६ कार्तिक २०७७ बिहीबार
विचार

निकटको सम्बन्ध विकट किन हुँदैछ ?

सन्दर्भ विचार

मदनमणि दीक्षितले धर्ती छोडनु भएको भर्खरै जस्तो लाग्थ्यो, साउन ३० गते वर्षदिन भैसकेछ। म उहाँलाई मूलतः‘समीक्षा’ साप्ताहिक पत्रिकाको सम्पादकको रूपमा सम्झिन रुचाउँछु। उहाँको विद्वताको चिनारी उहाँका सयकडौं लेख,आलेख र चर्चित पुस्तक एवं प्रज्ञा प्रतिष्ठान समेतका जिम्मेवारीले गराउँछन्। राष्ट्रकवि माधव घिमिरेले पाएको भन्दा थोरै कम (९७ वर्ष) को आयु पाए तापनि दीक्षित पनि जीवनका अन्तिम दिनहरुसम्म क्रियाशील रहनु भयो। ‘समीक्षा’ सम्पादन प्रकाशनको जिम्मेवारी जेठो छोरा विनोद दीक्षितलाई सुम्पेपछि मदनमणि सिर्जनशील लेखनमा केन्द्रित हुनुभएको थियो। र, पछिल्लो समयमा उहाँले एकपछि अर्को गर्दै केही कृति नेपाली समाजलाई दिंदै जानुभयो।

 निधन हुनुभन्दा केही महिना अघिसम्म कालिकास्थानस्थित् उहाँको घरमा म ज्ञानगुनका कुरा सुन्न जाने गर्थें। यस्तै सामीप्य पाउन पुगेको एक दिन उहाँले चन्द्रशम्शेरको बारेमा आफूले लेखेका कुराको चर्चा सुनाउनु भयो। भनाइ थियोः राणा परिवारमा जन्मे तापनि प्रधानमन्त्री (श्री ३ महाराज) को हैसियतमा उनले देशका लागि गरेका ऐतिहासिक कामहरूले गर्दा चन्द्रशम्शेरलाई स्वेच्छाचारी शासकको रूपमा चित्रण गर्न मिल्दैन, यसका दर्जनौं आधार छन् जसको उल्लेख मैले मेरो नयाँ  पुस्तकमा गरेको छु’। तीमध्ये केहीको जिकिर सविस्तार गर्नुभएको थियो।

सतीप्रथाको अन्त्य गराउनु र कमारा–कमारीको अमलेख गराउने ऐतिहासिक घोषणा गर्नु सर्वाधिक महत्वका पाइला हुन्। त्यस्तै स्तरको अर्को कार्य हो नेपालको स्वाधीनतालाई थप संस्थागत गराउने ‘नेपाल–बेलाइत मैत्री सन्धि’। तुलनात्मक रूपमा कम महत्वका मानिने गरेका फर्पिङबाट बिजुली उत्पादन, त्रि–चन्द्र कलेजको उद्धाटन र चन्द्र नहरको विकास, शारदा नहर र रेलसेवा सञ्चालन जस्ता भौतिक विकासका परियोजना पनि यथार्थमा जनसरोकारकै सेवा सुविधा हुन् जसको श्रेय पनि चन्द्रशमशेरलाई नै जान्छ।  

कूटनीतिक सफलता

तर यस लेखमा गर्न विवेचना गर्न खोजेको विषय चन्द्रशमशेरको पहलमा भएको बेलाइतसँगको मैत्री सन्धि हो। त्यो बेलाइत जसले उस बखतको भारतलाई उपनिवेशको हैसियतमा राखेर ‘राज’ गरेको थियो। इण्डिया उतिखेर शक्तिशाली ‘ब्रिटिश इण्डिया’ को रूपमा चिनिने गर्दथ्यो। त्यस्तो बखतमा अङ्ग्रेजलाई नेपाल युगौंदेखि स्वतन्त्र रहेको देश भएको स्वीकार गराई तदनुसारको मान्यताका साथ सन्धि गर्न राजी गराउनु ठूलो कूटनीतिक सफलता हो।    

जानिफकारहरू भन्छन्—दिल्लीका प्रशासनिक संयन्त्रले मोदीलाई ‘छिमेकी पहिला’ भन्ने उनको घोषित नीति अनुरुप अगाडि बढ्न दिइरहेको छैन।

