२३ फाल्गुन २०७७ आइतबार
विचार

चीनको होइन आफ्नै चिन्ता

सम्मेलनका लागि तीन–चारपटक नेपालमा पुगेका राजनीतिशास्त्रका एक चिनियाँ प्राध्यापकले चीनको एक सहरमा भेटघाट हुँदा रमाइलो अनुभव सुनाएका थिए- ‘नेपालबाट फर्केपछि मोबाइलमा नेपालका साथीहरूको यति धेरै म्यासेज आउन थाल्यो कि पछिपछि त हेर्न पनि छाडिदिएँ ।’ नेपालमा भएका जे–जस्ता घटना हुन् चाहे ती चीनसँग सम्बन्धित हुन् वा नहुन्, उनको मोबाइलमा सूचना आइपुग्दो रहेछ । बिग डेटाको युगमा सूचनालाई किन यति हल्कारूपमा लिएको होला भनेर ठट्टासम्म उनले गरेका थिए । चिनियाँलाई खुसी पार्न वा नजिक हुन हरपल सम्पर्कमा बसिरहनु जरुरी छैन । यो त चिनियाँ मनोविज्ञान नबुझ्नेले गर्ने काम हो । अर्को पक्षको मनोविज्ञान र सामथ्र्य विभिन्न माध्यमबाट निक्र्योल गरेपछि मात्र आफ्नो आवश्यकता के हो त्यसअनुसार चिनियाँले व्यवहार गर्छन् । अर्को पक्षले चाहँदैमा वा प्रलोभन देखाउँदैमा हुँदैन । चिनियाँको चाहनाबिना नै उनीहरुरूसँग बढ्ता नजिक हुने प्रयास गर्दै हुनुहुन्छ भने अहिलेको नयाँ चीनका नयाँ सुन जुले लेख्नुपर्ने हुन्छ– आफ्नो अपेक्षाविना नै अर्को पक्ष तिम्रो कब्जामा पर्न आउँछ भने त्यो विजय मात्र होइन सुन्दर महाविजय भनेर जान ।

नेपाल र चीनबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन अझै निकै नै प्रयास गर्नुपर्ने देखिन्छ । हिमालपारिको मुलुकका जनतामा अझै पनि नेपालबारे निकै कम जानकारी देखिन्छ ।  

सूचनालाई कसरी र कुन किसिमले अधिकतम लाभका लागि प्रयोग गर्ने भन्नेमा अझै पनि धेरै मानिस कमजोर छन् । नेपालका एक कूटनीतिज्ञले नेपालमा विभिन्न जटिलताले गर्दा विकास हुन नसकेकोबारे चर्चा गरिसकेपछि विदेशी लगानीकर्तालाई भन्थे– ‘नेपाल सरकार तपाईँहरूलाई स्वागत गर्न आतुर छ, नेपालमा लगानी बढाउनूस् ।’ एकातिर नेपालमा विकासका लागि प्राविधिक कठिनाइ धेरै छ भन्ने अर्कोेतर्फचाहिँ आउनूस् पैसा खन्याउनूस् अवसर छ भन्ने । विल्कुल नमिल्ने कुरा भो । लगानीकर्ताहरूलाई आश्वस्त पार्न थुतुनो होइन, डकुमेन्ट्स बोल्नुपर्छ । संसारभरि छाएका लगानीकर्ताहरू प्रशासनिक, कानुनी, लगानीको वातावरणलगायत आवश्यक प्राविधिक विषयहरूमा सम्बन्धित डकुमेन्ट्सबाट नै ढुक्क हुने स्थिति भएपछि मात्र अग्रसरता देखाउँछन् ।  

