२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

खेलकुद किन?

जतिजति शिक्षाको स्तर बढ्दै जान्छ, त्यति त्यति नयाँ नयाँ विषय पाठ्यक्रममा समावेश गरिन्छ। नयाँ विषयको नवीन ज्ञानले नयाँ क्षितिज उघार्ने काम गर्छ। समय र वातावरणअनुसार शिक्षालाई परिवर्तन गर्दै लैजानुपर्छ। आज खेलकुद खेल्ने, उफ्रने, कुद्नेमात्र होइन भन्ने कुरो जानकारी गराउन आवश्यक भएको छ। अतः के छ त खेलकुदभित्र? खेलकुद बुझन किन, कसरी, कहाँ, कहिले जस्ता प्रश्न उठाएर अध्ययन गर्नुपर्छ। एउटा खेलाडी, एउटा टिम खेल्नुको पछाडि के वैज्ञानिक रहस्य छ? खेल खेलेर विजयी हुँदा र पराजित हुँदाको अवस्थालाई कसरी बुझ्ने? आज किन राष्ट्रले खेलाडीबाट ओलम्पिक, एसियाली खेलकुद, विश्व खेलकुद, दक्षिण एसियाली खेलकुद आदिबाट पदक आशा गर्ने? खेलाडीले अन्तर्राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जितेको समाचार सुन्न किन ललायित हुने? खेल जित्दाखेरी किन सम्पूर्ण राष्ट्रले नै हर्ष प्रकट गर्ने अनि खेल हार्दाखेरी किन सम्पूर्ण राष्ट्र नै दुखी हुने?
खेल के हो र खेलाडी के हुन्? कसरी एउटा साधारण व्यक्ति, खेलाडी बन्दै च्याम्पियन बनेर मुलुकको गरिमा राख्न सक्षम हुन्छन् भन्ने कुरा बुझ्न/जान्न खेलकुद पढ्नुपर्छ। विश्वका प्रायः सबै मुलुकमा शिक्षाको एक अभिन्न अंगका रूपमा खेलकुदलाई लिइन्छ। खेलकुद र साधारण शिक्षा अर्थात् मनो–शारीरिक अवयव हुन्। यी दुवैको समानुपातिक विकास हुनुपर्छ। यी दुवै विधाको गहिरो अन्तरसम्बन्ध छ।
धेरैको धारणा के छ भने खेलकुद खेल्यो भने छोरा या छोरीको पढाई बिग्रन्छ। त्यसैले उनीहरु छोरा/छोरीलाई खेलकुद खेल्न दिँदैनन् तर उनीहरु यो बुझ्दैनन् कि खेलकुद खेलेर पढाईमा प्रत्यक्ष एवं अप्रत्यक्षरूपबाट फाइदा पुगिरहेको हुन्छ। खेलकुदबाट उनीहरुको निर्णयगत क्षमतामा बल पुग्छ। आत्मविश्वास बढ्छ। धैर्य गर्न सक्ने क्षमतामा वृद्धि हुन्छ। अभिप्रेरित हुन, संवेग नियन्त्रण गर्न, एकाग्र हुन, दिवास्वप्नी बन्न, संकल्प गर्न, अठोट गर्न, अनुशासित हुन बल पुग्छ।
मानिसलाई मनोवैज्ञानिकरूपबाट आवश्यक पर्ने सबै मनोसमीक्षात्मक गुणहरु खेलकुद विज्ञान अध्यापन क्रममा पढाइन्छ। खेलकुद विज्ञानअन्तर्गत खेलकुद मनोविज्ञान, खेलचिकित्सा, खेल–प्रशिक्षण विधि, किन्सोलजी, बायोमेकानिष्क र मुख्य खेल विषय नै पर्छन्। जर्मनी, बेलायत, रुस, अमेरिका, भारत, ब्राजिल, स्पेन, भियतनामलगायत् अन्य थुप्रै मुलुकमा खेलकुद विज्ञान विषयमा उपरोक्त विषयहरु नै पठनपाठन गर्दै आएका छन्। तर समयको मागअनुसार विश्व खेलकुद संगठन, राष्ट्रिय खेलकुद संगठन, राष्ट्रिय अन्तर्राष्ट्रिय संघहरु, खेलकुद व्यवस्थापन, खेलकुद बजार प्रबर्द्धन, प्रायोजक अन्तरसम्बन्ध, खेल पर्यटन, साहसिक खेलकुद, विशेष खेलकुद र खेलकुद नीतिहरु पठनपाठनमा समावेश गर्ने गरिन्छ।
हामीले यहाँ एउटा मूल कुरो बिर्सिनुहुँदैन, त्यो के भने विद्यार्थीले खेलकुदको ज्ञान प्राप्त गरेपछि खेल्ने अवसर पाउनुपर्छ। पढेको कुरो व्यवहारमा उतार्न सिकाउनुपर्छ। त्यसका लागि आवश्यक पर्ने खेलकुदका पूर्वाधार व्यवस्था मिलाउनुपर्छ। खासगरी बहुउद्देश्यीय कभर्ड हल, पौडी पोखरी र ट्रयाकसहितको फुटबल मैदान हुनुपर्छ। कभर्ड हल र मैदानमा धेरैथरीका खेल खेलाउन सकिन्छ। त्यसैगरी खेल खेलाउने स्तरयुक्त खेल प्रशिक्षक, अन्य खेल विज्ञान पढाउने शिक्षकहरुको पनि आवश्यकता पर्छ। त्यसका लागि सम्बन्धित निकायले विधागत एवं विषयगत खेल शिक्षक तथा प्रशिक्षणको व्यवस्था गरिदिनुपर्छ।
यसै सन्दर्भमा उच्च माध्यमिक शिक्षा परिषद्ले आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा खेलकुद विज्ञान अध्यापन गराउने समाचार पढ्न पाउँदा खुशी लागेको छ। खेलकुदलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको छ। त्यसैगरी  लब्धांकपत्रमा खेलाडीले प्राप्त गरेको खेलकुदको अंक गणना नहुने कुरा पनि उल्लेख भएको छ। लब्धांकपत्रमा अंक नै गणना नहुने भएपछि खेलकुद विषय पढेर, खेलेर समय किन बर्बाद पार्ने भन्ने मानसिकता विद्यार्थीमा उब्जन सक्छ। अतः खेलकुदलाई ऐच्छिक होइन, अनिवार्य विषयका रूपमा ग्रहण गर्नुपर्छ। त्यस सम्बन्धमा सम्बन्धित निकायले गम्भीर भएर सोच्ने बेला भएको छ।

लेखक खेलकुद मनोविज्ञ हुन्।

प्रकाशित: १७ पुस २०६९ २२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App