१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

बँधुवा श्रम र कमलरी संघर्ष

'आँसुको इनार जमे नि/प्यार मेरो सच्चा छ। जीवन मेरो अच्छा छ/पेटमेँ मालिकको बच्चा छ।’ आन्दोलनबाट प्रभावित भएर सिर्जना गर्ने धेरै होलान् तर आन्दोलनलाई नै आन्दोलित गर्ने स्रष्टा असाध्यै कम छन्।विसं २०६३ सालको जनआन्दोलनताकाको 'बिसे नगर्चीको बयान' कविताबाट आन्दोलनलाई प्रभावित पारेका कवि तथा गीतकार श्रवण मुकारुङले 'सुन रे सियाराम' गीत लेखेर कमलरी संघर्षलाई पनि प्रभावित पारेको हुनसक्छ। कमलरीको पीडा र संघर्षलाई सशक्त शब्दमा व्यक्त गरिएको उनको गीत सुन्दा यसले कमलरी आन्दोलनलाई पनि प्रभाव पारेको अनुमान गर्न सकिन्छ : अब म जान्छु थानामा/अब म जान्छु अदालत/सरकार बस्ने सहर हो यो/मैले जित्ने पक्का छ। जेठ महिनामा आफ्ना अधिकारका लागि संघर्षरत कमलरीहरू राजधानीको मुटुमा धर्नामा बसे, आफूहरूमाथि जारी अन्याय र उत्पीडनविरुद्ध। अलिकति ज्याला, अलिकति अँधिया खेती र अलिकति पढाइको आशा देखाएर सहर छिराइएका थारु समुदायका बालिकादेखि युवतीसम्मले सिर्जना चौधरीलगायत थुप्रै कमलरीका हत्यारालाई कारबाही गराउन राज्य–शक्तिको केन्द्र मानिने सिंहदरबार घेरे। कमलरीले सुरक्षाका लागि राज्यले राखेका विभिन्न थानामा गएर न्याय मागे तर थानेदार पनि अन्यायकै अस्त्रका रूपमा देखिए। तिनले कमलरी बस्दा भुसुनाजस्तै मारिएका र आमा बनाइएका महिलामाथि भएको अन्यायको विरोध गर्दा उल्टै प्रहार गरियो, बेहोसै हुनेगरी, अस्पतालै भर्ना हुनुपर्नेगरी। श्रम शोषणसँगै शारीरिक–मानसिक उत्पीडनमा परेका बालिका, किशोरी र युवतीका लागि सरकारसँग न्याय माग्दा प्रहरीका लट्ठी उनीहरूका थाप्लो, ढाड र पेटमा बजारियो। र, प्रशासकहरूको सरकारले रकमी बोली बोल्यो, न्याय माग्ने कमलरीलाई दमन गरी तह लगाउने मनसायसहित। सबैलाई नंग्याउने संघर्ष यो देशमा अझै पनि न्याय माग्नु अपराधै रहेछ। बलात्कारी, हत्यारा र उत्पीडकविरुद्ध कारबाहीका लागि सरकारको चिरनिद्रा भंग गर्नु पनि आपराधिक कर्म नै रहेछ। अन्याय गर्ने व्यक्ति र शक्तिमाथि कानुनी कारबाहीका लागि समेत सडकै तताउनुपर्ने रहेछ। सडक तताउनुको अर्थ प्रशासकीय सरकारको नजरमा न्याय र लोकतन्त्रको विस्तार होइन, राजकीय रहेछ। त्यसैले त न्यायिक र लोकतान्त्रिक संस्कृतिको विस्तारको उद्देश्यले गरिएको संघर्षमाथि पनि बर्बर दमन गरेर प्रशासनिक सरकारले आफूलाई अन्याय र उत्पीडनको पक्षमा उभ्यायो। लोकतन्त्रमाथि प्रभुत्व जमाइरहेको कुलीनतन्त्रको पक्षमा ठड्यायो। कमलरीको संघर्ष भने जेठको हुरी साबित भयो। कमलरी हुरीले धेरैजसो दल, सरकार, प्रशासन र नागरिक समाजका नेताका टोपी, धोती र सुरुवाल उडायो। सिंहदरबारको दक्षिण–पूर्वी मोहडामा सरकार, प्रशासन र प्रहरीका लाठीसँग निहत्था भिड्ने कमलरीको जुझारु संघर्ष सामु अन्ततः सरकार झुक्नुपर्‍यो, आन्दोलनकारीका माग सम्बोधन गर्ने दसबुँदे वाचा गर्दै। र, हिंसाको वैधानिक अधिकार उत्पीडितमाथि नै प्रयोग भएकाले अब उत्पीडकलाई उत्तरदायी बनाउनुपर्ने