नेपालमा चीनबारे चासो राख्ने बुद्धिजीवीहरू तिब्बतकै विषयवस्तुमा मात्र ज्यादा भुलेका हुन्छन् । आजको वास्तविक चीन जुन हरआयाममा सशक्त बनेको छ उसबाट अधिकतम कुन–कुन क्षेत्रमा कसरी सहकार्य गरेर लाभ लिन सकिन्छ यसबारे निकै कम बहस हुने गरेको छ । नेपालका धेरैजसो बुद्धिजीवीले नेपाल–चीन सम्बन्धको कुरा भयो कि पश्चिमाहरूबाट तिब्बतमा पर्न सक्ने असरबारे मात्र ज्यादा हाउगुजी देखाउँदै यसले सिङ्गो चीनमा उथलपुथल ल्याउन सक्ने भन्दै कुरा टुङ्गाउने गरेको भन्दै एक चिनियाँ प्राध्यापकले रमाइलो अनुभव सुनाएका थिए । तिब्बतलाई कसरी सुरक्षित राख्नुपर्छ भन्नेमा नेपालीले चिनियाँलाई पढाइरहनु पर्दैन । विश्वकै दोस्रो सैन्य बजेट भएको चीन आफ्नो सार्वभौमिकता बचाइराख्न हाम्रा जस्ता मुलुकहरू भन्दा कैयौँ गुणा सामथ्र्यवान छ ।

चीनले गरेको प्रगतिबाट फाइदा लिन चीनले केही देला अनि व्यवस्थापन गरौँला भनेर होइन, हाम्रा लागि के आवश्यकता हो त्यसमा केन्द्रित रहेर लाभ लिन सक्नुपर्छ । छिमेकी मुलुकहरूले त सदासयतासम्म देखाउने हुन् ।

आधुनिक सैन्य उपकरणमा अमेरिका र रुसपछि चीन तेस्रो मानिन्छ । बरु नेपालीको बढ्ता जोड आर्थिकरूपको अमेरिकालाई चाँडै उछिन्न लागेको चीनबाट कसरी आधिकतम सहकार्य गरेर लाभ लिन सकिन्छ त्यसतर्फ ज्यादा अध्ययन, अनुसन्धान, बहस र चिन्तन हुनुपर्ने हो । नेपालीको बढ्ता चिन्ताले तिब्बतको सुरक्षा हुने होइन । आफ्नो भूमि जोगाइराख्न चीन आफैँ निकै सक्षम छ भन्नेमा कसैमा भ्रम रहनु हुँदैन । भूगोल र सामुद्रिक दुवै किसिमले जोडिएका चीनका छिमेकी मुलुक धेरै छन्, तीमध्ये नेपाल एक हो । हामीले  भूरणनीतिकरूपमा निकै संवेदनशील मुलुक भन्ने नारा अलि ठीक भएन कि ? यसले गर्दा लाभ वा सहकार्य हुन सक्ने अन्य महत्वपूर्ण विषयवस्तुबारे न्यूनतम चिन्तन पनि हामीले गर्न सकेनौँ । विश्वका सबै मुलुकले आफूलाई नै केन्द्रमा राख्ने गर्छन् । जो राजनीतिक स्थिरतासँगैं गतिलो आर्थिक सुधार, सुशासन कायम गर्दै हरआयाममा सबल बन्न सक्छ उसको क्षेत्रीय वा अन्तर्राष्ट्रिय उपस्थिति, आवाज र प्रभाव स्वभावतः बढ्न थाल्छ । जुन मुलुक कमजोर हुन्छन् अनि विभिन्न रोगले ग्रस्त हुने हुँदा बाह्य भाइरसहरूको चलखेल, दबाब मात्र होइन, कुनै अवस्थामा आक्रमणको समेत सामना गर्नुपर्ने हुन्छ ।  