अभिलेखमा भएको कुरो हो, सुगौली सन्धि सन् १८१४–१५ मा भएको नेपाल(बेलाइत लडाञी टुङ्गाउन दुबै पक्ष राजी भएको लिखत हो। त्यसको शयवर्ष जति पछि त्यसै सन्धिलाई पृष्ठभूमिमा राखेर ‘ग्रेट ब्रिटेन र नेपाल’ का बीच सन् १९२३ मा मैत्री सन्धि भएको हो। नेपालका तर्फबाट स्वयं प्रधानमन्त्री चन्द्रशमशेर र बेलाइतको तर्फबाट काठमाडौंमा रहेका राजदूत (एन्भ्वाय) ले हस्ताक्षर गरेको यो मैत्री सन्धि विसं १९८० पौष ६ गते तदनुसार सन् १९२३ को २१ डिसेम्बरका दिन सम्पन्न भएको थियो। सुगौलीको सन्धि युद्धमा नेपाल पराजित भएका बखत गरिएको हुनाले कतिपय बुँदाहरूमा सम्झौता गर्नुपरेको थियो, तर नयाँ सन्धि समानताको जगमा उभिन पुग्यो। 

इतिहासकार चित्तरञ्जन नेपालीले ’तेइस वर्षसम्मको अथक प्रयासपछि’ चन्द्रशमशेरले यो सन्धि हासिल गरेर कालान्तरमा दक्षिणतिरबाट हुन सक्ने सम्भावित आघातबाट राष्ट्रलाई सुरक्षित गरेको विषय उल्लेख गरेको पाइन्छ। २३ वर्षको मेहनत भन्ने मान्दा चन्द्रशमशेरले दाजु देवशमशेरलाई पदच्यूत गरी सत्ता आफ्नो हातमा लिए लगत्तै यसतर्फको कूटनीतिक प्रयास गरेको भन्ने निष्कर्ष निस्कन्छ। चन्द्रशमशेरको कूटनीतिक चातुर्य र कुशलताको चर्चा नेपालबारे विदेशीहरूले लेखेका कतिपय पुस्तकमा पनि पाइन्छ। यस्तै एउटा पुस्तक हो लियो ई.रोजले लेखेको ‘स्ट्राटेजी फर सर्वाइवल’(अस्तित्वको रणनीति)। जङ्गबहादुर र चन्द्रशम्शेर नेपालको राष्ट्रियताको सन्दर्भमा दुई वीर पुरुष हुन्। राष्ट्रिय हितमा अघि सरेका होउन् वा पारिवारिक स्वार्थको लागि (वा दुबै कोणबाट) यी दुबैले यस्ता नीति र कूटनीति अपनाए कि जसले गर्दा इण्डियामा ‘ब्रिटिश राज’ को अन्त्य हुँदा स्वतन्त्र नेपालको जग मजबुत भैसकेको थियो।

भन्नु परोइन, सन् १९५० को नेपाल–भारत सन्धिले सन् १९२३ को सन्धिका स्वतन्त्रता विषयक प्रावधानहरूलाई पूर्णरुपेण जानकारीमा लिएको छ।  

उत्तरको प्रस्ताव

यसैगरी, उत्तरको चिनियाँ साम्राज्यको वक्र–दृष्टिबाट जोगाउने चुनौती पनि चन्द्रको पालामा आइलागेको थियो। सन् १९१२ मा चीन राजतन्त्रबाट गणतन्त्र भएको केही महिनापछि नै तिब्बतमा बस्ने चिनियाँ दूत जनरल चुङ्ले चीनको अङ्ग बन्ने प्रस्ताव सहितको तार–पत्र (अङ्ग्रेजी) काठमाडौं पठाएको थियो। चन्द्रशमशेरले पनि तार–पत्रमै हामी ‘नेपाल प्राचीनकालदेखिको हिन्दू देश हुनाले स्वतन्त्र अस्तित्व धानेरै बस्ने मनसुवा राख्छौं’ भन्ने बेहोराको जवाफ पठाए। चिनियाँ प्रस्ताव अस्वीकार गर्दा चन्द्रले प्रष्ट शब्दमा ‘आई एम सरी’ (तिम्रो प्रस्ताव हामीलाई मान्य छैन) भनेका छन्। पछि चन्द्रले त्यस लेखापढीको जानकारी तार–पत्रको नक्कल सहित काठमाडौंमा बस्ने ब्रिटिश दूतलाई दिएछन्। झट्ट हेर्दा यो काम आवश्यक थिएन। उनले अङ्ग्रेजलाई खुसी पार्न मात्र गरेको जस्तो देखिन्छ। तर पछिका घटना–क्रमले देखाउँछन्, चन्द्रले नेपालको मनसुवा ब्रिटिशले राम्ररी बुझुन् अभिप्रायले चिनियाँसँगको पत्राचार अङ्ग्रेज दूतलाई उपलब्ध गराएका थिए। सन् १९२३ को मैत्री सन्धिलाई यसै परिप्रेक्ष्यमा हेरिनु उचित हुन्छ।  

