३१ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

मधेसमा खुम्चिएको कांग्रेस

मधेसबाट टिपेको मतको बालीले काठमाडौंको सत्तामा बसेर वर्षभरी खान पुग्ने संस्कारबाट आजसम्म धेरै कांग्रेस नेताले आफ्नो र आफन्तको जिन्दगी सुखमय बनाए। तर मधेसी मतरूपी बालीको कुत भने कहिल्यै तिरेनन्। मतको बदला वर्षौसम्म उनीहरुले मधेसीहरुलाई केही थान आश्वासन र केही रैथाने जमिनदारलाई हैकमी प्रवृत्तिको निरन्तरताको आदेशमात्रै दिए। गणतन्त्र स्थापनापछिका वर्षमा पनि त्यसैका अवशेष मधेसमा अझै देख्न सकिन्छ। तर मधेसमा आफ्नो जनाधार खुम्चिँदै गएको तथ्य स्वीकार्न काठमाडौंको पानी पिएका कांग्रेस नेतृत्वलाई अझै गाह्रो भइरहेको छ।
धेरै वर्षसम्म कांग्रेस र मधेसको सम्बन्ध इतिहासका अनेक घुम्ती र तिनीहरुमा मधेसी समुदायले बगाएको रगत र पसिनाले जोडिएको थियो। देहातहरुमा बसेर कांग्रेस नेताहरुले आफ्नो क्रान्तिको वेगलाई अझै गति दिएका थिए। त्यही क्रान्तिको तुफानी नारामा मधेसी समुदायले स्थानीय प्रहरी प्रशासन र पञ्चायती दमन सहेर पनि कांग्रेसलाई बल प्रदान गरेको थियो। २०४६ सालतिर त कांग्रेस मधेसमा सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित थियो। अवस्था कस्तोसम्म थियो भने मानिस भन्थे- कांग्रेसको टिकट पायो भने कुकुरले पनि बहुमत ल्याउँछ। पहाडी र मधेसीको रेखा कुनै देहातमा कोरिएको थिएन। राजधानीको पराजयपश्चात् पहाडिया ब्राह्मण भए पनि कृष्णप्रसाद भट्टराईलाई पर्साबासीले अत्याधिक बहुमत दिएर जिताइदिएका थिए। त्यतिबेला कैयन् पहाडी जिल्लाबाट चुनाव लड्न मधेस झरेका धेरै नेतालाई मधेसीले बहुमत दिएका थिए। यसका बावजुद पनि मधेसीको पहिचान, विकास र आत्मसम्मानका लागि कांग्रेसले पार्टीका दस्तावेजमा समेत शब्द खर्चेन।
२०४६ सालपछि कोशी र कमला नदीमा धेरै पानी बगिसकेको छ। यो पानीले धेरै कांग्रेस नेताको जनाधार पनि बगाइदिएको छ। धोती र कुर्ता लगाएर देहातमा भोट माग्न हिँडेका कांग्रेस नेताहरु काठमाडौंको पानीले फेरिए, जसको परिणति संविधान सभाको निर्वाचनमा कांग्रेसले मधेसबाट बेहोरेको पराजयपछि सतहमा प्रकट भयो। यद्यपि आफूहरु मधेसमा कमजोर बनेको तथ्य स्वीकार्न बाँकेबाट पराजय बेहोरेका कांग्रेस सभापति सुशील कोइरालालाई अहिलेसम्म पनि गाह्रो परिरहेकेा छ। रैथाने भूमिपति, जमिनदार, साहू र महाजनसँगको सम्बन्ध बलियो बनाएपछि स्थानीयको मत सजिलै पाउन सकिन्छ भन्ने परम्परागत राजनीतिक अस्त्रले अब मधेसमा काम गर्दैन भन्ने सत्य कांग्रेसले जहिलेसम्म बुझ्दैन, जबसम्म कांग्रेस मधेसमा बलियो बन्न सक्दैन। मधेस आन्दोलनका विभिन्न संस्करणले रैथाने मधेसी समुदायको चेतना र सोचको परम्परागत शैली बदलिदिएको छ। यही फेरिएको सोच र चिन्तनको जगमा मधेसवादी दल खडा भएका छन् । भलै तिनीहरुको केन्द्रीय राजनीति टुट र फुटको प्रहसन जारी छ।
कुनै समय थियो, सबै मधेसी कांग्रेस हुन्थे। अहिले मधेसी लोकतन्त्रवादी त छन् तर उनीहरु कांग्रेस छैनन्। रामनारायण मिश्र, गजेन्द्रनारायण सिंहदेखि महन्थ ठाकुरसम्मका नेताले कांग्रेस राजनीतिको छाता किन छोड्नुपर्यो र क्षेत्रीय दलको छाता निर्माणमा जुट्नुपर्योन भन्ने गम्भीर प्रश्नको खोजी आजसम्म भएको छैन। यी बहिर्गमनहरुको क्षतिपूर्ति गर्न कांग्रेसले कहील्यै कुनै पहल गरेन। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ११ प्रतिशत मधेसीको उपस्थिति छ भन्ने तथ्यले मात्रै कांग्रेस मधेसमैत्री छ भन्न मिल्दैन। त्यसका निम्ति त संघीयतादेखि लिएर राज्यको पुनर्संरचनामा कांग्रेसले मधेसी जनताको अभिमत जान्नका निम्ति के/के प्रयास गर्यो भनेर बुझ्नु जरुरी छ। दौरा र सुरुवाल लगाएकाहरुको उपस्थितिले मात्रै कांग्रेस राष्ट्रिय पार्टी हो भन्ने तर्क गर्नु दिवास्वप्नमात्रै हो भनेर बुझ्न ढिलो भइसकेको छ।
