३ आश्विन २०७७ शनिबार
विचार

राजनीतीमा लागेका ती र यी युवा

३३ वर्षिय सेवेष्टन क्रुज अहिले अष्ट्रियाको नेतृत्वमा छन्। चान्सलर क्रुज राजनीतीमा प्रवेश गर्नु पूर्व कुटनीति र सामाजिक क्षेत्रमा सक्रीय थिए। कुटनीति र सामाजिक क्षेत्रमा गरेको प्रभावकारी कार्यसम्पादनले नै उनलाई अष्ट्रियाको नेतृत्वमा आउने गर्ने बाटो तय गर्यो।

सन २००४ मा ‘अब्लीगेटरी मिलिट्री सर्भिस’मा ग्रयाजुयसन गरेका क्रुज खोज र अध्ययनको क्षेत्रमा अब्बल थिए। परिणामतः सन २००९ मा नै ‘युथ ब्रान्च अफ अष्ट्रियन पिपल्स पार्टी’को अध्यक्ष बने। सन २०१३ डिसेम्बरमा उनी विदेश मन्त्री रहे। विदेशमन्त्री हुँदा उनले गरेको कार्यसम्पादनको प्रभावले चान्सलर बन्ने बाटो तय भयो।

युरोपियन युनियनकै कान्छा विदेशमन्त्री भएका बेला उनले इरानसँग गरेको ग्लोवल न्युकिल्यर सम्बन्धी सम्झौता र युक्रेनको द्वन्द समाधानको लागि निर्र्वाह गरेको अभिभावकीय भूमिकाले राजनीतिक यात्रा थप परिपक्व बनायो। यस्ता अन्तराष्ट्रिय स्तरका सफलता उनको खोज अध्ययन, अनुसन्धान र लगावबाट प्राप्त भएका हुन्। जसका कारण उनले देश भित्र र बाहिर सानै उमेरमा आफ्नो विश्वासिलो र ओजपूर्ण छाप छोडन सफल भए। सन २०१७ मा भएको अष्ट्रियन पिपल्स पार्टीको महाधिवेशनमा  ९८.७ प्रतिशत मत ल्याएर अध्यक्षमा निर्वाचित भए। जनवरी २०२० बाट पुनः उनी दोश्रोपटक अष्ट्रियाको चान्सलर बनेका छन्।

अर्का उदाहरणीय पात्र हुन इमानुयल म्याक्रोन। पुर्खाको बिरासत र जेल बसेको पात्रो पल्टाएर नेता बन्न खोजेको भए ३९ वर्षमै शक्तिशाली फ्रान्सको राष्ट्रपति बन्ने थिएनन्। यतिकै आधारमा मात्र फ्रान्सेली जनताको मन र मत जीत्न सफल भएका होइनन् उनी। सक्रीय राजनीतिमा आउनु पूर्व नै उनले सिनियर सिभिल सर्भेन्टदेखि बैंकिड र फाइनान्सियल क्षेत्रमा उच्च प्रभाव छोडी सकेका थिए।

पद लोलुपता र नातागोता र आफन्तवादको साँघुरो घेरामा सीमित भएर राजनीतीमा लागेका नेपाली युवाले इमानुयल म्याक्रनबाट सिक्न सकिने धेरै कुरा छन्।  

उनको यो उपलब्धीको रिफलेक्सन राजनीतीमा प्रत्यक्ष रुपमा पर्यो। फ्रान्सेली जनताले उनको नयाँ दललाई अभुतपूर्व रुपमा विश्वास गरे। सन २०१४मा अर्थ तथा उद्योग मन्त्री बन्दा उनले ब्यापार र उत्पादनको क्षेत्रमा ल्याएको उल्लेख्य सुधार ल्याए। तत्कालिन अवस्थामा फ्रान्सको अर्थतन्त्रमा पारेको प्रभावलाई उदाहरणीय रुपमा हेरिन्छ। हो यस्तै सफलता, खोज र अनुसन्धानमा देखाएको सक्रीयताले फ्रान्सेली जनता म्याक्रोनसँग लोभिए। आधुनिक फ्रान्सको निर्माण म्याक्रनहरु जस्तै आइकनबाट संभव छ भन्ने सोचे। जनताको सोच र सपनालाई उनले साकार पार्दै पनि लगेका छन्।   पदलोलुपता र नातावाद कृपावादको साँघुरो घेरामा सीमित भएर राजनीतीमा लागेका नेपाली युवाले म्याक्रनबाट सिक्न जरुरी छ।  

