रामायणमा त्यो बेला अन्योल थियो । रावणद्वारा सीता हरण भइसकेको थियो । राम र लक्ष्मण सुग्रिवसित थिए । सुग्रिवले आफ्ना सबै बाँदर सेनालाई सीताको खोजी गर्न चारै दिशा पठाइसकेका थिए । हनुमान, जाम्बवान र अंगद भएको टोली दक्षिण दिशातिर लागेका थिए । समुद्रको किनार आइपुग्यो । तर सीताको पत्तो लागेन । सुग्रिवले दिएको एक महिनाको म्याद पनि सिद्धिसकेको थियो । फर्केर जाउँ भने पनि सुग्रिवले सीताको खबर नल्याइकन आयो भने मारिदिने भनेको थियो । त्यहाँ गएर मर्नु भन्दा यही समुद्र किनारमा ध्यान गर्दै मर्नु बेस भनेर त्यहीँ बस्न थाले ।
नेपालको यो बेला पनि त्यस्तै अन्योलको छ । नेपाल कम्युनिस्ट पार्टीमा चिरा परिसकेको छ । दुई फ्याकमा बाँडिइसकेको छ । सबै नेता तथा कार्यकर्ता आआफ्नो समूहतिर लागिसकेका छन् । मानिसको भिड जम्मा गरेर आआफ्नो शक्ति पनि देखाइसकेका छन् । संसद् विघटनबारे सर्वोच्च न्यायालयको फैसला आइ पनि सकेको छ । संसद् पुनस्र्थापना भइसकेको पनि छ । तर झगडियाहरूयथावत छन् । को हार्यो को जित्यो, त्यसको निधो भएको छैन । तर पार्टी फुटेको हो कि जुटेको हो कसैलाई थाहा छैन । फुट्यो भनुँ भने फुटेको छैन, जुट्यो भनुँ भने जुटेको छैन । अब के गर्ने ? रामायणका बाँदरहरूलाई जस्तै समस्या आइपरेको छ ।
अहिले आएर नेपाली कम्युनिस्टहरूको झगडा मेटाउन अथवा मिलाउन कसैले केही गर्न सक्छन् भने सो नेपाली जनता नै हो । समस्याको समाधान त उनीहरूसित नै छ ।
रामायणमा बताइएको कथाअनुसार बाँदरहरूले केही दिनमा सीताको पत्ता लगाउँछन् । जटायु भन्ने गिद्ध सीतालाई छुटाउन रावणसित लडेर मरेका थिए । बाँदरहरूले जटायुबारे कुराकानी गरेको उनका दाजु सम्पातिले सुने । बाँदरहरूले सम्पातिलाई उनका भाइ जटायु कसरी मरेका थिए भनी सुनाए । सम्पातिले पनि उनका छोराबाट रावणले सीतालाई कसरी हरण गर्दै लगेका थिए भन्ने सुनेका थिए । उनले सीतालाई रावणले लंकामा लगेको र उनले गिद्ध दृष्टिबाट समुद्र किनाराबाट सबै देख्न सक्छु भनेर बताइदिए । अब बाँदरहरूले थाहा त पाए कि सीता कहाँ छिन् ? थाहा त पाए तर लंका जाने कसरी भन्ने समस्या आइ पर्यो ।
त्यसैगरी प्रचण्डहरूले चाहे जस्तो नेपालमा संसद् पुनस्र्थापना त भयो तर त्यो भएपछि प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउँला र राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउँला भनेको पूरा हुने भएन । एउटा भिडन्त त जितियो तर तुरुन्तै अर्को समस्या आइपर्यो । सांसदहरूको विभिन्न समूहमा ओहोरदोहोर सुरु भएकाले अविश्वासको प्रस्ताव पास गर्नु पनि उति सजिलो छैन ।प्रचण्ड पक्षले ओलीमाथि लगाएको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने भनेको छ । त्यसको माने ओली प्रधानमन्त्री भइरहने नै भए । अब के गर्ने ? बडो समस्या पर्यो ।
बाँदरहरूमा लंका कसरी जाने भनेर सल्लाह हुँदै थियो । लंका यति टाढा छ कि अरू कसैले एकै छलांग लगाएर पार गर्न सक्दैनथ्यो। त्यसपछि जांबवान् हनुमानकहाँ गए र उनकै कथा सुनाए । उनले हनुमानलाई उनकै कथा सुनाए र भने– ‘हेर, तिमी असिम बल भएका बाँदर हौँ । तिमी उड्न पनि सक्छौ । बालक हुँदा तिमीले सूर्यलाई नै खाइदिएका थियौ । तिमीले आँट्यौ भने लंका पुग्न सक्छौ ।’ हनुमानलाई यी सब थाहा नभएको होइन । तर उनलाई आफ्नो शक्ति कति छ भनेर कसैले सम्झाउनु पथ्र्यो । उनलाई आफ्नै कुरा बिर्सिने श्राप परेको थियो । तर जब उनले आफ्नो भूतबारे सम्झे उनीले आफ्नो शरीर ठूलो पारे । त्यसपछि उनलाई उड्न पनि सजिलो भयो । बाँदरहरूको एउटा ठूलो समस्या सुल्झियो ।