ऐतिहासिक सत्य के हो भने नेपालका पहाडी भू-भाग सधैं कम्युनिष्टहरुको उर्वर भूमिका रुपमा मात्रै रह्यो। चाहे नेकपा मालेले सुरु गरेको हिंसात्मक विद्रोहको पृष्ठभूमि होस् वा नेकपा माओवादीले सुरु गरेको विद्रोह। मालेदेखि एमालेसम्म, जनमोर्चादेखि मसालसम्म सबै कम्युनिष्टको जग पहाड नै रह्यो। यसको विपरित कांग्रेसको जग भने मधेसबाटै उठ्यो। विराटनगरको जूट मिलको आन्दोलन होस् वा वैरगनिया भेलाले तय गरेको क्रान्तिको दिशा होस्, मधेसबाटै कांग्रेसले क्रान्तिको विगुल फुकेको इतिहास छ। कतिसम्म भने २०१७ सालदेखि २०५८ सालसम्म कांग्रेसले सबैभन्दा धेरै मत मधेसबाटै पायो। तर त्यही कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा भने कहिल्यै मधेसी जनताको अधिकार र हकको विषय समेटेन। गल्ती गर्न पाइन्छ तर त्यसैलाई निरन्तरता दिन पाइँदैन। तर हठी कांग्रेसले प्रजातन्त्र र लोकतन्त्रको बृहत् आयामभित्र सधैँ पहाडिया चिन्तन र प्रवृत्तिलाई मात्रै मलजल गरिरह्यो जसको परिणाम मधेसमा कांग्रेस विस्तारै कमजोर बन्न पुग्यो।
बीपीको आदर्शबाट प्रेरित भएर धोती र कुर्ता बेरेर कांग्रेस राजनीतिमा होमिएका मधेसका कांग्रेसहरु काठमाडौंमा अड्डा जमाएका कांग्रेसीहरुको रोजाइमा कहिल्यै परेनन्। रैथाने जमिनदार र भूमिपतिसँग लडेका स्थानीय नेताको अवमूल्यन कांग्रेसका निम्ति मधेसको राजनीतिमा सबैभन्दा ठूलो भूल थियो। जसको भूल कांग्रेसले सच्चाउने प्रयास कहिल्यै गरेन। मधेसका निम्ति कांग्रेसको चारतारे झण्डाको अर्थ अहंकार मिश्रित बाहुनवाद, दौरा सुरवाल, नेपाली भाषा र केन्द्रीकृत सत्ताको मोहमा अनुदित भयो। मैथिली, भोजपुरी, अवधी वा स्थानीय परिचयका विविध रंगले कांग्रेसभित्र समाहित हुनै पाएनन्।
अरुप्रति दया र सहानुभूति देखाउने नेपाली संस्कार छ। तर आफूले गरेको गल्तीप्रति क्षमा माग्ने संस्कार भने छैन। केही महिनाअघि मात्रै अष्ट्रेलियन प्रधान मन्त्री केभिन रुडले आदिवासी समुदायसँग विगतमा भएका विभेदप्रति क्षमा माग्दै सहकार्य गरेर अघि बढ्न आग्रह गरिन्। संसद भवनअगाडि खुला सभाबाट लाखौंलाख जनताका अघि उनले पुस्तौै राज्यको विभेदकारी नीतिको शिकार भएका आदिवासी समुदायका अघि आँसु पनि झारिन्। तर के यस्तै हिम्मत नेपाली कांग्रेसले इतिहासमा मधेसी समुदायमाथि गरेका विभेदप्रति गर्न सक्छन्?
भन्नेहरुले भन्न सक्छन, कुनै समय कांग्रेस कोटरीमा बसेर राजनीतिक दीक्षा हासिल गरेका तर अहिले मधेसवादी दलहरुको प्रतिनिधित्व गर्दै सरकारमा मधेसी नेता नै विराजमान छन्। के त्यो इतिहासको क्षतिपूर्ति हुन सक्दैन? न्याय र समताको स्थापना कुनै पछाडि पारीएका समुदायका कुनै व्यक्तिलाई सत्तामा आरोहण गराएरमात्रै पुरा हुन सक्दैन। समता र न्याय त विधि र व्यवस्थाको अभ्यासबाट सिर्जना हुने कुरा हो। मधेसी समुदायका नेता मन्त्री हुँदैमा मधेसप्रतिकेा विभेद अन्त हुन्छ भन्ने तर्क त बेनिजिर भुट्टो पाकिस्तानमा र बेगम खालिदा जिया बंगालादेशमा प्रधान मन्त्री हुनेबित्तिकै सबै महिलासम्बन्धी विभेद अन्त्य हुन्छ भन्ने कुतर्क जस्तै हो।
कांग्र्रेसहरु तर्कको खेती गर्न सिपालु मानिन्छन्। उनीहरु कांग्रेस मधेसमा अझै पनि जीवन्त छ भन्ने तर्क गर्न अनेक तथ्य र मिथ्यांकको सहारा लिन सक्छन्। तर सत्य के हो भने दर्जनभन्दा बढी मधेसवादी दल, कम्युनिष्ट शक्तिहरुको बढ्दो चासोका बीच कांग्रेसको उपस्थिति मधेसमा कमजोर भएकै हो। कांग्रेसको यही पर्वते पुरोहित पाराका कारण मधेसी जमिनदारले पनि साथ छाडेका हुन्। समयबाट पाठ नसिक्ने हो भने मधेसीले 'बाइ बाइ गाछी छाप' भन्नुबाहेकको विकल्प छैन।

प्रकाशित: ४ श्रावण २०६९ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App