शुसाशन  र विकासको फराकिलो आयतन भएको युरो जोनमा मात्र होइन विकासका लागि संघर्षरत विकाशसिल अफ्रिकन देश इथियोपियामा अवि अहमेद अलीको उदय र मध्य अमेरिकन देश एल साल्भाडोरमा ३७ वर्षिया न्योइव बकलीप्रतिको जनआकर्षण पनि युवाप्रतिको आकषर्णका ताजा नजिर हुन।

सन २०१९ का नोवेल शान्ति पुरस्कार विजेता इथियोपियाका राष्ट्रपति डा. अवि अहमेद यसका ताजा  उदाहरण हुन। उमेरले चार दशक पुग्दै गरेका डा. अहमेदको जब इथियोपियाको नेतृत्वमा उदय भयो। तब उनले चमत्कारिक काम गरेका छन्। अहिले चीन र म्यानमारपछि विश्वमै विकासको तिव्र रफ्तारमा अघि बढेको देश हो इथियोपिया। जसलाई अफ्रिकाको ‘न्यु चाइना’को संज्ञा समेत दिइएको छ। सैन्य सेवादेखि अध्ययन, अनुसन्धानमा पोख्त अहमेदले राजनीतिमा आउनुअघि नै सुचना र प्रविधिको क्षेत्रमा पनि अब्बल सावित गरि सकेका थिए। अदिसा अवाव विश्वविद्यालयबाट शान्ति र सुरक्षाको विषयमा विद्यावारिधि गरेका उनले औपचारिक अध्ययनमा मात्र होइन प्राक्टिकल जीवनमा समेत आफूलाई धेरै क्षेत्रमा अब्बल सावित गरेका छन्। हो राजनीतिमा आउनु पूर्व नै उनले फरक क्षेत्रमा पाइसकेको सफलता र परिपक्वताले गर्दा जनता उनीप्रति आशावादी थिए भन्दा फरक पर्दैन।

कोरा दर्शन घोकेकै आधारमा नेता बन्छु र बनिन्छ भन्ने नेपाली प्रवृत्तीलाई आधार बनाएको भए उनी नेता त बन्थे होलान् तर देशले यतिका चमात्कारिक छलाङ भने अवश्य मार्ने थिएन। भाषणको भरमा भाइरल भएर गमक्क पर्ने नेपाली शैली अपनाएको भए न इरिट्रियासँगको २ दशक लामो द्वन्दको अन्त्य हुन्थ्यो न देशले अभुतपूर्व विकास। न उनी नोवेल शान्ति पुरस्कारको भागिदार नै बन्ने थिए।

अब अर्को मध्य अमेरिकन देश एल साल्भाडोरलाई हेरौं। ३७ बर्षिया न्योइव वकलीले अहिले एल साल्भाडोर हाँकी रहेका छन्। उनी पनि माथी उल्लेखित अरु पात्राहरु जस्तै फरक पृष्ठभूमिमा आफुलाई सार्थक सावित गरेर पोलिटिक्समा होमिएका नायक हुन। १८ बर्षको उमेरदेखि नै उद्यमीको रुपमा संघर्ष गरेका उनी उमेरको तीन दशक नपुग्दै सफल उद्योगी र ब्यवसायी बने।

 उद्यम र ब्यवसायमा सफल भएका बकलीले राजनीतिको सुरुवात मै साल्भाडोर नगरका जनताको मन र मत जितेर मेयर बने।  सानो भूमिकामा रहेर पनि आफनो नगरको परिवर्तनमा गरेको उल्लेखनीय उपलब्धी देखेका साल्भाडरियानहरु बकलिलाई देशकै राष्ट्रपति देख्न चाहन्थे। जुन चाहना सन २०१९ जुन १ मा पुरा गरे। अहिले मध्य अमरिकन यो देश बिस्तारै बिकास र शान्तिको गतिमा अघि बढि रहेको छ। राजनीति गरेर राजनीतिलाई उद्योग ठान्ने हाम्रो जस्तै प्रबृत्ती हावी भएको भए वकलीले सायद सजिलै साल्भाडारीयानको मन जित्ने थिएनन्। राजनीतिको ब्याज खाने गलत मानसिकताले देश बन्दैन भन्ने शिक्षा हाम्रा युवा राजनीतिकर्मीको प्रथामिकतामा कहिले पर्छ ? यो गम्भिर प्रश्न हो।

