नेपाली राजनीतिका ख्यातिप्राप्त व्यक्तित्व विश्वेश्वरप्रसाद (बिपी ) कोइरालाको जीवनमा जसरी गान्धीको प्रभाव रह्यो। त्यसैगरी गान्धीको जीवनमा रुसी साहित्यकार लियो टोल्सटोयको प्रभाव रह्यो। बिपीले गान्धीबाट प्रभावित रहेको प्रसंग यसरी उल्लेख गरेका छन्, ‘पान सिगरेटको दोकानमा रेडियोले प्रसारण गरेको सुनेँ– गान्धीको मृत्यु भयो, म ह्यान्ड ग्रिनेड लिएर पर्खिरहेको छु। एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो। मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो। गान्धीसँग मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यस बखत गरेँ। मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो।’
यो प्रसंग कोइरालाको आत्मवृत्तान्तमा पाइन्छ। त्यसैगरी गान्धीले लेखेका छन्– मेरो जीवनमा तीन आधुनिक महापुरुषको प्रभाव परेको छ, जसले जीवनमा ठूलो परिवर्तन ल्याइदिए। गोपालकृष्ण गोखले, टोल्सटोय र जोन रस्किन। टोल्सटोयको ‘ईश्वरको सत्ता तिमीभित्रै छ’ भन्ने पुस्तकबाट म उनीसँग प्रभावित हुन पुगेँ। त्यसैगरी जोन रस्किनको ‘अन टु दी लास्ट’ नामको पुस्तकले मलाई प्रभावित मात्र नभएर अचम्भित नै बनायो। गान्धीले आध्यात्मिक गुरु लियो टोल्सटोयलाई र राजनीतिक गुरु गोपालकृष्ण गोखलेलाई स्विकारेका छन्। विश्व चर्चित कृति ‘वार एन्ड पिस’का लेखक टोल्सटोयको प्रभाव गान्धीको जीवनमा यतिसम्म रह्यो कि दक्षिण अफ्रिका बसाइमा दोस्रो आश्रम टोल्सटोयको नामबाट स्थापना गरे।
गान्धीको विकेन्द्रित सत्ता, कुटिर उद्योग र आत्मनिर्भरताको सिद्धान्तलाई केन्द्रमा राखेर कोइरालाले सरकारको आर्थिक नीति बनाए। उनले भनेका छन्, ‘हाम्रो कार्यक्रम मुताबिक हामी ठूला कारखाना खोल्दैनौँ। हामीले स–साना उद्योगबाट आफ्ना आवश्यकता पूरा गर्नुपर्छ। हामीहरूले आफ्नो पेट काटेर, अन्न बेचेकोबाट लुगा लगाउनुपरेको छ। हामीले लगाएका लुगा बाहिरबाट ल्याएका हुन्। कहाँबाट आयो, यसको निमित्त रूपैयाँ ? हामीहरूको मेहनतबाट उब्जेको अन्न बाहिर पठाएर लुगा पाएका हौँ। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ।’
टोल्सटोयले ५५ वर्षको उमेरमा भौतिकता र सम्पन्नता त्याग गरेर आध्यात्मिक जीवन अपनाउन सुरु गरेका थिए। भनिन्छ, भगवान्को बुद्धको जीवनी अध्ययनपश्चात् उनले त्यागमय जीवन अपनाउन सुरु गरे। भगवान् बुद्धले जसरी टोल्सटोयले श्रीमती, छोराछोरी सबै त्याग गर्दै सन्न्यासी जीवन अपनाए। अनि मांसहार, धूमपान त्याग गरे। सामान्य पहिरन, खाली खुट्टा हिँड्नु दैनिकी बनाए। आफ्ना लागि आफैँ अन्न उब्जाउनु। आफू क्रिस्चियन भए पनि सबै धर्मावलम्बीलाई सम्मान गर्न थाले। अन्य धर्मावलम्बीका शास्त्र अध्ययन गरे। सबै धर्मको सारमा सत्य, अहिंसा र शान्ति रहेको उनको निचोड रह्यो।
