१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

अतितजीवी उत्साहमा ओली उन्माद

हालसालै नेपालका ठूला सहरहरूमा राजावादीहरूले रमाइलो गर्दै थिए । कोरोनाका कारण नेपालीले कार्तिकनाच हेर्न पाएका थिएनन् । त्यसको रहर राजावादीले मेटाइदिएका थिए । नेकपाको सरकार बनेयता कुनै राजनीतिक दलले देश र नागरिकका समस्या समाधान हेतु दबाबमूलक प्रदर्शन गरेका थिएनन् । निर्मला हत्या काण्डका अपराधीलाई संरक्षण गर्ने सरकारको विरोध गरी निर्मलालाई न्याय दिलाउन, परम्परागत गुठी संस्कृतिको संरक्षण गर्न, स्वास्थ्य शिक्षा सुधारका अभियन्ताको समर्थनमा तथा सरकारको स्वेच्छाचारी र भ्रष्टाचारी प्रवृत्तिको विरोधमा नागरिकले स्वतस्फूर्त प्रदर्शन र विरोध गरी नेपालमा लोकतन्त्र जीवित छ भन्ने अनुभूति दिलाएका थिए । प्रतिगामी राजावादीहरू नै सही कम्तीमा लोकतन्त्रले लोकतन्त्रकै विरोध गर्न पनि अनुमती दिन्छ भन्ने प्रमाण तिनीहरूले गरेको प्रदर्शनबाट दिँदै थियो । लोकतन्त्र कायम गर्न शान्तिपूर्ण प्रदर्शन गर्दा गोली ठोक्ने आदेश दिइ सयौँलाई सहिद बनाउने हत्याका मतियारहरू अहिले त्यही लोकतन्त्रले दिएको अधिकार प्रयोग गर्दै हामी नागरिक नभई रैती बन्न चाहन्छौँ, हामीमाथि शासन गर्न राजा नै चाहिन्छ भनी निर्भयताका साथ सडकमा  वाख्खै गर्दा लोकतन्त्रवादीले चित्त दुखाउनुपर्ने आवश्यकता थिएन । यो लोकतन्त्रवादीका लागि रमाइलो नै बनेको थियो ।

राजावादीहरू सडकमा नाचिरहँदा प्रधानमन्त्रीले अकस्मात संसद् विघटन गर्नु संयोगमात्र मान्न सकिँदैन ।

     गणतन्त्रको बाह्र वर्षसम्म गुप्तबास बसेका पञ्चराजका प्रेतहरूमा अचानक कार्तिकनाच निकाल्ने ऊर्जा कसले प्रदान ग¥यो भन्ने रहस्य बनेको थियो । अनुमान लगाउनु एउटा कुरा तर कार्तिकनाचमा बुर्कुसी मार्दै उफ्रने लाखेको अनुहार विभिन्न आलंकारिक आभूषणले निर्मित खप्परले ढाकेका कारण मानिसमा भय, निरासा र केही आक्रोश मिश्रित कौतुहलता थियो । खप्परधारी लाखेले उत्साहित गराएका प्रेतहरूले बाजा बजाउँदै गर्दा अचानक हिजो लाखेले खप्परसहितका सम्पूर्ण आभूषणयुक्त बस्त्र त्यागी सडकमा निर्लज्ज उफ्रिएपछि नेपाली जनता अवाक भएका छन्, लाजले पानी–पानी बनेका छन् ।

     हरेक समाजमा अतितजीवी हुन्छन् । मलाई पनि दुई रुपियाँमा एक धार्नी मासु किनेर आमाले कसौँडीमा ढाकेर पकाएको पक्कुको सम्झना मीठो लाग्छ । भदौमा पोलेका मकैसँग एक कचौरी घिउ खाएको सम्झँदा अहिले पनि मुखबाट पानी रसाउँछ । तर के गर्नु, अहिले दिए पनि पचाउन सक्दिन । सम्झिने मात्र न हो । त्यसैले राजाको आड भरोसामा हैकम चलाएर नागरिकलाई थिचोमिचो पारेकाहरूलाई पनि आफ्नो अतित सम्झेर रुने/हाँस्ने छूट गणतन्त्रमा मज्जाले पाइन्छ । निर्धक्कसँग रुन, हाँस्न, नाचगान गर्न, नारा जुलुस गर्न लोकतान्त्रिक गणतन्त्रले कुनै छेकबार लगाउँदैन, लगाउनुहुँदैन । दुई÷चार हजारको जुलुस निस्कँदैमा गणतन्त्र ढल्दैन । हामीले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रले पचासौँ हजारको शान्तिपूर्ण जुलुस पचाउन सक्ने सामथ्र्य राख्छ ।

