८ वैशाख २०८१ शनिबार
विचार

शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा किन तैं चुप मै चुप?

शिक्षक राजेन्द्र श्रेष्ठ

ताराप्रसाद ओली

 

सुरुमा तिनीहरू यहुदी खोज्दै आए

अहँ, म बोलिनँ

किनभने म थिइनँ यहुदी ।

त्यसपछि तिनीहरू

कम्युनिस्टलाई पक्रन आए

अहँ, यसपालि पनि म बोलिनँ

किनभने म थिइँन कम्युनिस्ट ।

त्यसपछि तिनीहरू  

मजदुर कार्यकर्ता खोज्दै आए

अहँ, म बोल्दै बोलिनँ

किनभने म थिइनँ मजदुर कार्यकर्ता ।

त्यसपछि उनीहरू क्याथोलिकलाई लिन आए

र पनि म केही बोलिनँ

किनकि म थिएँ प्रोटेस्टेन्ट ।

अनि त्यसपछि त  

तिनीहरू मलाई नै लिन पो आए  

तर यतिन्जेल मेरा पक्षमा बोलिदिने

वरिपरि कोही पनि बाँकी थिएन ।

सुरुमा तानाशाह एडोल्फ हिटलरका पक्षमा रहेका जर्मनीका पादरी मार्टिन निमोलर निरंकुश शासकबाट पछि आफैं ७ वर्ष थुनिए। नाजीहरूको अत्याचार र ज्यादतीबारे जर्मन बुद्धिजीवीहरूले साँधेको मौनताविरुद्ध कठोर प्रहार गर्दै उनले लेखेको यो कविताले अहिलेको नेपाली समाजको समेत चरित्र चित्रण गरेको छ।  

विप्लवले अँगालेको हिंसाको बाटोभन्दा बौद्धिक जमातको मौनता समाजका लागि खतरनाक देखिएको छ। 

चन्दा नदिएको र सुराकी गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले शिक्षक राजेन्द्र श्रेष्ठको कायरतापूर्ण हत्या गर्दा देखिएको बौद्धिक समुदायको मौनता आश्चर्यजनक र रहस्यमय छ। विप्लवले अँगालेको हिंसाको बाटोभन्दा बौद्धिक जमातको मौनता समाजका लागि खतरनाक देखिएको छ। एउटा सामान्य गाउँले निहत्था शिक्षकलाई हातखुट्टा बाँधेर, घाँटी रेटेर पाशविक तरिकाले हत्या गर्दासमेत भर्त्सना गर्न नसक्ने शिक्षक, विद्यार्थी, मानव अधिकारवादी संघ/संगठन, सञ्चारमाध्यम, नागरिक समाज, राजनीतिक दल र तिनका नेताको प्रवृत्तिले नेपाली शिक्षकको मथिंगल नराम्ररी हल्लाएको छ, उनीहरू त्रसित, आतंकित र निरीह बनेका छन्।  

पछिल्लो घटनाले नेपालका बुद्धिजीवी ‘जता काफल पाक्छ, उतै चरी नाच्छ’को अवस्थामा रहेको महसुस भएको छ। अलोकप्रिय तथा आलोचित भइने र विप्लव समूहको कालोसूचीमा परिने त्रासले सत्य उत्खनन र प्रस्तुतीकरण एवं न्यायका पक्षमा पैरवी गर्न बौद्धिक वर्गसमेत पछि हट्ने हो भने हिंसाराजको अन्त्य कहिल्यै हुने छैन।

विप्लव समूहका गतिविधिबाट जनप्रतिनिधि, उद्योगी, व्यापारी, कर्मचारीसमेत पीडित भए पनि निशानामा परिने डरले कोही पनि सत्य कुरा खुलासा गर्न तयार छैनन्।  विप्लव समूहको हिंसा र नेपाली समाजको मौनताले एउटा लोककथाको स्मरण गराएको छ।  

एकादेशमा बिरालाको आतंकबाट पीडित मुसाहरूको भेलाले बिरालाको घाँटीमा घण्टी बाँध्ने निर्णय गरेछ। घण्टी बाँध्न सके बिरालो आएको टाढैबाट थाहा हुने र भाग्न सजिलो हुने भेलाको निष्कर्ष निस्केछ। तर बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने? कुनै मुसाले त्यो आँट गर्न नसक्दा निर्णय कार्यान्वयन हुन सकेनछ।  

