कोत पर्वमा प्रधानमन्त्री फत्तेजङ्ग शाह र त्यसअघि प्रधानमन्त्री माथवरसिंह थापा मारिएका हुन्। प्रधानमन्त्रीबाट हटाएर दामोदर पाँडेलाई थुनियो र मृत्यु दण्ड दिइयो भने शक्तिबाट हटाएर भीमसेन थापालाई पनि गीर्वाण युद्धलाई विष दिएर मा¥यो भन्ने झुटो मुद्दा लगाएर उनकै घर बाघ दरबारमा थुनियो र उनलाई सेरिएर मर्नुपर्ने अवस्थामा पुराइयो। करिब चार हजार शाही सेनाको सुरक्षा घेरामा आफ्नो दरबारमै मारिए राजा वीरेन्द्र, आफ्नो सकल परिवारका साथ। कति हत्या भएका छन् व्यक्तिको स्वार्थको कारण। र, कति भएका छन् मुलुकको स्वार्थका कारण पनि।  

भीमसेन थापाको अवसान निश्चितरूपमा रानी साम्राज्यलक्ष्मी र रणबहादुरको बलमा उनले सफाया गरेका तत्कालीन प्रधानमन्त्री दामोदर पाँडेका छोरा प्रधानमन्त्री रणजङ्ग पाँडेको कारणबाट भएको हो। साम्राज्य लक्ष्मी कट्टर विरोधी थिइन् भीमसेन थापाको। रणजङ्गलाई त बापवैरी नै साध्नु थियो भीमसेन थापासँग। ब्रिटिसलाई लखेट्नुपर्छ भन्नेमा रणजङ्ग सबभन्दा अगाडि थिए तर पनि भीमसेन थापाको अवसानमा ब्रिटिस स्वीकृति पनि मिसिएको थियो। उनले आफूलाई झुटबाट बचाउन बन्दी गृहबाट गोप्य पत्र पठाएका थिए तत्कालीन ब्रिटिस रेजिडेन्ट हड्सनलाई। त्यस्तै राजा वीरेन्द्रको अवसानमा पात्रहरू जे÷जसरी संयोजित भएका भए पनि अन्तको स्वार्थ प्रदत्त उत्प्रेरणाले हाँकेको कुरा अब बिस्तारै उघ्रिँदै आएको देखिन्छ। इजिप्टका राजा फारुकलाई क्रान्तिकारीहरूले हटाउँदा त्यो अमेरिकी गुप्तचर संस्था सिआइएले गराएको भन्ने त्यतिबेला थाहा थिएन तर पछि जगजाहेर भयो।  

राजा वीरेन्द्रले आफ्नो स्वार्थभन्दा माथि मुलुक राखेका थिए। यो कुरा २०४६ सालको घटनालाई लिएर भन्न सकिन्छ। राष्ट्रिय स्वार्थसँग सौदाबाजी गरेका भए २०४६ सालको नियति अर्कै हुन्थ्यो। यो कुरा पनि जगजाहेर छ अब।

हाम्रा प्रधानमन्त्रीलाई असुरक्षा कताबाट भयो सो उनले अहिलेसम्म खुलाएका छैनन् तर हालै उनले नयाँ सुरक्षा व्यवस्थापन कार्यविधि बनाएर अरूको घटाएर आफ्नो सुरक्षा बढाएर चार घेराको बनाएका छन्। सामान्यता मुलुकको स्वार्थ सर्वोपरि हुँदा बाहिरबाट खतरा हुनसक्छ। त्यस्तै शायद व्यक्तिकेन्द्रित राजनीति अर्थात् आफ्नो स्वार्थलाई मुलुकको स्वार्थ भन्दा माथि राखेर गरिने राजनीतिमा भित्रबाट हुनसक्छ। जब शासकले केन्द्रमा आफूलाई राख्छ र जनता र मुलुक उसको स्वार्थको सेरोफेरोमा घुम्नुपर्ने हुन्छ त्यतिबेला असुरक्षा शासकलाई भन्दा मुलुकलाई धेरै बढी भएको हुन्छ। विश्व इतिहास यसको प्रमाण छ।