   चिन्ता राजावादीले खुसी मनाएकामा होइन किनकि उनीहरूबाट लोकतान्त्रिक गणतन्त्रलाई खतरा थिएन, छैन । खतरा त लोकतान्त्रिक गणतन्त्रवादी हौँ भनी फलाक्ने नवसामन्तीहरूबाट र नवसामन्तीको संरक्षक नेतृत्वकर्ता स्वेच्छाचारी सत्ताधारी गुटबाट छ । विचार गरौँ, राजावादीहरूमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै सडकमा निस्कन उत्साहित गराउने वातावरण कसले निर्माण गरिदियो ? राजतन्त्र बिदा गरेको बाह्र वर्षसम्म बोल्ने आँट नभएकालाई अहिले सडकमा नाच्न सक्ने ऊर्जा कसले प्रदान गर्‍यो ? गणतन्त्रवादी, समाजवादी, जनवादी आदि अनेक वादको रटान गर्दै धमिराले धुरी खाँबो खाए जस्तै गणतन्त्र कमजोर गराउने हर्कत कसले गर्‍यो ? जनताका संविधानप्रदत्त अधिकार संकुचित गर्ने कार्य र कानुनी प्रयत्न नगरेको भए, निर्मला र त्यस्तै प्रकृतिका अन्य घटनाका हत्यारालाई कानुनी दायराभित्र ल्याएको भए, सत्तरी करोड कमिसन माग्ने मन्त्री तथा सरकारी जग्गामा दलाली गरी सरकारी जग्गा नै कमिसनमा हसुर्ने पार्टीका नेतालाई उन्मुक्ति नदिएको भए, आमनागरिकको स्वास्थ्यमा खेलबाड गर्दै ओम्नीहरूसँग सरकारले कमिसन धन्दा नचलाएको भए, उखान टुक्कामा रमाउन छाडेर जनजीविकाको कुरामा चिन्तन गरेको भए, देशका समस्या र नागरिकका पीडाको वास्ता नगरी सत्ता र शक्तिको लुछाचुँडीमा दुईतिहाइको गफ हाँक्ने नेकपाले एक वर्षदेखि देशलाई बन्धक नबनाएको भए के राजावादीहरू निर्लज्जतापूर्वक सडकमा नाच्न सक्थे ? भ्रष्टाचारीलाई संरक्षण गरी ठूलाठूला भ्रष्टाचार गर्न प्रोत्साहन दिने, हजार र लाखका स्टिङ अपरेसन चलाइ मन नपरेका मानिसमाथि अख्तियारको डण्डा चलाइ भ्रष्टाचार नियन्त्रण गरेको नौटङ्की गर्दा पनि सन्तुष्ट नभई संसद्को हत्या गरी भ्रष्टाचारमा आरोपित व्यक्तिलाई नै प्रमुख आयुक्तमा नियुक्ति दिनु निर्लज्जताको पराकाष्ठा हो । 

यस्ता भ्रष्टाचारीहरूका नाइकेले नै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्न सक्नु ‘एकं लज्जा परित्यज्ज सर्वत्र विजयी भवेत’ को चरितार्थ गरेको हो । गणतन्त्रको संरक्षक बन्नुपर्ने सरकार प्रमुख नै निर्लज्ज भई राजतन्त्रवादीको कार्तिकनाचमा मलजल पुग्ने गरी संसद् विघटन गर्नुलाई ‘लाखेको बुर्कुसी’ नभनेर अरू के भन्नु ? आफ्नै कुकर्मका कारण अलोकप्रिय भई शासन गर्ने राजनीतिक वैधता समाप्त भएपछि आफूले राजनीतिक वैधता प्राप्त गरेको सार्वभौम संसद्लाई संविधान प्रतिकूल भंग गर्नु खुलमखुला लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्नु हो । राजावादीलाई राजमार्ग खुला गरी गणतन्त्रमाथि आक्रमण गर्न आह्वान गर्नु हो ।