एउटा भनाइअनुसार रामायण एउटा पूर्वनिर्धारित कथा हो । त्यसैगरी नेपाली कम्युनिस्टहरूको झगडा पनि पूर्वनिर्धारित नै देखिन्छ ।
हुन त कम्युनिस्टहरूले जनताको मत पाएर सरकारमा बस्नु नै अनौठो कुरा हो । त्यो नेपालमा भएर छाडेको छ । त्यसकारण संसद् भंग भए पनि निर्वाचनबाट जनताले कसलाई रुचाउने हुन् भनेर छुट्याउने कार्यक्रम थियो । सो त हुन पाएन । अब गर्ने के ? आखिर कम्युनिस्टको झगडा जनसमक्ष नगई सुख छैन । नेपालीहरू पनि हनुमान जस्तै हुन् । हनुमान जस्तै आफ्नो ताकत बिर्सेर बसेका हुन्छन् । २०६२/०६३ सालको आन्दोलनमा यति मान्छे सडकमा ओर्ले कि त्यसबेलाका आन्दोलनकारी नेताहरू छक्क परे । उसैगरी नेपालका राजा पनि छक्क परे । नेपाली जनताले सडकको बल देखाएकै हुन् । हनुमानले जस्तै नेपालीले पनि संकट मोचनको काम गरेकै हुन् । लडाइँ भएको ठाउँमा जानु, बस्नु, कुर्नु जस्तो शान्ति सेनाको काम पनि संकटमोचन नै हो । श्रमको संकट परेको देशलाई श्रम दिनु, सेवाको संकट परेको देशलाई सेवा दिनु, भयबाट त्रसित देशलाई अभयदान दिनु संकटमोचनकै काम हो । हनुमानलाई दिने श्रेय नेपालीलाई पनि दिनुपर्छ । अहिले आएर नेपाली कम्युनिस्टहरूको झगडा मेटाउन अथवा मिलाउन कसैले केही गर्न सक्छन् भने सो नेपाली जनता नै हो । समस्याको समाधान त उनीहरूसित नै छ ।
हनुमान लंका गए । सीतासित भेटे । आफ्नो लक्ष्य पूरा गरे । रावणको अगाडि जाने र उसको शक्तिको मूल्यांकन गर्ने पनि उनको लक्ष्य थियो । त्यसका लागि उनी बन्दी बनाइए । रावणअगाडि पेस गरियो । हनुमानले पुनः एकपटक रावणलाई सम्झाए कि सीतालाई इज्जतसाथ रामलाई फिर्ता गरियोस् । त्यसो गर्न मञ्जुर गरे भने रामले रावणलाई माफी दिनेछन् । लडाइँ पनि हुने छैन । कसैको नोक्सान पनि हुने छैन । लंकाको सान यथावत कायम रहनेछ । तर रावण मानेनन् । उनको अहं भावनाले हनुमानको अर्ति मान्न दिएन । उनी आफ्नो अडानमा कायम रहे । त्यसैको फलस्वरूप लंका दहन भयो । सबै सहर नाश भयो । आखिरमा उनको आफ्नै मृत्यु भयो ।
कम्युनिस्टहरूको भनाभनमा एकअर्कालाई आत्मसमर्पण गर्ने कुरा पनि निकाले । माफी मागेर आत्मालोचना गरे भने एकअर्काले पार्टीमा स्वीकार गर्ने कुरा पनि गरेका छन् । तर को भन्दा को कम भन्ने भावनाले ग्रस्त झगडियाहरू जस्तै ओली र प्रचण्ड समूहहरू एकअर्कालाई सिध्याउने उद्देश्य लिएर बसेका छन् । न राम र रावणको कुरा मिल्छ, न ओली र प्रचण्डको कुरा मिल्छ । एकअर्कालाई कसरी पछार्ने भनेर लागेका छन् । मध्यस्थकर्ता वामदेवको कुरा सुन्न कोही तैयार छैनन् । आफ्नो हातपाखुरामा बल हुँदासम्म कसले कसको कुरा सुन्ने ? एउटा न एउटाको नाश नभइकन छाड्ने कुरा भएन । एउटा भनाइअनुसार रामायण एउटा पूर्वनिर्धारित कथा हो । त्यसैगरी नेपाली कम्युनिस्टहरूको झगडा पनि पूर्वनिर्धारित नै देखिन्छ । कतै टुङ्गो त लाग्नै पर्यो । रामायणमा कथा टुङ्गिए जस्तै नेपालमा पनि यो झगडा टुङ्गिने नै छ ।
प्रकाशित: २७ फाल्गुन २०७७ ०५:३९ बिहीबार