१० कार्तिक २०७७ सोमबार
विचार

नेपालमा सहरी वन

नेपालमा सहरीकरणको गति तीव्र छ। देशका झण्डै ६० प्रतिशत जनता सहरमा बस्छन्। सहरी क्षेत्रको परिभाषा देशअनुसार फरक–फरक पाइन्छ। नेपालमा नगरपालिकाका क्षेत्रलाई नै सहरी क्षेत्र भन्ने बुझिन्छ। शाब्दिक अर्थमा नगरपालिकाभित्रका सबै वन नै सहरी वन भए तापनि यो लेख नगरपालिका क्षेत्रका घनाबस्तीभित्र एवं वरपरका सहरी परिवेशका क्षेत्रसँग केन्द्रित छ।

मानव सभ्यताको विकासमा वन र वनस्पतिको महत्वपूर्ण स्थान रहँदै आएको छ। देशको समृद्धिको नारा वातावरणीय पक्षसँग पनि सम्बन्धित हुन्छ। वातावरण संरक्षणमा वन र वनस्पतिको अमूल्य योगदान रहन्छ। घना आवादी भएको सहरी क्षेत्रमा त यसको अझै बढी महत्व हुन्छ।

पहिला सहरी वनको महत्वलाई सुन्दरतासँग बढी जोडिन्थ्यो भने हाल वातावरणीय, सामाजिक, आर्थिक र शारीरिक पक्षसँग सम्बन्धित मानिन्छ। सहरी वनले भू–दृश्य सौन्दर्यीकरण, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण, पर्या–पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, काष्ठ तथा गैरकाष्ठ वन पैदावार उपलब्धता, भू–संरक्षण, शारीरिक तथा मानसिक स्वास्थ्य सुधार, शैक्षिक तथा अनुसन्धान, मनोरञ्जनलगायतका वस्तु तथा सेवाका क्षेत्रमा योगदान पु-याउँछ। रुख बिरुवाहरू प्रदूषण हटाउने सबैभन्दा सस्ता र प्रभावकारी प्राकृतिक मेसिन हुन् भने यिनले हावा सफा गर्ने मानिसको फोक्सोकै रूपमा चौबीसै घण्टा सेवा गरिरहन्छन्। सहरी वनले सहरवासीको जीवनस्तर सुधार्नुका साथै सहरलाई बस्नयोग्य बनाउन अहम् भूमिका खेल्छ।

उपलब्धि

शाब्दिकरूपमा नेपालमा सहरी वन नौलो भएतापनि अनादिकालबाटै बाटोको छेउ, नदी किनारा, पानीपँधेरा छेउ, मठमन्दिर वरपर, सार्वजनिक एवं निजी जग्गामा रुख बिरुवा रोपी हुर्काउने परम्परा रहिआएको छ। साथै, बाटोको छेउमा चौतारी बनाइ धार्मिक महŒवका रुखहरू वर, पीपल, शमी, वेलजस्ता प्रजातिका बिरुवा रोप्ने चलन यद्यपि छँदैछ।

राणाशासन कालमा, खासगरी प्रधानमन्त्री चन्द्रशमशेर र जुद्धशम्शेरका समयमा काठमाडौं उपत्यकाका विभिन्न दरवार परिसर र सडक किनारामा विदेशी र स्वदेशी प्रजातिका प्रशस्त संख्यामाबिरुवा रोपण भए।

‘त्यो सहर नै समृद्ध हुन्छ जहाँ बूढाबूढीले आफू त्यो रुखको छहारीमा बस्न पाइन्न भन्ने जान्दाजान्दै पनि बिरुवा रोप्छन्’ भन्ने ग्रिक उक्तिलाई मध्यनजर गरी सहरी वनसम्बन्धी व्यापक प्रचारप्रसारको व्यवस्था गर्नुपर्छ।

विगत केही दशकअगाडिबाट प्रत्येक वर्ष मनसुनको समयमा सरकारी तथा गैरसरकारी संस्थाहरूद्वारा सरकारी एवं निजी जग्गामा लाखौँको संख्यामा बिरुवा रोपण भइरहेका

छन्। विभिन्न सहरमा पार्क÷उद्यान स्थापना गरिनुका साथै नदी किनारा, सडक किनारा, सडक बीच (मेडियन), ट्राफिक आइल्यान्ड, सरकारी एवं गैरसरकारी संस्थाका कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपण भएका छन्। सहरका केही घरमा कौसी बगैँचा पनि बनेका छन्। त्यसैगरी सहरी क्षेत्र र वरपरका सामुदायिक वन, कबुलियती वन, धार्मिक वन क्षेत्रहरूमा वृक्षरोपण र व्यवस्थापन कार्य सञ्चालित छन्।