माथी उल्लेखित प्रतिनिधी मुलक पात्र बाहेक पनि अहिले विश्वका धेरै देशमा युवाप्रतिको आकर्षण बढदो छ। बिशेष गरेर युरोपमा आएको युवा आकर्षणको लहरको प्रभावले कोस्टारीकामा ३८  वर्षिया कार्लोस एलभारडो, आयरल्याण्डमा लियो भारदकार(३८,), इष्टोनियामा जुरी रेटस(३८) र युक्रेनमा भ्लादमिर जेलनस्कीको उदय भएको छ। फिनल्याण्ड कि ३४ वर्षिया प्रधानमन्त्री सान्ना मारिनादेखि न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अड्रेन महिला र युवा  दुवैका शसक्त रोलमोडल हुन।  

आन्दोलन, जेल जीवन र पुर्खाको बिरासत देखाएर राजनीतिमा ब्याज खाने गलत मानसिकताले देश बन्दैन भन्ने शिक्षा हाम्रा युवा राजनीतिकर्मीको प्रथामिकतामा कहिले पर्छ ? यो गम्भिर प्रश्न हो।  

नेपाली युवा राजनीतिको फ्रन्टलाइनमा किन आउन सक्दैनन्?  

नेपालमा पनि पटक पटक सरकार र राजनीतिक दलको नेतृत्व परिवर्तनको बहस हुन्छ। तर बहसको बृत्तमा युवा पात्राहरु अटाउँदैनन् वा पर्दैनन्। सत्ता र शक्तिको बागडोर पटक पटक परीक्षामा असफल भई सकेका ‘आउटडेटेड’ पात्राहरुकै हातमा जान्छ। जोसंग नयाँ भिजन पनि छैन कुनै मिसन पनि छैन। उसो भए सेबेष्टन र अहमेद जसरी नेपाली युवाहरु राजनीतिको फ्रन्टलाइनमा किन आउन सक्दैनन् त ? यसका केहि मुलभुत कारणहरु छन्।  

आन्दोलन र सिद्धान्तको कोरा पाठ पढेको आधारमा राजनीति

सबैभन्दा पहिला त राजनीतिमा लागेका नेपाली युवाको ठूलो हिस्सामाथि उल्लेखित पात्राहरु जस्तै  कुनै क्षेत्र बिशेषमा विज्ञता र दखलता हासिल गरेरभन्दा पनि केवल आन्दोलन र सिद्धान्तको कोरा पाठ पढेको आधारमा राजनीति गरि रहेका छन्। उनीहरुमा केवल भाषणको भरमा भइने भाइरल र पाइने ताली नै राजनीतिको सिँढी चढने माध्यम हो भन्ने भ्रम छ। केही युवा पंक्तीले भाषणकै भरमा आफूलाई भाइरल बनाइ रहेकै छन्। तर एक्सनमा त्यस्ता पात्रा फितलो सावित भई सकेका छन्। कारण हो, अध्ययन, अनुसन्धान योजना र  खोजको कमी। यस्ता परम्परागत राजनीतिक हत्कण्डलाई सान्ना मारिना र म्याक्रनहरुले काम गरेर तोडेकै कारण सानै उमेरमा स्थापित भएका हुन। अनि जनताको मन र मत जितेका हुन।

स्वार्थको साँघुरो घेरा

दोश्रो कारण हो स्वार्थको साँघुरो घेरा र राजनीतीलाई उद्योग ठान्नु। अहिले सांसद भएका कैयन पात्रालाई केवल एक थान मन्त्री बन्नु छ। अनि सत्ता र शक्तिको स्वाद नचाखेकाहरुलाई त्यहाँ पुग्नुं छ, कमाउनुछ। सीमित घेरामा रुमलिएर सानै स्वार्थहरु पुरा गर्नु छ। अधिकांश युवा पात्राहरु यस्तै साना र झिनामसिना ब्यक्तिगत लाभहानीको चंगुलमा रमाएका कारण पनि हामीले युवा राजनीतिकर्मीलाई नेतृत्वको शिखरमा देख्न नसकिएको हो।