जतिसुकै षडयन्त्र र बलमिच्याइँ गरे पनि २५० वर्ष पुरानो शाहीतन्त्र ढाल्ने नेपालीलाई ओली निरंकुशता ढाल्न गाह्रो पर्ने छैन ।

सरकार असफल भयो भने जनताको अपेक्षा प्रतिपक्षसँग हुन्छ । पाँच वर्ष धैर्य गरौँ, पाँच वर्षपछि खराब शासक हटाएर राम्रो गर्ने दललाई ल्याउँछौँ भनेर पर्खिन्छन् । तर नेपालको प्रतिपक्ष जनताको दुःख कष्टलाई उजागर गरी मलमपट्टी लगाउन नलागी सत्तासँग भागबन्डामा रमायो । वाइडबडीदेखि ओम्नीसम्मका भ्रष्टाचारमा रमिते बनेर बस्यो । यी मुद्दा उठाएर जनतासमक्ष गयो भने आफैँ समाप्त भइन्छ कि जस्तो भयग्रस्त भएको देखियो । संसद्का दुई जना सदस्यबाहेक अरूको बोली सुन्न पनि जनताले पाएनन् । आफ्नै वरिष्ठ नेताको कार्यक्रममा जब स्वेच्छाचारी सत्ताको डण्डा बर्सियो अनिमात्र उसलाई सडक चाहियो, जनता गुहार्न पुग्यो । नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार काम गर्न बनाइएको संवैधानिक परिषद्मा जब प्रतीपक्षी नेता र संसद्को औचित्य नरहने अध्यादेश आयो तबमात्र प्रतिपक्षको होस खुल्यो । भ्रष्ट सत्ताको विकल्प पनि आशालाग्दो नदेखी जब जनता निराश बने तब राजावादी उफ्रिन लागे । लोकतान्त्रिक गणतन्त्रका लागि यो नै ठूलो खतरा हो ।

राजावादीहरू सडकमा नाचिरहँदा प्रधानमन्त्रीले अकस्मात संसद् विघटन गर्नु संयोगमात्र मान्न सकिँदैन । नेकपाभित्र शक्ति संघर्ष दुई वर्षदेखि चलेको हो । प्रधानमन्त्रीले राजावादी नाच्ने पुस महिना रोज्नुभयो । बहुमत प्राप्त प्रधानमन्त्रीले संसद्को पूर्ण कार्यकालअगाडि विघटनको अधिकार वर्तमान संविधानले दिएको छैन । असामयिक संसद् विघटनले शाही निरंकुशता जन्माएका कारण दोस्रो जनआन्दोलन गर्नुपरेकाले शाही होस् वा ओली–भण्डारी, हरनिरंकुशता निराकरणका लागि यो व्यवस्था संविधानमा गरिएको हो । दोस्रो जनआन्दोलनमा मनसा कर्मणा कुनै लगाव नै नभएका सामन्ती संस्कार बोकेका स्वेच्छाचारी व्यक्ति राज्यको कार्यकारी प्रमुख बन्नु नै आजको दुर्भाग्य हो । जतिसुकै षडयन्त्र र बलमिच्याइँ गरे पनि २५० वर्ष पुरानो शाहीतन्त्र ढाल्ने नेपालीलाई दुर्गन्धित ओली निरंकुशता ढाल्न गाह्रो पर्ने छैन ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । खराब स्वेच्छाचारी नेतृत्वको दोष लोकतान्त्रिक गणतन्त्रमाथि थोपर्न किमार्थ मिल्दैन । गणतन्त्रको विकल्पमा राजतन्त्र वा अधिनायक खोज्नु हामी नेपाली असभ्य छौँ, शासन चलाउने क्षमता हामीमा छैन भनी सारा नेपालीलाई लाञ्छित गर्नु हो । ओली तथा ओली जस्ता दुई चार जना भ्रष्ट, सामन्ती संस्कार बोकेका अक्षम नेताहरूको दोषको भागिदार निर्दोष लोकतान्त्रिक गणतन्त्र र समस्त नेपाली समाज बन्न सक्दैन ।

