८ वैशाख २०८१ शनिबार
विचार

गाईभैंसीमा देखिएको ‘लम्पी स्किन’ रोग

लम्पी स्किन रोग देखिएको गाई। फोटो सौजन्यः डा. सञ्जय यादव

हामीकहाँ पशुपन्छी पालनमा गाईभैंसीको विशिष्ट योगदान छ। डेरी क्षेत्रले हाम्रो कुल ग्राहस्थ्र्य उत्पादनमा करिब नौ प्रतिशत योगदान पु-याएकोे मानिन्छ। कृषिमा आधारित करिब ३८ लाख परिवारमध्ये ९५ प्रतिशतजति परिवारले गाईवस्तु पालन गर्छन् भन्ने तथ्यांक छ। दूधसँगै गाईवस्तुबाट मल प्राप्त हुन्छ। खेतबारी जोत्न र गाडा तान्नका लागि समेत गोरुको प्रयोग गरिन्छ, यसको समेत गणना हुने हो भने कुल ग्राहस्थ्र्य उत्पादनमा गाईभैंसी पालनको योगदान अझ बढ्ने थियो। बालकदेखि वृद्धसम्मको एक प्रमुख पौष्टिक आहारा दूध भएको हुँदा घरायसी खाद्य सुरक्षामा समेत गाईभैंसी पालनको ठूलो योगदान छ। सहरी क्षेत्रबाट ग्रामीण भेगमा नगद प्रवाह हुनुमा दूध बेचबिखनको ठूलो योगदान छ।  

यति हुँदाहुँदै पनि विभिन्न रोगका कारण गाईभैंसी पालनबाट किसानले अपेक्षित लाभ लिन सकिरहेका छैनन्। नेपालमा रैथाने रूपमा गाईभैंसीमा खोरेँत, चर्चरे, भ्यागुते जस्ता रोग र परजीवीजन्य समस्या विद्यमान छन्, जसका कारण ठूलो आर्थिक क्षति भइरहेको छ। यसैबीच यही असारदेखि नेपालको पूर्वी जिल्लाबाट सुरु भई गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी फैलिएकोे छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणपछि यो रोग पशु चिकित्सकले अनुमान गरे अनुसार नै ‘लम्पी स्किन’ भनिने नयाँ रोग भएको पुष्टि भएको छ।  

यससँगै नेपालको गाईभैंसी पालनमा एउटा नयाँ भाइरसजन्य संक्रामक रोग थपिएको छ। असारको तेस्रो सातातिर सुरुमा मोरङ जिल्लामा देखिएको यस रोग एक महिनाभन्दा पनि कम समयमा झापा, सुनसरी, रौतहट, मकवानपुर, चितवन, तनहुँ, कास्की, काभ्रेपलाञ्चोक र काठमाडौंमा फैलिसकेको छ।  

यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो। त्यसयता लामो समय अफ्रिकाको रैथाने रोगको रूपमा रहेको यस रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो। विशेषगरी सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीका रूपमा फैलिन थालेको हो। मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, कजाकिस्तान, चीन हुँदै भारत र बंगलादेशमा गत वर्ष यो रोग भित्रिएको प्रमाणित भइसकेको छ। यस रोग मुख्यगरी लामखुट्टे, झिँगा, किर्ना आदिका टोकाइका माध्यमबाट सर्ने गर्छ।  

नेपाल सरकारले विश्व पशु स्वास्थ्य संगठन (ओआइई)लाई गत जुलाईमा पठाएको पहिलो प्रतिवेदन अनुसार, एक हजार दुई सयभन्दा बढी गाई यस रोगबाट बिरामी परेका छन्। त्यस्तै, १२ वटा मरेका छन्। उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको छ। शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन्। 

असारदेखि नेपालको पूर्वी जिल्लाबाट सुरु भई गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी फैलिएकोे छ। ‘लम्पी स्किन’ भनिने यस नयाँ रोग लागेका गाईभैंसीमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ।   

यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन्। यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशतसम्म मर्न सक्छन्। धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पु-याउन सक्छ। यो रोग मानिसमा भने सर्दैन।  