दायित्व राज्यसामु थपिएको छ। हुनत, त्यसको सम्भावना भने कमै छ। सबैखाले नेतृत्वका अन्योल बँधुवा मजदुरी र कमैया/हलिया प्रथा अन्त्यका लागि घोषणापत्रमा सुनौला अक्षरले लेख्ने राजनीतिक दलहरूमा कमलरी संघर्षका कारण अन्योल र झिँझ्याहट थपिएको हुनसक्छ। पैसा र पावर भएका मालिकको विपक्षमा उभिने कि श्रम गर्न सक्ने दस नंग्रा र कोमल शरीरमात्र भएका कमलरीको पक्षमा खडा हुने? यही द्विविधाका कारण कमलरी संघर्षमा न्याय, अधिकार र शान्तिसहितको लोकतन्त्र खोज्नमा असजिलो भएको हुन सक्छ। अब कर्मचारीको सरकारसँग मिलेर ती दलले सरकार, प्रशासन र पार्टीको नेतृत्वले कुनै जिम्मेवारी र दायित्व बोक्न नपर्नेगरी कमलरी मुक्तिको घोषणा सगर्व गरे भने अनौठो हुनेछैन। कमलरी संघर्षमा पेटीमा उभिएका र एकाध वक्तव्यबाजी गरेका धेरैजसो वामपन्थी पार्टी तथा तिनका जन र वर्गका अनेक नामधारी संगठनलाई पनि वर्गीय र लैंगिक मुद्दाजस्तै नलागेको हुन सक्छ। अतः दलगत महिला, किसान, मजदुर, जातीय–क्षेत्रीय संगठनले गैरवर्गीय वा अन्य विषयमा नबोलेर ध्वनि प्रदूषण कम गरेको हुनसक्छ। र, महिला हिंसाविरुद्ध आन्दोलनरत रहेको दाबी गर्ने विभिन्न नामधारी महिला गैसस र अकुपाइ बालुवाटारजस्ता खुला समूहले पनि वक्तव्यबाजी नगरी रुखविरुवा जोगाएको अनुमान गर्न सकिन्छ। थारु समुदायकै व्यक्तिको नेतृत्वमा रहेको मधेसी दल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य मधेसी र थारू समुदायका दलले पनि पनि दासतापूर्ण सामाजिक सम्बन्ध कायम राख्न टेवा दिएर सामाजिक सद्भाव र राजनीतिक वातावरण बिग्रिनबाट बचाउन खोजेको आभास मिल्छ। म्याग्नस ह्याटलबाक र अर्जुन गुणरत्नेहरूले मधेसी र थारूहरूको पहिचानको आन्दोलनलाई तराईका जमिन्दारको आफ्नो स्वार्थ बलियो बनाउने संघर्ष भने भनून्, तर उनीहरू भने थारूहरू मधेसी हुन् कि होइनन् भन्ने अन्तर्द्वन्द्वमै फस्नमा मग्न छन्। उनीहरूलाई तराईमा धनीमानी र पहाडी 'उच्च जात'का कुलीनले थोपर्दै आएको सामन्ती सम्बन्धका पीडा भोग्ने कमलरीका लागि न्याय दिएर अन्तर्संघर्ष र अराजकता सिर्जना गर्नु छैन। यतिखेर 'लोकतन्त्र' बचाउने नयाँ ठेकेदारका रूपमा देखापरेका कुलीन नागरिक समाजका लागि पनि कमलरी संघर्ष लोक वा नागरिकको सबाल नहुनु अस्वाभाविक होइन। सामन्ती आर्थिक सम्बन्धको दासतापूर्ण सिक्रीबाट बाँधिएका हलिया/कमैया/हरूवा–चरुवाका चेली प्रजाबाट लोक र नागरिक नभइसकेको तथ्य उनीहरूलाई राम्ररी थाहा छ। सबैलाई प्यारो कमलरी प्रथा नेपालका राजनीतिक दलका नेताहरूदेखि नागरिक समाजका अगुवालाई समेत राम्रो ज्ञान छ, आफ्ना खेतमा हलिया र कमैयाका रूपमा रहेका, गाईबस्तु चराउने हरूवा–चरुवाहरू, काठमाडौँ र अन्य सहरका बंगला र महलमा घरेलु काम गर्ने कमलरीको पक्षमा सडकमा भिड्नु आफ्नै स्वार्थविरुद्ध लड्नु हो। एकतिर बंगला–बंगलामा कमलरी प्रथाको अभ्यास गर्ने, उनीहरूमाथि उत्पीडन थोपर्ने, अर्कोतिर सडकमा गएर कमलरी प्रथाको विरोध गर्नु कम सकसपूर्ण काम हो र? सकसपूर्ण मानसिक यातना सहनु र रक्तचाप