१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

थारु अस्मिताको खोजी

पुरानो भनाइ हो, नेपालको कानुन दैवले जानून्। मुखै कानुन भएको देशमा त्यस्तो भाग्यवादी मान्यताले व्यापकता पाउनु अस्वाभाविक पनि होइन। मुलुक गणतन्त्र भएपछि राजा इतिहास भए, राजसी परम्पराहरु भने यथावत छन्। हालसालै नेपाल सरकारले खस-आर्य-बाहुन-क्षेत्रीलाई पनि आदिवासी घोषणा गरेको छ। त्यस निर्णयलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन। नेपालको सार्वभौम सत्ता सम्पन्न सहमतीय भनिएको सरकारलाई मुखै कानुन लागू गर्ने मात्र नभई नृवंशशास्त्रका सर्वमान्य वंशावलीलाई समेत पुनर्परिभाषित गर्ने पूर्ण अधिकार छ। शंका गर्नु सहमति बिथोल्ने प्रयत्नका रुपमा अर्थ्याइनेछ र सहमतिविपरीत शब्द वा इशाराले आपत्ति जनाइएमा सरकारद्वारा शान्ति र संविधानविरोधी गतिविधिमा लागेका कसुरवार ठहर्याबइनेछ। त्यसै भनिएको कहाँ हो र, काशी, काश्मिर, अजब नेपाल! मधेसी र दलितबाहेक नेपालमा अब अरु जाति, जम्मै जातजाति आदिवासी-जनजाति कहलिने भए!
गोर्खाली वर्चस्वका हर्ताकर्ता 'खआबाक्षे' सबैलाई आदिवासी-जनजाति ठहर्यालइने नेपाल सरकारको मनपरी घोषणालाई जनजाति महासंघका अध्यक्षले हास्यास्पद भनेका छन्। आफ्नो बलबुताभन्दा बाहिरको कुरालाई हास्यास्पद भनेर पन्छिन खोज्नु 'अंगुर अमिलो छ' भन्दै बाटो तताउने नीतिकथाको फ्याउरोजस्तो बन्नुमात्र हो। यस निर्णयका प्रभावहरु गम्भीर एवं दूरगामी प्रकृतिका हुने गर्छन्। गम्भीर मुद्दा हो यो।
हुन त उसै पनि ८० प्रतिशतभन्दा बढी निजामती सेवामा स्थान ओगटेका गोर्खाली खआबाक्षे मध्यम वर्ग आफ्ना हिस्सा कायम गर्नमात्र आदिवासी-जनजाति बन्न तयार भएका हुन् वा तिनको मनसुवा आफ्नो हकदाबी पुर्याकउनसम्म रहेको छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, मधेसी र दलित (महिला आरक्षणको फाइदा खआबाक्षेभित्रै फर्केर जाने परिस्थिति कायम रहेकाले) भागिदारीपछि अन्य सबै पद निजामती सेवाको दीर्घ परम्परा भएको समुदायमै जाने भएपछि त्यसको सबैभन्दा ठूलो बेफाइदा पछाडि पारिएका जनजाति समूहहरुलाई नै हुन्छ।
पहाडका जनजातिहरुले सत्तासँग बाँच्न सिकिसकेका छन्। गुरुङ, मगर एवं राई, लिम्बु गोरखाली सेनाको अग्र पंक्तिमा रहँदै आएका छन्। नेवारहरु बौद्धिक एवं वाणिक क्षेत्रमा अग्रणी छन्। शेर्पाहरुको कीर्ति संसारभर फैलिएको छ। थकालीहरु जुन पेसामा हात हाल्छन् त्यसैमा उत्कृष्ट स्थान हासिल गरिछाड्छन्। अपेक्षाकृत कमजोर भनिएका तामाङहरु नायक-नायिकाविहीन छैनन्। सरकारी सेवामा यथेष्ट अवसर नपाए पनि पहाडका प्रायशः जनजातिले आफ्नो अस्मिता दर्साउने एवं सम्मान जोगाउने उपायहरु पहिल्याइसकेका छन्। राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो पहिचान स्थापना गर्न सफल नेपाली पहाडका आदिवासी जनजातिहरुलाई खासै चुनौती दिनसक्ने सम्भावना साह्रै कम छ। खआबाक्षेको आदिवासीमा सूचीकरणको बोझ बोक्न सक्ने मूलतः मधेसका जनजातिहरु हुनेछन्। मधेसका जनजातिहरुमा बाहुल्य थारुहरुको रहेकाले सबैभन्दा बढी दबाब नेपालका सबैभन्दा दबाइएका जनसमूहले नै पुनः बेहोर्नुपर्ने निश्चित छ।
लामो समयसम्म नेकपा (एमाले) को सान्निध्यले गर्दा पूर्ण गोरखालीकरण भइसकेका राजकुमार लेखीलाई हास्यास्पद लागेको कुराबाट लक्ष्मण थारुलाई भित्रैदेखि रिस उठ्छ भने त्यसमा स्थानजन्य कारणहरु छन्। राज्यले विजय गच्छेदार एवं सुरेन्द्र चौधरीजस्ता गोरखाली समाजमा घुलमिल भइसकेका अनुहारहरु हेरेर थारु नीति निर्धारण गर्ने हो भने त्यो दिगो हुन सक्दैन। थारु अस्मिताको संघर्षको थलो अब सुनसरी-सप्तरी वा बारा-पर्साबाट चितवन-नवलपरासी, बाँके-बर्दिया एवं कैलाली-कञ्चनपुरतिर सरेको छ। पूर्वमा थारु कल्याणकारी सभाका जिम्दारहरुले गर्ने पहिचानका आन्दोलनहरुभन्दा नितान्त भिन्न हुने देखिँदैछ, कुनै बेला कमारा-कमारी एवं दास भएर बाँच्न बाध्य बनाइएका व्यक्तिको सम्मानका लागि गरिने संघर्षहरु।
पार्थक्यको मोल
प्रसंग अप्रामाणिक हो, तर यो कथा थारु बस्तीहरुतिर कतिबिघ्न प्रचलित छ भने लाग्छ, अब किंवदन्ती अकाट्य सत्य भएर स्थापित भइसकेको छ। राजा महेन्द्रको देहावसानको खबर ढिलो गरी बर्दिया-कैलालीतिर पुग्यो। अलि अनकन्टार गाउँसम्म पुग्दा खबरको स्वरूप 'राजा मर्यो ' भन्ने शब्दहरुमा सीमित हुन पुगेको थियो। गाउँमा खुसियाली भयो। गाउँलेहरुलाई लाग्यो, अब टाउको निहुराएर बाँच्नुपर्दैन। मालिक, काजी, प्रभु एवं गुरुहरुको आतंक समाप्त हुनेछ। केही बडघडहरुले भने समाचारको सत्य जाँच्ने निधो गरेछन्। फर्केर तिनले गाउँलेहरुलाई सुनाए। मर्ने राजा त नेपालतिरका रहेछन्। तिनका मालिक त सदाझैँ तेल मालिस गराएर बसेका रहेछन्, छेउतिर भरुवा बन्दुक र अजङको कुकुरलाई राखेर। गाउँको खुसियाली क्षणभित्रै हरायो। कैलाली कञ्चनपुरतिरका वर्चश्ववादीहरु कमोबेश यस्तै परिस्थितिलाई सदियौँदेखि कायम रहेको थारु एवं गैरथारुबीचको सद्भावका रुपमा अर्थ्याइरहेका छन्। एक किसिमले त हो पनि। हिन्दू धर्मका मूल्य एवं मान्यताअनुसार शाषित समूहहरुले कि त आफ्नो ठाउँमा बस्न सिक्नुपर्छ, नभए सोपानतन्त्र तोड्ने अपराधको मूल्य तिर्न तयार हुनुपर्छ।

