२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्रदेश नं. २ को शैक्षिक सुधार यसरी

शैक्षिक सूचकहरूले विद्यालय भर्ना नभएका सबैभन्दा बढी बालबालिका रहेको, विद्यार्थीको शैक्षिक उपलब्धि कमजोर रहेकोे, साक्षरता दर सबैभन्दा कम भएको, शैक्षिक सुशासनमा सबै भन्दा भद्रगोल अवस्थाको प्रदेशका रूपमा प्रदेश नं. २ लाई देखाएका छन् । मधेस विगतमा शैक्षिक केन्द्रका रूपमा थियो । अधिक शैक्षिक सम्भावना भएको, छिटोे परिवर्तन गर्न सकिने प्रदेश पनि प्रदेश नं. २ हो । पछाडि पर्नुृका धेरै कारणमध्ये प्रमुख कारण केन्द्रमा रहेको सरकारले विगतमा प्रदेश नं. २ तथा मधेसलाई गरेको अन्याय र पर्गेल्याइ नै हो । सुधारको थालनी पनि यसैबाट गर्नुपर्छ । संघीय सरकारको मत्र हैन, शिक्षा सुधार तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्छ । शैक्षिक सुधारका सम्भावनाहरू खोजिनुपर्छ । के कारणले मधेस शिक्षामा पछाडि प-यो ? अध्ययन अनुसन्धान गरिनुपर्छ । मधेसलाई काठमाडौँको होइन, मधेसकै दृष्टिले हेर्नुपर्छ ।  

मधेसका गाउँगाउँमा पुगी त्यहीँ बसेर शैक्षिक सुधार थालनी गरिनुपर्छ । संघीय सरकारले विगतमा साधनस्रोत छुट्टाउँदा पुर्वाग्रह गरेको ज्वलन्त उदाहरण शिक्षक दरवन्दीमा देखिन्छ । केन्द्र सरकारबाट नियमित र ठूलो मात्रामा विद्यालयमा जाने स्रोतसाधन शिक्षक दरवन्दीमा छ र त्यसपछि भौतिक निर्माण सुधारको बजेटका रूपमा । शिक्षक–विद्यार्थी अनुपात सबै भन्दा बढी रहेको प्रदेश, प्रदेश नं. २ हो । मधेसका अधिकांश विद्यालयमा ठूलो संख्यामा रहेका विद्यार्थीलाई निकै कम शिक्षकले धानिरहनुपरेको छ । विद्यालय भवन, शौचालय निर्माणका कार्यक्रम तुलना गर्ने हो भने सबैभन्दा कम मधेसमा नै गएको देखिन्छ । धेरै विद्यालयका भवन स्थानीय दाताहरूले बनाइदिएका छन् ।  

प्रदेश नं. २ को सरकारले मधेस शिक्षामा धेरै पछाडि परेको छ, शिक्षामा पछाडि पर्नु प्रदेशको विकासका लागि मुख्य बाधक हो, यसको असर धेरै पछिसम्म रहन्छ भन्ने कुरा बुझेको हुनुपर्छ तर व्यवहारमा भने प्रतिविम्बित देखिँदैन । प्रदेश सरकारका आफ्ना सीमा छन् एकैपटकमा धेरै अपेक्षा गर्नु पनि हुँदैन । शिक्षामा प्रदेशले जुनरूपमा सुधारका कार्यहरू गर्न सक्थ्यो त्यो गरेको देखिँदैन ।

जनसंख्याको चाप, बालबालिका संख्या धेरै भएको प्रदेश नं. २ को शैक्षिक अवस्था बिग्रेमा देशको विकास र समृद्धि कसरी सम्भव हुन्छ ?   