बढाउनुभन्दा, कमलरीहरूसँगै पानीमा रु‰दै, प्रहरीसँग लड्दै जीउ फोहोर पार्नुभन्दा त मौन रहनु नै जाती भन्ने तिनका विचार र आचरणमा विरोधाभास छैन पनि। उनीहरूले राम्ररी अनुभूत गरिसकेका छन्, हलिया/कमैया/हरूवा–चरुवा र कमलरीका पक्षमा राज्यलाई पुनर्संरचना गरियो भने लोकतन्त्रको राजनीतिक मात्रै होइन, आर्थिक र सांस्कृतिक आधार पनि बलियो हुन सक्छ। उनीहरूलाई धर्मनिरपेक्ष, संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको आवरणमा रहेको राजनीतिक लोकतन्त्रसमेत भालूको कन्पट समातेझैँ घाँडो साबित भइरहेको बेला आर्थिक र सांस्कृतिक लोकतन्त्र रुच्ने सम्भावना निकै कम छ। तिनीहरूलाई त राजनीतिक लोकतन्त्रमा लिपपोतमात्रै पो प्रीतिकर लाग्छ। त्यसैले यही लोकतन्त्रमा डेन्टिङ–पेन्टिङ गर्दै संसारको सबैभन्दा उत्कृष्ट लोकतन्त्रमा दर्ज गराउन कुलीन प्रयत्न जारी छ। यस्तो लोकतन्त्रलाई विकास गर्दै आर्थिक र सांस्कृतिक लोकतन्त्र स्थापित गरियो भने कहाँ कमैया र कमलरी राख्न पाइन्छ र? श्रम गर्ने दस नङ्ग्रामात्रै भएका बालिकाले समेत न्याय र समता पाउनेगरी राज्य पुनर्संरचना भए भने कसरी उनीहरूको श्रम र शरीरको शोषण गर्ने अवसर मिल्ला? यस अर्थमा कुनै पनि राजनीतिक ढाँचाकाँचाका नेतृत्व र प्रशासनिक संरचनाका प्रमुखमात्रै होइनन्, गैरराजनीतिक, गैरप्रशासनिकजस्ता लाग्ने नागरिक समाजका स्वघोषित अगुवाजस्ता सबै कुलीनलाई कमलरी प्रथा नै प्यारो लाग्छ। कमलरीको श्रम र शरीर प्रिय लाग्ने अनि उनीहरू बस्ने सहरवरपरका छाप्रा अप्रिय लाग्ने दोधारे मानसिकताले हाम्रो समाजलाई कमलरी प्रथाबाट मुक्त बनाउने छूट दिँदैन। पीडा र प्रतिरोधको आयाम चाहे जुनसुकै मानसिकता किन नहोस्, तराईको समाजमा विद्यमान सामन्ती सम्बन्धका उत्पादनका रूपमा रहेको संरचना निकै बलियो छ। देशमा पटकपटक राजनीतिक फेरबदल हुँदा पनि राजनीतिकसँगै आर्थिक र सांस्कृतिक लोकतन्त्र स्थापित गर्न नसक्दा तराईको समाज कछुवा गतिमा अगाडि बढ्दैछ। सामाजिक विकासको कछुवा गतिले हलिया/कमैया/हरूवा–चरुवा र कमलरीहरूको सामाजिक जीवनबाट बाध्यात्मक श्रमका रूपमा मूल्य चुक्ता गर्दै आएको छ। ती उत्पीडितहरूले यस्तो बेसी मूल्य चुकाइविरुद्ध बोल्दा, बाध्यात्मक श्रमविरुद्ध संघर्ष गर्दा पनि पसिना र आँसु मात्रै होइन, रगत पनि निकै बगाउनुपरेको इतिहास छ। माओवादी र सरकारबीचको गृहयुद्धमा १२ सयभन्दा बेसी थारूहरूको बलिदानको पृष्ठभूमिमा तिनका पीडा र प्रतिरोधको व्यापक आयाम झल्किन्छ। उनीहरूका लागि थारू राजा वा जमिन्दार होस् या पहाडी राजा–महाराजा र 'उच्च जात'का जमिन्दार, पुरुषलाई कमैयाका रूपमा र महिलालाई, विशेषतः बालिका र किशोरीलाई कमलरीका रूपमा बँधुवा मजदुरी गराउने प्रवृत्तिमा उन्नीस–बीसको मात्रै अन्तर होला। तिनीहरू दुवै पक्ष उनीहरूका पसिना, आँसु र रगत मात्रै होइन, शरीरको पनि शोषण गर्नमा कुनै हिचकिचाएका देखिँदैनन्। थारु जमिन्दारहरू माया गर्दै शोषण गर्छन् भने शाह र राणा शासकहरू अनि उच्च जातका पहाडी जमिन्दारहरू शोषणसँगै उत्पीडन पनि