पूर्वी एसियाली समाजमा कुनै पनि व्यक्तिका तीनवटा अनुहार हुन्छ भन्ने विश्वास गरिन्छ । पहिलो हो– बाहिर देखाउने ढोँगी वा ज्यादा बनावटी अनुहार । दोस्रो– व्यक्तिलाई उसका परिवार सदस्यहरू एवं नजिकका साथीहरूले चिन्ने अनुहार र तेस्रो हो– ऊ आफैँले आफैँलाई चिनेको व्यक्ति । यो सामाजिक मनोविज्ञान अन्य समाजका व्यक्तिहरूले नबुझ्ने हुँदा तुलनात्मकरूपमा बाहिर कम बोल्ने चिनियाँहरूलाई सजिलै विश्वासमा लिन सकिन्छ भन्ने दुःसाहस कतिपयमा देखिन्छन् । वास्तवमा अरूको मनोविज्ञानमा खेल्न निकै खप्पिस चिनियाँहरूले कसरी स्थितिलाई आफ्नो अनुकूलमा ल्याउँछन् असर देखिन थालेको धेरैपछिमात्र अर्को पक्षले भेउ पाउँछ । अमेरिका–चीन सहकार्यमा योगदान पुर्‍याएका पूर्वअमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर भन्छन्– ‘अमेरिकीहरू अरूको क्षमता पहिले हेरेर त्यसअनुसार व्यवहार गर्न चाहन्छन् भने चिनियाँहरू अर्को पक्षको मनोविज्ञानमा  आधारित रहेर तद्अनुसार कदम चाल्छन् ।’ मनोविज्ञान बुझ्नलाई अर्को पक्षको धेरै कुुरा बुझ्नुपर्ने हुन्छ । आफ्नो अनुकूल वातावरण नबन्दासम्म चिनियाँहरू सहमत वा असहमत भनेर प्रतिक्रिया दिँदैनन् । बरु अन्य मध्यमार्गी औपचारिक शब्द प्रयोग गर्ने गर्छन् । यो स्वभाव चिनिया समाज वा राष्ट्र दुवैमा उस्तै देखिन्छ । चीनमा केही वर्ष बसेर नेपाल फर्केका अधिकांशमा चीनकै विषयवस्तु आउँदा पनि अलि ढिलो प्रतिक्रिया दिने एवं दिनैपरे धेरै नखुलीकन विचार राख्ने स्वभाव देखिनु चिनियाँ समाजकै एक प्रभावका रूपमा लिन सकिन्छ । बरु चीन नै नपुगेका वा भ्रमणका लागि मात्र गएकाहरूमा प्रतिक्रियाका लागि शीघ्र हाम्फाल्ने प्रवृत्ति देखिन्छ ।  

भौगोलिक कठिनाइका कारण छिमकी मुलुक भइकन पनि चीन नेपालबाट अझै निकै टाढा छ भन्दा अतिशयोक्ति नहोला । अरू त कुरा छाडौँ, चीनमा रोजगारीका लागि रहेका नेपालीले स्वदेशमा पैसा पठाउनसमेत कम्ता अप्ठ्यारो छैन । त्यस्तै चीन नेपालको दोस्रो ठूलो निर्यातकर्ता एवं महत्वपूर्ण लगानीकर्ता भइसक्दा समेत चीनमा रहेका नेपाली व्यापारीले भोग्दै आएका प्राविधिक कठिनाइ अनेक छन्, यसमा गैरआवासीय नेपाली संघ–चीनले अनवरत पहल गर्दै आए पनि सम्बन्धित नेपाली निकायले समाधानका लागि न्यूनतम अग्रसरता पनि देखाउन सकेका छैनन् । बेल्ट एन्ड रोड इनिसिएटिभबाट नेपालको समृद्धिमा सहयोग पुग्न सक्ने केही आश पलाएको भए पनि नेपालको कम्युनिस्ट सरकारले पछिल्लोपटक चीनलाई अल्मल्याउने, भारतलाई नचिढ्याउने र अमेरिकालाई आश देखाइरहने नीति लिएको जस्तो देखिन्छ । नेपालका केही ठालुका लागि आएको नक्कली समाजवादले नयाँ भयानक संरचनात्मक समस्या सिर्जना गर्न सक्ने देखिँदैछ । 

