२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मानिसको जात के हो ?

करिब ६० लाख वर्षअघि एउटा बाँदर्नीका दुइटी छोरी भए। कालान्तरमा तीमध्ये एउटीबाट जन्मेका सन्तान हामी विकसित मानव भयौं भने अर्कीबाट जन्मेका सन्तान आज पनि बाँदर नै छन्। दुई लाखदेखि १० हजार वर्ष पहिलासम्म पनि होमो–सेपियन्स, होमो–नियान्डरथल, होमो–इरेक्ट्स, होमो–फ्लोरोसियान्सेस, होमो–ह्याबिलिसलगायत कैयौं मानव प्रजाति एकसाथ अस्तित्वमा थिए। यीमध्ये अरू सबै प्रजाति लोप भएर आज केवल होमो–सेपियन्स मात्र अस्तित्वमा छन्। अरू प्रजाति किन लोप भए भन्नेबारे वैज्ञानिक एकमत छैनन्। प्रकृतिको छनोटको सिद्धान्तअनुसार अरू सबै मानव प्रजाति लोप भएको एकथरीको मत छ भने होमो–सेपियन्ससँगको हिंसात्मक लडाइँमा अरू सबै मानव प्रजाति मारिएको अर्कोथरीको दलील छ। आजका मितिसम्म पनि मानव जातिको असहिष्णु र हिंसात्मक प्रवृत्ति देख्दा पछिल्लो मत तर्कसंगत देखिन्छ। यसरी हेर्दा आवास र भोजनको दौडका दौरान भएका संग्राममा होमो–सेपियन्सले अरू सबै मानव प्रजातिलाई सफाया गरेको देखिन्छ। र, ऊ १० हजार वर्षदेखि यो धर्तीको एक्लो मालिक बनिरहेको छ।

तर यत्तिले मात्र नपुगेर कृषि क्रान्तिपछिको १० हजार वर्षमा मानिसले आफ्नै प्रजातिभित्र कैयौं जात विभाजन गरेको छ। वर्णका आधारमा समाजलाई टुक्र्याएको छ। र, विभाजनका अरू कैयौं निहुँमा भएका युद्धमा करोडौं करोड निहत्था मानिसले ज्यान गुमाएका छन्। अमेरिकामा वर्णका आधारमा अफ्रिकन मूलका मानिसविरुद्ध भएका अन्याय, जर्मनीमा यहुदीविरुद्ध भएका हिंसाजस्तै नेपाल र भारतजस्ता हिन्दू आधिपत्य समाजमा जातिपातिका आधारमा गरिने चरम उत्पीडन र हिंसा नौला विषय होइनन्।  पश्चिम रुकुममा कथित उच्च जातीय अहंकारले गराएको घटना यसैको पछिल्लो कडी मात्रै हो।

हिन्दू समाजमा जातीय व्यवस्था किन गरियो भन्ने प्रश्नको एकिन जवाफ छैन। तर इन्डियन उपमहाद्वीमा इसापूर्व १००० तिर इन्डो आर्यनको घुसपैठपश्चात् बहुसंख्यक स्थानीयमाथि प्रभुत्व कायम गर्न तिनले चलाखीपूर्वक जातीय परिपाटी स्थापित गरेको देखिन्छ। थोरै संख्या भएका कारण तिनलाई आफ्नो अस्तित्व गुम्ने भय थियो। त्यही भयले आफैंले आफूलाई समाजको सर्वश्रेष्ठ जाति, ब्राह्मण र क्षत्री घोषित गरे र बहुसंख्यक स्थानीयलाई वैश्य र शूद्र बनाइदिए। सुरुमा हरेक जातिले गर्ने काम (पेसा) वर्गीकरण गरेर वैधानिक जामा पहि-याइयो। बिस्तारै जातीय व्यवस्थालाई धार्मिक, सांस्कृतिक र चालचलनको अभिन्न अंगका रूपमा विकास गराइयो।  जातीय शुद्धता कायम गर्न भन्दै अन्तरजातीय विवाह,  सामाजिक अन्तरसम्बन्ध र अझै त्यसभन्दा आगडि बढेर  शूद्रले छोएको पानीसमेत नचल्ने गरी प्रतिबन्ध लगाइयो। यसरी सुरु भएको जातीय व्यवस्थामा केही कुलीन वर्गले त सयौं वर्षदेखि एकछत्र मोज गरे, तर समग्र दक्षिण एसियाली समाज अविकास, गरिबी र सामाजिक असुरक्षाको भुमरीमा जेलियो।

