२३ असार २०७७ मंगलबार
विचार

सूर्य ग्रहणमाथि केही प्रकाश

सामान्य अवस्थामा जस्तै सूर्य ग्रहण लागेको समयमा सूर्यमा आँखाले लगातार सिधा हेर्नुहुँदैन। हेरेमा अन्धोसमेत हुन सक्छ।

यस वर्षको पहिलो सूर्य ग्रहण असार ७ गते परेको छ। यो ग्रहण नेपालबाट करिब साढे १० बजे सुरु भएर पौने १२ बजे मध्य भई करिब साढे २ बजे अन्त्य हुन्छ। यहाँ करिब भन्नुको कारण नेपालका विभिन्न ठाउँबाट देखिने समय फरक फरक हुने भएकाले हो। यो सूर्य ग्रहण वास्तवमा वलयाकार भए तापनि नेपालबाट भने खण्डग्रास मात्र देखिन्छ। करिब ८० देखि ९० प्रतिशत सूर्यको भाग ढाक्छ अनि ग्रहण करिब साढे तीन घण्टासम्मरहन्छ। पूर्ण बलयाकार ग्रहणको मध्य भाग भने करिब २१ किलोमिटर चौडा साँघुरो क्षेत्रबाट मात्र देखिन्छ जुन मध्य अफ्रिकाको कंगोबाट सुरु भएर सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत (लिपुलेक–कालापानी क्षेत्रको पश्चिम उत्तर नजिकै)र दक्षिण पूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुन्छ।

प्रकृतिको यो अनुपम खगोलीय घटना हेर्न संसारकै मानिस उत्सुकतासाथ प्रतिक्षा गरिरहेका छन् भने वैज्ञानिकहरू अनुसन्धान गर्न र थप नयाँ तथ्यहरू प्राप्त गर्न टेलेस्कोप (दूरदर्शक यन्त्र) सहित तयार भएर बसेका छन्। तर अझै पनि संसारभरका मानिसमा सूर्यर चन्द्र ग्रहणका बारेमा थरीथरीका रोचक र गलत धारणा छन्।  

ठूलो भ्यागुतो वा पाहाले सूर्य वा चन्द्रमालाई खान लागेकाले ग्रहण लागेको हो भन्ने भियतनामका मानिसले विश्वास गर्छन् भने चिनियाहरूले ड्रागनले खान लागेको मान्यता राख्छन्। उत्तर युरोपका मानिसको पनि त्यस्तै खालको धारणा छ– दुइटा हिंस्रक ब्वाँसाले सूर्यर चन्द्रमालाई लखेटिरहेका थिए। कुनै एउटाले सूर्य वा चन्द्रमालाई भेटेर खान लागेकाले ग्रहण लागेको हो।  

अझ हिन्दुशास्त्रको कथा झन्रोचक छ। समुन्द्र मन्थन गरेर निस्किएको अमृत देवताहरूलाई बाँडिरहेका बेला असुरहरूका सेनापति राहु अमृत खाएर अमर हुन भेष बदलेर देवताको रूप लिइ सूर्य र चन्द्रमाको बीचमा गएर लाइनमा बस्छ। त्यो थाहा पाएर सूर्यर चन्द्रमाले विष्णुलाई इशारा गर्छन्। विष्णुले आफ्नो सुदर्शन चक्रले उसले खाएको अमृत तल पेटमा जान नपाओस् भनेर घाँटी छिनालि दिन्छन्। उसको अमृतले जीवित रहेको टाउको राहु र छुट्टिएको शरिर केतुका रूपमा रहन्छ। छल गरेर मार्न खोजेको भनेर प्रतिशोध लिन राहुले सूर्य र चन्द्रलाई खान्छु भन्दै लखेट्छ। तर मुखबाट निले पनि तल शरीर नभएकाले घाँटीबाट तल झरेर त्यहाँबाट भागी सूर्यर चन्दमा आआफ्ना स्थानमा गएर बस्छन्। यही राहुले निलेको बेलामा ग्रहण लाग्छ।  

