१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

महिला हिंसाविरुद्ध

प्रत्येक वर्ष महिला हिंसाविरूद्धको दिवसलाई महिला अधिकारकर्मीहरुले भव्यरुपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाका अवस्था भने ज्युका त्युँ छन्।

विश्वमा आजभन्दा झण्डै ६० वर्षपहिले ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन जना दिदी-बहिनी (पेट्रिया, मिनर्मो र मारिया) को तत्कालीन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ को दिनलाई लिंगका आधारमा महिलाविरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्ने दिवसका रुपमा मनाउन थालेका हुन। पछि त्यसलाई सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र संघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। त्यसयता हरेक वर्षको २५ नोभेम्बरलाई विश्वभर महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ। यस दिवसलाई नेपालमा पनि १६ दिने अभियानका रुपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ। शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत् अन्य महिला हिंसाका अनेकन् रूप छन्। प्रत्येक वर्ष महिला हिंसाविरूद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाका अवस्था भने ज्युका त्यँु छन्।

बोक्सीे, दाइजो, यौनशोषण, बेचविखन आदिका कारण महिलामाथि हुने हिंसा, अमानवीय अत्याचार, पराकाष्ठाको असिम रूप हो। समाजमा विद्यमान कुरीति कुसंस्कार र अन्धविश्वासले गर्दा महिलाहरू विभेद, अन्याय, अत्याचार र अपमानित जीवन जीउन बाध्य छन्। विज्ञानको यस युगमा महिला बोक्सी हुनसक्छ र अरुलाई हानि नोक्सानी पु¥याउन सक्छ भन्ने जस्ता कुरामा विश्वास गरेर गत वर्ष चितवनकी भेंगनीदेवीलाई आफ्नै नातेदारले जिउँदै जलाएर मारे। काठमाडौंको गोठाटारमा सीता पुडासैनीको आँखा फोडेर अंगभंग गरे। यस्ता कैयन् भेंगनीदेवी र सीतादेवी बोक्सी हिंसाका शिकार बनेका छन्। बोक्सीको आरोपमा मलमूत्र खुवाउनु, कुटपिट गर्नु, आँखा फोडनु, ज्यँुदै जलाउनु, झाँक्रीको बहानामा आगोले पोल्नु, डाम्नु आदि जस्ता अमानवीय कार्य महिला हिंसाको चरम रूप हुन्।

समाजमा अभिशापका रूपमा दाइजोका कारण लाखांैको संख्यामा महिलाहरु हिंसाको शिकार भएका छन्। तराई-मधेस, पहाड, उपत्यका जताततै यस्ता हिंसाका घटना पाइन्छन्। यस्ता हृदयविदारक घटना दाइजोका कारण दिन÷प्रतिदिन भइरहेको छ। एक दशकमा भएका दाइजो विरोधी विभिन्न अभियानहरुले यसबाट हुने हिंसामा खासै कमी ल्याउन सकेको छैन। यही कारणले कतिपय चेलीले बेचिनुपरेको छ भने कतिपयचाहिँ पति र परिवारको ज्यादतिका कारण सन्तानसमेत छोडी घरवारबिहीन भई निस्किनुपरेको छ। कतिपयचाहिँ हत्या र आत्महत्याका शिकार भएका छन्। त्यस्तै कतिपय चेलीले विवाहपछि पनि माइतीकै आश्रममा बाँच्नुपरेको छ। यस्ता यर्थाथका भोगाई नेपाली समाजमा अहिले पनि विद्यमान छ।

यौन शोषण र महिला हिंसा आफ्नै परिवारबाटै हुने जस्ता पत्यार नै गर्न नसकिने घटना पनि नेपाली समाजमा हुने गरेको देखिन्छ। बालबिवाह, बहुविवाह, अनमेल विवाह, गाली बेइज्जती, अपमान, मानसिक यातना जस्ता हिंसा र जघन्य अपराधका घटना पनि महिलामाथि नै हुने गरेका छन्। महिला हिंसा दिवस मनाउने गरेको अवस्थामा पनि शहरदेखि गाउँसम्मका महिला कुनै न कुनै हिंसाका शिकार भएको देखिन्छ। यी समस्या समाधान गर्न लैङ्गिक समानताविरुद्धका नकारात्मक सोच र विचारबाट समाजलाई मुक्त गराउनु जरुरी छ। यस कामका लागि सामाजिक आन्दोलन नै एकमात्र साधन भएकाले यस कार्यका लागि सबै क्षेत्रको सहयोगका साथै एकजुट हुनुपर्ने आवश्यकता देखिन्छ। यस्ता घृणित र निन्दनीय संस्कार र विकृतिलाई पारिवारिक वा सामाजिक मुद्दाका रूपमा नलिई एउटा राष्ट्रिय मुद्दाकै रूपमा लिनुपर्ने हुन्छ। त्यसो गर्न सकेमात्रै समस्या सामाधानको बाटोमा अगाडि बढ्न सकिन्छ।
लेखिका अधिवक्ता हुन्।

प्रकाशित: १२ मंसिर २०६९ २१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App