जुन सजिलो बाटोलाई सायदा फ्रन्सेली राष्ट्रपति म्याक्रोनले कहिल्यै रोजेनन्। राजनीतिलाई सेवा भन्दा पनि उद्योगको रुपमा  लिने  सोचबाट युवा पंक्ती पनि मुक्त हुन सकेन।  

नेपालमा पटक पटक सरकार र राजनीतिक दलको नेतृत्व परिवर्तनको बहस हुन्छ। तर बहसको बृत्तमा युवा पात्राहरु अटाउँदैनन् वा पर्दैनन्। सत्ता र शक्तिको बागडोर फेरि उही प्रयोग भैसकेका ‘आउटडेटेड’ पात्राहरुकै हातमा जान्छ।

त्यसोतः ढुगा, गिटी, वालुवा, ठेक्का पट्टा, टेण्डर जस्ता  कमाउधन्दामा लागेर राजनीतिलाई आयश्रोत बनाउने युवा जमात ठूलो छ। त्यस्ता पात्राहरु राजनीतिको माध्यमबाट जनताको  सेवा र देशको समृद्धीमाभन्दा पनि कुनै ठूला नेताको चाकाडीबाट आफनो स्वार्थ पुरा गर्न उद्यत छन्। यस्तो खराव बाटोलाई अवि अहमेदले इथियोपियामा पछयानन्। नेपाली राजनीतिकर्मीले जस्तो ठेक्का पट्टा र ढुगा गिटीसंग आफनो इमान्दारीता र नैतिकतालाई बेचेनन्। न्इयोवीले एलसाल्भाडोरमा आफ्नो ब्यापार गरे तर राजनीतिलाई पेशा व्यवसाय बनाएनन्। हो प्रश्न उठछ, हाम्रा युवा नेतृत्व यस्तो बाटो हिड्न किन तयार छैन ? कुनै पेशा, ब्यवसाय विना राजनीतिबाटै कसरी आफ्नो आर्थिक जीवनमा कायपलट ल्याउन सके? राजनीतिलाई उद्यम मान्ने यस्ता पात्राहरुले भविष्यमा देशलाई सही रुपमा ड्राइभ गर्ने अपेक्षा गर्ने जनमत पनि यस कारण निर्माण नभएको हुन सक्छ। अनि स्वयं पात्राहरु पनि देश बनाउने महान सपना देख्न सक्दैनन्। बरु ब्याक्तिगत जीवन परिवर्तनको स्वार्थमा ग्रसित छन्।

इर्ष्या र खुट्टा तान्ने प्रवृत्ती

अर्को कारण हो इष्र्या र खुटटा तान्ने प्रवृत्ती। राजनीतिमा लागेका असल र इमान्दार केही पात्राहरु इष्र्याको शिकार भएका छन्।   बेइमानी र अपराधी छवीका अगाडि सीमित इमान्दार राजनीतिकर्मीको भुमिका ओझेलमा परेको छ।  औसत क्षमता भएका मध्य केही इमान्दारले सकरात्मक प्रयास गरे पनि खराव प्रवृत्ती भएकाहरुको अगाडि उनीहरुको इमान्दारीता निरीह सावित भएको छ।    

यसकारण देशलाई समृद्धी र शुसाशनको रोडम्यापमा अघि बढाउन पात्रा र प्रवृत्ती बदलिनु जरुरी छ। यसका लागि न फेल भई सकेका आउटडेटेड पात्र विकल्प बन्न सक्छन्। नत गिटी बालुवाको ठेक्का पट्टामा र्याल चुहाउने र राजनीति लाई उद्योग मान्ने युवा पंक्ती नै। तसर्थ देशकै मुल नीती मानिने राजनीतिमा आन्दोलनको आडमा मात्र होइन विभिन्न क्षेत्रमा सफल भएका सक्षम युवाहरुको उपस्थिति  अहिलेको आवश्यकता हो। अन्त्यमा राजनीतिमा लागेका ती युवाबाट हाम्रा यी युवाहरुले थोरै भए पनि सिकुन्। आफू होइन देश बदल्ने फराकिलो सोच राखुन्।

प्रकाशित: २६ श्रावण २०७७ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App