सामान्य अवस्थामा जस्तै सूर्य ग्रहण लागेको समयमा सूर्यमा आँखाले लगातार सिधा हेर्नुहुँदैन। हेरेमा अन्धोसमेत हुन सक्छ।

यसरी प्रायः सबै ठाउँका पौराणिक धारणाहरूमा खराब जन्तु,राक्षस वा नराम्रा श्रापले सूर्य वा चन्द्रमालाई खाएकाले ग्रहण लागेको हो भन्ने मान्यता राख्थे र त्यसलाई छुटाउन सबैजना मानिस भाँडाकुँडा ठटाएर वा बाजा बजाएर ठूला ठूला आवाज निकालेर हाम्रो भगवान्लाई छाडिदे भनेर कराउने गर्थे र कतिपय ठाउँमा अझै पनि गर्छन्।  

पृथ्वीमा बसेर चन्द्रमालाई हेरेझैँ चन्द्रमामा बसेर पृथ्वीलाई हेर्न सक्ने प्रविधि, धेरै गुणा शुद्धका साथ नाप्न र हिसाब गर्न सक्ने क्षमता, पृथ्वीबाट धेरै टाढासम्म अन्तरिक्षमा हेर्न सक्ने उपकरणर प्रविधि र कुनै पनि समयमा खगोलीय पिण्डहरूको गति, स्थान र थुप्रै गुणहरूको जानकारी धेरै मात्रामा पाइसकेको आजको युगमा हामी धेरैजसोलाई माथिका उदाहरण रमाइला दन्त्यकथा हुन्। तर अझै पनि धेरैलाई सूर्य ग्रहणबारे पूरा तथ्यगत जानकारी नभएर थुप्रै भ्रम छन्।  

कसरी लाग्छ सूर्य ग्रहण ?

सौर्यमण्डलमा पृथ्वी आफ्नो निश्चित कक्षमा सूर्यको वरिपरि घुमिरहेको छ भने चन्द्रमा पनि आफ्नै कक्षमा पृथ्वीको वरिपरि घुमिरहेको छ। चन्द्रमा पृथ्वीसँग गुरुत्वाकर्षणले बाँधिएको हुनाले पृथ्वी सूर्यको वरिपरि घुम्दा चन्द्रमा पनि अघिपछि भएर सँगसँगै घुमिरहेको हुन्छ। यसरी घुम्ने क्रममा महिनामा एकपटक चन्द्रमा र सूर्यको बीचमा पृथ्वी पर्न आउँछ भने एकपटक चन्द्रमा बीचमा परेर एक लाइनमा लस्कर लाग्छन्। पृथ्वी र सूर्यको बीचमा चन्द्रमा परेको बेलामा सूर्यको प्रकाश चन्द्रमाले छेकेर त्यसको छायाँ सूर्यतिर फर्केको पृथ्वीको एउटा सानो भागमा पर्छ। त्यस भागमारहेका मानिसले त्यस समयमा सूर्यलाई हेर्दा चन्द्रमाको छायाँ (अँध्यारो भाग) देख्छन्र उनीहरूका लागि सूर्य ग्रहण हुन्छ तर अन्यत्रका मानिसका लागि अरू दिन जस्तै सामान्य अर्थात् ग्रहण नै हुँदैन।  

हामी बसेको ठाउँ चन्द्रमाको छायाँको मध्य भाग परेको छ भने हामीले त्यस छायाँले सूर्यलाई पूरै ढाकेको देख्छौँ र हाम्रा लागि खग्रास सूर्य ग्रहण हुन्छ। तर अर्को ठाउँको मानिसका लागि सूर्यको केही भाग मात्र ढाकिएको देखिन्छ र उसका लागि त्यही ग्रहण खण्डग्रास सूर्य ग्रहण हुन सक्छ। कतिपय समयमा सबैले खण्डग्रास ग्रहण मात्रै पनि देख्न सक्छन्। हाल देखिन लागेको बलयाकार सूर्य ग्रहण कस्तो हो त ? उदाहरणका लागि, हामीले कुनै एउटा सिक्कालाई लिएर आँखाअगाडि नजिकै राखेर सूर्यतिर हे-यौँ भने त्यस सिक्काले सूर्यलाई पूरै छेक्छ। तर सिक्का अलि पर लग्यौँ भने वा थोरै दायाँ बायाँ सा-यौँ भने सूर्यको पूरै भाग नछेकिएर केही खण्ड मात्र छेकिन्छ। यी क्रमशः खग्रासर खण्डग्रास सूर्य ग्रहण जस्तै हुन्।  

