२२ फाल्गुन २०७७ शनिबार
विचार

एउटा आगो हुँदा अर्को पानी भए पो

यसैका लागि हो रगतको भल बगाएको ?

भारतको राजनीति राजनीति र कूटनीति सामान्य बाटोबाट गुप्तचरी र सैनिक बाटोतिर जान लागेको हो ?भारत सरकारले बाटो बदल्न लागेको हो ? यो प्रश्न आज हठात् उठेको छ। यो प्रश्न उठ्नुको पछाडि यसअघिका दुई जना गैरराजनीतिक र गैरकूटनीतिक सेवाका उच्चपदस्थ व्यक्तित्वहरू नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रणा गरेपछि दुई सार्वभौम र स्वतन्त्र मुलुकबीच ताल्चा लागेको वार्ताको गजवार, आग्लो, चुकुल खुल्न लागेकाले यो अनुमान आएको हो। करिवदुई हप्तापहिले भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसँग झण्डै तीन घण्टा लामो शिष्टाचार भेट गरे। त्यसको लगत्तै भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपाली प्रधानसेनापति जनरल पूर्णचन्द्र थापाको औपचारिक आमन्त्रणमा आए। राष्ट्रपतिबाट मानार्थ महारथि जनरलको सम्मान थापे। उनले पनि प्रधानमन्त्री ओलीसँग भेटे। कुराकानी गरे।  

परिणाममा नेपाल र भारतका परराष्ट्र सचिवहरूको बैठक आउँदो मंसिरमा काठमाडौँमा बस्ने भयो। दुई देशका प्रधानमन्त्रीको परामर्शमा बनाइएको दुई देशका विदेश सचिवस्तरीय संयन्त्रको बैठक नबसेको लामो समय भइसक्यो। यो समयमा नेपाल–भारत सम्बन्धमा अस्वाभाविकताधेरै आए। दुई मुलुकबीचको कूटनीतिअस्वाभाविक भइसक्न आँटेको थियो। भारतीय प्रधानमन्त्रीको जन्मदिनमा प्रधानमन्त्री ओलीले मोदीको ढोका ढक्ढक् गरे।  

बन्द ढोका किन उघारे?
नेपाल–भारतबीचको सम्बन्ध स्वाभाविक नहुँदा यो अरू देशको पनि चासो हुन थालेको छ। भारतले २०१८ सालको पल्छिल्लो कालखण्डदेखि या सन् १९६२ देखि नेपालको भूमि कालापानीमा सेनाको शिविर राख्दै आएको छ। सुगौली सन्धि १८१६ ले नेपाल भनेको क्षेत्र कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र अतिक्रमण गर्दै आएको छ। अझ कालीपूर्वको उक्त भूभागमा सडक निर्माण गरेर मानसरोवर जान सजिलो गराएको छ। त्यसअघि २०७६ कात्तिक १६ गते आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरी उक्त भूमि भारतमा गाभेको छ। त्यसको यथामयमा नेपाल सरकारले प्रोटेस्ट नोट पनि दर्ता गराएको छ। तर भारत सरकारले नेपाल सरकारको उक्त विरोधको पूरै उपेक्षा गर्दै आएको छ। 

नेकपाको वर्तमान नेतृत्वमा जुट्ने/जुटाउने योग्यता त भएन भएन, फुटाउने योग्यता पनि देखिएन। 

अझ उल्टो सो सडकको २०७७ वैशाख २६मा भारतका प्रतिरक्षामन्त्री राजनाथ सिंहले औपचारिक उद्घाटनसमेत गरिसके। समयमा नै नेपालले यो मुद्दालाई नचर्काइ कूटनीतिक माध्यमद्वारा टुंग्याउने मनसायले मौखिक र लिखत पनि पत्राचार ग¥यो। तर भारतले नेपालको सद्भावनाको उपेक्षा गरी नै रह्यो। अतिक्रमण यथावत नै कायम रह्यो। तब प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग वार्ताको आग्रह गरि नै रहे। बल्लबल्ल नेपालसँग कुरा गर्न राजनीतिक वा कूटनीतिक मान्छे नपठाइ आफ्नो परम पत्यारका सामन्तकुमारलाई पठाएछन्। त्यसका अनेक कोणबाट व्याख्या र वर्णन भयो। हाम्रा प्रधानमन्त्री ओलीले मैले कुराकानी गरौँ भन्दा भारतीय प्रधानमन्त्री मोदीले गुप्तचर प्रमुखलाई पठाएछन्, मैले अमूकलाई पठाउनु भन्न मिलेन। पत्यारका जो पठाए उनैसँग कुरा गरेँ भन्ने कुरा सार्वजनिक गरे। पछिल्लोपल्ट स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेसँग पनि ओलीले भेटी कुरा गरे। ती सबै कुराकानीको परिणाम परराष्ट्र सचिवस्तरीय संयन्त्रका बीच छलफल हुने भएकोछ।  

