२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

राजिनीतिमा जोगी!

क्रान्तिकारी नाराको बुँई चढेर सत्तामा पुग्ने बित्तिकै भाषा फेर्ने प्रवृत्तिबाट अन्नत माओवादीका नेताहरु पनि जोगिन सकेनन्, उनीहरुकै भाषामा कांग्रेस एमालेकरण भइछाड्यो। जसले नेपाली राजनीतिक शाख साह्रै नराम्रो गरी गिर्दै गएको छ। यसको परिणाम सुप्रिम कमाण्डर प्रचण्डले खाएको थप्पडलाई लिदा सान्दर्भिक नै हुन्छ। हिजो समाज परिवर्तनका संवाहक सम्झेर फुलमालाले सँधै स्वागत मात्रै होइन, तिनै प्रचण्डको आह्वानमा हजारौं नागरिकले प्राणको आहुती दिन हिच्किचाएका थिएनन्। आज तिनै नागरिक सत्ता सञ्चालक बनिसकेका सशस्त्र द्वन्द्वताकाका सुप्रिम कमाण्डरलाई थप्पड हान्न तम्तयार देखिए, ज्यान बाजी राखेर थप्पड हाने।
झलनाथ खनाल, सुशिल कोइराला र प्रचण्डहरुले खाइरहेका यी थप्पडहरुले दिने सन्देश पक्कै राम्रो होइन। यो सन्देशले नेपाली राष्ट्रियता नै कमजोर बनाइरहेको छ। अन्तर्राष्ट्रिय जगतका लागि बिकाउ यो समाचारले पक्कै नेपाली शीर उचो बनाइरहेको छैन। झलनाथले थप्पड खादा प्रचण्डलाई एमालेले/प्रतिद्वन्द्वीले थप्पड खाए जस्तो लाग्यो, उनले आफुलाई नियालेनन्। आज प्रचण्डले थपप्ड खादाँ अरु कसैलाई त्यस्तो लाग्दै होला। त्यो बुझाई सही होइन, विधिको शासन चल्ने समाजमा। केन्द्रीय नेतृत्वले खाइरहेको थप्पडको सीको भोलि क्षेत्र, जिल्ला, गाउँ हुँदै परिवारभित्र पस्छ। बाबुलाई असन्तुष्ट छोराछोरीहरुले थप्पड हान्न थाल्छन्। के यो संस्कृति राम्रो हो? यी घटनाले भोलि प्रवृत्तिको रुप धारण गर्ला अनि के गर्ने?
यो सोचनीय एउटा पाटो भयो। अर्काे पाटो भनेको यस्ता जनआक्रोसबाट राजनीतिक शाख कता गइरहेको छ? कस्तो संस्कृतिको विकास भइरहेको छ? र किन हुँदैछ? प्रमुख नेताहरु स्वयमले विकास गरेको बाहुबली राजनीतिक संस्कृतिको परिणाम उनीहरुले पाउँदैछन्, भोलि तल्लो तहसम्म यो संस्कृतिले प्रश्रय पाए भने समाज तहसनहस हुनसक्छ। जसलाई रोक्ने भनेको राजनीतिक नेतृत्व/संस्कृतिले नै हो। जनता केन्द्रीत राजनीति गरे पक्कै पनि जनआक्रोसलाई रोक्न सकिन्छ। आज जनता भन्दा दल त्यसमा पनि नेता केन्द्रीत राजनीतिक संस्कृतिले प्रश्रय पाउँदा नेतृत्वसँग जनता खुशी देखिन्नन्।
हितकारी नीति र कार्यक्रमयुक्त राजनीतिमा मात्रै जनता खुशी हुन्छन् र साथ दिन्छन्। हिजो सशस्त्र द्वन्द्वमा माओवादीलाई जनताले साथ नदिएको भए आजको माओवादी कसैले परिकल्पना गरेका थिएनन्। कांग्रेस र एमालेको अवस्था पनि तिनै हुन्। जनताले नयाँ शासकहरुलाई स्थापित गराउनुको पछि उनीहरुले ल्याउने नयाँ कार्यक्रम नै हो। ती कार्यक्रममा अर्थव्यवस्था एउटा प्रमुख तत्व बन्दै आएको छ। शासकसँग राज्यको अर्थनीति निहित रहने र उपेक्षित जनतालाई नयाँ सपना देखाइदिदा नयाँ शक्तितिर झुम्मिने गरेको देखिन्छ। नयाँ सपना देखाउन गाउँगाउँका झुप्रोहरुमा बास बस्दा माओवादीप्रति झुप्राबासीहरु खुशी भए। मन जित्न जोगीको घरमा बास पर्दा यी नेताहरु पनि जोगी नै भए। अनि राज्यले आतंककारी घोषणा गरी टाउँकोको मूल्य निर्धारण गर्दा पनि जनता (जोगी जत्तिकै अवस्थाका अधिकांश नागरिक)ले नै माओवादी बचाए। बिघठित संविधानसभाको प्रमुख दलसँगै सत्तासम्म पुर्यागए।
आजभोलि तिनै माओवादी नेताहरु भाषणमा जोगी बन्न राजनीति गरेको होइन भन्दैछन्। तर गणतान्त्रिक व्यवस्थामा नेतृत्व गर्नेले जोगी हुन पनि सक्नुपर्छ। नेतृत्व यो अवस्थामा जोगी हुन्छ कि राज्यभित्र एउटा यस्तो समाज छ, जहाँ पूरै जोगीहरु मात्रै बस्छ, त्यहाँ जोगीले नै शासन गर्छ लोकतन्त्र त्यो हो। अर्थात आफुले आफैलाई गरिने शासन विधि लोकतन्त्र हो। जोगीको समाजमा धनाढयहरुले होइन जोगीले नै शासन गर्नुपर्छ। राष्ट्र जोगी भयो भने नेता पनि जोगी नै हुनुपर्छ। समाज भन्दा उपल्लो दर्जाका पहिचान बोक्नेले त्यो समाजको नेतृत्व गर्न सक्दैन। समाजको भावना नबोक्ने नेतृत्वलाई समाजले साथ दिदैन।

प्रकाशित: २५ मंसिर २०६९ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App