ग्रहण नलागेको समयमा झैँ ग्रहण लागेको समयमा पनि बाहिर निस्कने, घुम्ने, खाने, पिउने वा अन्य कार्य गर्न सकिन्छ।

त्यही सिक्कालाई सिधाराखेर बिस्तारै आँखाबाट पर लग्यौँ भने कुनै एक स्थानमा यस्तो अवस्था आउँछ सिक्काको वरिपरि घेराबाट अलिअलि प्रकाश छिर्छ र बलय वारिङ आकारको प्रकाशको घेरा देखिन्छ। यसलाई ‘रिङ अफ द फायर’ अर्थात् आगोको वृत्ताकार घेरा भनिन्छ। यो नै बलयाकार सूर्य ग्रहण हो। यसो हुनका लागि सूर्य, चन्द्रमा र पृथ्वीमा परेको चन्द्रमाको वृत्ताकार छायाँ यी तीनैको केन्द्रविन्दु ठीक एउटै सरल रेखामा परेको हुनुपर्छ। त्यस बेलामा त्यो रेखाको दिसामा हेर्ने व्यक्तिले बलयाकार सूर्य ग्रहण देख्छ। अहिले चन्द्रमा पृथ्वीबाट बढी टाढा भएकाले यस्तो ग्रहण देखिन लागेको हो। तर पृथ्वी र चन्द्रमा दुवै तीव्र गतिमा कुदिरहेका हुनाले यो अवस्था धेरै बेर एकै ठाउँमा रहन पाउँदैन। एक सेकेन्डभन्दा पनि कम अवधिका लागि मात्र। कतिपय समयमा एउटै सूर्य ग्रहण पृथ्वीको कुनै ठाउँको मानिसले बलयाकार देख्छन् भने अर्को ठाउँको मानिसले खग्रास सूर्य ग्रहण। यस्तो ग्रहणलाई मिश्रित सूर्य ग्रहण भनिन्छ। यस्तो ग्रहण चारथरी मध्ये सबैभन्दा विरल हुन्छ।

हरेक महिनामा सूर्य ग्रहण किन देखिँदैन ?

पृथ्वीको वरिपरि घुम्ने क्रममा महिनामा एकपटक चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ भने हरेक महिनामा सूर्य ग्रहण किन लाग्दैन त ? पृथ्वीले सूर्यको वरिपरि घुम्ने कक्ष र चन्द्रमाले पृथ्वीको वरिपरि परिक्रमा गर्ने कक्ष एउटै समतलमा छैनन् अर्थात् तिनीहरू एकअर्कामा ढल्केका छन्। त्यसैले चन्द्रमा बीचमा पर्न आए पनि यी तीनवटा पिण्ड ठीक एउटै सिधारेखामा पर्दैनन्, अलिकति तल–माथि वा दायाँ/बायाँ पर्छन् जसले गर्दा छायाँ पृथ्वीमा पर्दैन। फलस्वरूप ग्रहण लाग्दैन।  

अर्को कुरा चन्द्रमाले पृथ्वीको वरिपरि घुम्न लाग्ने समयावधि (चन्द्रमास), चन्द्रमा पृथ्वी सबैभन्दा नजिक आउने समयावधि तथा दुइटा कक्षको मिलन विन्दुमा पुनः पुग्न लाग्ने समयावधि फरक फरक भएकाले यी तीनैवटा संयोगले एउटै समयमा परेर ठ्याक्कै एउटै खालको सूर्य ग्रहण वा चन्द्र ग्रहण फेरि दोहोरिन १८ वर्ष ११ दिन ८ घण्टा लाग्छ। यसलाई सरोस चक्र भनिन्छ। ग्रहणका यस्ता धेरैवटा चक्र अहिले चलिरहेका छन्। हाल हामीले देख्न लागेको सूर्य ग्रहण सरोस चक्र १३७ हो। यो चक्र सन् १३८९ मा सुरु भएको र सन् २६३३ जुन २८ मा अन्त्य हुन्छ। यस चक्रमा ७० वटा ग्रहण पर्छन्।  

सूर्य ग्रहण कसरी हेर्ने ?