यसैका लागि हो रगतको भल बगाएको ?
नेपालका प्रधानमन्त्री ओली भारतको सहयोगमा आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टीबाटै आफूलाई सत्ताच्युत गर्ने प्रयास भइरहेको कुरा पुनरुक्त गरिरहेका छन्। सामन्तकुमारसँग भेट हुनुअघि पनि यस्ता कुरा गरिरहन्थे। त्यो भेट र लामो गुप्त वार्तालापपछि पनि यो भनाइमा परिवर्तन आएको छैन। नेकपा फुटिसक्यो कि फुट्न बाँकी नै छ भन्न सजिलो छैन। नेकपाको वर्तमान नेतृत्वमा जुट्ने÷जुटाउने योग्यता त भएन भएन, फुटाउने योग्यता पनि देखिएन। यी कुरा यही कात्तिक २७ गतेसम्मको राजनीतिक पृष्टभूमिका आधारमा लेखिएको हो। दुई अध्यक्ष दुवै आगो (एउटा आगो आर्को पानी) भए पो अथवा हुन्छ। दुवै आगो। यी दुई महारथिलाई त यी भन्दा तल्लो, तल्लो तहका नेताहरूले आद्योपान्त पढेका छन्। हामी बाहिर बस्ने र सञ्चार माध्यमबाट थाहा पाउनेहरूलाई गाँठी कुरो गतार्थ हुँदैन। 

वास्तवमा सामान्यतः पार्टीको संगठनको बैठक हुनु भनेको लुगा धुनु जस्तै हो। जसरी लुगा धुँदा फोहोर मैला पखालिन्छ र कपडा सफा हुन्छ, त्यस्तै पार्टीका, संगठनहरूका बैठकहरूले खिया फाल्छन्, झन् संगठन बलियो हुन्छ। 

कार्यकर्ता र जनताले नेताबाट, नेतृत्वबाट सिक्ने हो। उनीहरूकै अनुसार एउटा जाली, अर्को महाजालीसँग के सिक्ने ? दुवै शीर्षस्थ नेता तल्लो तहमा ओर्लिएर वाक्युद्ध गर्छन्। जनताले के सिक्ने ? राज्य यसैगरी चल्ने हो ? राजतन्त्र उखेलेको यसैका लागि हो ? यो केको तुजुक हो साँच्चै ? नेकपामा मेरा धेरै जना मित्र छन्। नेताहरूको स्तर हेरेर र भोगेर अहिले मसँग कुरा नभए हुन्थ्यो पो भन्दा रहेछन्। म पनि अब कम सम्पर्क गर्न लागेँ। मैले कुरा गर्दा उहाँहरूलाई अप्ठेरो पर्ने भयो। यो राजनीतिक परिपाटी कस्तो निर्मम ? नेताहरू बिरामी भए भने राज्यले विदेशमा खर्च बेहोरेर उपचार गराउनुपर्ने। सत्तामा हुँदा वा मन्त्री हुँदा गुटमुट्याएकाले, सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका लुच्चाहरूले पनि विदेशमा राज्यले उपचार गराउनुपर्ने, के यसैका लागि हो नेपाली जनताले रगतको भल बगाएर ज्यानको बलिदान दिएको नतिजा ?

मूल मुद्दा काँचै छ
पार्टी भनेको व्यक्ति होइन, संस्था हो। संस्था भन्नासाथ धेरै व्यक्ति आबद्ध हुन्छन्, सम्बद्ध हुन्छन्। उनीहरूको समय समयमा भेट हुन्छ। छलफल हुन्छ, निर्णय हुन्छ। त्यसपछि कार्यान्वयन हुन थाल्छ। कार्यान्वयनको अवलोकन गरिन्छ। त्रुटि भएको भए सच्याइन्छ। तर संस्थाका विभिन्न तहका संरचना हुन्छन्। ती संरचनामा बेलाबेला परामर्श हुन्छ। परिस्थिति हेरी सच्याइन्छ। कति कुरामा सच्याउनु पनि पर्दैन। काम ठीकसँग भइरहेको ठहर गरिन्छ। ठीक ढंगले कार्यसम्पादन हँुदै रहेनछ भने त्यसमा पुनरावलोकनपछि परिस्कार गरिन्छ र ठीकसँग कार्यान्वयन गरिन्छ। मैले बुझेको प्रक्रिया यस्तै यस्तै हो। अब यहाँ अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा बैठक गर्ने पूर्व निर्णयहरू कार्यान्वयन भएका छन्÷छैनन् ? कार्यान्वयन भएका भए ठीकसँग भएका छन्÷छैनन्। नभएका भए किन कार्यान्वयन भएनन् ? के कारणले वा कसका वा क–कसका कारणले व्यवहारमा रूपान्तरण भएनन् ? अब के गर्ने ? भन्ने जस्ता विषयमा त केन्द्रित हुने थिए होलान् बैठक।