देशका काठमाडौँ, ललितपुर, भक्तपुर, भद्रपुर, विराटनगर, इटहरी, लहान, जनकपुर, वीरगन्ज, हेटौँडा, भरतपुर, बुटवल, पोखरा, सुर्खेतलगायतका सहरमा हरियाली प्रवद्र्धनका कार्य उल्लेखनीयरूपमा भएका देखिन्छन्।सरकारी तथा निजीस्तरबाट बर्सेनि लाखौँका संख्यामा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी सदुपयोग भइरहेका छन्।

समस्या

देशमा सहरी वन विकासमाकेही पहल भएतापनि त्यसमा उल्लेख्य सफलता प्राप्त हुन सकेको छैन। विश्वका कतिपय विषम हावापानी र कम उब्जिलो माटो भएका सहरहरूमा हिँड्दा वा जहाजी दृश्यबाट तल हेर्दा सहरहरू त सुन्दर बगैँचाजस्ता देखिन्छन्। तर हाम्रा मलिलो माटो र मनोरम हावापानी भएका सहरलाई अपेक्षाकृत हरियालीयुक्त बनाउन सकिएको छैन।

सहरी वन विकास गर्न स्पष्ट नीतिगत, कानुनी र संस्थागत व्यवस्था हुन सकेको छैन। यसका लागि स्पष्टरूपमा जिम्मेवार निकाय पनि तोकिएको छैन। सहरी वनसम्बन्धी सूचनाहरू एकीकृत नभई छरिएका छन्। सहरी विकासमा हरियाली प्रवद्र्धनले प्राथमिकता पाउन सकेको देखिँदैन। सो कार्यमा सरोकारवालाको समन्वयको कमी हुनुका साथै व्यवस्थापन र अनुगमनको स्पष्ट जिम्मेवार निकाय पनि छैन।

केही स्थानमा स्पष्ट योजना र प्राविधिकको परामर्शविना जहाँ पायो त्यहीँ, जसले पायो त्यसैले, जसरी पायो त्यसरी, जत्रो पायो त्यत्रो साइजको र जे पायो त्यही प्रजातिको बिरुवा रोपिएका देखिन्छन्। सडकछेउका साँघुरा फुटपाथमा समेत बिरुवा रोपिएका छन्। जसबाट पछि पैदल यात्रीलाई आवातजावतमा समेत अप्ठ्यारो हुन्छ। अर्काे शब्दमा भन्नुपर्दा दीर्घकालीन सोच र व्यवस्थापनविना रोपिएका बिरुवाले पछि समस्या निम्त्याउन

सक्छन्। ‘राइट ट्रि इन राइट प्लेस’ को मान्यतालाई राम्ररी ध्यान पु¥याउन नसकिएको अवस्था छ। साथै सरकारी एवं निजी नर्सरीहरूमा उपयुक्त प्रजाति र गुणस्तरीय बिरुवाको उपलब्धता सुनिश्चित हुन सकेको छैन। कतिपय स्थानमा वृक्षरोपणपछि रोपिएका बिरुवाको संरक्षण र व्यवस्थापनमा उचित ध्यान पु¥याउन नसकिएको अवस्था छ। सार्वजनिक जग्गामा रोपिएका बिरुवाको स्वामित्वमा पनि द्विविधा उत्पन्न हुने गरेको छ। छाडा गाईवस्तुको समस्या पनि देखिन्छ। साथै बूढा, मरेका, मर्न लागेका एवं धनजनको क्षति पु-याउन सक्ने रुख हटाउने उपयुक्त संयन्त्र बन्न सकेको छैन। सहरी वन विकासका कार्यक्रमहरूमा निरन्तरता नहुनुका साथै स्रोत साधन तथा अध्ययन अनुसन्धानको पनि कमी छ।

सुझाव

देशका सहरमा सौन्दर्य र हरियाली प्रबद्र्धन गर्न निम्नानुसारका सुझाव महत्वपूर्ण हुन सक्छन् ः

– सहरी वनसम्बन्धी स्पष्ट नीतिगत तथा कानुनी व्यवस्था गरी संस्थागत जिम्मेवारी तोकिनुपर्छ।