सामान्य अवस्थामा जस्तै सूर्य ग्रहण लागेको समयमा पनि सूर्यमा आँखाले लगातार सिधा हेर्नुहुँदैन। त्यसो गरेमा अधिक मात्रामा विकिरण छिरेर आँखाभित्रको लेन्स तथा रेटिनाका कोशिकाहरू बिगार्ने वा नष्ट हुने हुन्छ र मानिस अन्धो नै हुन पनि सक्छ। ग्रहणको समयमा छायाँको ठ्याक्कै बीचमा मात्र आँखा पारेर अन्यत्र प्रकाश भएको ठाउँमा आँखा जाँदैन भन्ने सुनिश्चित गर्न सकिन्छ भने त हेर्न सकिन्छ तर ग्रहण यति छिटो सरिसक्छ कि हाम्रो आँखामा अत्यधिक चहकिलो प्रकाश वा नदेखिने विकिरण परेको हामीले पत्तै पाउँदैनौँ र आँखा बिग्रने ठूलो सम्भावना हुन्छ। त्यसैले जीवनभर अन्धो हुनुभन्दा सिधा नहेरेको बेस्।  

ग्रहणका लागि भनेर नै बनाइएका विशेष प्रकारका सिसा, चस्मा वा फिल्टरबाट मात्र हेर्नुपर्छ। फिल्टर नराखी क्यामरा, दुरवीन वा सामान्य घाममा लगाउने चस्माबाट हेर्नुहुँदैन। यसमा पनि ध्यान दिनुपर्ने कुरा के छ भने फिल्टर यी सबैको अगाडिपट्टि अर्थात् सूर्यपट्टिराख्नुपर्छ, आँखापट्टि होइन। यी कुरा छैनन् भने इलेक्ट्रोनिक प्रोजेक्टर वा पिनहोल प्रोजेक्टरको माध्यमबाट ग्रहणको दृष्यलाई पर्दामा वा भित्तामा उतारेर हेर्न सकिन्छ। आजकल धेरै व्यक्ति वा संस्थाले इन्टरनेटका माध्यमबाट प्रत्यक्ष वारेकर्डेड प्रसारण गरिरहेका हुन्छन्, त्यसको अनलाइन हेरेर मजा पनि लिन सकिन्छ। ग्रहण नलागेको समयमा झैँ ग्रहण लागेको समयमा पनि बाहिर निस्कने, घुम्ने, खाने पिउने वा अन्य कार्य गर्न सकिन्छ। ग्रहणको समयमा विशेष प्रकारको वा अतिरिक्त विकिरणहरू निस्केर मानिसलाई नोक्सान पुगेको वैज्ञानिक आधार भेटिएका छैनन्।  

ग्रहणको वैज्ञानिक महत्व

सूर्य ग्रहण वैज्ञानिक अनुसन्धानका लागि निकै महत्वपूर्ण अवसर हो। आइन्सटाइनको सापेक्षवादको सिद्धान्तको एउटा पुष्टि सूर्य ग्रहणको समयमा वैज्ञानिक एडिङ्टनले गरेका थिए। प्रकाशको किरण कुनै ठूलो पिण्ड नजिकैबाट गयो भने त्यसको गुरुत्वाकर्षणले प्रकाशको किरण पनि बाङ्गिन्छर त्यसको कारणले सूर्य पछाडिरहेको वस्तु पनि देखिन्छ भन्ने कुरा प्रमाणित गर्न सूर्यको प्रकाशले सम्भव थिएन। तर ग्रहण लागेर अँध्यारो भएको बेलामा त्यही कुरा सजिलै देख्नर फोटो खिच्न सकियो। पृथ्वी गोलो छ भन्ने पुष्टि गर्ने महत्वपूर्ण आधारमध्ये ग्रहण पनि एउटा थियो।  

