१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

खस्कँदो आत्मसम्मान

भारतीय विदेश मन्त्री सलमान खुर्सिदको एक दिने नेपाल भ्रमण गएको साताभर चर्चिात भयो। विदेशमा रहेका नेपाली नेतासमेत खुर्सिदलाई भेट्न आत्तिँदै आए। यहीँ रहेकाको त कुरै भएन। भारतमा आगामी वर्ष लोकसभाको निर्वाचन हुँदै छ। अहिलेसम्म त्यहाँ कुनै खास दलको विजयको सम्भावना देखिएको छैन। अझ सत्तारुढ कांग्रेसले पुनः सत्ता पाउने सम्भावना पनि कमै देखिएको छ। लगभग साढे एक वर्षअघि भारतको ठूलो राज्य उत्तर प्रदेशमा भएको विधान सभा निर्वाचनमा केन्द्रमा सत्तारुढ कांग्रेस नराम्रोसँग हारेको थियो। यसैले हाल सत्तामा रहेका नेताको स्थिति निर्वाचनपछि के हुने हो कसैलाई थाहा पनि छैन। तर नेपाली नेता भने भारतबाट कोही आउनेबित्तिकै लम्पसार हुन पुगिहाल्छन्। विदेश मन्त्री सलमान खुर्सिदलाई भेट्न नेपालका पूर्व प्रधानमन्त्रीहरू लामबद्ध भएको घटनाले पनि निकै चर्चा पाएको थियो। कुनै स्वतन्त्र देशका पूर्व सरकार प्रमुखहरू यसरी राष्ट्रको अस्मितालाई नै धितो राखेर विदेशीको पाउ मुसार्न गएको घट्ना सम्भवतः विश्वमै नौलो थियो। नेपालका नेताहरू विशेषगरी भारतीय साना नेता सामु पनि लम्पसार पर्ने गरेको समाचार नया होइन। अहिले विशेषगरी २०४६ सालको आन्दोलनपछि मात्र यस किसिमको प्रवृत्ति बढेको कथन भने सत्य होइन। यस किसिमको चर्चा पञ्चायत कालमा समेत हुने गर्थ्यो।
त्यतिबेला तत्कालीन निरंकुश व्यवस्थाको विरोधमा लागेका प्रतिबन्धित कांग्रेसका नेताले पनि यस्तै आरोप लगाउने गर्थे। पञ्चायती व्यवस्थाले देशको अस्मितालाई नै भारतको पाउमा राखेको गुनासो उनीहरूले गर्ने गर्थे। यसै क्रममा एक जना कांग्रेसी नेताले सुनाएको प्रसङ्ग सम्झना हुन्छ।
एक पटक नेपाली प्रधानमन्त्री भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी इन्दिरा गान्धी लगभग १५ मिनेटसम्म बोल्दै बोलिननन् रे! टेबलमा भएका पत्रपत्रिका पढिरहेको अभिनय गरेकी गान्धीले अन्ततः नेपाली प्रधानमन्त्रीलाई 'तिमीसँग के कुरा गर्ने? तिमीलाई के अधिकार छ र? बरु राजालाई पठाऊ म उनैसँग कुरा गरुँला' भनेकी थिइन् रे। त्यतिबेला लागेकोथियो बहुदलीय प्रजातन्त्र आए सबै पारदर्शी हुन्छ। कसैले अआफ्नो शासन टिकाउन देशको अस्मितामााथि खेलबाड गर्न सक्दैन ।
बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि त्यो भ्रम पनि समाप्त भएर गयो। विशेषगरी भारतलाई ठूलदाइ मान्ने प्रवृत्तिले नेपाली अस्मितालाई दाउमा राखेको थियो। यही र यस्तै विषय उठाएर माओवादीले सशस्त्र विद्रोह सुरु गर्‍यो। हजारौँ नेपालीको रगत बग्यो। सत्तामा पुगेको एकीकृत नेकपा (माओवादी)ले पहिले भारतलाई जति गाली गरे पनि पछि गएर 'विदेशी प्रभु' स्वीकार्न सुरु गर्‍यो।
हाम्रा नेताको मानसिकता नै भारतको सहायताबिना सत्तामा जान र टिक्न सकिँदैन भन्ने छ। यो सोच कुनै दल विशेषको नभएर लगभग सबै दलका नेतामा छ। सबैभन्दा रमाइलो तसत्ता बाहिर हुँदा र सत्तामा रहँदा भारतलाई हेर्ने दृष्टिकोण नै बेग्लाबेग्लै छ। सत्ता बाहिर हँुदा भारतलाई तथानाम गाली गर्नेहरू सत्तामा पुगेपछि भारतको पाउ पर्न थाल्छन्। उनीहरूले सत्तामा टिक्न भारतको आशीर्वाद अपरिहार्य रहेको ठान्ने गरेका छन्। लाग्छ, भारतको स्वीकृतिबिना सत्ताको साँचो भेटाउनै सम्भव छैन। यही व्यवहारबाट वषर्ौं लोकतन्त्र र जनअधिकारका लागि लड्दै आएका नेताहरूको विश्वास जनताबाट हराउन थाल्छ। उनीहरू सत्ता प्राप्तिका लागि जनताको समर्थन भन्दा छिमेकी राष्ट्रको आशीर्वाद आवश्यक र महत्वपूर्ण रहेको ठान्न थाल्छन्। त्यसपछि तिनको जबाफदेही पनि जनताप्रति नभई छिमेकीतर्फ सर्दै गएको देखिन थाल्छ। यही तथ्य बुझेर होला पछिल्लो समय चिनियाँ चासो पनि नेपालतर्फ केही बढी नै देखिन थालेको छ। अरुबाट हेपिन रुचाउनेले मौका पाउनेबित्तिकै अरूलाई हेप्न थाल्छन्। नेपालीका सन्दर्भमा पनि त्यही भइरहेको छ। नेपाली अहिले विदेशीका साथै आफ्नै नेताहरूबाट समेत हेपिन बाध्य छन्।
गत असार २६ गते संयुक्त अरब इमिरेट्सको उडानबाट दुबई जान लागेका नेपालीहरूसँग म पनि थिए। विमानस्थल र अध्यागमनका कर्मचारीको व्यवहार उनीहरूप्रति सामान्य थिएन। कहिले बेमतलब लाममा उभ्याएर राख्ने त कहिले कुनै न कुनै निहँुुमा अप्ठेरो पार्ने प्रवृत्ति देखिएको थियो। दुबईहुँदै अमेरिका जान लागेकी एक जना बहिनीसँग अध्यागमनका कर्मचारीले नागरिकता पनि मागेछन्। नागरिकताबिना राहदानी बन्न सत्तै्कन भन्ने तथ्यलाई नै तिनले बिर्सिदिएका थिए।
उडानको बेला भएपछि बोर्डिङ पास भएकालाई विमानसम्म बोलाउन पनि पहिला लाइन लगाएर राखिएको थियो। एक जनाले लाइनमा लाग्न भन्ने अर्कोले किन बाटो छेकेको भन्दै झपारेको देख्दा मनै अमिलो भएको थियो । त्यसको प्रतिवाद गर्न खोज्दा बाँकी सबै चुपचाप बसेको देख्दा झनै खिन्न लागेको थियो।

