अले कस्सम–रेमतुल्ला
न्यु योर्क सहरस्थित विश्व व्यापार संगठनका जुम्ल्याहा भवनमा सन् २००१ सेप्टेम्बर ११ को दिन विमान ठोक्काइँदा म अक्सफोर्ड विश्वविद्यालयमा स्नातक तहको विद्यार्थी थिएँ । त्यो घटनाको समाचार सुन्नेबित्तिकै मैले मेरा एक मित्रसँग भेटेको थिएँ । खासमा हामीले दुवै जना साथमा बसेर एउटा पुस्तक पढ्ने विचार गरेका थियौँ । तर न्यु योर्कको त्यो घटना सम्झेर हामी एकअर्कालाई ग्वाम्लांग अङ्गालेर रोएका थियौँ ।
तत्क्षण मलाई त्यो भन्दा निकै भयानक नियति हामीलाई कुरिबसेको कुनै हेक्का थिएन । त्यसपछिका दिनहरूमा आफ्ना (अमेरिकी) सहकर्मीहरूसँगै शोकमा डुबेका अमेरिकामा बस्दै आएका मुसलमान, अरबी र दक्षिण एसियाली मूलका जनताले ठूलो अपमान सामना गर्नुप-यो । कति जनाको हत्यासमेत भयो । जुम्ल्याहा भवनमा भएको घटनाका लागि उनीहरूले दोष खेप्नुप-यो ।
त्यो विध्वंशकारी घटना भएको उन्नाइस वर्षपछि अमेरिकामा बस्दै आएका चिनियाँ र पूर्वी एसियाली मूलका नागरिकले आज उस्तै विपद्को सामना गरिरहनुपरेको छ । चिनिया अमेरिकी समुदायका जनता आज विश्वव्यापी महामारीको चुनौती र अनिश्चयसँगै एसिया विरोधी हिंसाको ‘दोस्रो महामारी’ भोग्न बाध्य छन् ।
मार्चदेखि अगस्टको सुरुसम्ममा चिनियाँ र पूर्वी एसियाली मूलका जनतामाथि विभेद र हमलाका झण्डै २ हजार ६ सयवटा घटना भए । उनीहरूको हत्याको प्रयास भयो, मार्ने धम्की आए, गाली बेइज्जती भयो र अमेरिकाभरि अनलाइनमा जातिवादको ठूलो बाढी नै उर्लियो । महामारीको बखत ३१ प्रतिशत एसियाली–अमेरिकीहरूले आफूलाई हाँसो पात्र र ठट्टाको विषय बनाइएको उजुरी गरे । २६ प्रतिशत मानिस आफूमाथि भौतिक हमला हुन सक्ने वा धम्कीप्रति चिन्तित रहेको सुनाए । अमेरिकाका अन्य समुदायको तुलनामा उनीहरूमाथिको खतरा बढेको छ । जसरी सेप्टेम्बर ११ को घटनाले अमेरिकाका इस्लाम धर्मावलम्बीहरूप्रति घृणा व्यापक भयो, त्यसरी नै अहिलको महामारीले चीन विरोधी घृणाको नयाँ तरंग उठाएको छ । इतिहासकारहरू अमेरिकामा चिनियाँहरूप्रति घृणाको आरम्भ सन् १८५० को दशकबाट भएको बताउ“छन् । सन् १८८२ मा चिनियाँ निषेध कानुनलगायत अनेकन कानुन बनाएर त्यतिबेलाको सरकारले चिनियाँहरूमाथि विभेदकारी व्यवहार गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उत्पत्तिबारे दिएका अतिराष्ट्रवादी अभिव्यक्ति र एसियालीहरूमाथिको हिंसाप्रति अमेरिकी न्याय विभागको उदासीन व्यवहारका कारण चिनियाँ समुदायप्रतिको घृणा अझ व्यापक बनेको छ ।
जानेर वा नजानेर अमेरिकाका दसौँ लाख उदारपन्थी र अनुदारपन्थीहरू चीन विरोधी भावना पालेर बसेका छन् । उनीहरू चिनियाँ पुर्खा र अरू एसियाली अमेरिकीहरूलाई सक्षम र कडा मेहनती मानिसका रूपमा हेर्नुका साथै चतुर, एकोहोरो र सङ्कीर्णका रूपमा पनि लिने गरेका छन् । के यो भाइरस स्विडेनमा उत्पत्ति भएको प्रमाणित भए स्केन्डेभियाली अमेरिकीहरूमाथि पनि यस्तै व्यवहार हुन्थ्यो होला ?