हिन्दू सोपानतन्त्रमा माथि उक्लिने मूल्य सबभन्दा पहिले मैथिल थारुहरुले चुक्ता गरे। सन् १०३३ आसपास लेखिएको विश्वास गरिने मुसलमान लेखक अलबरुनीको यात्रावृत्तान्तमा कालो वर्ण एवं थेप्चो नाक भएका 'तारु' जनजाति तिरहुत (मिथिला) तिर पाइने गरेको उल्लेख छ। कोसी नदी छेउछाउ बस्ने भएकाले तिनलाई कोसिला भनिएको हुनुपर्छ। कोसीपारि मोरङ भनिने तिनको थातथलोतिर औलको प्रकोप कति बिघ्न थियो भने राणाकालसम्म त्यता भागेर जाने पहाडतिरका कमाराहरु स्वतः मुक्त भएका मानिन्थे। गोर्खालीहरुको स्थानीय गुमस्ता भएर बाँच्न स्वीकार गरेका कोसिला थारुहरुमध्ये केही कालान्तरमा जमिनदार पनि बनाइए। दोयम भूमिका स्वीकार गरेपछि मैथिल सभ्यतासँग तिनको सम्बन्ध विच्छेद भएर कोसिला थारुहरुको सभ्यतासँग जातीय मान सम्मान भने त्यसपछि कहिल्यै स्थापित हुन सकेन। महानन्दा कोसी क्षेत्रका थारुहरु अब अल्पसंख्यक भइसकेका छन्।