समाजवादको प्रसंगमा चिनियाँ नेता तङ सियाओफिङ भन्ने गर्थे– ‘केही व्यक्तिलाई धनी बनाउने र बाँकी सम्पूर्ण जनतालाई गरिबीको दुष्चक्रमा राख्ने अवस्था समाजवाद हुन सक्दैन । समाजवादको सौन्दर्यता भनेकै सबै जनतालाई समृद्ध हुने वातावरण तयार गर्ने र यसरी हासिल भएको बृहत् समृद्धिको अवस्था नै समाजवादको मूल तत्व हो ।’ विशाल जनसंख्याको मुलुक चीनमा आधा जनसंख्यालाई समृद्ध बनायौँ भने पनि आधा समस्यामा हुन्छन् र सामाजिक अस्थिरता निम्तन सक्ने भएकाले सबैलाई माथि उक्लन सक्ने वातावरण निर्माण गरेर समाजवादको मूल लक्ष्य हासिल गर्नुपर्ने नेता तङको भनाइ थियो ।

चिनियाँ समाजमा घुलमिल हुन अझै पनि कठिन हुन्छ विदेशीलाई । चीनमा दश वर्ष भन्दा बढी समय व्यतित गर्दासमेत चिनियाँ भाषा न्यूनतमरूपमा पनि बोल्न नसक्ने विदेशीहरू भेटिनु सामान्य मानिन्छ । अक्षर पढ्न सक्नु त धेरै परको कुरा । झनै पछिल्लोपटक विभिन्न भाषा ट्रान्सलेसन एप्सले दिएको सुविधाले गर्दा विदेशीहरूमा पनि भाषा सिक्ने जाँगर कम हुँदै गएको देखिन्छ । कम्युनिस्ट मुलुक चीनमा विदेशी विज्ञ एवं विद्यार्थीहरूलाई चीन आउनुअघि उसले अपेक्षा गरेको भन्दा बढी स्वतन्त्रता हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर यो साँचो हो । यसबाट चीन उदार मुलुक हो भन्ने सन्देश बाँकी विश्वमा जाओस् भन्ने चाहना सम्बन्धित चिनिया निकायले राखेका हुन् सक्छन् । चिनियाँ समृद्धिको सकारात्मक कथा चिनियाँ आफैंले भन्दा विदेशीहरूबाट प्रवाह हुन सके बढी प्रभावकारी हुन्छ भन्नेमा उनीहरू जानकार भएर नै हुन सक्छ ।  

सन् १६०० सम्म चीन र भारतको संयुक्त अर्थतन्त्रले विश्व अर्थतन्त्रको आधा भन्दा बढी हिस्सा ओगट्थ्यो । सन् १८२० सम्म पनि चीन विश्वको पहिलो अर्थतन्त्र थियो । धनी र शक्तिशाली बन्ने सपना प्रत्येक चिनियाँ नेतृत्वले राख्थे । नेता माओले समेत सन् १९५६ तिर भनेका थिए– ‘महान् समाजवादी मुलुक चीनले शक्तिशाली पुँजीवादी मुलुक अमेरिकालाई एक दिन उछिन्ने छ ।’ त्यो उछिन्ने समय आउन अब धेरै समय बाँकी छैन्, चाँडै चीन पहिलो अर्थतन्त्र बन्दैछ र आधुनिक प्रविधिको आविष्कार र प्रयोगमा अमेरिकासँग कडा टक्कर सुरु भइसकेको छ । अझै केही अमेरिकी प्राध्यापकको भनाइ मान्ने हो भने अब जसले आधुनिक प्रविधिमा जित्न सक्छ उसैले अबको विश्वमा नेतृत्व गर्नेछ । दोस्रो विश्व युद्धपछिको अमेरिका एक्लैले विश्व अर्थतन्त्रको पचास प्रतिशत भन्दा बढी हिस्सा ओगट्थ्यो । यतिखेर त्यो जम्मा १८ प्रतिशतको हाराहारीमा छ । हेक्का रहोस्, अहिलेको अमेरिका शीतयुद्धताकाको जस्तो प्रतिस्पर्धीहरू भन्दा निकै अगाडि रहेको अवस्थाको होइन । त्यस कारणले पनि अबको विश्वले अमेरिकालाई एकल नेता मान्न सक्दैन । हिजो केही हदसम्म अमेरिकी सामथ्र्यलाई हेरेर विश्वले अलि बढी स्थान दिएको यथार्थ हो । अब विश्व प्रणाली बहुधु्रवमा प्रवेश गरिसकेको छ । कोभिड–१९ को महासंकटले पनि विश्व समुदायमाझ बहुआयामिक र उदार सहकार्यको आवश्यकतालाई नै अपरिहार्य भन्ने सन्देश दिएको छ ।  

