९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

हिजोको परिवेश आजको वास्तविकता

महाकाली सन्धि र सुरुङ युद्ध गर्नेबीच कति नै फरक छ र ? एउटै सिक्काका दुई पाटा जस्तो ।  

शृङ्खलाबद्ध छलफलको यो दोस्रो खेपमा छौँ हामी । यो कहालिलाग्दो अवस्थामा आज मुलुक किन र कसरी आइपुग्यो ? यसको चुरो पत्ता लगाउन नेपालको अर्थ राजनीतिक इतिहासलाई सरसर्ती हेर्ने क्रममा छौँ । यतिखेर अनायास १३औँ शताब्दीका फारसी भाषाका महान् साहित्यकार जलालुद्दिन रुमीको भनाइ   सम्झिन पुगेको छु ।

‘असल कर्म गर, स्वर ठूलो नगर

वर्षाले फूल फुल्ने हो, मेघ गर्जनले होइन’

हामीकहाँ त फूल फुल्नै दिइएन । वसन्तलाई आउनै दिइएन । यस अर्थमा इमान छट्पटिएको छ यहाँ बाँच्नका लागि । विकासको परिणति ‘सुकुलगुन्डा अर्थतन्त्र’ बनेको छ । कहिले कसैको उपनिवेस बनेन नेपाल तर उपनिवेस सरह नै रह्यो । यसरी उन्नाइसौँ शताब्दीको उपनिवेशवादी शोषणको शिकार बन्यो । अनि एउटा वर्गको सुख सयल र विकाश र समृद्धिका लागि जनतालाई राज्यले कागती निचोरेझैँ निचो¥यो । आफ्नै मुलुकमा बाँच्न नपाउँदा आफ्नो घरआँगन, खेती, वस्तुभाउ सबै छाडेर लाखौँ लाख गरिब नेपाली जनता मुग्लान छिरेका थिए ( नेपालको पहिलो ‘मास एक्सोडस’ ।  तर दुई सय वर्षपछि आज पनि परिस्थिति त्यस्तै छ । बदलिँदो बादलको जस्तै स्वरूप मात्र बदलिएको छ । कालो बादल लागि नै रहेको छ । हाम्रो आकाश अझै छ्याङ्ग हुन सकेन ।  

हाम्रो नियति हो वा भूराजनीतिक अवस्थिति । या नेतृत्वमा रहेकाहरूको लोभ र घृणाले हो, नेपाली आवाज त अरण्यरोदन बनेर हप्कीदप्की स्वरबीच हराएको छ । सत्तारूपी सुन्दरी भोग्न नछोड्ने र भोग्नका लागि लालयित जो आ–आफूलाई मसिहा ठान्छन् हाम्रो, यिनीहरूबीचको झुट, फरेवी र बेइमानीको कहिले नटुङ्गिने कलहको कान खाने स्वर झन् झन् ठूलो हुँदै गइरहेको छ । त्यसैले अहिलेको परिवेश जुन यिनीहरूले बनाए त्यहाँ असल कर्म हुने त कुरै छोडिदिउँ । मुलुकलाई चोट लाग्ने गरी कुकर्म मात्र नगर्दिए पुग्थ्यो ।

स्थिति ‘जिरो सम गेम’ को जस्तो बनेको छ । अर्थात् एउटाले जित्न अर्कोले हार्नैपर्ने । युद्धरत दुवै पक्षलाई यो महाभारत जित्नैपर्ने भएको छ । करिव पाँच हजार वर्षअगाडिको महाभारत धर्म युद्ध थियो । हामीकहाँ जे भइरहेको छ यो पाप युद्ध हो । त्यतिबेला बाहिर कतैबाट पनि युद्ध निर्देशित थिएन । अहिले छ । त्यो पनि चार दिशाबाट । र, चारै दिशामा विराजमना कलियुगका ‘पापी दिक्पाल’हरू अर्थात विदेशी मालिकहरू, हाम्रै नाम लिएर आआफ्नो स्वार्थ लाद्न लागिपरिरहेका छन् । हाम्रा मसिहाहरू विदेशी आशीर्वादको जोहो गर्न तल्लीन छन् । नेपालको इतिहासमा विदेशी मालिक रिझाउने परम्पराको थालनी सन् १८०१ बाट मात्र सुरु भएको देखिन्छ । त्यतिबेला नेपाल फुक्दै गइरहेको थियो । र, धानी पनि रहेको थियो । विश्व शक्ति बनेको बेलायतलाई रिझाउनुपर्ने अवस्था थिएन ।