अहिलेको नेपाली समाजको यर्थाथता पनि यस्तै छ। सचेत तप्का नै तैं चुप, मै चुपको अवस्थामा रहने हो भने हिंसात्मक गतिविधि दिन दुईगुणा, रात चौगुणाका दरले वृद्धि हुने निश्चित छ। यस घटनालाई सामान्य रूपमा लिने हो भने आगामी दिनमा सयौं राजेन्द्र मारिनेछन्।

निशानामा शिक्षालय

विगतको सशस्त्र द्वन्द्वमा पनि शिक्षक, किसान र मजदुर नै बढी मारिएका थिए। विप्लवको विद्रोहको पहिलो सिकार पनि श्रमजीवी शिक्षक (राजेन्द्र श्रेष्ठ) नै भएका छन्। यो घटनाले २०५८ माघ ३ गतेको घटना सम्झना गराएको छ। कक्षाकोठामा पढाइरहेका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन माओवादीले विद्यालयबाटै अपहरण गरी हत्या गरेका थिए। द्वन्द्वकालमा विद्रोही पक्षले सुराकीकै अभियोग लगाएर तथा राज्य पक्षले नक्कली मुठभेडका नाममा निर्दोष नागरिकको हत्या गर्ने गर्थे।  

आज पनि विद्यालय राजनीतिक अखडा बनिरहेका छन्। २०६८ जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको भए पनि यो निर्णय केवल कागजी नारामा सीमित छ। आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न व्यक्ति हत्या गर्नु निन्दनीय र भत्र्सनायोग्य छ। कुनै पनि तर्क, तथ्य र कारण तेस्र्याएर शिक्षक श्रेष्ठ हत्याको औचित्य पुष्टि हुन सक्दैन। एक जना शिक्षक प्रतिकारका क्रममा मुठभेडमा मारिए भन्ने तर्क गरेर सरासर झुटको खेती गरिएको छ। विकट गाउँमा शिक्षाको उज्यालो छरिरहेका एक निहत्था शिक्षकको हत्या गरेर विप्लवको पार्टीले हिंसाप्रति असहमत कोही पनि नेपाली सुरक्षित छैनन् भन्ने सन्देश प्रवाह गर्न खोजेका छ।  

कुनै सर्वसाधारण, शिक्षक, किसानको हत्या गरेर जनवादी क्रान्ति सम्पन्न हुन सक्दैन, खुल्लमखुला व्यक्ति हत्याको जिम्मेवारी लिँदा पनि दोषी कानुनको कठघरामा आउन नसक्ने हो भने दण्डहीनताले प्रश्रय पाउनेछ। संक्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसक्दा यस्ता आपराधिक घटना बढिरहेका छन्। विप्लवको पार्टीले यो हत्या, छोरी कुटेर बुहारी तर्साउन गरेको बुझ्न कठिन छैन।

सत्ता बन्दुकको नालबाट निस्किन्छ भन्ने स्कुलिङमा हुर्किएका विप्लव त्यही बाटोबाट सत्ता कब्जा गर्ने सपना देखिरहेका छन्। एउटै स्कुलिङमा हुर्र्किएका प्रचण्ड, बाबुराम, वैद्यहरूले हिंसाको बाटो परिवर्तन गरिसकेका भए पनि विप्लवको बन्दुक मोह भने हटेको छैन। शान्तिपूर्ण जनआन्दोलन र जनमतका आधारमा पनि परिवर्तन गर्न सकिन्छ भन्नेमा विप्लवलाई विश्वास छैन।

सरकारको प्रवृत्ति : विद्रोहको आधार  

प्रहरीले विप्लवको पार्टीसँग आबद्ध कुनै व्यक्तिलाई कुनै आरोप लगाएर कानुनी कार्यविधिसमेत पूरा नगरी धमाधम पक्राउ गरिरहेको छ। उसले गरेको पक्राउ न्यायिक परीक्षणको विषय बन्दा उनीहरू सहजै छुट्ने गरेका छन्। बन्दीप्रत्यक्षीकरण रिटका आधारमा अदालतले रिहा गर्न दिएको आदेशविपरीत प्रहरीले अदातल परिसरबाटै विप्लवका कार्यकर्तालाई पक्राउ गर्छ, अनि अर्को कुनै अभियोग लगाउँछ। यो लुकामारी निरन्तर चलिरहेको छ।  

विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको २० महिनामा प्रहरीले १ हजार ९ सय ५० व्यक्ति पक्राउ गरेको छ। तीमध्ये १ हजार ६ सय ७९ जना अनुसन्धान र अदालती आदेशबाट छुटिसकेका छन् भने १ सय ४३ जना पुर्पक्षका लागि थुनामै छन्। कोरोना महामारीमा आइसोलेसनमा बसेकादेखि बिरामी परेकासम्मलाई पक्राउ गरिएको छ। यति ठूलो संख्यामा गरिएको पक्राउ न्यायका हिसाबले गैरकानुनी देखिनु भनेको राज्य दमनमा उत्रिएको प्रमाण हो। आस्थाकै आधारमा आधार, प्रमाण र कारणबिना पक्राउ गरेर झुटो मुद्दा चलाउने हो भने राज्यप्रति नागरिकको विश्वास र भरोसा टुट्दै जान्छ र विद्रोहको आधारभूमि तयार हुन्छ।

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ फागुन २८ गतेदेखि विप्लवको पार्टीलाई प्रतिबन्ध लगाइसकेको छ। बन्द, हड्ताल, चन्दा असुली, बम विस्फोटमा सीमित नेकपा अब व्यक्ति हत्याको चरणमा प्रवेश गरेको छ। विप्लव समूह के हो र यसलाई हेर्ने दृष्टिकोण के हो भन्ने विषयमा छिनोफानो गर्न कम्तीमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढिलाइ गर्न हुँदैन। सत्तामा हुनेहरूले गरम र सत्ताबाहिर हुनेहरूले नरम नीति अख्तियार गर्ने हो भने विप्लवको हिंसाको राजनीति फस्टाउन धेरै समय लाग्ने छैन। विगतमा नेकपा माओवादीले पनि कांग्रेस तथा एमालेभित्रको आन्तरिक द्वन्द्वबाटै फाइदा उठाउँदै शक्ति आर्जन गरेको बिर्सन हुँदैन। 

विप्लव समूह राजनीतिक शक्ति हो भने उसका जायज मागको सम्बोधन गर्दै वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्न जरुरी छ। होइन, यो सशस्त्र विद्रोही समूह हो भने सैन्य शक्तिको प्रयोगबाट उसका गतिविधि नियन्त्रण गर्नुपर्छ। आपराधिक शक्ति हो भने कानुनको प्रयोग गरेर उसका क्रियाकलाप निस्तेज पारिनुपर्छ। विप्लव समूह राजनीतिक, सशस्त्र विद्रोही वा आपराधिक समूह के हो भन्ने विषयमा सत्ताधारी र प्रतिपक्ष दलले साझा धारणा बनाउन ढिला गर्न हुँदैन। विप्लवलाई हेर्ने दृष्टिकोणमा एकरूपता नल्याई अँध्यारोमा ढुंगा हान्ने कामले समस्या सुल्झाउनेभन्दा बल्झाउने निश्चितप्रायः छ। बन्दुकका माध्यमबाट राजनीतिक समस्या समाधान हुन सक्दैन भन्ने तीतो यर्थाथप्रति राजनीतिक नेतृत्व वर्ग सचेत हुन जरुरी छ।

विचार र व्यवहार सही हुने हो भने संख्याको कमीले आन्दोलनलाई कुनै असर गर्दैन। त्यस्तै गलत बाटो लिने हो भने पार्टी प्रवेशका नाममा जतिसुकै ठूलो भीड जम्मा गरे पनि कुनै उपलब्धि हासिल हुँदैन। त्यसैले विप्लवको पार्टी स्वयं सर्वप्रथम भावी कार्यदिशा, सिद्धान्त, विचार, मुद्दा र अजेन्डामा स्पष्ट हुन जरुरी छ। माकुराका बच्चाले आफ्नै आमा खाएजस्तै एउटा विशाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरिरहँदा त्यसैबाट चोइटिएको अर्को सानो कम्युनिस्ट पार्टी हिंसात्मक विद्रोहको बाटोमा छ। तर एकदलीय कम्युनिस्ट तानाशाही व्यवस्थाको सूत्रपात गर्न विप्लवले हिंसाको बाटो समातेको हो भने त्यसको कुनै उपचार छैन। विचार र व्यवहार गलत भएको अवस्थामा उनीहरूको हविगत पनि श्रीलंकाका लिट्टे समूहको जस्तै हुने निश्चित छ।  

