८ वैशाख २०८१ शनिबार
विचार

हवाई उडानमा कोभिड–१९ प्रभाव

हवाई उडान र यात्रामा आएको कमीका कारण सिंगापुरको चांगी विमानस्थलको टर्मिनल नं.४ अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरिएको छ। यसैगरी टर्मिनल नं. २ मे महिनाको १ गते देखि १८ महिनाका लागि बन्द गरिएको जानकारी दिइएको थियो। चांगी विमानस्थल समूहले उपलब्ध गराएको तथ्यांकअनुसार सो विमानस्थलमा अप्रिल २०२० मा २५,२०० यात्रु र ३८७० व्यावसायिक उडान सञ्चालन भएका थिए जुन गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ९९.५ प्रतिशत र ८७.७ प्रतिशतको कमी हो। बेलायतको प्रसिद्ध जहाजको इन्जिन निर्माता कम्पनी रोयल रोयर्सले आफ्ना ५२,५०० कर्मचारीमध्ये ९,००० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।

हङकङको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेज लिमिटेड र यसको क्याथे ड्रागनले यो वर्षको अप्रिल महिनामा १३,७२९ जना यात्रु ओसारपसार गरेका छन्। यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९९.६ प्रतिशतले कमी हो र मे महिनामा पनि यात्रुको संख्या त्योभन्दा नबढ्ने प्रक्षेपण गरिएको छ।

कोलम्बियाको बोगोडा बेस भएको एसियान्का एयरलाइन्सलगायत ३९ वटा कम्पनी जसमध्ये एसियान्का इक्वेडर, एसियान्का कोस्टारिका, टाम्पा कार्गाे र टाका अन्तर्राष्ट्रिय एयरलाइन्सले अमिरिकी अदालतमा च्याप्टर ११  व्यांकट्रसी सुरक्षा दर्ता गरेका छन् जसको उद्देश्य कम्पनीको पुनगर्ठन हो। माथि उल्लेख गरिएका केही घटना अहिले विश्वमा नागरिक उडड्यन क्षेत्रमा कोराना भाइरसको महामारीका कारण परेको प्रभावमा केही प्रतिनिधिमूलक घटनामात्र हुन्।

कोरोना भाइरस महामारीका कारण विश्व गत चार महिनादेखि ठप्पप्रायः छ। यस महामारीले मानव जीवनका हरेक पक्षमा प्रभाव पारिरहेको छ। सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था र बन्दाबन्दीका कारण सामाजिक र आर्थिक क्रियाकलाप नगन्य मात्रामा चलिरहेको अवस्थामा यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा देखिन थालेको छ र यसको दूरगामी प्रभाव के हुने भनेर आकलन गर्न सक्ने अवस्थासमेत विद्यमान छैन। आर्थिक क्रियाकलापमा आएको शून्यताले फरक फरक क्षेत्रमा यसको असरको गहनतामा भने भिन्नता छ।

गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना महामारी २–३ महिनामा संसारको सम्पूर्ण अन्तर्राष्ट्रिय सिमाना नाघिसकेको थियो भने राष्ट्रिय सीमा क्षेत्रभित्र पार्न यसको प्रभाव ज्यामितीयरूपमा वृद्धि भइरहेको छ। यसरी छोटो अवधिमा यो तरिकाले महामारी फैलनुका प्रमुख कारक तत्व यातायातमा सहज पहंँुच, सुविधा र विस्तार नै हो। छोटो अवधिमा कोभिड–१९ ले महामारीको रूप लिन अन्तर्राष्ट्रिय हवाई  यातायातको विस्तार र विकास संसारका सबै राष्ट्रमा हुनु हो भने यो सेवाको द्रुतता, सुगमता, सुविधायुक्त र सुरक्षित भएकाले लामो दूरीमा मात्र नभएर छोटो दूरीमा समेत यातायातको महत्वपूर्ण र प्रमुख साधनका रूपमा विस्तार भएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।  

सन् २०१८ मा नियमित हवाई उडानबाट ४ अरब ३० करोड मानिसले यात्रा गरेका थिए भने सन् १९७० देखि प्रत्येक १५ वर्षमा हवाई यात्रुको संख्या दोब्बर हँुदै आएको पाइन्छ। निरन्तररूपमा बढेको हवाई यात्रुको मागलाई व्यवस्थापन गर्न सदस्य राष्ट्रहरूले हवाई पूर्वाधार, मानव संसाधन, उपकरण र प्रविधिमा ठूलो लगानी गरेका छन्। यसभन्दा अगाडिका महामारी, जस्तो– सार्स, एभियन फ्लु, इबोला आदिको प्रभाव सीमित क्षेत्रमा भएकाले हवाई यातायात वृद्धिमा यसले धेरै नकारात्मक प्रभाव पारेन तर कोभिड–१९ को असरले यो क्षेत्रलाई लामो समयसम्म प्रभाव पार्नेछ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ। विश्वभरमा आर्थिक मन्दी आउन सक्ने आकलन गरिएको स्थितिमा सन् २०२० को जुलाइपश्चात यात्रा प्रतिबन्ध खुकुलो भएमा सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई यात्राबाट प्राप्त हुने आयमा अमेरिकी डलर २५२ अर्ब बराबरको कमी आउने प्रक्षेपण गरिएको छ। यद्यपि अप्रिलको स्थिति आकलन गर्दा हवाई यातायात सञ्चालनमा ८० प्रतिशतले कमी आएको छ। संयुक्त राज्य अमेरिका र एसियाका केही देशमा आन्तरिक उडान, उद्घार तथा कार्गाे उडानबाहेक हवाई यातायात उद्योग लगभग भूमिस्थ अवस्थामा छ।

