राष्ट्रपति जुमाको संस्कृतिमा बहुविवाह मान्य छ। यस्तै, दक्षिण अफ्रिकामा बहुपत्नी प्रथा अलोकप्रिय हुँदै गए पनि अवैध भने छैन। अफ्रिकी महादेशको सबभन्दा अग्रगामी राष्ट्रको प्रथम नगरिकको क्रियाकलापलाई आधुनिकता विरोधी, अलोकतान्त्रिक एवं नारी अधिकार हननका रुपमा लिने वा पाखण्डविहीन प्रचलनको निरन्तरताका रूपमा? पराश्रित गैससकर्मीहरूले दिने जबाफ स्वतः स्पष्ट छ। रक्तक्रान्तिका पक्षधरहरू उत्तर पनि अपेक्षित किसिमकै हुनेछ। एक्काइसौँ शताब्दीको बहुसांस्कृतिक लोकतन्त्रलाई शान्तिपूर्ण बनाउने हो भने त्यस्ता युरोपेली मान्यताअनुसारका प्रतिक्रियामात्र पर्याप्त हुने छैनन्। स्थापित सबै मूल्य एवं मान्यताबारे खुला छलफल नचलाईकन समन्वयात्मक समाजको परिकल्पना समाजको परिकल्पना सकिँदैन।
संस्कृतको 'महाजनो येनः गत स पन्था' भन्ने उक्तिजस्तै अन्तर्राष्ट्रिय मूल्य एवं मान्यतालाई पनि शक्तिशाली देशका प्रचलनले निर्देशित गर्ने गरेका छन्। हजारौँ वर्षदेखि चल्दैआएको सर्वशक्तिमान् राजाको प्रथालाई समझदारीका आधारमा प्रजातन्त्रीकरण गर्ने प्रक्रिया बेलायतमा सुरु भयो। फ्रान्स एवं रुसका क्रान्तिकारीले साम्राज्ञीको शिरोच्छेदन एवं जारको वंश नाश गरेर गणतन्त्रको प्रारम्भ गरे। युद्ध र सम्झौतामा आधारित करारद्वारा राज्यसंचालनको गणराज्य प्रारूप संयुक्त राज्य अमेरिकामा विकसित भयो। प्रजातन्त्र गणतन्त्र एवं गणराज्य जस्ता सबै दिगो व्यवस्थाका आआफ्नै विशेषता छन्। सबै प्रथा गतिशील छन्।
अठाराँै शताब्दीसम्म आदर्श रहेको बेलायतको संसदीय व्यवस्थाको सुस्ततालाई फ्रान्सेली प्रारूपको क्रान्तिले विस्थापित गरेपछि रुसको जारशाही साम्यवादी साम्राज्यमा रुपान्तरण हुने वातावरण बन्यो। चीनका माओ रुसका स्टालिनजस्तै आआफ्ना पूर्ववर्ति सम्राटहरूका परिवर्तित संस्करणमात्र थिए। बीसौँ शताब्दीको अन्तिम दशकसम्म क्रमबद्ध परिवर्तन एवं अग्रगामी छलाङका पक्षधरहरूबीचका अनगिन्ती संर्घषको मुख्य खेल मैदान युरोप र एसिया रह्यो भने अफ्रिका अभ्यास गर्ने सानो चौरजस्तो भएर खुम्चिन बाध्य बनाइयो।
राजनीतिक परिघटनाको अति सामान्यीकरणका जोखिम पनि नभएका होइनन्। प्रथम विश्वयुद्ध प्रभाव एवं नियन्त्रण विस्तारका लागि भएको भए पनि राष्ट्रिय गौरव प्रमुख मुद्दा थियो। द्वितीय विश्वयुद्धमा पूँजीवादी अमेरिका एवं साम्यवादी रुससँगै थिए। किनभने जातीय श्रेष्ठताको जर्मन र जापानी चुनौती दुवैका लागि खतरनाक थियो। भारतमा महात्मा गान्धीले शान्तिपूर्ण क्रान्तिको सफल प्रयोग नगरेका होइनन् तर उनका परीक्षणबाट जन्मेका राष्ट्रहरू संसारकै सबभन्दा बढी अशान्त मुलुकमा गनिन्छन्। त्यसैले दक्षिण अफ्रिकामा भएका सामञ्जस्यात्मक लोकतान्त्रिक गणतन्त्र (डेमोक्रेटिक रिपब्लिक) अभ्यासका पाठहरूले एक्काइसौँ शताब्दीलाई ध्वंशात्मक पनि बनाउन सक्छ। तैपनि दक्षिण अफ्रिकाको राजनीतिक प्रयोगका पाठ बहुसांस्कृतिक राष्ट्र बन्ने प्रक्रियामा रहेका नेपालजस्ता मुलुकका लागि उपयोगी ठहरिन सक्छन्।