कमला खोच एवं बाग्मती नदी आसपास पनि सिन्धुलीतिरका उत्साही पहाडी जातजातिको दबाब थारु दनुवारलाई खेप्न गाह्रो भयो। नृवंशशास्त्रीय अन्वेषकहरुका अनुसार यस क्षेत्रका थारुहरु पनि सुनसरी, सप्तरी वा उदयपुर, सिरहातिरका मूलतः मैथिल जनजाति नै हुन्। गोर्खालीहरुसँग घुलमिल हुने लोभमा भने तिनले आफ्ना हजारौँ वर्ष पुरानो सांस्कृतिक पहिचान त्याग गरिसकेका छन्।

गण्डकदेखि कर्णालीसम्म मूलतः भोजपुरी थारुहरुको थलो हो, यद्यपि यस क्षेत्रको मधेसी भागमा हजारौँ वर्षदेखि अवध सभ्यताको बोलवाला छ। भारतीय सिमानाभित्र बिहारको पूर्वी एवं पश्चिमी चम्पारणतिर समेत फैलिएका कथार्या थारु होऊन् वा चितवनियाँ, तिनका रीतिथितिको प्रभावबाट डगौरा थारुहरु पनि मुक्त छैनन्। सबैभन्दा तीव्र गोर्खालीकरण भने यसै क्षेत्रका थारुहरुको भएको हो। आफ्नो पहिचान स्वीकार गर्नसमेत हिचकिचाहट लाग्न थाल्नु दासत्व मनोवृत्तिले स्थायित्व प्राप्त गरेको परिचायक हो। गण्डक राप्ती क्षेत्रका केही भोजपुरिया-अवधियाहरु जस्तै चितवनिया एवं डगौरा थारुहरु अन्तर्राष्ट्रिय सिमानापारि हिन्दी एवं सिमानावारि नेपाली भाषामा आफ्नो नयाँ पहिचान खोज्न थालिसकेका थिए। जागरुकता अब नेपालको नवलपरासीतिर मात्र होइन, भारतको भिखनाठोरीवरिपरि पनि फैलिन थालेको छ।

कर्णालीपारिका रानाहरुलाई 'रानाथारु' परिचय आकर्षक लाग्दैन। सिमानापारि ती आफूहरु रानाठाकुर भएको दाबी गर्छन्। भारतको क्षेत्रीय महासभाले तिनको पहिचानलाई मान्यता दिएको छ। मधेसी राजपुतहरुको प्रतिष्ठालाई त आफू सरह नमान्ने पहाडी ठकुरीहरुले भने राना ठाकुरलाई रानाथारुमै खुम्च्याइराख्न खोज्नु कुनै अचम्म भएन।

भित्री मधेस एवं तराईका जंगलहरुभित्र अलगथलग भएर बस्न रुचाउने मेचीदेखि महाकालीसम्मका सबै थरी थारुहरुले आफ्नो पार्थक्यको सबभन्दा ठूलो मोल भने बासस्थान गुमाएर चुकाएका छन्। नेपालमा कोसीटप्पु, पर्सा, एवं चितवन आरक्ष तथा बर्दिया र शुक्लाफाँटाजस्ता बन्यजन्तु बिहारहरुले जंगल आधारित जीवनशैलीलाई जडैदेखि समाप्त गरेको छ। भारतका चम्पारणस्थित बाल्मीकि व्याघ्र अभयारण्य होस् वा उत्तराखण्ड तराईको दुधवा राष्ट्रिय आरक्ष, खोसेको दुवैले सीमा वारिपारी थारुहरुको आजीविका नै हो। पिछडा एवं अति पिछडा राजनीतिले गर्दा चम्पारणका थारुहरु आदिवासीमा सूचीकृत भएका छन्। नेपालका थारुहरुको भविष्य आकलन गर्न ब्राह्मण बाहुल्य रहेको भारतको एक मात्र प्रान्त उत्तराखण्डका पाठहरु बढी उपयोगी ठहरिन सक्छ। उत्तर प्रदेशमा हुँदादेखि नै बहराइच, पिलिभित एवं नैनीतालका थारुहरु बहिष्कृतजस्तै थिए। उत्तराखण्डको ब्राह्मण राजमा ती अब विलोप हुने अवस्थामा पुगेका छन्। अखण्ड सुदूर पश्चिमको नाराबाट थारुहरु तर्सिएका त्यसै होइनन्। सीमापारि ती बाहुन-क्षत्रीको बिगबिगी हेर्छन् र थर्कमान हुन्छन्।