– नगर योजनामा वातावरणीय पक्षलाई विशेष जोड दिएर सरोकारवालाको समन्वयमा ठाउँअनुसारका योजना र कार्यक्रम तय गरिनुपर्छ।

– सहरी वनसम्बन्धी स्पष्ट मापदण्ड बनाउनुपर्छ।

– सहरी वृक्षरोपण र व्यवस्थापन गर्न केन्द्र, प्रदेश र नगरपालिका तहमा विज्ञटोली गठन गरिनुपर्छ।

– सडकछेउका साँघुरा फुटपाथमा बिरुवानरोपी यससम्बन्धी व्यवस्था मापदण्डमै तोकिनुपर्छ।

– सहरी वन नर्सरीहरू स्थापना गरी ठूलो परिमाणमा उपयुक्त प्रजाति र साइजका गुणस्तरीय बिरुवानियमितरूपमा उत्पादन गरिनुपर्छ।

– बिरुवा रोप्दा बोटबिरुवाको प्रजातिको गुण, माटो, हावापानी, तल–माथि दायाँ–वायाँ उपलब्ध हुने क्षेत्र आदिलाई विचार पु-याउनुपर्छ।

– ‘राइट ट्रि इन राइट प्लेस’को मान्यतालाई पूर्णतः ध्यान दिनुपर्छ।

– यथासम्भव मनसुनको सुरुमै बिरुवा रोपी त्यसको सुरक्षा, सिँचाइ र व्यवस्थापनको व्यवस्था मिलाउनुपर्छ। यसका लागि मानिसको बढी आवतजावत हुने स्थानमा ट्रि गार्ड एवं ठाउँअनुसार हेरालु तथा टोलसुधार समिति, स्थानीय क्लब र उपभोक्ता समितिलाई परिचालन गर्नुपर्छ। आवश्यकताअनुसार पुनरोपणको व्यवस्थागर्नुपर्छ।

– सहरमा साना रुख रोपी हुर्काउन लामो समय तथा बढी खर्चिलो पनि हुनेहुँदा ट्रि ट्रान्सप्लान्टरको व्यवस्था गरी अन्यत्र हुर्किसकेका १०–१५ फिट अग्ला रुखहरू सार्ने व्यवस्था मिलाइनुपर्छ।

– कौसी बगैँचालाई प्रोत्साहन गरिनुपर्छ।

– छाडा गाईवस्तु नियन्त्रण गरिनुपर्छ।

– रोगी, मर्न लागेका रुख बिरुवाको व्यवस्थापन गर्न ट्रि सर्जनको व्यवस्था गर्नुपर्छ।

– खतरायुक्त रुख हटाउन ट्रि एम्बुलेन्सको व्यवस्था मिलाइनुपर्छ।

– ठाउँको उपयुक्तताअनुसार गमलामा बोन्साइबिरुवाको व्यवस्था गरिनुपर्छ।

– त्यो सहर नै समृद्ध हुन्छ जहाँ बूढाबूढीले आफू त्यो रुखको छहारीमा बस्न पाइन्न भन्ने जान्दाजान्दै पनि बिरुवा रोप्छन् भन्ने ग्रिक उक्तिलाई मध्यनजर गरी सहरी वनसम्बन्धी व्यापक प्रचारप्रसारको व्यवस्था गर्नुपर्छ।

– नियमित अनुगमनको व्यवस्था गरिनुपर्छ।

निष्कर्ष

देशको आधाभन्दा बढी हिस्सा सहरमै बसोबास गर्दै आएको हालको परिप्रेक्ष्यमा सरोकारवालाको समन्वयमा योजनाबद्धतवरले मौजुदा सहरी वनको संरक्षण र व्यवस्थापन गरी व्यापकरूपमा नयाँ सहरी वनको विकास र व्यवस्थापन गर्न अत्यावश्यक देखिन्छ। सो गरेमा सहरी वातावरण स्वच्छ र सुन्दर हुने तथा वातावरणमैत्री हरियाली सहर निर्माण भई सहरी प्रवद्र्धनको कोसेढुङ्गा सावित भएर समृद्ध नेपाल बनाउन ठूलो टेवा पुग्नेछ। यो कार्यका लागि असल योजना, बलियो इच्छाशक्ति, जोस, जाँगर, व्यवस्थापन, निरन्तरता, सबैको अपनत्वसहितको साझा जनसहभागिता चाहिन्छ।

प्रकाशित: २९ आश्विन २०७७ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App