३१ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

मधेसमा महिला हिंसा

राजनीतिक स्वायत्तता, समावेशिता, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सुनिश्चितताविना सामाजिक कुरीतिहरुको सम्बोधन सम्भव छैन। माओवादी 'जनयुद्ध' मा महिलाको सक्रिय र व्यापक सहभागिताले राजनीतिक उन्मुक्ति लैङ्गिक उन्मुक्तिको प्रस्थान विन्दु हो भनी नजिर स्थापित भयो। महिलाहरु बन्दुक बोकी लडन सक्दैनन् भने भम्र नेपाली समाजबाट विस्थापित भयो। नेपाली सेनामा महिलाको भर्ना प्रकृया आरम्भ भयो। नेपाली समाजमा महिलाको आत्मबल मजबुत भयो। तर माओवादी 'जनयुद्ध' को महिला सहभागिता र उन्मुक्तिको खासै लाभ मधेसी महिलाले उठाउन सकेनन्। यसलेे के देखाउँछ भने सामाजिक मुद्दा सम्बोधनका लागि राजनीतिक उन्मुक्ति प्रस्थान विन्दु हो। मधेसमा अहिले भइरहेको महिला हिंसाविरुद्धको विचित्र रूप हेर्दा मधेसी स्ामाज अहिले पनि सामान्ती अवस्थामा छ भनी स्पष्ट भन्न सकिन्छ। परिवारको सदस्य नै आफ्नै छोरीलाई जीवितै जलाइने कार्यमा संलग्न हुन सक्ने शंकामा समातिनु यसको उदाहरण हो।
बारामा आफ्नी छोरी जलाएर हत्या गरेको हुनसक्ने शंकामा बाबु समातिएका छन्। प्रवेशिका परीक्षाको तयारी गरिरहेकी छोरी विन्दु ठाकुरलाई प्रेम गरेकै कारण आफ्नै बाबु र परिवारका सदस्यले हत्या गरेको हुन सक्ने प्रहरीको भनाईले एउटा डरलाग्दो स्थिति देखाएको छ। विन्दु ठाकुर र शिवा हासमी सञ्चार माध्यममा आएका केही प्रतिनिधि उदाहरणमात्रै हुन्। यस्ता थुप्रै छोरी-बुहारी प्रत्येक दिन मधेसमा मारिएका हुन सक्छन्, जसको कुनै खोज हुँदैन। आखिर सामाजिक प्रतिष्ठाको नाममा किन हुन्छ मधेसी समाजमा महिलामाथि हिंसा? पहाडी समुदायका महिलाजत्तिकै मधेसका महिला स्वतन्त्रता किन उपभोग गर्न सकिरहेका छैनन्? पहाडका महिला खाडी पुगेर जागिर खान्छन्। तर, मधेसका महिला गाउँंबाट एक्लै सदरमुकाम जाने अवस्था पनि छैन।
दुर्भाग्यवस मधेसी महिलाले मधेस आन्दोलनपश्चात् पनि स्वतन्त्रता अनुभूत गर्न पाएनन्। मधेस आन्दोलनको कमजोरी यही रह्यो कि मधेसी महिलाको सहभागिता र मुद्दाको सशक्त उपस्थिति हुन सकेन। राज्य सत्ता, कर्मचारीतन्त्र, प्रहरी र प्रशासनमा सहभागिता र समावेशिता नभएकाले सधैं आत्मबल कमजोर नै रह्यो। माओवादी जनयुद्ध, लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनपश्चात सेना र प्रहरीमा मधेसी पुरुषले त केही स्थान पाएका छन्। तर, मधेसी महिलाहरु सेना र प्रहरीबाट अझै पनि अछुत छन्। नेपाली सेनामा एक जना पनि मधेसी महिला भेटिँदैन। मधेसी महिला प्रायः नेपाल प्रहरीमा पनि भेटिँदैन। ती संरचनामा महिलाका लागि छुट्टयाइएको समावेशी सिटमा पहाडी महिलाको एकलौटी वर्चस्व छ। ती स्थानमा मधेसी महिलाले आवदेन दिने वातावरण नै छैन। मधेसी महिलाको राज्य संरचनामा समान सहभागिताका लागि छुट्टै आरक्षित गरिएको समावेशी विधेयक अगाडि बढ्न दिइएको छैन।