अर्का एक जनालाई त दुई जना सुरक्षाकर्मीले बेग्लै उभ्याएका थिए। तीमध्ये एक जना पुरुष सुुरक्षाकर्मीले महिला सुरक्षाकर्मीसँग सांकेतिक भाषामा कुरा गरिरहेका थिए। दुई सुरक्षाकर्मीबीचको कुरा नबुझिए पनि त्यो तिनै भाइका सम्बन्धमा भएको प्रष्टै थियो।

सन् २००६ मा कतारको राजधानी दोहामा भएको १५ औं एसियाली खेलकुद प्रतियोगितामा समाचार संकलन गर्न जाने क्रममा पनि नेपालीको यस्तै बिजोग देखिएको थियो। त्यहाँ एक जना पाकिस्तानी कामदार आएर मसँग सहानुभूति देखाउँदै सोधेका थिए – तिम्रो देशमा सरकार छैन? उनका अनुसार एउटै काम गर्दा पनि नेपाली मजदुरको ज्याला अन्य मुलुककाभन्दा निकै कम हुन्थ्यो। तर यसका सम्बन्धमा कोही पनि नबोलेको देख्दा उनलाई अचम्म लागेको थियो।  त्यस्तै विमानस्थलमा अन्य देशका नागरिकको तुलनामा नेपालीलाई गर्ने व्यवहार पनि निकै फरक हुन्छ। दोहाबाट फर्कने क्रममा कनेक्टिङ उडान ओमानमा छुटेपछि विमान कम्पनीले गरेको बस्ने व्यवस्था पनि भारतीयलगायत अन्य मुलुकका यात्रीको तुलनामा नेपालीका लागि निकै निम्न स्तरको थियो। त्यस सम्बन्धमा गुनासो गर्दा झनै रुखो व्यवहारको सामना गर्नु परेको थियो।

नेपाली नेता किन भारतका सामान्य नेताका सामु झुक्छन् भन्ने प्रश्नको जबाफ तिनै नेपाली कामदारप्रति गरिएको व्यवहारमा खोज्नु आवश्यक छ। किन एउटा सामान्य भारतीय कर्मचारी आउँदा पनि नेपालमा खैला बैला मचिन्छ? किन ऊ सोझै राष्ट्र प्रमुखसँग भेट्ने हैसियत राख्छ? यी प्रश्नको जवाफ पनि हाम्रो त्यही प्रवृत्तिमा लुकेको छ र त्यसलाई नेपालीले नेपालीमाथि नै गरेको दुर्व्यवहारमा भेटाउन सकिन्छ। अहिलेको स्थिति हेर्दा लाग्छ, हामी सबैले आआफ्नो आत्मसम्मान गुमाई सकेका छौँ। अरूबाट हेपिनुलाई हामीले सामान्यरूपमा लिन थालेका छौँ। समस्या यहीँ छ।

प्रकाशित: १ श्रावण २०७० ००:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App