इतिहासका घोडा
क्रान्ति होस् वा प्रतिक्रान्ति, प्रत्येक महान भनिएका उथलपुथलका पछाडि घोडसवारको चाबुकले आतंक मच्चाएको हुन्छ। परिवर्तनहरू भने अपेक्षाकृत अनाकर्षक एवं मन्द गतिमा घोडाले टाँगा ताने जसरी भित्याइएका हुन्छन्। क्रान्तिका लागि इतिहास बनाउन चाहनेले जबरजस्ती गर्नुपर्ने हुन्छ। परिस्थिति परिपक्व भएपछि सुरु गरिने शान्तिपूर्ण क्रान्तिले पनि बनाउने त इतिहासै हो तर क्रमभंगता एवं निरन्तरताको सामञ्जस्य राखिएका प्रक्रियाले रक्तक्रान्ति जस्तो विलक्षण प्रभाव भने उत्पन्न गराउँदैनन्।
जारशाहीलाई निरन्तरता दिएको साम्यवादी सम्राज्यलाई अन्त्य गर्ने मिखाइल गोर्भाचेभले इतिहासका पानामा जोसेफ स्टालिन जतिको ठाउँ नपाएपनि उनको योगदान मानवताको इतिहासका लागि कम महत्वपूर्ण छैन। स्वर्ग राज्य भनिने चिनियाँ सम्राज्यलाई निरन्तरता दिन माओ त्से तुङ्गले बन्दुकको सहारा लिए। बिरालो कालो होस् वा सेतो त्यसले मुसा समाते पुग्छ जस्तो सहज ज्ञानलाई सम्राज्य रूपान्तरणको सूत्रका रूपमा प्रयोग गर्ने देङ सियाओ पिङ किमार्थ माओभन्दा कम क्रान्तिकारी होइनन्। सही को थियो भन्ने चाहिँ इतिहासले निर्क्योल गर्ने हो। अमेरिकाको प्रथम श्याम राष्ट्रपतिको सम्मान बाराक ओवामाले पाएका छन्। जान्नेहरू भन्छन्, श्याम अमेरिकीको हितप्रति गोरा वर्णका बिल क्लिन्टन बरु अझ बढी संवेदनशील थिए। तिनका योगदानको सही मूल्याकंन पनि भावी पुस्ताले नै गर्ने छ। सुस्त गतिका परिवर्तनको प्रभाव आकलन रथमा सवार यात्रीहरूको पूर्वाग्रहरहित भएर गर्न सक्तैनन्।
रक्तक्रान्तिको बिगुल र बन्दुक बिसाएर नयाँ गान्धी बनेका नेल्सन मण्डेलाको जति महिमामण्डन गरेपनि अपुग नै ठहरिन्छ। रंगभेदमा आधारित सम्राज्यलाई अपेक्षाकृत कम रक्तपातद्वारा लोकतान्त्रिक तुल्याउन सक्नु चानचुने उपलब्धि होइन। तर, दक्षिण अफ्रिकाको रूपान्तरण गर्ने त्यसै रथमा नारिएका अन्तिम गोरा राष्ट्रपति फ्रेडरिक डब्यु डे क्लार्क सार्वजनिक सम्झनाबाट हराउँदै गएका छन्। सम्मानजनक नै भए पनि नम्रतापूर्वक हार स्वीकार गर्नेहरू जित्नेहरूका सामु फिका नै देखिन्छन्। पाठहरू भने न्याय सुनिश्चित गर्न हार मान्नसमेत पटक्कै नहच्किनेहरूको झनै महत्वपूर्ण हुन्छन्।
प्रविधिले विश्वका अनुभवलाई साझा बनाउँदै लगिरहेको छ। राष्ट्रपति डे क्लार्कका केही अनुभूति अर्न्तजालमा सजिलै हेरिन/सुन्न सकिने 'यु ट्युब' निःशुल्क उपलब्ध छन्। आफ्नै नेतृत्वमा रंगभेद सत्ताको अन्त्य गरेपछि अत्यन्त विनम्रतापूर्वक दक्षिण अफ्रिकाका प्रथम श्याम राष्ट्रपति नेल्सन मण्डेलाका उपराष्ट्रपति भएर लोकतन्त्र संस्थागत गर्न सघाएका डे क्लार्क भन्छन् - आधारभूत परिवर्तनका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति नदर्शाएसम्म हिसाप्रतिहिंसाको चक्र रोकिन सक्तैन।
वर्चस्वको अन्त्य