क्रिस्चियन रहँदारहँदै पनि चर्चको ज्यादतीविरुद्ध उनले लेख्न थाले। धर्मविरुद्ध तत्कालीन समयमा लेख्नु कदाचित क्षम्य थिएन। तर उनले निर्भीकताका साथ धर्मका ज्यादतीबारे लेख्न सुरु गरे। त्यतिबेला युरोपभरि हिंसा व्याप्त थियो। हिंसाका विरुद्ध युरोपका सरकारलाई सचेत गराउँदै सरकारको नागरिकका लागि सबैभन्दा ठूलो उपहार ‘शान्ति’ हो, भनेर सचेत गराए। यद्यपि उपाय पनि सुझाए, आपसमा झगडा नगर्नु र हिंसाको त्याग गर्नु ‘शान्ति’ हो। अरूलाई पीडा दिनुको सट्टा बिना प्रतिरोध हिंसाको सामना गर्नु अहिंसा हो भने। दक्षिण अफ्रिकामा टोल्सटोयका रचनाको अध्ययन गरेका गान्धीलाई उनको विचारको प्रभाव परेको पाइन्छ।
गान्धीको जीवनमा टोल्सटोयको अर्को प्रभाव थियो, जीवनशैली। टोल्सटोयले जसरी आफ्नो सम्पत्ति अरूलाई बाँडेर त्याग देखाएका थिए, त्यसैगरी गान्धीले दक्षिण अफ्रिकाबाट फर्किंदा आफूलाई दिएका बहुमूल्य उपहार समेत बाँडिदिएका थिए। दक्षिण अफ्रिकामा गान्धीले टोल्सटोयले भनेजस्तै हिंसाको निष्क्रिय प्रतिरोध गरेर अन्यायको विरोध गरे। पछि सन् १९०६ मा उक्त आन्दोलनलाई ‘सत्याग्रह’ नामाकरण गरे। गान्धीको आन्दोलनलाई ‘सत्याग्रह’ भनेर नामाकरण गर्ने व्यक्ति मगनलाल गान्धी थिए।
मोहनबाट महात्मा बनेका गान्धी र टोल्सटोयको जीवनमा धेरै समानता पाउन सकिन्छ। गान्धीले टोल्सटोयलाई दक्षिण अफ्रिकाबाटै १ अक्टुबर १९०९ मा पहिलोपटक पत्राचार गरेका थिए। उक्त प्रसंग टोल्सटोयको डायरीमा ‘आज एक हिन्दूले लेखेका पत्र प्राप्त भएको छ। उक्त पत्रको व्यहोरा साँच्चै दिलचस्पी छ’ उल्लेख छ। पत्रको जवाफ लेख्दै टोल्सटोयले ‘तपाईंले पठाएको दिलचस्पी पत्र प्राप्त भयो। पत्र पढेर भावुक भएँ। आशा छ, ईश्वरले दक्षिण अफ्रिकाको ट्रान्सवालमा संघर्षरत हिन्दू भाइलाई ईश्वरको साथ रहनेछ।’ सौम्य अनि कठोर संघर्षले मात्र हिंसाविरुद्धको लडाइँमा प्रेमले विजय प्राप्त गर्नेछ भन्ने उनको सुझाव थियो। साथै उनले गान्धीलाई अभिवादन छ, भनेर सम्बोधन गरेका थिए।
त्यसैगरी गान्धीले दोस्रोपटक टोल्सटोयलाई ४ अप्रिल १९१० मा पत्राचार गरेका थिए। सन् १९०९ मा आफैँले लेखेको पुस्तक ‘हिन्द स्वराज’पठाएका थिए। साथै पुस्तकको समीक्षा गर्न आग्रह गरेका थिए। त्यो समय टोल्सटोयको जीवनको उत्तराद्र्धको समय थियो। उनी बिरामी परेका थिए, उनलाई स्वदेशी र विदेशी शुभचिन्तक भेट गर्न आइरहन्थे। ‘दुई जापानीहरू आएका थिए, उनीहरूसँग एक हिन्दूको पत्र र पुस्तक प्राप्त भएको जानकारी गराएको छु।’ १० अप्रिल १९१० को डायरीमा उक्त प्रसंग उल्लेख छ। हिन्द स्वराजमा भारतमा ब्रिटिस शासनका ज्यादती र कमजोरीका बारेमा औँल्याइएको छ। उनले ११ अप्रिलको डायरीमा लेखेका छन्, आज गान्धीको जीवनी पढेँ। उनका बारेमा केही लेख्नु छ। २४ अप्रिल १९१० का दिन गान्धीको पत्र र जिज्ञासाको उनले जवाफ दिएका छन्। गान्धीले प्रतिपादन गरेको ‘सत्याग्रह’ भारतको मात्र नभएर विश्वकै भएको टोल्सटोयले बताएका छन्।