पेशागत निष्ठा नछोडीकन तथ्यमा टेकेर गरिएको पत्रकारिताले कसैको हानि गर्दैन। कुनै पक्षलाई पनि नोक्सानीमा पार्दैन। तथ्य छोडेर कथ्यमा कुद्ने बानीले मात्र विचलन बढाउने हो। होश पु¥याउने यसैमा हो।

चन्द्रशमशेरका पूर्वज र नेपालका बहुचर्चित शासक जङ्गबहादुरले नेपालको विशिष्ट चिनारी कायम राख्न गरेका कार्यहरूबारे थप व्याख्या गर्नै परेन। उनले अङ्ग्रेजहरूलाई सन् १८५७ मा सैनिक सहयोग दिए र त्यसको साटो पहिले गुमेका पश्चिम तराईका चारवटा जिल्ला फिर्ता लिन सफल भए। भीमसेन थापाको पालामा त अङ्ग्रेजहरूसँग लडाञी नै भयो। केही भूभाग गुमे तापनि सुगौली (हाल भारतको विहारमा पर्ने ठाउँ) मा अङ्ग्रेजसँग सन्धि गरेर नेपाललाई जोगाइएको हो। त्यसभन्दा अघि चीन्भोटसँग पनि नेपालको युद्ध र सन्धिका सिलसिला परेका छन्। अझ अघि पुग्दा, नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको दिव्य–उपदेशमै उत्तर र दक्षिणका दुबैतिरका शासकहरूसँग सावधानी अपनाउन भनेको कुरा भेटिन्छ।

यसरी, अनेक उकाली–ओराली झेल्दै बेहोर्दै भएर पनि, दुई ठूला देशको चेपुवामा रहेर पनि नेपालले आफ्नो अस्तित्व जोगाउन सफल रहेको यथार्थलाई अमेरिकाका ख्यातिप्राप्त कूटनीतिज्ञ हेनरी किसिञ्जर अनुकरणीय उदाहरणको रूपमा लिएका छन्। सन् २०१४ मा प्रकाशित उनको पुस्तक ‘वल्र्ड अर्डर’ (विश्व व्यवस्था) मा नेपालको उल्लेख भएको पाइन्छ। हुन पनि हो, समयोचित नीति अपनाई दुबै तर्फका शक्तिसँग सन्तुलित सम्बन्ध राख्ने बाटो समातेको हुनाले नै नेपालले आफूलाई स्थापित गर्न सकेको हो। यो हो घामजत्तिकै छर्लङ्ग वास्तविकता।  