तर रणबहादुर शाहको पगलपनले मुलुक गृह युद्धमा पर्ने अवस्था आयो । प्रेयसी विधवा तिरुहुतनी ब्राह्मणी कान्तावतीबाट जन्मिएको पन्ध्र महिनाको  गिर्वाणयुद्ध विक्रमलाई गद्धीमा राख्न राजपद त्यागेर स्वामी महाराज बनेर वितण्डा मच्याउन थालेकोले यो अवस्था आयो । इस्ट इन्डिया कम्पनी नेपाल छिर्न पहिलेदेखि नै खोजिरहेको थियो । उसको मिथकीय सोच नेपाल भएर तिब्बत पुग्ने र पैसा कमाउने थियो । नेपालले मान्दै मानेको थिएन । फिरङ्गीसँगको सम्बन्धमा पृथ्वीनारायण शाहको दिव्य उपदेशअनुसार उनीहरूलाई भित्र आउन दिने नहुने कुरामा नेपाल दृढ थियो ।

तर रणबहादुरको वितण्डा रोक्नुपर्ने बाध्यात्मक परिस्थिति आयो । रणबहादुरलाई बनारसमै थान्को लगाउने र उनीसँग गएका करिब चालीस जनासहितको टोलीलाई पाल्ने सर्तमा नेपालले इस्ट इन्डिया कम्पनीलाई नेपाल आउन दिने उक्त सन्धि १८०१ मा ग¥यो । एउटा महत्वपूर्ण कुरा उक्त टोलीमा त्यतिबेला एक साधारण व्यक्ति पनि थिए । उनको नाम थियो भीमशेन थापा जो सन्धि भएको पाँच वर्षपछि १८०६ मा शक्तिमा आइपुगे र  नेपालको सबभन्दा लामो समय ३१ वर्ष प्रधानमन्त्री रहे । पल्टनलाई रिझाउन जनतालाई निचोरे उनले तर उनी रहुन्जेलसम्म सत्तामा टिक्न र पुग्न विदेशी मालिकको आशीर्वादबाट निसृत राजनीतिक मानसिकता हावी भइसकेको थिएन ।

१८१६ को सुगौली सन्धि भएको एक वर्षपछि जन्मिएका जङ्ग बहादुरले १८४६ मा कोतपर्वमार्फत सत्ता हातमा लिएपछि मालिक रिझाएर राज्य गर्ने मूल प्रवाह राजनीति बन्यो नेपालमा । त्यो भयानक रात कोतपर्व भइरहेका बेला, राजा राजेन्द्र दरबार छोडेर ब्रिटिस रेजिडे्न्टलाई भेट्न पुगे तर रातीको समय भएकाले भेट पाएनन् । दरवार फर्कँदा जङ्गबहादुरलाई रानीले बत्तिको ध्वाँसो दलेर ल्याप्चे लगाएर प्रधानमन्त्रीको कागज दिइसकेकी थिइन् । जङ्गबहादुरलाई जसले जे भने पनि मैले नेपालको इतिहासको निर्णायक व्यक्ति मात्र होइन, इतिहास बनाउने चार नेपालीमध्येको दोस्रो निर्णायक व्यक्ति भनेर चालीस वर्षअगाडि नै लेखिसकेको हुँ । त्यसपछिका अरू दुई हुन्– राजा महेन्द्र र बिपी कोइराला ।  

आफैँले नियुक्त गरेको आफ्नै प्रधानमन्त्री  माथवर सिंहलाई आफँैले आफ्नै अगाडि हत्या गर्न लगाएर राजा राजेन्द्रले जुन असन्तुलनको कम्पन सुरु गरेका थिए त्ययबाट मुलुक बिखण्डन हुनबाट जङ्गबहादुरले जोगाएको मेरो ठहर छ । यसबारे आउने खेपहरूमा छलफल गराँैला । यहाँनिरचाहिँ मालिकलाई रिझाएर नै कसरी राजनीति गरेका थिए जङ्ग बहादुरले जुन अहिलेको प्रगाढ निरन्तरता बनेको छ त्यतापट्टि लागौँ ।