गान्धी पनि उनीबाट प्रभावित रहेर १५ अगस्त १९१० मा दक्षिण अफ्रिकाको जोहन्सबर्गमा टोल्सटोयका नामले दोस्रो आश्रम स्थापना गरे। जीवनको उतराद्र्धमा टोल्सटोयजस्तै गान्धी पनि जीवनको अन्तिम समयमा नैराश्य र उदास थिए। त्यसले पनि जानकारी हुन्छ, गान्धीमा उनको प्रभाव कति थियो भनेर। जीवनको अन्तिम (सन् १९१० सेप्टेम्बर २०) क्षणमा उनले गान्धीलाई लामो पत्र लेखेका छन्– म जीवनको अन्तिम क्षणमा छु। तपाईंले अपनाएको सत्याग्रहले मानिसमा सत्य र प्रेमको पाठ सिकाउन सफल हुनेछ। प्रेम मानिसको जीवनमा सर्वोच्च वस्तु हो, जसले मानिसको आत्मा परिवर्तन गराउने सामथ्र्य राख्छ। उनै टोल्सटोयको जीवनमा शान्तिको महत्व कति थियो भन्न ‘वार एन्ड पिस’ कृतिले स्पष्ट पार्छ।
गान्धीमा टोल्सटोयको प्रभावजस्तै नेपाली परिवर्तनका नायक बिपी कोइरालामा बाल्यकालबाटै गान्धीको प्रभाव परेको पाइन्छ। उनले गान्धी उपस्थित सभामा ‘कल से हम भी स्कुल नही जाएंगे’ भनेर गान्धीको आह्वानमा पहिलोपटकमै समर्थन जनाएका थिए। बाल्यकालमा वाराणसीमा रहँदा गान्धी उपस्थित सभामा विदेशी शिक्षा बहिष्कारका लागि आह्वान गर्दा उठेर सर्वप्रथम उक्त आह्वानमा समर्थन जनाउने बालक आफू भएको उनले आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।
सन् १९४२ मा गान्धीले ‘भारत छोडो’ आन्दोलन सुरु गर्दा उक्त आन्दोलनमा सहभागी बिपी भारतमै पनि जेल परे। १७ जनवरी सन् १९४५ मा रिहा भए। त्यही दिन पिता कृष्णप्रसादको नेपालको जेलमा बन्दी अवस्थामै देहान्त भएको थियो। रिहा भएपछि गान्धीकै पथगामी बनेर उनले नेपालमा पनि युगान्तकारी परिवर्तनको उद्देश्य राखेर भारतमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे। नेरा कांग्रेसको पहिलो प्रेस विज्ञप्ति उनले सन् १९४६ मा बिहारको सर्च लाइट पत्रिका (अक्टुबर २) मा सार्वजनिक गरेका थिए।
उक्त विज्ञप्तिमा अहिंसात्मक तरिकाबाट आन्दोलन गर्ने उल्लेख छ। नेपालमा परिवर्तनका लागि आन्दोलन गर्ने उद्देश्य राखेर हत्या हुनु दुई दिनअगावै मात्र उनले गान्धीलाई भेट गर्न सफल रहे। गान्धीको हत्याका बखत आफू कलकत्तामा रहेको र हातमा कसैले दिएको ग्रिनेट रहेको आत्मवृत्तान्तमा उल्लेख छ। उक्त अंशको उद्धरण यसै आलेखको पहिलो प्यारामा समाहित गरिएको छ।
तर परिस्थितिजन्य कारणवश समयको अन्तरालमा गान्धीको अहिंसात्मक सिद्धान्तमा कोइराला अडिग रहन नसकेको पाइन्छ। किनकि उनी नैतिक मूल्य–मान्यताको राजनीतिमा विश्वास गर्थे, तर शासकमा नैतिक मूल्य–मान्यताको राजनीतिक संस्कार नहुँदा उनले हिंसाको सहारा लिए। उनी सधैँ सत्यका उपासक रहिरहे। सत्यको व्रतबाट उनी किञ्चित विचलित भएनन्। ‘तेन त्यक्तेन भुजिथाः’ उपनिषद्का उल्लिखित पंक्तिले जसरी गान्धीलाई निर्देशित ग¥यो, त्यसरी नै कोइरालाको जीवनमा गान्धीको सत्य व्रतले निर्देश गरेको पाइन्छ।
प्रधानमन्त्री भइरहँदा उनले भनेका छन्, ‘योजना आयोगमा गरिब किसानको तस्बिर राखेर उसलाई हेरेर बजेट बनाउनुहोस्।’ कोइरालाको उक्त सुझाव गान्धीले आफ्ना अनुयायीलाई दिएको सुझाव थियो। त्यसबखत उनले ल्याएको बजेट अध्ययन गर्दा पनि गान्धीको मूल्य–मान्यताको प्रभाव पाइन्छ। त्यसैगरी कोइराला प्रधानमन्त्री रहँदा पाकिस्तानसँगको दौत्य सम्बन्ध स्थापना र इजरायललाई नयाँ देशको मान्यता दिनु गान्धीको प्रभाव पाइन्छ। उल्लिखित तथ्यबाट जानकारी हुन्छ, कोइराला गान्धीको आदर्शबाट च्युत थिएनन्।