बन्दाबन्दी खुकुलो भएको केही समयसम्म काममा फर्कने चापका कारण केही मात्रामा माग सिर्जना भए तापनि यात्रुको सतर्कताका कारण माग आपूर्तिको तुलनामा उल्लेख्यरूपमा कमी रहनेछ। अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको प्रक्षेपणअनुसार कोभिड–१९ निरूपण भएको अवस्थामा अर्काे ५ महिनासम्म हालका यात्रुको ४० प्रतिशतको संख्या ‘पर्ख र हेरका अवस्थामा रहनेछन्। सोही संगठनले गरेको अध्ययनअनुसार भौतिक दूरी कायम राख्नुपर्ने बाध्यताका कारण बन्दाबन्दी खुकुलो भएपश्चात सञ्चालनमा आउने वायुयानको अत्यधिक भार क्षमता एवं उपलब्ध सिट क्षमतामा कमी आउनेछ।  

भौतिक दूरी कायम राख्नुपर्ने बाध्यताले न्यारो बोडीका वायुयान, जस्तो– ए ३२० ले कुल क्षमताको ६७ प्रतिशत यात्रुमात्र ओसार्न सक्नेछ जसका कारण प्रतिसिट मूल्यमा लगभग ५० प्रतिशतले वृद्घि हुन जाने देखिन्छ। त्यस्तै वाइड बोडी जहाजमा ६० प्रतिशत र क्षेत्रीय स्तरका जेड र टर्वाेप्रप वायुयानको सिट क्षमतामा ५० प्रतिशतले कमी आउनेछ। परिणामस्वरूप वाइड बोडी वायुयान र क्षेत्रीय जेट र टर्वाेप्रप जहाजको प्रति सिट मूल्यमा क्रमशः ६७ प्रतिशत र १०१ प्रतिशतले वृद्घि हुन जाने देखिन्छ। यसको परिणामस्वरूप समग्रमा वायुयानको क्षमता ६२ प्रतिशतमा झर्न सक्ने देखिन्छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले गरेको १२२ वटा वायुयान कम्पनीको अध्ययनमा ४ वटा वायुयान कम्पनीमात्र ६२ प्रतिशतको क्षमतामा ‘न नाफा न नोक्सान’ को  स्थितिमा छन् जबकि अन्य ११८ वटा वायुयान कम्पनीहरू अहिलेको मूल्य नीतिका आधारमा सो क्षमतामा सबै घाटामा जानेछन्। वायुयानको सिट क्षमता र वायुसेवा कम्पनीहरूमा त्यसको उपयोगलाई आधार मान्ने हो भने औसतमा उपयोगको प्रतिशत ८५ भन्दा बढी हुने देखिँदैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको निर्धारित क्षेत्रहरूको औसत सिट उपयोग मूल्यांकन गर्दा वायुयान कम्पनीहरू न नाफा न नोक्सानको अवस्था हुन एसिया प्यासिफिक क्षेत्रमा ८० प्रतिशत, युरोप र ल्याटिन अमेरिकामा ७९ प्रतिशत, उत्तर अमेरिकामा ७५ प्रतिशत र अफ्रिका र मध्यपूर्वमा ७६ प्रतिशत रहेको पाइन्छ। यो अवस्थामा प्रतिसिटको मूल्यमा वृद्घि भएन भने सबै वायुसेवा कम्पनी शतप्रतिशत सिट प्रयोग भएमा समेत घाटामा जाने देखिन्छ। वायुसेवा कम्पनीहरू बजारमा रहिरहन अहिलेको मूल्यमा ४३ देखि ५४ प्रतिशत वृद्घि भएमा र शतप्रतिशत सिट उपयोग भएको अवस्थामा न नाफा न नोक्सानको अवस्थामा आउन सक्ने देखिन्छ जसबाट निकट भविष्यमा उद्योगको पुनर्जीवन अत्यन्त जटिल रहेको देखिन्छ।