नेपाल र चीनबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन अझै निकै नै प्रयास गर्नुपर्ने देखिन्छ । हिमालपारिको मुलुकका जनतामा अझै पनि नेपालबारे निकै कम जानकारी देखिन्छ । चीनले गरेको प्रगतिबाट फाइदा लिन उसले केही देला अनि व्यवस्थापन गरौँला भनेर होइन, हाम्रा लागि के आवश्यकता हो त्यसमा केन्द्रित रहेर लाभ लिन सक्नुपर्छ । छिमेकी मुलुकहरूले त सदासयतासम्म देखाउने हुन् । चीनले २०२० को अन्त्यबाट निरपेक्ष गरिबीलाई समुल बिदा गरेको छ । यो भनेको विश्वकै करिव २० प्रतिशत जनसंख्यालाई निरपेक्ष गरिबीको दुष्चक्रबाट मुक्त गर्नु हो । नेपालको कम्युनिस्ट सरकारले पनि चिनियाँ अनुभव र प्रयोगबाट ठोसरूपमा सिक्न पहल गरे हुने हो ।

केवल भुलभुलैयाका लागिमात्र दुई कम्युनिस्ट पार्टीबीचको भाइचारा सम्बन्ध भन्दै दुनियालाई भ्रममा पार्ने काम मात्र भएको छ । चीनको हालै सार्वजनिक चौधौँ पञ्चवर्षीय योजना (२०२१–२०२५) ले तिब्बत, छिङहाइ, सिचुवानलगायत पश्चिम क्षेत्रहरूमा व्यापक नयाँ पूर्वाधारमा जोड दिएकाले नेपाल–चीन रेलवेलगायत अन्य कनेक्टिभिटीका क्षेत्रतर्फ कसरी सहकार्य अगाडि बढाउन सकिन्छ पहल गर्दा उपयुक्त हुन्छ । पुस्तक डु मोरल्स म्याटर : प्रेसिडेन्ट्स एन्ड फरेन पोलिसी, फ्रम एफडिआर टु ट्रम का लेखक एवं अमेरिकी प्राध्यापक जोसेफ ने भन्छन्– परिस्थितिअनुसार राजनीतिक संस्कार, वैचारिक मूल्य र सही व्यावहारिकता प्रदर्शन गर्न सकेमा नेतृत्वले कठिनाइलाई समयमै सम्बोधन गर्नुका साथै भविष्यमा आउन सक्ने कैयौँ जोखिमबाट पनि मुलुकलाई सुरक्षित राख्न सक्छ । तर हामीकहाँ आफ्नै पार्टीभित्रका गुटको व्यवस्थापन गर्न नसक्ने नेताहरूले लथालिङ्ग देश सम्हालेर मुलुकलाई नयाँ दिशानिर्देश दिन सक्लान् भन्दा विश्वास गर्न साह्रै गाह्रो छ । यही नै हालको नेपाली लोकतन्त्रको दुर्दशाको मूल कारण भएको छ ।  

(चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक)

प्रकाशित: ८ माघ २०७७ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App