त्यस्तै, संक्रमित गाईभैंसीको आवतजावत र लसपसबाट तथा संक्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्र्दा पनि यो रोग सर्ने गरेको पाइएको छ। उपचारका क्रममा विभिन्न किसानको घरमा जाने क्रममा प्राविधिकबाटै पनि यो रोग फैलिन सक्छ। त्यसकारण प्राविधिकले फरक गोठमा जाँदा निसंक्रमणका उपाय अपनाउनुका साथै फरक पशुलाई झुक्किएर पनि उही सुई प्रयोग गर्नुहुँदैन।  

यो भाइरसजन्य रोग भएको र यसको ठोस उपचार नभएको हुँदा प्राविधिकको सल्लाहमा लक्षण अनुसार उपचार गर्नुपर्छ। यस रोगको खोप विदेशमा भने उपलब्ध छ। रोग धेरै फैलिने अवस्था आएमा विदेशबाट आयात गरी खोप प्रयोग गर्न सकिन्छ। ‘लम्पी स्किन’ रोगकै खोप पनि उपलब्ध छ भने बाख्रा र भेडाको पक्स भाइरसको खोप पनि यस रोगविरुद्ध प्रभावकारी देखिएको छ। लामखुट्टे, किर्ना आदि बढ्ने वर्षात्को मौसममा यो रोगको प्रकोप बढी देखिने भएकाले वर्षात्अगाडि यो रोग देखिने ठाउँमा खोप लगाउन सकिन्छ।  

नियमित खोप नलगाएको अवस्थामा कुनै ठाउँमा केही पशुमा रोग देखिनासाथ केही किलोमिटर वरिपरिको क्षेत्रभित्र गाईभैंसीमा यो खोप लगाउन सकिन्छ। नेपालमा भर्खर यस रोग छिरेको हुँदा देशैभरि खोप लगाउनुभन्दा रोग देखिएको वरिपरिको क्षेत्रमा खोप लगाउन आर्थिक रूपले उपयुक्त हुन्छ। यस रोग रोकथामका लागि लामखुट्टे, झिँगा, किर्ना आदिको संख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सकभर सफा राख्नुपर्छ। रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नियन्त्रण गर्नुपर्छ।  

‘लम्पी स्किन’ रोगबाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न तीनै तहको सरकारको उत्तिकै भूमिका छ। संघीय सरकारले यथाशक्य चाँडो खोप ल्याइदिने वा ल्याउने अनुमति दिनुका साथै रोग नियन्त्रण रणनीति र सर्भिलेन्स योजना बनाउनुपर्छ। प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्रमा रोगसँग मिल्दाजुल्दा लक्षण देखिनासाथ केन्द्रसँग समन्वय गरी व्यवस्थापन गर्नुका साथै पशु ओसारपसारमा कडाइ गर्नुपर्छ। प्रदेश र संघीय सरकारले यस रोगबाट परेको आर्थिक असरहरूको विश्लेषण पनि गर्नुपर्र्छ। सरकारले सक्छ भने किसानलाई केही क्षतिपूर्ति दिन मनासिब देखिन्छ। यसका लागि आवश्यक बजेटको जोहो तीनवटै तहका सरकारको प्राथमिकतामा पर्नुपर्छ।  

भविष्यमा पशुपन्छीमा लाग्ने रोगको चुनौती सामना गर्न भेटिरिनरी सेवालाई बलियो बनाउँदै गाउँ तहमा दक्ष पशुचिकित्सक सहितको र केन्द्रमा विशेषज्ञसहितको अनुसन्धानमुखी चुस्त संरचना बनाउनुपर्छ। यसका लागि पशु चिकित्सा र पशु प्राविधिक पढाउने विश्वविद्यालय र कलेजहरूको गुणस्तरमा आमूल सुधार नगरी सुख छैन। यसो गर्न सके कृषिप्रधान देशको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नुका साथै कैयन् पशुपन्छीका रोग मानिसमा समेत सर्ने हुँदा त्यसबाट बच्न योगदान पुग्छ।  
(लेखक पशु चिकित्सक र इपिडेमियोलोजी विषयमा विद्यावारिधि हुन्।)

प्रकाशित: ३१ श्रावण २०७७ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App