चिनियाँहरूप्रति घृणाका घटना र घनत्व अमेरिका र चीनबीच बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक सम्बन्धसँगै फेरिँदै गएको छ । पिउ अनुसन्धान केन्द्रले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार ७३ प्रतिशत अमेरिकी जनता चीनप्रति असहज दृष्टिकोण राख्छन् । सन् २०१८ मा यस्ता मानिस ४७ प्रतिशत मात्र थिए । बढ्दो व्यापार युद्ध, चीनले मानव अधिकार हनन गरेको प्रचारबाजी र ट्रम्पका भनाइले मानिसमा यस्तो दृष्टिकोण बलियो हुँदै गएको छ ।
चिनियाँ अमेरिकीहरूलाई परायाका रूपमा बुझ्ने लामो समयदेखिको समझदारीले जन्माएका चीन विरोधी नीतिहरूका कारण अमेरिकामा चिनिया पृष्ठभूमिका जनताविरुद्ध नकारात्मक भावना बलियो भएको हो । यस्तै नियति अरू आप्रवासी र रङका मानिसले पनि सामना गरिरहेका छन् । उनीहरूलाई पनि विदेशी ठानिएको छ । जबकि उनीहरूले आफूसँग भएका सबै कुराको लगानी अमेरिकामा नै गर्दै आएका छन् । यसको अर्को सबभन्दा सान्दर्भिक उदाहरण, दोस्रो विश्व युद्धमा अमेरिकामा रहेका १ लाख २० हजार जापानी अमेरिकीले भोग्नुपरेको शङ्काको घटना हुन सक्छ ।
चिनिया समुदायप्रति घृणा जातिवादी राज्यको सहउत्पादन हो । अमेरिकामा चिनियाहरूको इतिहास र अनुभव त्यहाँका अन्य जाति समुदायभन्दा भिन्न छ । एसियाली विरोधी भावनाले एउटा शक्तिशाली र दिगोखालको जग बन्न सक्छ जसले हिंसालाई बढावा दिनेछ । आज हामी त्यही हिंसा अमेरिकामा देखिरहेका छौँ । हामीमध्ये धेरैले एसियाली विरोधी पूर्वाग्रहको विरोध गरिरहेका छौँ, तथापि हामीले यसको जटिलतालाई अझ पनि स्वीकार्न सकेका छैनौँ । न त त्यस्तो घृणा रोक्न हामीसँग भएको शक्ति र जिम्मेवारीलाई नै गम्भीरपूर्वक चिन्न सकेका छौँ ।
अमेरिकामा अफ्रिकी–अमेरिकीहरू विरुद्धको जातिवाद र चिनियाँहरू विरुद्धको घृणालाई अलग–अलग राख्न सकिंँदैन । यी दुवै विषयलाई बृहत् कोणमा विश्लेषण गर्दा मात्र हामीले जातीय दमनको उत्पत्तिबारे प्रष्ट बुझ्न सक्छौँ । यसो गर्न सके अमेरिकामा अल्पसङ्ख्यकहरूबीच आपसमा लडाउने प्रभावशाली प्रचारबाजीलाई निस्तेज पार्दै ऐक्यबद्धताको अवस्था सिर्जना गर्न सकिन्छ ।
एसियाली–अमेरिकी वा अन्य कुनै पनि जातीय अल्पसङ्ख्यकविरुद्ध पूर्वाग्रहको सामना गर्नु कठिन काम हो । त्यसका निम्ति तीनवटा काम गर्न जरुरी छ– पूर्वाग्रहलाई बुझ्नु र त्यस्ता पूर्वाग्रह निमिट्यान्न पार्न सकिनेमा सहमत हुनु, अपमानपूर्ण टिप्पणी गर्ने र घृणाका अभिव्यक्ति दिने साथी, परिवारका सदस्य र सहकर्मीलाई सचेत बनाउनु तथा संस्थागत जातिवादको पहिचान गरी विद्यालय, सञ्चारमाध्यम र कलकारखानामा परिवर्तनका माग गर्नु ।
पछिल्ला केही महिनायता धेरै वियोगपूर्ण घटनाले अमेरिकामा जातिवादमा आधारित हिंसा अझ फैलिरहेको देखिएको छ । सबै प्रकारको जातिवाद एउटै हुँदैन । तर सबैथरी जातिवादले अर्को जातिमाथि दमन र अमानवीकरण गर्ने गर्छ ।
जुनसुकै समुदाय प्रभावित हुने भए पनि अब असमानताको जरा भित्रसम्म पु-याउने शक्तिको पहिचान गरी तिनको प्रतिरोध गर्नुपर्छ । अब भान्छाघर, कक्षाकोठा, भर्र्चुअल संसारमा मौनता तोड्ने समय आएको छ । अहिले आवाज उठाउन जति जोखिमपूर्ण छ, चूप लागेर बस्नु अझ बढी जोखिमपूर्ण हुनेछ ।
(प्रिन्स्टन विश्वविद्यालयका प्रोवोस्ट)
स्रोत: अल जजिरा
प्रकाशित: ७ आश्विन २०७७ ०५:०० बुधबार