हेलियम भन्ने तत्व पृथ्वीमा भन्दा २० वर्षअघि सूर्यमा पत्ता लागेको थियो, सूर्य ग्रहणको समयमा। सूर्य ग्रहण सूर्यको कोरोनाभित्रका कुराको अध्ययन गर्ने अत्यन्त महत्वपूर्ण अवसर हो। कोरोना भन्नेबित्तिकै हाल संसारलाई त्रसित बनाइरहेको कोभिड–१९ भाइरस मात्र दिमाग वरिपरि घुम्छ होला। तर यहाँ कुरा गरेको सौर्य कोरोना सूर्यको वरिपरि दन्किरहेको तापर प्रकाशको ज्वालाको घेरा हो। यो ज्यादै चम्किलो हुनाले सामान्य अवस्थामा यसभित्रका चिजहरूको अध्ययन गर्न बाधा पुग्छ। तर ग्रहण लागेको बेलामा मधुरो हुने हुनाले सजिलै गर्न सकिन्छ।  

विशेषगरी सूर्यमारहेको तीव्र चुम्बकीय तरंगका कारणले बनेको कालो धब्बार त्यसबाट बाहिर निस्कन सक्ने चार्जयुक्त कणहरूको मुस्लोको अध्ययन अति नै महत्वपूर्ण छ किनकि हरेक ११ वर्षमा उच्चतम मात्रामा निस्कने यस्ता चार्जका मुस्लो पृथ्वीको वरिपरिरहेको चुम्बकीय तरङ्गहरूको तहसम्म आइपुग्यो भने त्यसले नकारात्मक असर गरी हाम्रोरेडियो प्रसारण, दूरसञ्चार प्रणाली, भूउपग्रह तथा अन्य विद्युतीय संरचनालाई नै ध्वस्त पारिदिन सक्छ। सूर्य ग्रहणको समय छोपेर यस्ता जारीर भविष्यमा गरिने वैज्ञानिक अनुसन्धानले हामीलाई थुप्रै नयाँ वैज्ञानिक तथ्यर जानकारी उजागर गर्न मद्दत गर्छ।  

प्राचीन समयमा समाजले आकाशीय पिण्डहरूको नियमित गतिसँग धार्मिकर आध्यात्मिक महत्वलाई जोड्दै आयो। ग्रहण जस्ता खगोलीय घटनाहरू हुँदा ईश्वरको श्राप वा कार्वाही होर यसले ठूलो विपद् निम्त्याउँछ भन्ने कुरा बुझेर बुझाइयो। जब विज्ञानलाई धर्मबाट अलगराखेर प्राकृतिक घटनाहरूलाई हेर्न, बुझ्नर अध्ययन गर्न थालियो तब थाहा भयो प्रकृति त आफ्नै निश्चित नियमबाट चल्दोरहेछ। यिनै प्रकृतिका नियम बुझ्नेर अध्ययन गर्ने विज्ञानको विधाका रूपमा भौतिक विज्ञान, खगोल विज्ञान, ब्रह्माण्ड विज्ञानलगायत विभिन्न विज्ञानका क्षेत्र विकसित भए। यिनै विज्ञानर तिनको आधारमा विकसित प्रविधिको माध्यमले आज हामी मानव जातिलाई अन्धविश्वासमारहेर सूर्य ग्रहण जस्ता प्राकृतिक घटनाहरूबाट त्रसित हुनुपर्ने अवस्था नभई तिनलाईराम्रोसँग बुझेर आफ्नो हितमा प्रयोग गर्न सक्ने भएका छौँ। भ्रममा होइन यथार्थमा बाँचौँर हाम्रो क्षमतार उपलब्धिलाई मानव कल्याणमा सदुपयोग गरौँ।  

भौतिकशास्त्र (भौतिक खगोल विज्ञान) मा विद्यावारिधि

प्रकाशित: ७ असार २०७७ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App