यस्तोमा, वास्तविकतातिर आँखा चिम्लिएर पराईले गरेका प्रायोजित प्रचारलाई आफ्ना समाचारको स्रोत बनाउनुअघि यताका सञ्चारकर्मीहरूले घोत्लिनु आवश्यक छ। किनभने आधिकारिक भारत र आधिकारिक चीनले नेपालको इतिहास र भूगोललाई स्वीकार गरेका अन्य धेरै घटना र दृष्टान्त छन्। जस्तो, तिब्बत र नेपालको परम्परागत सम्बन्ध रहँदा सन् १८५६ को सन्धि मुताविक नेपालले नियमित रूपमा उताबाट सौगात र सिर्तो पाउँथ्यो। तिब्बत चीनको प्रत्यक्ष नियन्त्रणमा आएको केही समयपछि मात्र त्यो परम्परा टुटेको हो। र, नेपालको सम्पर्क बेइजिङसित स्थापित भएको हो। यस प्रसङ्गमा नयनबहादुर खत्रीको पुस्तकमा परेको उद्धरणलाई पढ्न सकिन्छ। सन् १९४९–५२ मा नेपाली दूत (वकिल) भएर ल्हासामा काम गर्दा खत्री चिनियाँ जनमुक्ति सेना (पीएलए) तिब्बत प्रवेश गरेको देख्ने प्रत्यक्षदर्शी थिए। पीएलएका जनरल च्याङचिङ ऊ थिए। उनले खत्रीलाई भनेछन् ः ‘नेपाल र चीन छिमेकी मुलुक हुन्, सानो–ठूलो नसम्झनू, हामी बराबर हौं भन्ने हाम्रा नेता माओत्से तुङको भनाइ छ’। संयोग हो, ३७ वर्षपछि खत्री राजदूत भएर खत्री चीन पुगे।    

ज्यूँदो यथार्थ

दक्षिण अर्थात् गणतन्त्र भारतका जिम्मेवार व्यक्तिहरूले पनि नेपालको स्वतन्त्र परम्परा र हैसियतलाई बुझेका थिए्छन्। र, यस तथ्यलाई स्वीकार गरेर समय–समयमा सार्वजनिक अभिव्यक्ति पनि दिएका छन्। यसको एक उदाहरण हो, मास्कोमा कार्यरत भारतका राजदूत के पी एस् मेननले सोभियत संघको भ्रमणमा रहेका राजा महेन्द्रको सम्मानमा आयोजित एउटा समारोहमा दिएको भाषणमा परेको मन्तव्य। राजदूत मेननले भनेका थिएः ‘आफ्नो सम्पूर्ण इतिहासमा नेपालले स्वतन्त्रताको रक्षा गरेको छ जब भारत र सबैजसो एशिया विदेशी प्रभुत्वका मुनि परेका थिए।...’

मास्कोमा रहेका बाङडुङ राष्ट्रका राजदूतहरूद्वारा आयोजित दिवाभोजमा मेननको  भनाइ आएको थियो। सोभियत प्रधानमन्त्री निकिता खुश्चेव समेतको उपस्थिति रहेको सो समारोहको विवरण दिल्लीको (सन् १९५८ जून) सरकारी अभिलेखमा अवश्य होला। स्मरणीय छ, मेनन मास्कोमा राजदूत भएर जानुअघि विदेश मन्त्रालयमा सचिव थिए। त्यस हैसियतले उनले बाङडुङ, इण्डोनेसियामा एसिया र अफ्रिकाका तटस्थ देशहरूको सम्मेलनमा भाग लिएका थिए। नेपाल समेत २९ देशका प्रतिनिधिहरूको त्यो भेला ‘बाङडुङ सम्मेलन’ को नामबाट चिनिन्छ। सन् १९५५ अप्रिलको त्यो जमघट नै कालान्तरमा थालिने असंलग्न आन्दोलनको पूर्वाभ्यास हुनपुग्यो। मेननको सन्दर्भमा अर्को सम्झनयोग्य पाटो के रहेछ भने विदेश सचिव रहँदा उनी सन् ५० को सन्धिलाई अन्तिम रूप दिने वार्ताहरूमा संलग्न भएका रहेछन् जसको उल्लेख उनले मास्कोको दिवाभोजमा गरे। (राजकीय भ्रमण २०१५ साल जेष्ठ–आषाढ मा भएको थियो)        