जनप्रतिनिधि नभएको अवस्थामा कर्मचारीको भरमा शिक्षा चल्दा धेरै समस्या आए, विकृतिहरू चुलिए । एकातर्फ समुदायको आधिकारिक प्रतिनिधि नहुँदा कुन धारणा, विचार, चाहना, मागलाई आधिकारिक मान्ने, कसकोलाई नमान्ने समस्या पनि थियो । अर्कोतर्फ जिल्लामा शिक्षाको नेतृत्व गर्न, शिक्षाको व्यवस्थापन गर्न जिल्ला शिक्षा अधिकारी पदको एक जना कर्मचारीलाई अधिकार सुम्पिएको थियो । जिल्ला शिक्षा अधिकारी छोटो छोटो समयमा सरुवा भइरहने, बिग्रेमा जवाफ दिन र दायित्व लिन नपर्ने, एक जिल्लामा गल्ती गरेका अधिकारी अर्को जिल्ला जान पाउने, स्थानीयरूपमा बस्ने स्रोत व्यक्ति तथा तल्लो तहका कर्माचारीले जिम्मेवारी लिन नपर्ने, अधिकारीले तिनै स्थायीरूपमा जिल्लामा रहने कर्मचारी र शिक्षकका नेताको भरमा काम गर्नुपर्ने बाध्यता थियो ।  

जिल्लाको समसामयिक परिस्थितिको जानकारी राख्ने कर्मचारी र शिक्षकको नेतृत्वले त्यसको व्यक्तिगत फाइदा उठाउन खोज्ने, दुरूपयोग गर्ने जस्ता समस्याले शिक्षा गुज्रिएको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भने पाँच वर्षसम्मका लागि स्थायित्व भएको छ । पाँच वर्षपछि जनप्रतिनिधि जनतासँग जाने क्रममा राम्रा कार्य गरेकामा जस पाउने र गलत गरेमा जवाफ दिनुपर्ने अवस्था पनि सिर्जना भएको छ । स्थानीय तहका जनप्रतिनिधिले चुनौती लिएर कार्य गर्न र सकारात्मक परिणाम निकाल्न सकेमा त्यसको जस पछिसम्म पनि उपयोग गर्न पाइने हुनाले पनि जनप्रतिनिधि संवेदनशील भएर विकृति हटाउन र सुधार गर्न दिन÷रात खट्नुपर्ने आवश्यकता छ ।  

प्रदेश नं. २ का केही स्थानीय तहले परिणाम आउने गरी कार्य गरेका पनि छन् । शिक्षाका विभिन्न मुद्दामा एउटै स्थानीय तहले राम्रो गर्न नसके पनि कुनै एक पक्षमा एउटा स्थानीय तह र कुनै पक्षमा अर्को स्थानीय तहले राम्रो गरेका छन् । यस्ता राम्रा अभ्यास र सिकाइलाई सबै स्थानीय तहमा पु¥याउन, एक आपसमा अनुभव आदान–प्रदान गर्न सकेमा, नगर्नेलाई पनि काम गर्न दबाब सिर्जना गर्छ भने राम्रो कार्य गरेकालाई थप काम गर्न उत्प्रेरणा मिल्छ । प्रदेश सरकार र संघीय सरकारले स्थानीय तहले आप्mनै बलबुतामा गरेका राम्रा अभ्यासलाई व्यापक प्रचारप्रसार गर्न सक्छ ।  

अझै पनि संघीय सरकारका निकायले स्थानीय समुदायमा गर्नुपर्ने शैक्षिक कार्यक्रम आफैँ बनाउने र आफँै कार्यक्रम लिएर प्रदेश, जिल्ला र स्थानीय तहमा जाने क्रम रोकिएको छैन । संघीय सरकारले स्थानीयरूपमा भएका वास्तविक समस्या पत्ता लगाउन र आवश्यकतामुखी कार्यक्रम एकिन गर्न सक्ने सम्भावना रहँदैन । संघीय सरकारले देशव्यापी लागु गर्न बनाएका कार्यक्रममा स्थानीय तहले अपनत्व र स्वामित्व लिने भए पहिले नै धेरै सुधार भइसक्थ्यो । संघीय सरकार र संघीय सरकारका निकायले साना साना कार्यक्रम लिएर जानु भन्दा योजना निर्माण र कार्यान्वयमा स्थानीय तहलाइ सहयोग गर्नुपर्छ ।  