गर्छन्। महेशचन्द्र रेग्मीका अनुसार, तराईलाई काठमाडौँका कुलीन र भारदारहरूले आफ्नो आर्थिक र अन्य किसिमका लाभ पुर्‍याउने उपनिवेशका रूपमा लिएका थिए। त्यसको औपनिवेशिक व्ययभार तराईमा बहुल संख्यामा रहेका आदिवासी समुदाय : थारूहरूको थाप्लोमा पर्दै आएको तथ्य यहाँ उल्लेखनीय छ। त्यसमा पनि भारत र नेपालकै पहाडबाट बसाइँ–सराइ, तिनको छलकपटमा व्यापक विस्तारलाई टेवा दिने सरकारी नीति र आचरणसँगै औलो उन्मूलन कार्यक्रमले पहिले राम्रै घरखेत भएका र औलोसँग लड्ने क्षमता भएका श्रमिक थारूहरू पनि धरबार र भूमिबाट बेदखल भए भने उनीहरू कमैया र कमलरी बन्न बाध्य भए। बिस्तारै आफ्नो हातबाट भूमि, पुँजी, स्रोत गुमाएका थारूहरू अन्ततः केही मात्रामा ठूला थारु जमिन्दार, बेसी मात्रामा पहाडी उच्च जातका जमिन्दारका बँधुवा कृषि मजदुरमा फेरिए। ऋणमा चुर्लुम्म डुब्दै पुस्तौँपुस्तासम्म बँधुवा मजदुर बन्नेबनाउने आर्थिक संरचना बलियोसँग कायम भएपछि उनीहरूमाथि थोपरिएका दासताका विभिन्न आयाम देखिए, जसको एउटा पाटो कमैया प्रथा हो भने अर्काे पाटा हो कमलरी प्रथा। पश्चिम नेपालमा भूमिहीनता बेहोर्दै आएका गरिब थारूहरूले 'मालिक’कहँा वर्ष दिनसम्म बँधुवा श्रमिकका रूपमा काम गर्ने प्रणाली हो कमैया प्रथा। कुनै जमानामा अलिकति पैसा ऋण लिएकै कारण जमिन्दारको सानो कटेरो (बुकुरा)मा आफ्नी बुक्रही (पत्नी)सँगै श्रम गर्ने तथा छोराछोरीलाई गैवार, भैसवार र कमलरीका रूपमा मालिकको बँधुवा श्रमिक बनाउन बाध्य कमैया परिवारले ऋण चुक्ता गर्न सकेमात्र मुक्ति पाउँछ। आफूसँग भएको श्रमसमेत बन्धकी राख्नु परेपछि काम गरेबापत निगाह हुने थोरै पैसाबाट न ऋण चुक्ता हुन्छ, न त कहिल्यै उनीहरूको श्रम र शरीरै मुक्त हुन्छन्। अर्जुन गुणरत्नेका अनुसार सरकारले उनीहरूलाई औपचारिक रूपमा मुक्त घोषणा गरे पनि जमिन उपलब्ध गराउने र जीविकोपार्जनका व्यवस्था मिलाउने काम गरेन। फलतः उनीहरू औपचारिकरूपमा त 'स्वतन्त्र' भए, तर कुनै न कुनै रूपमा मालिक, किसान वा जमिन्दारकै बँधुवा मजदुरी गर्न बाध्य भए। उनीहरू केही रकमका लागि आफ्ना छोरीहरूलाई गाउँका पुुरानै मालिक वा सहरका नयाँ मालिककहाँ घरेलु श्रमिकका रूपमा पठाउन विवश भए। प्रशासनिक सरकार र आन्दोलनकारी कमलरीहरूबीच भएको दसबुँदे सहमतिअनुसार अब कमैया मुक्तिको घोषणाकै शैलीमा कमलरी मुक्तिको उद्घोष पनि हुनेछ, जमिन, काम, सीप, शिक्षा वा जीविकोपार्जनका कुनै उपाय नदिईकन। कमलरी आन्दोलन र अन्य सामाजिक रूपान्तरणका पक्षपातीले कमलरीका लागि जमिन, काम, सीप, शिक्षा वा जीविकोपार्जनका साधनसहित मुक्तिको घोषणाका लागि संघर्ष नगरे कमलरी मुक्तिको उद्घोष पनि फोस्रो घोषणामा सीमित हुनेछ। त्यतिखेर उनीहरू नेपाल, भारत, खाडी मुलुक वा अन्य राष्ट्रमा थापिएका शरीर बजारमा दक्ष श्रम होइन, शरीर बेच्न बाध्य हुनेछन्। नत्र, बँधुवा श्रम र शारीरिक शोषणविरुद्ध सचेततापूर्वक जुझारु प्रतिरोध गर्न विवश हुनेछन्।

प्रकाशित: २८ जेष्ठ २०७० २३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App