त्यतिवबेला अहिलेको जस्तो चार दिशाका मालिकहरू एकअर्कोसँग जोडेर वा लडाएर सत्ता जोगाउनुपर्ने अवस्था थिएन । विश्व शक्ति बनेको इम्पेरियल ग्रेट ब्रिटेनलाई रिझाउन पुग्ने र कुनै कसर बाँकी राखेनन् उनले । कारण थियो– उनको महत्वाकांक्षा र मुलुकको हित । खोपाभित्रको राजालाई हटाएर उनी आफैँ नेपालको राजा बन्न चाहन्थे र त्यसका लागि प्रयत्न गर्दै आएका थिए । काठमाडौँस्थित रेजिडेन्टले त मानिसकेको थियो । र, कुरा अगाडि बढिसकेको थियो तर लन्डनले मानेन । यसैबीच जङ्गबहादुरले होमे नेपाललाई तिब्बतसँगको तेस्रो युद्धमा, ठूलो रकम असुल्छु भनेर । तर नेपालको ठूलो धनजनको क्षति भयो र अपेक्षाकृत उपलब्धि पनि हासिल गर्न सकेनन् उनले । लगत्तै उनले राजीनामा दिए र भाइ बम बमबहादुरलाई प्रधानमन्त्री घोषणा । राजा बन्न नपाउने भएपछि उनले प्रधानमन्त्री पद छाड्नुअगाडि आफूलाई कास्की तथा लमजुङको राजा घोषणा गराएर र अझ सर्वशक्तिमान बने । तर बेलायतलाई रिझाउने अवसर हेरि नै रहेका थिए ।

यो अवसर दियो सिपाही बगाबतले । भारतमा सिपाही बगाबत १८५७ मा भयो मेरठबाट । ती बगाबतीहरू लाल किल्लाभित्र छिरे, अन्तिम मुगल बादशाह बहादुर शाह जफरलाई नेतृत्व लिइदिन आग्रहका लागि । भारतीयहरूले आफ्नो पहिलो स्वतन्त्रता संग्राम यसैलाई भन्ने गर्छन् । जङ्गबहादुरले देखे कि सुवर्ण अवसर हो मालिक रिझाउने । तर प्रधानमन्त्री त उनी थिएनन् । नियतिको पनि खेल गजवको हुन्छ । यसको ठीक दस दिनपछि प्रधानमन्त्री बमबहादुरको निधन भयो । त्यसपछि दोस्रोपटक प्रधानमन्त्री बने उनी र बगाबत दबाउन उनलाई मौका दिन ब्रिटिससँग अनुनय गर्न थाले । ठाडै पर्दैन भन्यो ब्रिटिसले । तर उनले ढिपी छाडेनन् । र, अन्ततः गइछाडे । नेपाली फौज मात्र पठाएनन् । आफैँ गए नेतृत्व गरेर । यसरी बगाबत दबाएर आए । र, ब्रिटिसलाई ठूलो गुन लगाए । आउँदा खजाना पनि ल्याए जसलाई ‘लखनउ लुट’ पनि भनिन्छ । सम्भवतवः हिरा ज्वहारत नेपाल भित्रिएको यो पहिलोपटक थियो ।

जङ्गबहादुर तनाशाह थिए । क्रूर पनि । र, विश्व इतिहासमा तानाशाहले विरलै कुनै मुलुकको हित गरेको छ । कारण तानाशाहको व्यक्तिगत चाहना र आकांक्षा कहिले पनि पूरा नहुने हुन्छ र सधैँ बलिरहेको हुन्छ लोभको आगो ऊभित्र । अनि त  मुलुकको साधन, स्रोत र संवेदनशीलता भष्म हुँदै गइरहेका हुन्छन् । यस मानेमा जङ्गबहादुर कुनै फरक थिएनन् तर फरक पनि थिए । कसरी ? यसलाई ठम्याउन १९९२ मा अर्थशास्त्रमा नोबल पुरस्कार प्राप्त गरेका गेरी बेकरको भनाइ अलिकति हेरौँ । उनी भन्छन–् रासन्यालिटी अर्थात् कस्तोखालको मूल कारणले समयको त्यो बेलामा राजनीति र समाज हाँकेको छ त्यसले सबै कुरो निर्णय गर्छ ।

भनाइको मतलब त्यो मूल कारण जसअन्तर्गत राजनीतिक मूल्य र मान्यता प्रचलनमा छन् त्यसले नै मान्छे, समाज र शासनको आचरण बन्छ । उनले यो कुरो वेलफेयर इकोनोमिक्सको सिद्धान्त प्रयोग गरेर उपयोगिता र डेडवेट कस्ट र बेनिफिटको प्रयोगबाट देखाएका छन् । यहाँनिर अनि उनले व्यापार र राजनीति जोडेका छन् यो देखाउन कि भ्रष्टाचार कसरी हुन्छ भनेर । व्यक्तिगत स्वार्थले जति समाजिक हितलाई विस्थापित गर्दै जान्छ त्यही अनुपातमा भ्रष्टाचार बढ्दै जान्छ । भ्रष्टाचार भनेको पैसा खाने मात्र होइन । यसका विभिन्न आयाम छन् । सबभन्दा खतरनाक हो आफू सत्तामा टिक्न वा पुग्नका लागि विदेशी मालिकसँग मुलुकको हितको सौदावाजी गर्नु ।

यहाँनिर हो मैले जङ्गबहादुरलाई इतिहास बनाएको व्यक्ति ठानेको । आफैँ राजा हुन खोजेको मान्छेको व्यक्तिगत स्वार्थ त चरम थियो नै । तर त्यति हुँदा पनि उनले मुलुकको बृहत्तर हितमा चोट हानेर आफ्ना लागि मुलुकको स्वार्थको सौदाबाजी गरेनन् । यो भन्दा अगाडि बढे । ब्रिटिसलाई रिझाएर उनले सुगौली सन्धिबाट गुमेको नेपालको केही भूभाग फिर्ता ल्याए । नयाँ मुलुक भनिने यो भाग हो– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ।

मुलुकमा अहिले जे भइरहेको छ त्यो त परिणाम मात्र हो । कारक तत्व होइन । त्यसैले दुईमध्ये कुनै एकमा लागेर गरिने ‘पङ्तिबद्ध छलफल’ बाट बुझिने होइन । त्यो त अदालतमा बहस भई नै रहेको छ । मुलुकको हरेक भागमा हरेक दिन डबली र सडकमा आ–आफ्नो डम्फु बजाइ नै रहेका छन् । यो त प्रायोजित तमासा मात्र हो । ठूला ठूला स्वर सुनिरहेका छौँ हामी झूट, फरेवी र बेइमानीको यो कू देखि थू सम्मको अन्तरालमा । कोही फुटाउन आउने, कोही मिलाउन आउने सत्तामा टिकाउने र सत्तामा पु¥याउने राजनीति सौदाबाजीको । महाकाली सन्धि र टनेल युद्ध गर्नेबीच कति नै फरक छ र ? एउटै सिक्काका दुई पाटा जस्तो । भनिन्छ, ‘फ्रि लन्च’ भन्ने कुरै हँुदैन । अनि यिनीहरूसँग के छ र सौदाबाजीका लागि ? सिवाय हामी नेपालीको हक, हित, स्वाभिमान र पहिचान आदानप्रदान गर्नेबाहेक ।

 बदलिँदो परिवेशको जङ्गबहादुरको स्वरूप हेर्न ‘राष्ट्रियताको आतसबाजी’ ले तमासा देखाउने बाहेक भुटिभांग्रो केही गर्न सक्तैन । गर्जिरहेका छन् अन्त चार दिशाको आवाजलाई प्रतिध्वनित गरेर मेघ गर्जेसरह । पानी अन्तै जाने यो मेघ गर्जनले यहाँ फूल फुल्न सक्तैन । न विकासको, न सुशासनको, न जनजीविकाको । हो, भ्रष्टाचारलाई ‘कानुनसम्मत’ पारे जस्तै संविधानलाई ‘आफूकेन्द्रित’ पार्ने प्रयास र सोअनुरूपको उपचारले अमूर्त संविधानले कतै मृत्यु वरण गर्ने हो कि भन्ने शंका बढ्दै गएको छ । मालिक रिझाएर गरिने राजनीतिको हिजोको परिवेश र आजको वास्तविकता ठम्याउने अर्थराजनीतिक छलफलको अर्को खेप अर्को महिनाको पहिलो सोमबार प्रस्तुत गर्नेछौँ ।  

(अर्थराजनीतिक विश्लेषक)

प्रकाशित: ५ माघ २०७७ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App