विभेद वर्णमा आधारित नरहेकाले नेपालमा रंगभेद अन्त्यका पाठहरू अक्षरशः लागु हुने कुरा भएन। तर, उत्पीडनका संवैधानिक न्यायालयको प्रावधानबाहेक पनि सिक्न सक्ने कुरा धेरै हुन सक्छन्। डे क्लार्कका विचारमा मण्डेलामा हिंसात्मक क्रान्तिको प्रत्युत्पादकता बोध एवं यथास्थितिको निरन्तरता असम्भव रहेको अनुभूति नेसनल पार्टीका गोरा राजनीतिकर्मीमा भएपछि मात्र रूपान्तरणको आधारभूमि तयार भएको थियो। नेपालको महासंसद् लगभग त्यस्तै संयन्त्र हुन सक्थ्यो। उत्पीडनका वर्गीयबाहेक सम्बोधन गरिनुपर्ने अन्य आयाम पनि छन् र संघीयता एवं सामेली राज्य व्यवस्थाबेगर प्रजातन्त्रलाई लोकतन्त्रमा रुपान्तरण गर्न सकिँदैन भन्ने तत्वबोधबेगरको अन्तरिम संविधान लागु हुन नपाउँदै संशोधन गर्नुपर्ने अवस्था मधेस विद्रोहले गर्दा उत्पन्न भयो। घाउमा खाटा अझै बसेको छैन र पीडाका पाठहरू आलै छन्।
दक्षिण अफ्रिकाको दोस्रो महत्वपूर्ण सन्देश प्रक्रियासँग सम्बन्धित छ। चामल केलाउने र तरकारी काट्ने जति नै जना भएपनि पारिवारिक भोजको मूल मान्छे एउटै भएन भने भान्छामा भाँडभैलो हुन्छ भन्ने मान्यताको महत्व आफ्नो ठाउँमा छँदैछ। तर, सानै सहभागिताले पनि नयाँ संविधानप्रति अपनत्व जगाउँछ, ममत्व सिर्जना गर्छ र स्वामित्व उत्पन्न गराउँछ। हतारमा थारु, मुसलमान वा शेर्पा समुदायका सबै चासो समेट्न नसकिएलान् तर तिनको सहभागिता बढाउने उपाय भने शीर्ष भनिएका नेताले खोज्न सकेको देखिएन।
द्वन्द्वका पक्षहरू आआफ्ना अडान एवं लचकताका बाध्यताबारे खुला एवं स्पष्ट हुन सकेनन् भने परिस्थितिजन्य कारणले गर्दा गरिएका समझादारी लागु गर्न गाह्रो हुने रहेछ भन्ने नेपालको आफ्नै अनुभवले पनि देखाइसकेकै हो। राष्ट्रिय एकता एवं विविधताबीच सामञ्जस्य स्थापित गर्ने चुनौती पनि नेपालमा दक्षिण अफ्रिकाभन्दा जटिल छ। त्यसबाहेक डे क्लार्कको अनुभवमा सबभन्दा कठिन काम द्वन्द्वकालका राजनीतिक अपराध कसरी निरुपण गर्ने भन्ने विषयसँग सम्बन्धित हुने रहेछ। नेपाल त्यस जोखिमपूर्ण कार्यमा विषय प्रवेशै नगरी संविधान लेखनमा जुटेको छ।
सत्य निरुपण महत्वांकाक्षी कार्यसूची हो। संघर्षपछिको सत्य जहिले पनि विजेताको पक्षमा हुन्छ। लोकतान्त्रिक गणतन्त्र हार्नेहरूलाई पनि ससम्मान पुनःस्थापित गर्ने पद्धतिको नाम हो। त्यसका लागि तैयारी प्रारूप उपलब्ध छैन। द्वन्द्वहरूको फरफारक, पीडितलाई प्रतिपूर्ति एवं पीडकका बाध्यताको सुनवाई कानुन व्यवस्थाका परम्परागत मान्यताबाट सम्भव हुनसत्तै्कन। लोकतान्त्रिक संविधानमा त्यस्ता दीर्घकालीन सामञ्जस्य सिर्जनाका लागि सजाय एवं उन्मुक्तिजस्ता परम्परागत धारणाभन्दा भिन्न मान्यतामा आधारित संरचना आवश्यक देखिन सक्छ। अधिकार सम्पन्न संवैधानिक न्यायालयले सामान्य अदालती प्रक्रियाबाट फरक ढंगले संरचनागत, सांस्कृतिक एवं राष्ट्रिय मुद्दाको सम्बोधन गर्न सक्छ। लोकतन्त्र फासीवाद वा साम्यवादजस्तो सूत्रमा चल्ने व्यवस्था होइन। लोकतान्त्रिक गणतन्त्रकै प्रारूप निर्माणमा नेपालले गर्ने प्रयोगको पनि स्थान रहने सम्भावना छ।
प्रकाशित: ११ वैशाख २०६९ ००:२५ सोमबार