यहाँनेर अनायास म सेक्सपियरको नाटक जुलियस सिजरमा ब्रुट्सको डाइलग सम्झन पुगेको छु। जुलियस सिजरका कारण उत्पन्न असन्तुलनले रोमन गणतन्त्रलाई रोमन साम्राज्यमा परिणत ग¥यो। जब जुलियस सिजरले विधि विधान केही पनि नमानी आफूलाई केन्द्रमा राखेर तानाशाही बाटोबाट आफूलाई बादशाह घोषणा गर्ने मन बनाए तब संसद्मै उनको हत्या भयो। हत्या गर्ने ब्रुट्सले भने– म सिजरलाई कसैले भन्दा कम माया गर्दिन तर मैले रोमलाई सधैँ बढी माया गरेको छु।

बाह्र बुँदे समझदारीदेखि डोराएर ल्याएका सात पार्टीका मान्छेले संविधान अहिले जारी नगर भन्दाभन्दै संविधान जारी गरेपछि भनेको मानेनन् भनेर तिनीहरूलाई तह लगाउन भारतले नेपालमा नाकाबन्दी लगायो। नेपाली जनताले धेरै सास्ती पाए। महाकाली सन्धि हुँदै आएका ओलीले जनताको यो सास्तीबाट आएको आक्रोशलाई आफ्नो सत्ता राजनीतिक उडानको ऊर्जा बनाए। माओवादी नेता प्रचण्डलाई लोभ्याएर सत्तारोहण गरे। एमाले र माओवादी केन्द्रको एकीकरणमा अबको सरकार वामपन्थीको भन्नेबाहेक न विचार, न दीर्घकालीन सोच, न सङ्गठनात्मक प्रष्टता रह्यो।

ओलीजीको सत्ता रोहणको आतुरीमा प्रचण्डसँगको लोलीबोलीमा ‘पार्टीगत कर्मकाण्ड’ पूरा गरेर नेकपाको सरकारले सुरुबाट नै ‘सपना देख्न पाउनुपर्छ’ भन्दै जनताको नाम लिएर सत्ता भोग्ने लालस, लहड र लिच्चडपना देखाउन थाल्यो।यसरी मुलुक र जनता होइन, आफूलाई केन्द्रमा राखेर गरेको राजनीतिबाट भ्रष्टाचार, बेइमानी र राष्ट्रिय स्वार्थ विपरीत फोहोरका भड्खाला निस्किन थाले। कानुनसम्मत वा त्यसको सेरोफेरोको भ्रष्टाचार मूल प्रवाह राजनीति बनेको छ। यसको व्यवस्थापन अनवरतको झगडा बन्यो। एक पार्टीभित्र दुई पार्टी र त्यसभित्रको आधा दर्जन गुट र उपगुटको ‘भाग शान्ति जय नेपाल’को रडाको र झगडामा खेल्न पाउने सीमासम्म ओलीजीले आफ्नो बिजुली गारतको निर्माण र आफूकेन्द्रित शासन राम्ररी चलाएका थिए। बाहिरी शक्तिहरूसँग पनि आफ्नो बलियो छवि देखाएर डिल गर्न सकेका थिए।

सन्तुलन मिलाउन कहिले उत्तरतिरको व्यापार त कहिले चुच्चे नक्सा र राम जन्मभूमिको रटान लगाए। कहिले होलीवाइनको तरल प्रवाहका लागि बालुवाटारबाट सोल्टी होटलमा नै मुकाम बनाए। निश्चितरूपमा आफूकेन्द्रित राजनीतिमा उनले उच्च मौलिकता देखाएका छन्। यो मौलिकतासँग आबद्ध भएका छन् उनको हरेक गतिविधि चाहे कानुन संशोधन होस्, अध्यादेश निकाल्ने होस् वा फिर्ता लिने। वा संसद् अपहरणको प्रयास। जानिजानी आफूमा हुँदै नभएको अधिकारबाट संसद् विघटन गरे। र, हाल सर्वोच्चले माग नै नगरेको कुरामा फैसला गरेर नेकपालाई नै टुक्राइदियो। कानुन भन्दा पर किन गयो सर्वोच्च ? यहाँनिर कविताका यी हरफ सम्झन पुगेको छु ः