यसै सन्दर्भमा हालसम्म स्थिति आकलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले यो वर्ष अघिल्लो वर्षको तुलनामा १ अर्ब ८८ करोडदेखि ३ अर्ब २३ करोडसम्म यात्रुमा कमी आउने बताएको छ भने वायुसेवा कम्पनीले करिब अमेरिकी डलर २४४ देखि ४२० अरबसम्म आय गुमाउने संभावना देखाएको छ। कोभिड–१९ को निराकरण छिटो हुन नसकेमा २०१९ को अवस्थामा आउन हवाई यातायात उद्योगलाई कम्तीमा पनि ५ वर्ष लाग्नेछ। यद्यपि यसको असर महामारीको समय र यसको प्रभाव, निराकरणका उपाय, उपभोक्तामा आत्मविश्वासको अवस्था र आर्थिक स्थितिले समेत निर्धारण गर्नेछ।

सन् २०१९ को तुलनामा २०२० मा एसिया प्यासिफिक क्षेत्रमा ६६ करोडदेखि १ अरब २० करोडसम्म यात्रु कमी आउने देखिन्छ। त्यसैगरी युरोपमा ५३ करोडदेखि १ अरबसम्म, उत्तर अमेरिकामा ३५ करोडदेखि ६ करोडसम्म, ल्याटिन अमेरिका एवं क्यारबियनमा १४ करोडदेखि २५ करोड, अफ्रिकामा ५ करोडदेखि ९ करोड र मध्यपूर्वमा ७ करोडदेखि १५ करोडसम्म हवाई यात्रुमा कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले गरेको छ। संख्याका हिसावले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रु संख्याका दृष्टिले सबभन्दा प्रभावित क्षेत्र एसिया प्यासिफिक भए तापनि प्रतिशतका आधारमा यसको सबभन्दा बढी प्रभाव युरोपमा रहनेछ।

लामो समयसम्म यस क्षेत्रमा संलग्न जनशक्त्ति काममा जान नपाउँदा उनीहरूले प्राप्त गरेका लाइसेन्स तथा रेटिङको म्याद सकिँदा पुनः नवीकरण गर्न लाग्ने लामो प्रक्रिया र ठूलो संख्यामा उडान सञ्चालनले गति लिए तापनि दक्ष र आधिकारिक जनशक्त्तिको कमी हुन सक्ने संभावना देखिन्छ। यस्तो स्थितिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सदस्य राष्ट्रहरूका लागि छुट्टाछुट्टै निर्देशिका जारी गर्न जरुरी छ र यो स्थितिमा सदस्य राष्ट्रहरूमा फरक फरक भूमिकाका आधारमा सुरक्षाका उपाय अपनाएर यस्तो लाइसेन्स तथा रेटिङ प्रयोग गर्न पाउने प्रक्रिया अपनाउन जरुरी देखिन्छ। यहाँसम्म कि उडान सञ्चालन भइसकेपछि गन्तव्य राष्ट्रमा महामारीका कारण सुरक्षित होटल प्राप्त हुन नसक्ने अवस्थासमेत सिर्जना हुने भएकाले पाइलटको उडान घन्टा सीमिततामा समेत छुट दिनुपर्ने हुन सक्छ।

हवाई यातायातलाई पुनः पहिलेको अवस्थामा आउन सदस्य राष्ट्रहरूले अपनाउने स्वास्थ्यसम्बन्धी मापदण्डले महत्वपूर्ण भूमिका खेल्नेछ। आन्तरिकभन्दा अन्तर्राष्ट्रिय हवाई यातायातलाई पुनर्जीवन प्राप्त गर्न लामो समय लाग्नेछ। कुल हवाई यातायातको हिस्सामा ५८ प्रतिशत आन्तरिक र ४२ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यातायातको हिस्सा छ तर आयआर्जनको तथ्यांक नियाल्ने हो भने ६७ प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय हवाई यातायातको भागमा छ। लामो समयसम्म जहाज भूमिस्थ हुँदा हवाई यातायात सञ्चालनपश्चात हुने उडान वृद्घिका कारण अधिकांश पाइलटको लाइसेन्स र रेटिङ नवीकरणका लागि आवश्यक उडान सिमुलेटरको माग र त्यसमा लाग्ने खर्च, जहाजको सामयिक मर्मत÷संभारमा लाग्ने खर्च, सामाजिक दूरीका कारण आउने क्षमताको कमीले प्रतिसिट मूल्यमा हुने वृद्घिले हवाई यातायात बढी खर्चिलो हुने देखिन्छ। यद्यपि सुरुवाती दिनमा मागको तुलनामा आपूर्ति क्षमतामा अधिकता, हवाई इन्धनको मूल्यमा कमीका कारण छोटो समयका लागि अत्यधिक प्रतिस्पर्धाका कारण मूल्यमा कमी आउन सक्ने संभावना पनि नकार्न सकिँदैन।

प्रकाशित: २३ जेष्ठ २०७७ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App