ओलीतन्त्रको छुट्टै विवेचना गरौँला । अहिले राजावादीकै चर्चा गरौँ । राजावादीहरूले नेकपा र नेपाली काँग्रेसका भ्रष्ट र चरित्रहीन नेताहरूको दोष देखाएर राजतन्त्रको औचित्य सिद्ध गर्न खोज्दैछन् र अब झनै आक्रामक बन्ने प्रयत्न गर्नेछन् । कुनै कालखण्डका दुई चार भ्रष्ट, स्वेच्छाचारी सामन्ती चरित्र बोकेका नेताहरूको कुशासन र असफलताले उपयोगिताविहीन भएर इतिहासको रछ्यानमा पुरिएको सामन्ती प्रथाको औचित्य पुष्टि हुँदैन । इतिहासको एउटा कालखण्डमा उदय भएको राजतन्त्रले जहाँ जहाँ जनताको अगाडि शिर नुहायो त्यहाँ प्रतीकात्मकरूपमा राजतन्त्र अहिले पनि कायम छ । शिर नझुकाउने अहंकारी राजतन्त्रको अस्तित्व कायम रहन सकेन । नेपालमा लोकतन्त्रवादीहरूले एक्काइसौँ शताब्दीसम्म पनि राजतन्त्र राखे र यसको दीर्घायुको प्रयत्न गरे । लोकतन्त्रवादीको प्रयत्नलाई राजतन्त्रले उपेक्षा गरी आफूलाई मध्ययुगीन दैवी शक्ति सम्पन्न राजा सम्झँदा राजतन्त्र उखेल्न जनता विवश भएका हुन् ।

राजावादीहरूको तर्क हुन्छ– शाह वंशले नेपाल निर्माण गरेको हो र नेपालको माया सबै भन्दा बढी शाह राजाहरूलाई छ । नेपाल देश निर्माणमा पृथ्वीनारायणको योगदान छ, यसलाई कसैले नकार्दैन तर पृथ्वीनारायण जत्तिकै वा त्यो भन्दा पनी बढी कालु पाँडे, दामोदर पाँडे, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुवरलगायत अनेक भारदार र ती अन्तर्गतका सिपाहीहरूको योगदान छ । युद्ध खर्च बेहोर्ने नागरिकको पनि त्यत्तिकै योगदान छ । एक्लो पृथ्वीनारायणको बुद्धि, सौर्य र पराक्रमले मात्र यो देश बनेको होइन । पृथ्वीनारायणले योगदान गरेकै कारण उनको एघारौँ पुस्तासम्मका नालायक सन्तानहरूको कुशासन नेपाली जनताले सहेका हुन् । पृथ्वीनारायणको सन्तानमा एउटा बहादुर शाहबाहेक कुनचाहिँ त्यस्तो राजा छ जसले नेपाल निर्माणमा योगदान गरेको होस् वा असल शासन गरेको होस् ? बहादुर शाहको नायवीपछिका सबै शाह राजाहरू जनताको करमा मौजमस्ती गर्ने, षडयन्त्रका तानाबाना बुन्ने, धन थुपार्नेमा मात्र तल्लीन रहेका छन् । षडयन्त्रमा रमाउने राजाको प्रजा बन्न आधुनिक नेपालीले अस्वीकार गरेरै राजतन्त्र उखेलिएको हो । ऐतिहासिक विकासक्रममा उत्पत्ति भएको राजतन्त्र संसारका अधिकांश मुलुकमा उन्मूलन हँुदा पनि नेपालमा एक्काइसौँ शताब्दीसम्म रह्यो । समयको पदचाप बुझ्न नसक्दा समाप्त भयो । यसमा आँसु बगाउनुपर्ने जरुरत छैन ।

तथापि राजावादीहरूलाई पनि हामीलाई राजा नै चाहिन्छ भनी शान्तिपूर्ण प्रदर्शन गर्ने, जनमत बनाउने, यही अजेन्डा लिएर निर्वाचनमा जाने स्वतन्त्रता छ ।त्यो स्वतन्त्रता दिनुपर्छ । साथै राजावादीले निम्न प्रश्नको उत्तर पनि नेपाली जनतालाई दिनुपर्छ :