गान्धीको विकेन्द्रित सत्ता, कुटिर उद्योग र आत्मनिर्भरताको सिद्धान्तलाई केन्द्रमा राखेर कोइरालाले सरकारको आर्थिक नीति बनाए। उनले भनेका छन्, ‘हाम्रो कार्यक्रम मुताबिक हामी ठूला कारखाना खोल्दैनौँ। हामीले स–साना उद्योगबाट आफ्ना आवश्यकता पूरा गर्नुपर्छ। हामीहरूले आफ्नो पेट काटेर, अन्न बेचेकोबाट लुगा लगाउनुपरेको छ। हामीले लगाएका लुगा बाहिरबाट ल्याएका हुन्। कहाँबाट आयो, यसको निमित्त रूपैयाँ ? हामीहरूको मेहनतबाट उब्जेको अन्न बाहिर पठाएर लुगा पाएका हौँ। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ।’
सरकारको विकास मोडल र कोइरालाको सपना, गान्धी सिद्धान्तका समीप रहेको पाइन्छ। तर उक्त बजेट न कार्यान्वयन हुन सक्यो, न विकास मोडल स्थापित हुनसक्यो। महत्वाकांक्षी राजा महेन्द्रले ०१७ पुस १ गते प्रजातन्त्र अपहरण गरे। प्रधानमन्त्री रहेकै बखत कोइराला गिरफ्तार गरिए र जेलमा राखियो। उनै कोइराला प्रधानमन्त्री रहँदा विकेन्द्रित स्थानीय संरचनाको ढाँचा लागू गर्न भारतका गान्धीवादीले पठाएको प्रस्तावित ग्राम पञ्चायतको दस्तावेज प्रजातन्त्र अपहरणसँगै राजाको हातमा पुग्यो। उक्त दस्तावेजका विकेन्द्रित अवधारणालाई तोडमोड गरेर राजाले केन्द्रीकृत पञ्चायती व्यवस्थाको जग बसाले। कोइराला करिब आठ वर्षपछि रिहा भए। त्यतिबेला कोइराला गान्धीको आदर्शबाट केही विचलित भएको अनुभव गर्न सकिन्छ। सन् १९६८ मा रिहा भएलगत्तै सन् १९६९ मा गान्धी शतवार्षिकी वर्ष समारोहमा ‘आजको सन्दर्भमा गान्धी’ विषयक प्रवचनमा प्रमुख अतिथि भएर वक्ता बन्न पुगे। बनारसमा भएको उक्त कार्यक्रममा कोइरालाले दिएको वक्तव्य अध्ययन गर्दा उनी अहिंसाबाट केही विचलित भएको स्पष्ट हुन्छ। त्यस अवधिमा उनले नेपालमा सशस्त्र क्रान्तिका लागि सहमति दिए। परिणाम अपेक्षाकृत हुन नसकेपछि हिंसाप्रतिको विश्वास त्याग गरे। त्यसबखत कोइरालाको विचारमा परिवर्तन आएको बुझ्न सकिन्छ।
भारतमा सन् १९७५ काण्डपश्चात् आफूमाथि धरपकड हुने संकेत पाएपछि (सुशील कोइरालालाई इन्दिरा सरकारले गिरफ्तार) सन् १९७६ डिसेम्बरमा उनी नेपाल फर्किए। आफूलाई देशद्रोहको आरोप लगाउने शासकसँग (२०३३) मेलमिलापको नीति लिएर नेपाल फर्किनु गान्धी विचारको प्रभावका रूपमा लिन सकिन्छ।
गणेशमान सिंहले बिपीलाई बहुआयामिक व्यक्तित्व भनेका छन्। ‘आवश्यकता अनुसार उहाँमा गान्धी र लेनिनका गुण निहित रहे।’ कोइरालाको बारेमा समीक्षा गर्दै प्रदीप गिरीले लेखका छन्, ‘सन् १९७६–७७ पछि बिपी कोइरालाको चिन्तनले गुणात्मक फड्को मारेको छ। खासगरी आर्थिक विकासमा बिपीको अवधारणा बिल्कुलै बेग्लै भएको छ। उहाँ गान्धीको समीप पुग्नुभएको छ, उहाँको चिन्तनमा नेहरूको प्रभाव शून्य भएको छ।’
कोइरालाको जीवनलाई गिरीले सन् १९४६ देखि १९८३ सम्मलाई चार भागमा विभाजित गर्दै अहिंसा, हिंसा र अहिंसाका पक्षपाती बनेर आरोह–अवरोहयुक्त रहेको स्पष्ट पारेका छन्। भारतको स्वतन्त्रताको आन्दोलनको जगमा रुसी साहित्यकार टोल्सटोयको प्रभाव समेत पाइन्छ। त्यसैगरी २००७ सालको नेपालको परिवर्तनमा गान्धीको प्रभाव पाइन्छ। २००७ सालको परिवर्तनका नायक कोइराला गान्धीका अनुयायी र पथगामी रहे। राजनीतिमा गान्धीको जति प्रभाव रह्यो, साहित्यमा त्यति रुसी साहित्यकार टोल्सटोयको प्रभाव पाइन्छ। कोइरालाको ‘हिटलर र यहुदी’ र ‘मोदी आइन’जस्ता कृतिमा गान्धी र टोल्सटोयको प्रभाव पाइन्छ। प्रजाको दुर्दशा देखाउन सिराहाको माडरबाट बिपीपिता कृष्णप्रसाद कोइरालाले पहाडबाट जयनगर बजार किनमेल गर्न आएकाहरूको टालेका, गन्हाउने लत्ता–कपडा बोरामा पार्सल गरेर राणा प्रधानमन्त्रीको दरबारमा पठाएका थिए। देशको अवस्थाको जानकारी गराउँदै कोइराला पार्सल पठाएर राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई चुनौती दिन सफल भएका थिए। आधुनिक नेपालमा परिवर्तनको कल्पना गर्दै अहिंसात्मक विद्रोहको कदम उठान गर्ने व्यक्ति कोइराला हुन भन्दा अतियुक्ति नहोला। कालान्तरमा पुत्र बिपी कोइरालाले पिताले अवलम्बन गरेको मार्ग अपनाउँदै परिवर्तनका नायक बने। सुशील कोइरालाका अनुसार कृष्णप्रसाद कोइराला गान्धीवादी हुनुहुन्थ्यो। त्यही चेतनाको सञ्चार पुत्र बिपीमा पनि भएको हो भन्दा अन्यथा हुने छैन।
सन् १९५५ मा टोल्सटोयको यास्नाया पोल्यानाको निवासस्थित उनको निजी पुस्तकालय अवलोकन गर्न पुगेका भारतीय राज्य परिषद्का उपाध्यक्षले कृष्णमुर्ती रावले गान्धी र उनीबीचको पत्र संवाद देखेपछि टोल्सटोयले गान्धीलाई कति प्रभाव पारेका रहेछन् भन्ने जानकारी पाए। उनले भनेका छन्, ‘गान्धीले ब्रिटिस शासकबाट भारतलाई स्वतन्त्र गराउन सफल हुनुभयो। उक्त तथ्यका आधारमा भन्न सक्नुपर्छ– टोल्सटोयले भारतलाई स्वतन्त्र गराउन अप्रत्यक्ष प्रशिक्षित गर्नुभयो भन्दा अतियुक्ति हुनेछैन।’ रावको भनाइमा सहमत हुनसक्ने हो भने बिपी पनि टोल्सटोय र गान्धीबाट त्यत्तिकै प्रभावित रहे। कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्रीलाई पार्सल गरेर पठाएको स्थान सिराहाको माडर, त्यही स्थानलाई बिपीले प्रसिद्ध उपन्यास ‘मोदी आइन’मा चन्द्रगन्ज भन्ने स्थानको सेरोफेरोका रूपमा उल्लेख गरेका छन्। त्यही सन्दर्भमा कोइरालाले ‘मोदी आइन’मा पात्रका माध्यमबाट ‘मानिस ठूलो होइन, असल बन्नुपर्छ’ भन्ने सन्देश दिएका छन्। त्यो सन्देशभित्रको मर्म बुझेका देशमा आज कति नागरिक र राजनीतिका विद्यार्थी छौँ ? मर्मज्ञले छातीमा हात राखेर उल्लिखित अग्रजहरूलाई स्मरण गर्दै पहल कदमी गर्यौँ भने यतिबेला नेपाली राजनीतिले बिराएका बाटो र गन्तव्य फेला पार्न अन्यत्र भौँतारिनुपर्दैनथ्यो कि ? ती अन्तर्राष्ट्रिय महामानवको नेपालको परिवर्तनको जगमा योगदान छ भन्नु अतिशयोक्ति नहोला।
(लेखक अहिंसा र गान्धी विषयक शोध अध्ययनकर्ता हुन्।)
प्रकाशित: १७ माघ २०७७ ०३:०८ शनिबार