उपलब्धि गुम्ने खतरा

वाइडबडी जहाज खरिद, बालुवाटार जग्गा प्रकरण, गोकर्णको जग्गा लिज प्रकरण, कोराना महामारीमा औषधि खरिद र उपकरण खरिदलगायतका भ्रष्टाचारजन्य गतिविधिको चर्चा, निर्मला पन्तलगायतका घटनाका दोषी कानुनको दायरामा नआउनु, बढ्दो महँगी र बेरोजगारी समस्या एवं सत्तारूढ पार्टीभित्रको किचलो अनि कुम्भकर्ण प्रतिपक्षका कारण राजनीतिक दलप्रति जनताको आशा, आस्था, विश्वास र भरोसा टुट्दै गएको छ। सिंगो व्यवस्थाप्रति नै अनास्था फैलाउने गतिविधि बढ्दै जाँदा नेताको विकल्प नेता नै हुुनुपर्नेमा व्यवस्थाकै विकल्पको खोजी थालिएको छ। राजावादीले मौकामा चौका हान्न खोजेका छन् भने विप्लव नेतृत्वको नेकपा शक्ति सञ्चयको होडमा लागेको छ। धमिलो पानीमा माछा मार्न विभिन्न शक्ति क्रियाशील भइरहँदा लोकतन्त्र नै मासिने खतरा देखिएको छ।

नेपाली जनताले पटकपटक गरेका क्रान्ति, विद्रोह र जनआन्दोलन तथा उनीहरूका त्याग, तपस्या र बलिदानको परिणाम संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्म निरपेक्षताजस्ता उपलब्धि हासिल भएका हुन्। विप्लवको गन्तव्य प्रस्ट छैन, प्रकारान्तरले उनी प्रतिगमनको बाटोमा लाग्ने जोखिम छ। भुइँको टिप्न खोज्दा खल्तीको झर्ने परिस्थिति सिर्जना नहोस्। हातमा रहेका चरा भुरुर्र आकाशमा उडाएर आकाशमा उडिरहेका चरा समाउन खोज्ने गल्ती विप्लवले नगरुन्।

काँधमा जुवा राखेर तान्न नसिकाइएको बहरलाई जुवा काँधमा राखेर मात्र हेर्नुस्, त्यसले बुरुक्क उफ्रेर हलो/जुवा मात्रै भाँच्दैन, हलीलाई समेत कान्लामुनि लडाउँछ। विद्रोही नेकपाले पनि आफ्ना कार्यकर्तालाई मानवीय कानुन, युद्धका नियम तथा मानव अधिकारबारे राम्रोसँग प्रशिक्षित गर्न सकेन भने व्यक्तिगत रिसइबी र प्रतिसोधका कारण हत्या गर्ने र त्यसलाई राजनीतीकरण गर्ने धन्दा  मौलाउने छ।

रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेका छन् भनेजस्तै बालुवाटार, खुमलरटार र सानेपाका एक से एक रोम आफ्नै धुनमा मस्त छन्। उनीहरूको अर्जुन दृष्टि सत्ता, शक्ति र पद हत्याउनेमा केन्द्रित छ। एउटा निमुखा शिक्षक मारिँदा उनीहरूले खासै महत्व दिएका छैनन्। याे विडम्बना हो।  

अन्त्यमा,

भनिन्छ– सुकरात कुरूप थिए। सुन्दर नभए पनि उनी प्रायः ऐना हेरिरहन्थे। उनको यो बानी देखेर छक्क परेका एक शिष्यले सोधेछ– ‘गुरु, तपाईं किन सधैं ऐना हेरिरहनुहुन्छ? जवाफमा सुकरातले भनेछन्– ‘बाबु ! तिम्रो प्रश्नको आशय मैले बुझें। मलाई थाहा छ– म कुरूप छु। त्यसैले म ऐना हेरिरहन्छु। प्रत्येकचोटि ऐनाले मलाई तँ राम्रो छैनस् भनेर सम्झाइरहन्छ र मलाई राम्रा–राम्रा काम गरेर अनुहारको कुरूपता बिर्साउन शिक्षा दिन्छ।’  

सचेत तप्का नै तैं चुप, मै चुपको अवस्थामा रहने हो भने हिंसात्मक गतिविधि दिन दुईगुणा, रात चौगुणाका दरले वृद्धि हुने निश्चित छ। यस घटनालाई सामान्य रूपमा लिने हो भने आगामी दिनमा सयौं राजेन्द्र मारिनेछन्।

हुन पनि विचार, महानता, सत्यनिष्ठता र त्यागले उनको शारीरिक कुरूपतालाई साँच्चिकै बिर्साइदियो। नेपाली राजनीतिज्ञले पनि यसैगरी आफ्नो अनुहार ऐनामा हेर्न जरुरी छ। जनपक्षीय र राष्ट्रको हितमा समर्पित भएर काम गरे नागरिकले उनीहरूको विगतको कुरूप अनुहार बिर्सनेछन्। अनि मात्र न राजावादीले टाउको उठाउन पाउनेछन्, न विप्लवको कदमलाई जनताको समर्थन नै हुनेछ।

(लेखक शिक्षक तथा अधिवक्ता हुन्)

प्रकाशित: ३० मंसिर २०७७ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App