राजनीतिज्ञले  बेइमानी गर्छ

क्लिन चिट पाउँछ

बागडोर सम्हाल्छ

वकिलले बेइमानी गर्छ

क्लिन चिट पाउँछ

कोटाको न्यायाधीश  बन्छ

यो दृश्य शृंखला हेर्दा उडान र अवतरण दुवै अनौठो छ। अवतरण त्यो बेलाबाट सुरु भयो जब भारतीय खुफिया हाकिमसँग अति गोप्यसँग उनले एक्लै भेटे। त्यसपछिका गतिविधि जसरी पटाक्षेप हुँदै आएका छन् त्यसले के देखाउँछ भने उनी मुलुकभित्र एक्लै हिँड्न चाहन्छन्। नेकपाबाट निस्केपछि शायद एमालेबाट पनि उनी निस्कन चाहन्छन्– एमाले (ओली) बनेर। हेक्का राख्नुपर्ने कुरा के हो भने इतिहासमा विलुप्त हुन नचाहने नेताले दुइटा कुरामा ख्याल गर्नुपर्छ। पहिलो हो– आफ्नो विश्वसनीयता। दोस्रो हो– सकेसम्म कम राजनीतिक फ्रन्ट खोल्ने। उनले दुवै कुरामा हेक्का राखेको देखिँदैन।

राजनीतिक पार्टीहरू पनि समग्रमा मुलुकको पँुजी हुन्। त्यसको जति क्षय गर्दै गयो उति मुलुक आन्तरिकरूपमा कमजोर हुँदै जान्छ। त्यस्तो अवस्थामा आफूकेन्द्रित राजनीतिले सानो कल्ट बन्न सक्ला तर चुनाव जितेर आउँदैमा आजको विश्वमा कोही सर्वशक्तिमान हिटलरसरह बन्न सक्तैन। शायद सत्तामा पुग्न पनि सक्ला जनताको चाहना र आकांक्षा भनेर लेन्डुप दोर्जे निसृत राजनीतिको लहरबाट।

अहिले आमनेपालीले भोग्नुपरेका यथार्थता छ– दुःख र पीडाको। पहाड बाँझो हुँदै गएको छ। आफ्नो मुलुकमा पसिना चुहाएर खान नपाउने भएका तन्नेरीहरू घर छोडेर मरुभूमिमा जान विवश पारिएका छन्। प्रधानमन्त्री भन्छन्– ‘कोही भोको मर्दैन यहाँ।’ उनी त अझ थप्छन्– जनताको चाहनाले प्रधानमन्त्री बनेको, आफ्नो रहरले होइन। कत्रो त्याग?

आर्थिक वृद्धि दर जनसंख्यासँग दाँजेर हेर्दा शून्य भन्दा तल छ तर उनी भन्छन्– मुलुकले कहिले नभएको आर्थिक छलाङ लगाएको छ। आफूले आफैँलाई स्याबासी दिन्छन् आफू विकासको लहर ल्याउने प्रधानमन्त्री भनेर। १५ प्रतिशत विकास खर्च गर्न नसक्नेले यस्तो विकासको धाक लगाउन मिल्छ र? यस्तो बकम्फुसे गफ बिक्छ र? यसलाई कसरी वर्णन गर्ने? जति विवाद बढाउन सक्यो, जति जनतालाई दिग्भ्रमित पार्न सक्यो त्यति राजनीतिमा बलियो भइन्छ भनेर होला झुटको खेतीमा अकल्पनीय वृद्धि भएको छ। जबकि कृषि खेती घट्दै गएको छ।

बाँडिएको सपना हेर्दाहेर्दै अहिले नेपाली जनता एउटा तुहिएको सपना लिएर बाँच्न विवश भएका छन्। अबको बाटो नदेखेर प्रश्न गर्छन् आफैँसँग– अबको यात्रा कताबाट ? यहाँनेर १९औँ शताब्दीका बेलायती कवि एल्फ्रेड टेनिसनका यी हरफ झ्वाट्ट सम्झाएको छ :

मेरो पनि सपना छ

तर म के हँु र ?

रातमा कराइरहेको त्यो बालक जस्तो  

उज्यालोका लागि रोइरहेको त्यो बालक जस्तो

जसको बोली नै छैन, सिवाय रोदन

के अबको यात्रा भनेको राजनीतिक भट्टाबाट निकालिने अपराधीकरण र असन्तुलित सन्तुलन हो? त्यो केका लागि अर्थात् गन्तव्य ? पानी र नागरिकता वितरण?

अन्तको अन्तरप्रवाहबाट सतहको प्रवाहमा खेलिएको पहलमानीमा अन्ततः को रुने, को हाँस्ने ? चेतना भया।

(अर्थराजनीतिक विश्लेषक र कवि)

प्रकाशित: २ चैत्र २०७७ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App