मधेसमा बढेको महिला हिंसाको दोस्रो कारण हो- शिक्षा र चेतनाको अभाव। हालैको जनगणनाअनुसार जुम्ला, रौतहट र महोत्तरीको शैक्षिक स्तर समान छ। राजमार्गले छोएको र प्रत्येक २० मिटरमा विद्यालय रहेको मधेसका जिल्लामा शैक्षिक र चेतनाको अभाव हुनुको कारण के त? यसको पहिलो कारण हो- राज्यको शैक्षिक नीति नै विभेदकारी छ। निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा ठूलो खाडल छ। निजी विद्यालयहरुमा अंग्रेजीमा अध्यापन गराइन्छ भने सार्वजनिक विद्यालयमा नेपालीमा। त्यसमा पनि मधेसका सार्वजनिक विद्यालय राजनीतिक अखडा र भ्रष्टाचारको नमुना बनेका छन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन मधेसमा गोली नै चलेका कैयौं उदाहरण छन्। त्यस्तै शिक्षक नियुक्तिमा नातावाद, कृपावाद र भ्रष्टाचारले जरा गाडेको छ। खासगरी राहत कोटाको शिक्षक नियुक्ति मधेसी समाजमा झैझगडा गराउन र समाजलाई हिसांतर्फ उन्मुख गराउने नीतिका रूपमा आएको जस्तो देखिन्छ। परम्परागत, धार्मिक र सामन्ती सोचले यसरी जडा गाडेको छ कि साधारण शिक्षाले ती सोचमा पविर्तन ल्याउन असम्भव छ। मधेसमा महिलामैत्री शिक्षा नीतिको अभाव छ।
प्रहरी प्रशासनले महिला हिंसा, बलात्कार, दाइजो, हत्या र सामाजिक प्रतिष्ठाको नाममा हुने हत्यामा प्रभावकारी ढंगले अनुसन्धान नगर्नु पनि मधेसमा महिला हिंसा बढ्नुको मुख्य कारण हो। मधेसमा हुने प्रायः यस्ता घटनामा पीडकसँग बढी भन्दा बढी पैसा असुल गरी लेनदेनमा घटना टुङ्गयाउने दाउमा प्रहरी प्रशासन लागेको देखिन्छ । यसकारण साक्षी प्रमाण जुटाएर अभियोजनमा लानुभन्दा पनि घटना दबाउने प्रवृति हावी छ। त्यस्तै अर्को महत्त्वपूर्ण कारण हो- राजनीतिक दबाब। मधेसमा प्रहरी प्रशासनले घटनाको अनुसन्धानको सुरुवात् गर्नेबित्तिकै राजनीतिक दलका नेताहरुबाट दबाब आउन थाल्छ। पीडक एउटा दलको र पीडित अर्को दलको भनी विभाजन हुन्छ। त्यसपश्चात् केन्द्रदेखि स्थानीय नेताहरु जसरी पनि आफ्नो पक्षलाई बचाउने र चोख्याउने दाउमा लाग्छन्। कानुनी शासनको उपहास भए पनि 'भोट ब्यांक नगुमोस्' भन्नेमा राजनीतिक दलका अधिकांश नेताहरु लागेको देखिन्छ।
महिला हिंसा बढ्नुको धेरै कारणमध्ये स्रोतको अभाव र सामाजिक कुरीति पनि एक हो। मधेसका अधिकांश जनता स्रोतको अभावमा पिल्सिएका छन्। अझ त्यसमा पनि यति धेरै सामाजिक रीतिरिवाज हुन्छ कि त्यसलाई पूरा गर्दागर्दै सारा जीवन त्यसमै व्यतीत हुन्छ। छठीहार, मुन्डन, व्रतबन्ध, छोरीको विवाह, गौना, जितिया जस्ता पर्वमा लुगा, पैसा र भोजको सामग्री दिएन भने कलह सुरु हुन्छ। यही कलहका कारण हत्यासम्मका घटना निम्तन्छ।

प्रकाशित: २५ पुस २०६९ २२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App