हिमालीराष्ट्र नेपालको बारेमा भारतका तर्फबाट अर्को अर्थपूर्ण उद्गार प्रकट भयो अटल विहारी वाजपेयीबाट। सन् १९७७ को आरम्भमा भएको निर्वाचनपछि गठित मोरारजी देसाईको सरकारमा परराष्ट्रमन्त्री नियुक्त वाजपेयी आफ्नो कार्यकालको प्रारम्भमै नेपाल–भ्रमणमा आए। नेपाली समकक्षी मन्त्रीले दिएको रात्रीभोजको भाषणमा वाजपेयीको भनाइ थियोःभारत विदेशी आधिपत्यको मुनि रहेर अपमान खेप्न बाध्य भयो जब कि नेपालले प्राचीनकालदेखिको स्वाधीनता निरन्तर कायम राख्न सफल भयो’। वाजपेयीले नीतिगत कुरामा बेला–बखत मतभिन्नता देखिनुलाई हामी दुई स्वतन्त्र देश हौं भन्ने कुराको प्रमाण रूपमा हेरिनु पर्छ भन्ने विचार पनि व्यक्त गरेका थिए। जग–जाहेर छ, तिनै वाजपेयी कालान्तरमा गणतन्त्र भारतका प्रधानमन्त्री भए। र, उनकै कार्यकालमा राजा वीरेन्द्रलाई सन् १९९९ को गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुन आमन्त्रण गरिएको थियो। त्यस अवसरमा नेपालका राजाले साझा साँस्कृतिक सम्पदा दुबै देशमा रहेका परम्परागत मूल्य र मान्यताबाट अनुप्राणित भएको उद्गार प्रकट गरेका थिए।

विडम्बना हो, तिनै वाजपेयीको भारतीय जनता पार्टी (बीजेपी) का नेता नरेन्द्र मोदी दिल्लीमा बसेर केन्द्रीय सरकारको नेतृत्व गरिरहेका बखत नेपाल–भारत सम्बन्ध असहज भईरहेको छ यद्यपि वाजपेयीले बुझेको इतिहास मोदीले नबुझेको हुन सक्दैन। जानिफकारहरू भन्छन्—दिल्लीका प्रशासनिक संयन्त्रले मोदीलाई ‘छिमेकी पहिला’ भन्ने उनको घोषित नीति अनुरुप अगाडि बढ्न दिइरहेको छैन। र,  मामिला नेपालमा सीमित देखिँदैन। बङ्गलादेश र श्रीलङ्का पनि चर्चामै छन्।  

तथ्य र कथ्य

फेरि काठमाडौं फर्कौं। सयकडौं वर्षको कालखण्डमा संघर्षका अनेक चरणहरू पार गर्दै कायम राखिएको नेपालको स्वाधीनतालाई सीमित र सतही जानकारीको भरमा हलुका टिप्पणीको विषय तुल्याउनु कति जायज होला ? त्यसैगरी, नेपाली दर्शकहरूले स्वेच्छा हेर्न छोडेका दक्षिणका केही न्यूज च्यानल (टेलिभिजन) का मनगढन्त प्रसारणबाट बहकिएर आफ्नै देशको स्वाधीनताको अवमूल्यन गर्दा रमाउने सञ्चारकर्मीहरूलाई के भन्ने ? नेपाललाई होच्याएर लेखिएका बोलिएका आयातीत कुराहरूबाट रमाउने प्रवृत्तिलाई कुन संज्ञा दिने ? उताका मनगढन्त प्रचारलाई जानी–जानी आफ्नो सूचनाको स्रोत तुल्याउने तरिका कति स्वस्थ र पत्रकारिताको आचार संहिता अनुकूल होला ? जस्तो, नेपाल–भारत सम्बन्धमा चिसोपन आएको गत कार्तिकमा दिल्लीले एकतर्फी रूपमा कालापानीको नेपाली भूभाग गाभेर नक्सा प्रकाशित गरेपछि हो। तर यो नाङ्गो यथार्थतिर आँखा चिम्लेर ‘फेक न्यूज’ को लहै–लहैमा लाग्दै ‘नेपालले नयाँ नक्सा जारी गरेपछि पो सम्बन्ध बिग्रन थालेको हो’ भन्ने आशय हालेर खबर लेखेको देखियो। २६ बैशाखमा उताका रक्षामन्त्रीले विवादास्पद सडक उद्घाटन गरेको असामान्य घटनालाई चाहिँ सामान्य ‘उद्घोषण’को कित्तामा राख्नु तथ्यपरक अभ्यास हो त ?

सार कुरो, पेशागत निष्ठा नछोडीकन तथ्यमा टेकेर गरिएको पत्रकारिताले कसैको हानि गर्दैन। कुनै पक्षलाई पनि नोक्सानीमा पार्दैन। तथ्य छोडेर कथ्यमा कुद्ने बानीले मात्र विचलन बढाउने हो। होश पु-याउने यसैमा हो।

प्रकाशित: ७ भाद्र २०७७ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App