१६ चैत्र २०८० शुक्रबार
विचार

बुद्धका सन्देशको सान्दर्भिकता

वैशाख पूर्णिमाका दिन लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो। उनले वैशाख पूर्णिमाकै दिन ज्ञान र महानिर्वाणसमेत प्राप्त गरेका थिए। यस्तो संयोग बिरलै हुन्छ। आज बुद्धको सन्देश विश्वभर फैलिएको र मानिएको छ। बुद्ध जन्मस्थलका रूपमा नेपाल पनि विश्वमा विख्यात हुन पुगेको छ। नेपाललाई चिनाउनु पर्दा 'बुद्ध' वा 'सगरमाथा'को देश भन्ने गरिन्छ। विडम्बना, यसरी परिचय दिँदा गर्वले शिर ठाडो गर्ने हामी नेपालीले बुद्धका सन्देशको मर्म भने बु‰नसकेका छैनौँ।
बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा रहेको साझा सम्पदा हो। लुम्बिनी विश्वकै आकर्षण र अनुसन्धानको विषय भएको छ। साथै, लुम्बिनीलाई विश्व शान्तिको उद्गमका रूपमा स्वीका गरिएको छ। यसो हुनुको मूल कारण बुद्धका सिद्धान्तमा बढेको आस्था, विश्वास र सान्दर्भिकता हो।
नेपाली भूमिमा जन्मेका गौतम बुद्धले विश्वभर फैलाएको शान्ति र सहिष्णुताको मार्गमा हिँडेर नेपाली जातिलाई शान्ति, अहिसा र सद्भावका उदाहरण बनाउन सक्नुपर्छ। त्यसका हामीले सोही बुद्धमा मार्गनिर्देशअनुरूप आचरण गर्नुपर्छ। नेपालीका नाताले त्यो हाम्रो कर्तव्य पनि हो।
नेपालले दस वर्ष लामो हिंसा, हत्या र अपराधको दुःखद घटना भोगेको छ। त्यस अवधिपछि पनि समाजमा धेरै खालका क्रूरतापूर्ण अपराध भएका छन्। नेपाली समाजले विभेद र हिंसाका अनेकौँ अपराधसमेत सहेको छ। फलस्वरूप, शान्तिका अग्रदूत गौतम बुद्धकै देश र समाज क्रूर र असहिष्णु बन्दैछ भन्ने सन्देश संंसारभर प्रवाहित भइरहेको छ। कुनै बेला शान्तिको उदाहरण रहेको नेपाल अहिले अशान्त मुलुकका रूपमा परिचित छ। अहिले नयाँ संविधान निर्माणको प्रक्रिया चलिरहेको छ। दलहरूबीच सहमति बन्ने र भत्कने क्रममा परस्पर अविश्वास र शंका पनि घटबढ हुँदा शान्ति प्रभावित हुँदै आएको छ। नेपाली जनताको दैनिक जीवनमै यस्ता घटनाबाट नकारात्मक असर परेको छ।
हालै देखिएको सहमति र संवादको वातावरणले सकारात्मक प्रभाव पार्न थालेको छ र जनतामा झिनो भए पनि आशा पलाएको देखिएको छ। यस वातावरणलाई दिगो बनाउन सबैले बुद्धका आदर्शप्रति प्रतिबद्धता जनाएर स्वार्थ, लोभ र मोह परित्याग गरी आआफ्नो जिम्मेवारी पूरा गर्ने प्रण गर्न सकेमात्र बुद्ध जयन्ती मनाउनु सार्थक हुनेछ।
सन् २०१२ लाई 'लुम्बिनी भ्रमण वर्ष 'का रूपमा मनाउने घोषणा गरी सोहीअनुरूप विदेशी पर्यटक आकर्षित गरेर आर्थिक लाभ लिने प्रयत्न गरिरहेका छौँ। बुद्धका सन्देश र सिद्धान्त अनुसरण गर्न र शान्तिका माध्यमबाट समृद्धि हासिल गर्नेतर्फ हामी प्रतिबद्ध हुनसत्तै्कनौ भने आर्थिक लाभका निम्तिमात्र बुद्धको नाम भज्ने नैतिक अधिकार हामीलाई हुनेछैन। गौतम बुद्ध बिकाउ माल होइनन्। उनी त विश्वमै शान्ति, अहिंसा र प्रेमका प्रतीकका रूपमा श्रद्धा र सम्मानका पात्र हुन्। कम्तीमा पनि नेपालीले उनका सिद्धान्तको पूर्ण पालना गरेर समृद्धिको बाटो पहिल्याउनुपर्छ। व्यापारिक स्वार्थमा उनको उपयोग नेपली जतिका लागि शोभदायी हुँदैन।
बुद्धका नामबाट हामीले धेरै लिए पनि तर उनका आदर्श, सिद्धान्त र सन्देशबाट विचलित भएका छौँ। बुद्ध जन्मस्थलको अपेक्षित विकास र संरक्षण गर्न सकेका छैनाँै। यतिखेर बुद्धको सन्देश र आदर्शको सान्दर्भिकता झनै बढेको छ। यिनको अनुसरण र पालनले मात्र मुलुकले निकास पाउनेछ। धैर्य र संयम बुद्धका विशेषता हुन्। यसको पालन गर्नुपर्छ। बुद्धका सन्देशको सान्दर्भिकता अझै घटेको छैन। यिनको सम्मान गर्नुपर्छ। अहिले हामीलाई चाहिएको शान्ति, समृद्धि र सुशासन हो। यसका लागि पनि यिनको पालन अपरिहार्य छ। परस्पर मैत्री, विश्वास एवं पारस्परिक सम्मान र सद्भावले मात्र सहमति हुन सक्छ र सहमतिले मात्र मुलुकले निकास पाउने हुँदा यसको हेक्का सबैले राख्नुपर्छ। सबैले बुद्धका सिद्धान्तको पालन गर्नुपर्छ। यसो हुनसके स्थायी शान्तिको मार्ग फराकिलो र समृद्ध नयाँ नेपाल निर्माणको प्रयास सहज हुनेछ।

प्रकाशित: २३ वैशाख २०६९ २२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App