१) राजावादीहरूको प्रदर्शनमा हिन्दु संगठनहरू पनि देखिएका छन् । तपाईँहरूलाई श्रद्धा लाग्छ, विष्णुको अवतार मान्नुहुन्छ भने दैनिक निर्मल निवास गएर पूजा गर्ने, आशीर्वाद लिने गर्दा हुन्छ । हिन्दु धर्म मान्ने गणतन्त्रवादी तपाईँहरू भन्दा धेरै ठूलो संख्यामा छन् । तिनीहरूको आस्थामाथि खेलवाड गर्दै तपाईँहरूको इच्छा ती बहुसंख्यकमाथि थोपर्न र हिन्दु धर्मलाई बदनाम गराउन किन चाहनुहुन्छ ? हिन्दु धर्ममा चलाइएका विभिन्न कुप्रथा सुधारतर्फ ध्यान नदिइ सडिसकेको राजतन्त्रको लासको भारी बोकाउने प्रयत्नले हिन्दु धर्मको विस्तार हुन्छ कि थप क्षति हुन्छ ? यसको तपाईँहरूलाई चेत छ ?

२) पृथ्वीनारायणका एघारौँ उत्तराधिकारीसम्ममा नेपाल राष्ट्र निर्माणमा कुन राजाको के सकारात्मक भूमिका छ ? बताउन सक्नुहुन्छ ?

३) पृथ्वीनारायणकै योगदान सम्झेर राणाहरूले बन्दी बनाएका राजालाई नेपालीले मुक्ति दिलाइ पुन गद्दीमा राखे । राणाको बन्दीखानाबाट मुक्त भएका राजा कृतघ्न बनी पुनः नेपालीका लागि नयाँ राणा बने । यस्तो कृतघ्न वंशलाइ नेपालीले किन पुनस्र्थापना गर्नुपर्ने ?

४) के एउटा पृथ्वीनारायणको योगदानको ब्याज नेपाली जनताले सधैँ शाहवंशीय राजाहरूको भारी बोकेर तिरिरहनुपर्ने हो ? हो भने शाहवंशले गुमाएको नयाँ मुलुक फर्काउने जंगबहादुरका सन्तानलाई पनि सधैँका लागि श्री ३ प्रधानमन्त्री किन नबनाउने ?

५) हामीले आवधिक निर्वाचनका माध्यमबाट राष्ट्रप्रमुख तथा कार्यपालिकालाई जनताले परीक्षण गर्ने पद्धति अंगालेका छौँ । खराबी, विकृति जहाँ पनि जन्मन सक्छन् । अमेरिकामा पनि गएको चार वर्षसम्म विकृति फैलियो । अहिलेका खराबहरूलाई केही समयपश्चात हटाउन सकिन्छ । नेपाली जनताको यो अधिकार र क्षमतामाथि अविश्वास गरी राजा नै चाहिन्छ भन्नुको तथ्यपरक आधार र कारण तपाईँहरूसँग के छ ?

शाहवंशका अनुयायीहरू जति उफ्रन मन लाग्छ उफ्रिनूस् । आफ्नो सीमाभित्र रहेर उफ्रन तपाईँहरूलाई लोकतान्त्रिक संविधानले अधिकार दिएको छ तर याद गर्नूस्, नेपाल हिजो थियो, आज छ, युगौँसम्म रहनेछ । राजाकै कारणले बाँचेको होइन, राजा नभएर मर्दैन । देशको निर्माण जनताले गर्ने हो । आज कुशासन गर्ने गैँडाहरूलाई भोलि नेपाली जनताले फाल्नेछन् । जनता एकपटक झुक्किन्छ, अल्मलिन सक्छ । सधैँभरि झुक्काउन सकिँदैन । नेपाल बनाउने क्षमता नेपाली जनतामा छ । भूतप्रेतहरूमा जनतालाई विश्वास छैन । त्यो युगको अन्त्य भइसक्यो । अबको युग स्वाभिमान र स्वतन्त्रताको हो ।

(पूर्वकेन्द्रीय सदस्य, नेका)

प्रकाशित: १४ पुस २०७७ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App