रुकुममा भएको घटना यस प्रकृतिको एकल घटना बिलकुल होइन। देशैभरिका दलित जातीय व्यवस्थाले थोपरेको उत्पीडनको सिकार हुन अभिशप्त छन्।

गीताको चौथो अध्याय, तेह्रौं श्लोकमा गुण र कर्मका आधारमा ४ जात विभाजन गरिएको बताइएको छ। जसमा सात्विक गुण भएका व्यक्ति ब्राह्मण, राजसी गुण भएका क्षत्री, राजसी र तामसिक चरित्रका मानिस वैश्य र तामसी गुण भएका शूद्र हुने उल्लेख छ। तर यसैलाई आधार बनाएर तत्कालीन शासक र कुलीनले गुणका आधारमा होइन, जन्मका आधारमा जात निर्धारण हुने (कु)तर्क घुसाइदिए।  यसअनुरूप ब्राह्मण कुलमा जन्मिए जस्तोसुकै मन्द बुद्धिको भए पनि ज्ञानी कहलिने भो। क्षत्रीको कुलमा जन्मिए जति काँतर भए पनि राजा वा शासक हुने भयो भने जतिसुकै मेधावी किन नहोस्, शूद्र कुलमा जन्मिने मानिस निम्नकोटिकै ठहरिने भयो।

यसरी ३ हजार वर्षअघि सुरु भएको जातीय व्यवस्था पुस्तान्तरण हुँदै आजसम्म आइपुगेको हो। रुकुममा भएको घटना यस प्रकृतिको एकल घटना बिलकुल होइन। देशैभरिका दलित जातीय व्यवस्थाले थोपरेको उत्पीडनको सिकार हुन अभिशप्त छन्। यस्ता घटना हिन्दूबाहुल्य भारतीय समाजमा पनि भइरहन्छन्। त्यसैले जातपातविरुद्धको लडाइँ भारत र नेपालजस्ता हिन्दू समाजकै साझा लडाइँ हो।

सन् २००६ सेप्टेम्बर २९ मा भारतको महाराष्ट्रमा सुरेखा भोटाग्ने र  उनका ३ छोराछोरीसहित ४ जनाको सामूहिक हत्या रुकुमकाण्डजस्तै जातीय अहंकारकै कारण भएको थियो। रुकुमका कथित उच्च जातिकाहरूले झैं सिंगो गाउँ नै मिलेर आफ्नो राजनीतिक वर्चस्वसमेतको दुरुपयोग गरी सुरेखा र उनकी १७ वर्षीया छोरीको सामूहिक बलात्कारपछि उनका २ छोरासमेत गरी चारै जनाको हत्या गरे। सुरेखाको कसुर भनेकै शूद्र हुनु थियो। आफू पठित भएकाले उनले छोराछोरीलाई पनि राम्रो शिक्षा दिएकी थिइन्। कथित कुलीनको थिचोमिचो उनलाई सह्य थिएन।

नवराज विकलगायत उनका साथीको सामूहिक हत्यापछि जसरी नितान्त दुलही लिन पुगेका केटाको समूहलाई अपहरणकारीझैं चित्रण गर्ने प्रयत्न गरिँदै छ, सुरेखाको हकमा पनि त्यही गरिएको थियो। सुरुमा उनको हुँदै नभएको आफन्तसँगको अनैतिक सम्बन्धका कारण घटना भएको जिकिर गरियो। यस्तो जघन्य अपराधमा समेत मिडिया, मानव अधिकारवादी र राजनीतिक दल कसैले पनि सही अर्थमा पीडितको न्यायका लागि केही गरेनन्। बरु ढाकछोप गर्ने प्रयत्न गरे। पछि दलित संगठनको अनवरत संघर्षपश्चात् दोषीले सजाय पाए। यही कुरो रुकुम घटनामा पनि दोहोरिनेवाला छ। दलित अभियन्ताको दरिलो खबरदारी नहुने हो भने पीडितलाई न्याय होइन, झनै अन्याय हुने निश्चित छ। होइन भने सामूहिक हत्याजस्तो जघन्य अपराधमा आयोगको नाटक किन ? प्रमाणसहितको अपराधको कानुनबमोजिम कारबाही गरे भइगो।

आजसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानले दलितभन्दा गैरदलित बढी बौद्धिक भएको कुनै तथ्य फेला पारेका छैनन्। तर पनि सरकारी सेवा होस् वा राजनीति, सबैतिर गैरदलितको एकल वर्चस्व किन ? संविधानअनुरूप प्रतिनिधिसभामा दलितको उपस्थिति १३.८ प्रतिशत हुनुपर्ने हो। तर प्रत्यक्ष निर्वाचिततर्फ ३ र समानुपातिकतर्फ १६ गरी जम्मा १९ दलित मात्र सभासद छन्। प्रदेशसभाका कूल ५ सय ५० सिटमध्ये ३३ स्थानमा मात्र दलित निर्वाचित छन्। तर प्रदेशसभामा ७६ दलित निर्वाचित हुनुपर्ने हो।

प्राणी जगत्सँग मानिसले गरेको खेलबाडकै कारण कोरोना महामारीको लप्काले सारा विश्वलाई नै लपेटेको दृश्य देख्दादेख्दै जाति र वर्णको विभेद कहिलेसम्म गरिरहने ?

हामीले समाज परिवर्तन हेतु जतिसुकै राम्रा व्यवस्था ल्याए पनि दलितविरुद्ध हुने हिंसा हिन्दू समाजको कालो धब्बा भएर  बसेको छ। जुन कुसंस्कार दलित समुदायका लागि त अभिशाप हुँदै हो, हाम्रो समग्र समाजको उन्नयनका लागि समेत ठूलो बाधक हो। लामो समयको अभ्यासले सबै मानिस क्षणभरमा परिवर्तन हुन सम्भव नहोला, तर राज्यले दलितविरुद्ध हुने अपराधका मुद्दामा मुकदर्शक भएर हेर्ने वा कतिपय सन्दर्भमा त पीडककै पक्षधरजस्तो देखिनु निश्चय नै निन्दनीय कुरो हो।

हालै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सबैको थर विश्वकर्मा राखौं भन्नेजस्तो हास्यास्पद तर्क पेस गरेका थिए। थर परिवर्तन गर्दैमा समाज रूपान्तरण हुने भए १० वर्षे जनयुद्ध किन गर्नुपथ्र्याे ? प्रजातन्त्र र गणतन्त्रका लागि यतिका मानिसले किन सहादत दिनुपथ्र्याे ? हामी साँच्चै गम्भीर भएर सामाजिक न्यायसहितको समाज चाहन्छौं भने थर होइन, हाम्रा पूर्वाग्रही मन फेर्नुपर्छ। त्यसका निम्ति राज्यले पनि यस्ता अपराधमा शून्य सहनशीलता प्रदर्शन गर्न सक्नुपर्छ। हरेक सेकेन्ड आइफोनमा सूचना खोज्ने आजको पुस्ताले यस आलेखको सुरुमा उल्लेख गरिझैं मानिसको वास्तविक जात के हो जानेकै छन्।

होइन भने मानिसकै कैयौं प्रजाति तथा अरू कैयौं जीवजन्तु र वनस्पति लोपीकरणको कारक बनेको होमो–सेपियन्स अब आफैंभित्र जाति र वर्ण निर्माण गरेर केही कुलीनको एकल भूस्वर्ग बनाउन चाहन्छ ? प्राणी जगत्सँग मानिसले गरेको खेलबाडकै कारण कोरोना महामारीको लप्काले सारा विश्वलाई नै लपेटेको दृश्य देख्दादेख्दै जाति र वर्णको विभेद कहिलेसम्म गरिरहने ?
(लेखक अमेरिका टेनेसीस्थित नासभिल स्टेट कलेजमा प्राध्यापनरत छन्।)

प्रकाशित: २८ जेष्ठ २०७७ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App