उत्पीडितहरुको एकता
गोर्खाली वर्चश्वबाट लाभान्वित समुदायहरुले 'सदियौँदेखि कायम रहेको सद्भाव' गाउँदै जतिसुकै भजन कीर्तन गरे पनि नेपाली समाजको ध्रुवीकरण अब रोकिनेवाला छैन। शासित समूह, शोषित समुदाय एवं उत्पीडित वर्ग चनाखो हुनुपर्ने कुरा के हो भने तिनका शासक, शोषक एवं उत्पीडक अत्तालिएर अझ बढी आक्रामकतासाथ लामबद्ध हुन थालेका छन्। सत्ताका सबै संयन्त्रहरु तिनकै हातमा छ। के सही र के गलत भन्ने व्याख्या वर्चश्वशाली समूहको नियन्त्रणमा रहेका विचार उद्यमीहरुले नै व्यक्त गर्छन्। डाडुपन्युमात्र नभई सिंगै भान्छा एकै थरीका हातमा भएसम्म न्याय र सम्मानका लागि दुई विकल्पमात्र बाँकी रहने छन् : संघर्ष वा समर्पण। केही थारु अगुवाहरुलाई समर्पण नै आकर्षक लागेको हुन सक्छ तर मधेसीहरुको सम्मानको संघर्षमा आफ्नो पनि भविष्य देख्ने थारु युवाहरुको जमात बढ्दो छ।
न्यायका लागि लड्न बन्दुक थमाउने माओवादीहरुले त थारुहरुलाई आश्वासनबाहेक केही दिएनन् भने गैसस उद्यमीहरुले मुक्ति उत्पादन गर्लान् भन्ने धारणा अस्वीकार्य ठहरिन सक्छ। आन्दोलित थारुहरुको मुख्य समस्या नै के भइदियो भने त्यहाँ उपेन्द्र यादव, महन्थ ठाकुर वा विश्वेन्द्र पासवानजस्ता जुझारुहरुको त के कुरा, जस्तोसुकै सम्झौतामा औँठाछाप लगाउन एक थान स्ट्याम्प प्याड सधैँ खल्तीमै बोकेर हिँड्ने विजय गच्छदार, राजेन्द्र महतो वा हृदयेश त्रिपाठीजस्ता सदाबहार राजनीतिकर्मीहरु पनि कोही छैनन्। कमोवेश त्यस्तै हालत पहाडका जनजाति समूहहरुको पनि छ।
थारुहरुको आक्रोश विस्फोट हुनुअगावै राष्ट्रिय एवं क्षेत्रीय भनिएका दलहरुले तिनका आकांक्षाहरुलाई सम्बोधन गर्न सक्नुपर्छ। राष्ट्रिय भनिने दलहरुले युवा थारु नेतृत्वको पहिचान एवं प्रवर्द्धनमा रुचि देखाइरहेका छैनन्। त्यसैले त्यो जिम्मेवारी अब मधेसवादी दलहरुको काँधमा आएको छ। विगतको तुष बिर्सेर मात्र न्याय र सम्मानको संघर्षलाई अगाडि बढाउन सकिन्छ। थारु आन्दोलन उसै पनि अर्को थरी वर्चश्वको लडाइँमा मात्र सीमित हुन पुग्नेछ।
सबभन्दा पछि राजनीतिकरण गरिएको थारु समुदायको ऊर्जाले हिंसात्मक बाटो पहिल्याउनुअगावै शान्तिपूर्ण संघर्षका सारथिहरुले गण्डक र कर्णालीतिर ध्यान पुर्या उनु उपयुक्त हुन्छ। यथास्थितिमा जस्तोसुकै संविधान लेखिए पनि वर्चश्वशाली समूहले आफ्नो नियन्त्रण खुकुलो पार्ने छाँटकाँट छैन। प्रतिरोधको राजनीति हिंस्रक हुन नदिने जिम्मेवारी भने सबै मधेसवादी दलहरुको पनि हो।

 

प्रकाशित: ८ जेष्ठ २०६९ ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %