२३ फाल्गुन २०७७ आइतबार
विचार

नेपालमा भूकम्पीय जोखिम

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ यो वर्षको भूकम्प सुरक्षा दिवस मनाइएको छ । कोभिड–१९ महामारीका बाबजुद पनि अघिल्ला वर्षहरूमा झैँ यो वर्षको २३ औँ शृंखलापनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी विभिन्न किसिमका चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइयो। भाइरस संक्रमणका डरले कतिपय स्थानमा भर्चुअल माध्यमबाट कार्यक्रमहरू प्रदर्शनी गरियो।

जानकारहरूले इतिहासका भूकम्पका आधारमा काठमाडौँ उपत्यकामा प्रत्येक पचहत्तर वर्षको अन्तरालमा भूकम्प जान सक्ने अनुमान गरेका छन्।

भूकम्पीय दृष्टिकोणले नेपाल हिमालय अति सक्रिय क्षेत्रमा पर्छ । ग्लोबल रिपोर्टका अनुसार नेपाललाई भूकम्पीय जोखिमताकाआधारमा एघारौँ स्थानमा राखिएको छ । तातो अर्धतरल सतहमाथि तैरिइरहेका दुईवटा टेक्टोनिक प्लेटहरू इन्डियन र युरोसियन एक आपसमा टकराब हुँदा हिमालय क्षेत्रमा समय समयमा हलचल मच्चिरहन्छ । युरोसियन प्लेट प्रत्येक वर्ष दुई सेन्टिमिटरको दरले उत्तरतर्फ हिँडिरहेको छ। चलायमान भूखण्ड भएका कारण साना ठूला कम्पन गइरहन्छन्। चट्टानहरूको अक्सर घर्षण र ठक्कर हुँदा हजारौँ वर्षको अन्तरालमा जमिनमुनि ठूलो शक्ति (सेस्मिक इनर्जी) सञ्चय भएर बसेको हुन्छ। उक्त शक्ति दरारहरूमार्फत जमिन बाहिर निस्कन खोज्दा तरङ्ग पैदा गर्छ जसलाई हामी भूकम्प भन्छौँ। भूकम्पले कति असर गर्छ भन्ने कुरा भौतिक संरचना यसको केन्द्रविन्दुबाट कति टाढा छ भन्ने कुराले निर्धारण गर्छ।

करोडौँ वर्षपहिले हिमालयको उत्पत्ति भएदेखि नै यस क्षेत्रमा अनगिन्ती कम्पन गइसकेका छन्। दस हजार भन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको सन १९३४ को महाभूकम्पदेखि झन्डै नौ हजार मानिसले ज्यान गुमाउनुपरेको सन् २०१५ को विध्वंसक गोर्खा  महाभूकम्पबीच थुप्रै ठूला भूकम्प गए। सन् १९८८ को ६.९ म्याग्निचुडको काठमाडौँ बिहार भूकम्पले करिब एक हजार मानिसको ज्यान लिएको थियो । सय जना भन्दा बढीको ज्यान जाने गरी आएको ६.९ म्याग्निचुडको सिक्किम भूकम्प अझै पनि कैयौँको मानसपटलमा झल्किरहन्छ । त्यस कारण एकपटक भूकम्प गइसकेपछि जोखिम पूर्णरूपमा टर्दैन र पुनः जुनसुकै समयमा पनि जान सक्छ भन्ने कुरा इतिहासका महाविपत्तिबाट सजिलै बुझ्न सकिन्छ।

एकपटक ठूलो भूकम्प गइसकेको ठाउँमा पुनः जान सक्दैन भन्ने हुँदैन। जमिनमुनिको पूरै शक्ति स्खलित नभएको अवस्थामा त्यही क्षेत्रमा फेरि सानातिना कम्पन गइरहन सक्ने सम्भावना रहन्छ। गोर्खा भूकम्पपछि पनि नेपालका अन्य भूभागमा ठूलो मात्रामा शक्ति सङ्कलन भइरहेको र जुनसुकै समयमा पनि उक्त शक्ति बाहिर पैदा हुन सक्छ भनेर भूगर्भविद्हरूले आमनागरिकलाई सचेत गराउँदै आइरहेका छन् । जापान, चीन, अमेरिकालगायतका अन्य देशका विशेषज्ञको समूहले नेपाल हिमालयको बेल्टमा भूकम्पको सम्भावना के÷कति छ भनेर अनुसन्धान गरिरहेका छन् । केही भूवैज्ञानिकले नेपाल हिमालयमा सम्भावित भूकम्पको जोखिमको अध्ययन गरी आफ्ना आर्टिकल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन् भने केही थप अनुसन्धानमा लागिरहेका छन्।  

भूकम्पीय जोखिम भएका ठाउँहरूलाई भौगोलिक हिसाबले तीनवटा क्लस्टरमा विभाजन गरिएको छ– पश्चिमी, मध्य र पूर्वी नेपाल । भौगर्भिकरूपमा हेर्ने हो भने शिवालिक (चुरे), लेसर हिमालय र हाइयर हिमालयको अगाडि पर्ने क्षेत्र उच्च जोखिम भएका भूभाग हुन् भन्ने गरिन्छ। जापान अन्तर्राष्ट्रिय कर्पोरेसन एजेन्सी (जाइका) ले सन् २०१६ मा प्रकाशित गरेको रिपोर्टअनुसार मध्य पश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्य नेपालमा क्रमशः ८.६, ७.८ र ७.८ म्याग्निच्युडका ठूला भूकम्प जान सक्छ भनेर उल्लेख गरिएको छ। भूकम्प नगएको सय वर्ष भइसकेको क्षेत्रमा जमिनमुनि सञ्चै भएको शक्ति पूर्ण स्खलित हुन ७.८ रेक्टर स्केलको र तीन सय पचास वर्षसम्म पनि भूकम्प नगएको भूभागमा ९ रेक्टर स्केलको भूकम्प जानुपर्छ भनेर भूवैज्ञानिकहरूले उल्लेख गरेको पाइन्छ। त्यो हिसाबले हेर्ने हो भने नेपालको पश्चिमी भूभागले भविष्यमा भुइँचालोको ठूलै झट्का बेहोर्नुपर्ने प्रचुर सम्भावना देखिन्छ। २०७२ को गोर्खा महाभूकम्पमा पनि जमिनको सतहमा दरार (रप्चर) देखा नपरेकाले जति शक्ति बाहिर स्खलित हुनुपर्ने हो त्यति नभएको र उक्त शक्ति काठमाडौँको सतहमुनि गएर अड्किएको विज्ञहरूको भनाइ छ।  

एक्काइस ठूला सहरमध्ये भूकम्पीय जोखिमका हिसाबले काठमाडौँलाई उच्च स्थानमा राखिएको छ। सन् १९३४ को भूकम्पले नै उपत्यकालाई थिलोथिलो पारेको थियो। त्यो समयमा करिब ४० प्रतिशत भौतिक संरचनाहरूमा क्षति पुगेको थियो । उन्नाइसौँ शताब्दीतर्फ फर्केर हेर्ने हो भने उपत्यकामा सन् १८१०, १८३३ र १८६६ मा एउटै प्रकृतिका भूकम्पहरू गएको प्रमाणहरू भेटिन्छन्। जानकारहरूले इतिहासका भूकम्पका आधारमा काठमाडौँ उपत्यकामा प्रत्येक पचहत्तर वर्षको अन्तरालमा भूकम्प जान सक्ने अनुमान गरेका छन्। यद्यपि प्राकृतिक विपद् कहिले, कहाँ र कुन समयमा जान्छ भनेर एकीन गर्न भने अहिलेको विज्ञानमार्फत सकिँदैन।

नेपाल हिमालयको बेल्टमा हामीले महसुस गर्न नसकिने हलचलहरू दिनहुँ भइरहन्छन्। पछिल्लो केही वर्षको तथ्याङ्क हेर्ने हो भने पाँच म्याग्निच्युड भन्दा कम स्केलका झट्का अनगिन्ती गएको देखिन्छ। सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, नुवाकोट, धादिङलगायतका जिल्लामा बेलाबेलामा भूकम्पले झस्काइरहेको पाइन्छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिस्मोलोजिस्टहरू यस्ता झट्का ०७२ को महाभूकम्पकै पराकम्प हुन् भन्दै आइरहेका छन्। पराकम्प भइरहँदा महाभूकम्पको सेस्मिक शक्ति क्षयीकरण हुने हुँदा यसलाई राम्रो मानिन्छ । उता पश्चिम नेपालमा बझाङ, दीपायल, सुर्खेतलगायतका जिल्लामा पनि मध्यम स्केलका दर्जनौँ धक्का महसुस गरिएको छ । तर यो क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएका झट्काहरूको प्रकृति गोर्खा महाभूकम्पको भन्दा फरक किसिमको रहेको भूकम्पविद्हरूको अनुमान छ। पश्चिम नेपालमा भूकम्पको ठूलो शक्ति सञ्चित भइरहेको र जुनसुकै समयमा पनि यसले हामीलाई झुक्काउन सक्ने भन्दै पूर्वतयारीमा हेलचेक्र्याइँ नगर्न विज्ञहरूले सचेत गराउँदै आइरहेका छन्।

हामी भूकम्पले धेरैको ज्यान लियो भन्छौँ तर कुरा त्यसो होइन। भूकम्प आफैँले ज्यान लिने हैन, हामीले बनाएका कमजोर भौतिक संरचना र अव्यवस्थित सहरीकरणले गर्दा जनधनको क्षति हुने हो । एसियाली देश जापानमा ५–६ म्याग्निच्युडका भूकम्प अनगिन्ती गइरहन्छन् तर पनि भूकम्प र त्यसपश्चात् आउने समुन्द्री आँधीले पार्ने प्रभाव न्यून हुन्छ किनभने त्यहाँका आममानिसलाई भूकम्पबाट कसरी बच्न सकिन्छ भन्ने कुराको राम्रोसँग शिक्षा दिइनुका साथसाथै भवन निर्माणको आचारसंहितालाई पनि कडाइका साथ लागु गरिएको छ । अब हामी पनि भूकम्पलाई स्वीकार गर्दै यसैसँगै बाँच्न सिक्नुपर्छ।

अन्तमा, नेपाल हिमालय भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिम भएको क्षेत्रमा पर्ने हुनाले पूर्वतयारीमा लाग्नु नै जोखिम न्यूनीकरणको उपाय हो। नेपालको पश्चिम, मध्य र पूर्वी भूभागमा जहिले र जुनसुकै समयमा पनि ठूलो झट्का जान सक्छ भन्ने मानसिकताका साथ हामीले आजैदेखि तयारी गर्‍यौँ भने मात्र विपद्पश्चात् हुने क्षति न्यूनीकरण गर्न सक्छौँ ।

(जापानको विश्वविद्यालयमा रिसर्च विद्यार्थी)

प्रकाशित: ९ माघ २०७७ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App