आजको कम्युनिस्ट पार्टी भनेको हिजोका दुइटा कम्युनिस्ट पार्टी एमाले र माओवादी एक भएर बनेको विशालकाय नेकपा हो। ती पार्टी एउटै भएको पनि २०७५ जेठ ३ गते हो। तर यतिका लामो समयसम्म पनि सम्पूर्ण तहको एकीकरण हुन बाँकी नै छ। भातृ संगठन, भगिनी संगठनहरूको पनि पूर्ण समीकरण भइसकेको छैन। ती दुई पार्टीको दार्शनिक वा सैद्धान्तिक पक्षपनि निरूपण हुन बाँकी नै छ जुन कुरा आउँदो चैतमा प्रस्तावित एकीकरण महाधिवेशनका बेला टुंग्याउने भन्ने छ। जनताको जनवाद र जनताको बहुदलीय जनवाद के हो भन्ने मूल मुद्दा काँचै छ।  

कालो टीका नलागोस् भनेर मात्र
मान्छेको स्वभाव अनौठो हुन्छ। आफूलाई मन नपर्ने मान्छे जेबाट सर्वाधिक तर्सन्छ वा त्रस्त हुन्छ त्यही कुरा बारबार दोहो-याइरहन्छन् ताकि ऊ बढी त्रस्त होस्। हो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको कुनै तहको पनि मिटिङ भनेपछि मन पराउँदैनन्। त्यसैले पार्टीका अरू नेता पार्टीको सचिवालय बैठक बोलाउन बारम्बार दोहोराइरहन्छन। ओली पार्टीका मिटिङ नचाहने अरू नेता मिटिङ गरिहालौँ भन्ने। पार्र्टीको मिटिङले पार्टीलाई बलियो बनाउन सहयोग गर्छ भन्ने बुझाइछ। वास्तवमा सामान्यतः पार्टीको संगठनको बैठक हुनु भनेको लुगा धुनु जस्तै हो। जसरी लुगा धँुदा फोहोर मैला पखालिन्छ र कपडा सफा हुन्छ, त्यस्तै पार्टीका, संगठनहरूका बैठकहरूले खिया फाल्छन्, झन् संगठन बलियो हुन्छ भन्ने दृष्टिकोणको मान्छे हुँ म।  

मिटिङ बैठक भन्ने कुरा सधैँ शुभ पनि हुँदैनन्। उदाहरणका लागि श्री ३ महाराज देवशमशेरलाई लिऊँ। रानीपोखरीअगाडि दरवार स्कुलमा वि.सं.१९५८ आषाढ सुधी १० रोज ४ का दिनश्री ५ समेत समारोह सकी फर्कने क्रममा गेहेन्द्रशमशेर र तेजशमशेरहरूको अंशबन्डा गर्दा कोठाहरूको बन्डामा चित्त नबुझेको हुँदा महाराजबाट छुट्याइदिनुप-यो भन्ने बहानामा बोलाएर लगी त्यहीँ प्रधानमन्त्री पदबाट राजीनामा गराई धनकुटा लघारे। यसर्थ यदाकदा मिटिङका अपवाद पनि पाइन्छन्। ओलीले देवशमशेर काण्ड अवश्य पढेकाछन्। त्यसैले मिटिङलाई अनिष्टकारी ठानी उपेक्षा गरेका हुन कि ? वास्तवमा नेपाल कम्युनिस्ट पार्टी फुट्ने अन्तिम विन्दुमा पुगेको हो तर को अघि सर्ने, पार्टी फुटेको घोषणा गर्ने भन्ने मात्र हो भन्ने लाग्छ। इतिहासको अाँखामा पार्टी फुटाएको कालो टीकाको दाग नलागोस् भनी। दुवै पक्ष तयार छ पार्टी फुटाउन तर यही इतिहासको कुपात्रनहोइयोस् भनी केही बिलम्व भएको मात्र हो भन्ने लाग्छ।

प्रकाशित: १० मंसिर २०७७ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App