संघीय सरकारले जहाँ समस्या धेरै छन्, त्यस्तो ठाउँमा इमान्दार र मेहनती कर्मचारी पठाइ जनप्रतिनिधिहरूलाई सहयोग गर्नुपर्छ । जनसंख्याको चाप, बालबालिकाको संख्या धेरै भएको प्रदेश नं. २ को शैक्षिक अवस्था बिग्रेमा देशको विकास र समृद्धि कसरी सम्भव हुन्छ ? जनप्रतिनिधि आएपछि पनि झण्डै दुई वर्षसम्म प्रदेश नं. २ का प्रायः स्थानीय तहमा शिक्षा हेर्ने कर्मचारीको अभाव भयो । समायोजनबाट प्रदेश नं. २ का विभिन्न स्थानीय तहमा तोकिएका उपसचिव तोकिएको स्थानीय तहमा जान नमानी शिक्षा मन्त्रालय र केन्द्रीय निकायमा बस्दा स्थानीय तहका जनप्रतिनिधिहरू निकै अलमलमा परे । संघीय सरकारको शिक्षा मन्त्रालयले यसतर्फ प्रयास गरेन, उल्टै स्थानीय तहमा जान तोकिएका कर्मचारीलाई केन्द्रमा नै राख्यो । दण्ड र पुरस्कारको उपहास गरियो ।  

स्थानीय र प्रदेश सरकारमा नेतृत्व गर्नेहरू आफ्नो क्षेत्र र प्रदेश सुधारका लागि खुला र पारदर्शी हुनुपर्छ । साना कुरामा पनि तेरो र मेरो भन्ने सोच राख्ने, सानो समूहलाई मात्र आफ्नो ठान्ने हो भने परिवर्तन सम्भव छैन । विज्ञ र अनुभवी व्यक्तिहरूको सहयोग लिएर, समस्या समाधानका लागि गर्नुपर्ने कार्यको एकीन गर्ने, राजनीतिक दलबीच छलफल गर्ने, शिक्षा सुधारमा सबै दलको साझा सहमति निर्माण गर्ने, सुधारका तथा परिवर्तनका अजेन्डा कुनै दलविशेष र सीमित व्यक्तिको नभएर सबैको बनाउने जस्ता कार्य गरिनुपर्छ । शैक्षिक सुधारलाई सबै दल, सचेत नागरिकको एउटा व्यापक अभियानका रूपमा अगाडि बढाइनुपर्छ । शिक्षक तथा प्रधानाध्यापक नियुक्ति, व्यवस्थापन समिति गठनलगायतका कुरामा मेरो दलको, फलानो थरको भन्ने आधारमा हुने हस्तक्षेपलाई तत्काल रोकी योग्य व्यक्तिलाई छनोट गर्ने, जिम्मेवारी दिने सहमति गरिनुपर्छ । प्रदेश सभाबाट शैक्षिक सुधारको अभियानका लागि यी यी काम गर्ने भन्ने संकल्प प्रस्ताव सर्वसम्मतरूपमा परित गरिनुपर्छ ।  

प्रदेश नं. २ मा शैक्षिक सुधारका लागि कार्य गर्ने गैरसरकारी संघ÷सस्था धेरै छन् । कतिपय सस्थाले प्रदेश नं. २ लाई कमाइ खाने भाडो जस्तो बनाएका छन् । जनकपुरका होटलमा प्रदेश सरकारका पदाधिकारी तथा दलका नेता थुपार्दैमा सुधार सम्भव छैन । साँच्चै सुधार चाहने शैक्षिक सुधारको अभीष्ट बनाएका अभियन्ता हुन् भने पछाडिपारिएको समुदायमा शिक्षाको पहुँच पु¥याउन, समुदायलाई सचेत पार्न, अभिभावक शिक्षा सञ्चालन गर्न, कठिनाइमा परेका बालबालिकालाई थप सहयोग गर्न गाउँ र टोलहरूमा पुग्नुपर्छ । सहज स्थानमा धेरै संस्थाले कार्यक्षेत्र बनाउने र समस्या धेरै भएका गाउँ टोलमा कोही पनि नजाने अवस्था अन्त्य गरिनुपर्छ ।

प्रकाशित: २३ मंसिर २०७७ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App