८ वैशाख २०८१ शनिबार
विचार

कोभिड–१९ मा सफाइकर्मीलाई आपराधिक उपेक्षा

कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट सुरु भएर संसारको २०९ देश र क्षेत्रमा फैलिसकेको छ। कोभिड–१९ मा डाक्टर, नर्स, सुरक्षाकर्मी, मिडियाकर्मीको साथ–साथै सफाइकर्मी आफ्नो जीवनलाई जोखिममा राखेर अग्रभागमा डटेर काम गरिरहेका छन्। एकातीर अस्पतालमा डाक्टर, नर्स र बाँकी कर्मचारीलेकोरोना बिरामीलाई उपचार गरिहेका छन् अर्कोतीर सफाइकर्मी देशभर सफाइ गरेर कोरोना फैलिनबाट रोक्दैछन्। कोरोना रोक्नका लागि स्वास्थ्यकर्मी र सफाइकर्मी हजारौँ मान्छेलाई बचाउनुका साथै देश पनि बचाउँदै छन्।

के यस्तो अवस्थामा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा सफाइकर्मीसँग पर्याप्त सुरक्षा उपकरणको व्यवस्था छ ? स्वास्थ्यकर्मीलाई थोरै भए पनि आवश्यक पिपिइ, मास्क, सेनिटाइजर, ग्लब्स, साबुन आदि उपलब्ध गराएका छन् तर सफाइकर्मी बिनाकुनै उपकरण सरसफाइ कार्यमा खटेका छन्। सफाइकर्मीको समस्या र चुनौतीको पहाड नै छ। त्यसमाथि कोभिड–१९ सन्दर्भमा समाजको शक्ति सम्बन्धलाई बारम्बार सम्झाइराख्नका लागि सामाजिक दूरीको हतियार सफाइकर्मीका लागि नयाँ विषय भएन।

स्वच्छता अभियान, जात र कोरोना

गत वर्ष (जनवरी २०१९) मा प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतले औद्योगिक नगरी वीरगन्जको घण्टाघरमा झाड लिएर सडक सफा गरेर ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’ अभियान सुरुवात गर्नुभयो। आज त्यही वीरगन्ज महानगरपालिकाको सरसफाइ महाशाखामा कार्यरत सफाइकर्मीलाई कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ। प्रदेश नं. २ को स्वच्छताको अवस्था बाँकी ६ प्रदेशभन्दा चिन्ताजनक छ। अस्वच्छताको मूल कारण के हो ? यस सम्बन्धमा प्रदेश सरकारसँग कुनै ठोस अध्ययन छ जस्तो लाग्दैन।

प्रदेश सरकार नक्कल गर्नमा सिपालु छ। ‘बेटी बचाउ बेटी पढाउ’, ‘स्वच्छ भारत’ अभियानको नक्कल गर्दै प्रदेश सरकारले पनि ‘बेटी बचाउ, बेटी पढाउ र ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’ जस्ता अभियान सुरुवात गरेको छ। तर स्वच्छता अभियान सुरु गर्नु भन्दा पहिला अस्वच्छताको मूल कारण के हो ? स्वच्छता अभियानको सुरुवात सडक सफा गरेरमात्र किन हुन्छ ? किन आजसम्म सफाइकर्मीबाहेक किन अरूले आफू बस्ने टोल–बस्ती, सार्वजनिक शौचालय, अस्पतालको शौचालय सफा गर्दैनन्?अस्वच्छताको मूल कारण अज्ञानता होइन। जाति संस्कृति हो। जाति संस्कृतिलेमान्छेको व्यवहारलाई निर्देशित गर्छ। सरसफाइको व्यवहार जाति संस्कृतिबाट निर्देशित छ। जबसम्म स्वच्छताप्रतिको आफ्नो जिम्मेवारी बुझ्दैन तबसम्म कुनै पनि अभियानले ठोसरूपमा काम गर्न सक्दैन्।

स्वच्छ मधेस अभियान सुरु हुनुभन्दा पहिलादेखि नै सामाजिक सम्भ्रान्तको अगुवाइमा गंगासागर, धनुषसागर, मनिमण्डप आदि सरसफाइ पनि हुँदै आइरहेको छ। यसका पछाडि धार्मिक कार्यक्रम जोडिएको छ। अभियानसँग गंगा आरती जोडिएको छ। एकातिर हिन्दुत्व आध्यात्मिक फासिवादी विचारधारालाई समाज जीवनसम्म फैलाउन सम्भ्रान्तको अगुवाइमा कथित सरसफाइ भइरहेका छन् भने अर्कोतिर हिन्दु (ब्राह्मण) धर्म निर्देशित जातीय–संस्कृतिका कारण मधेस अस्वच्छताको सिकार भइरहेको छ। सम्भ्रान्तको सफाइ अभियानको केन्द्रमा गंगासागर, धनुषसागर, मनिमण्डपमात्र छन्। उनीहरूको सफाइ अभियानको केन्द्रमा शौचालय, अस्पताल, सडक, मरेका जनावर, ढल आदि किन छैन् ? प्रश्न महत्वपूर्ण छ।  

अस्वच्छताका कारण

यो कुरामा कुनै शंका छैन कि प्रदेश नं. २ नेपालको अरु बाँकी प्रदेशको तुलनामा विशिष्ट अस्वच्छ प्रदेश छ। अनुसन्धानको कमीको कारण स्वच्छताको आधिकारिक तथ्याङ्क नभए पनि फोहरमैला (गन्दगी) को हिसाबले अङ्क दिन गाह«ो छैन्। स्वच्छता मुख्यरूपमा सांस्कृतिक कुरा हो। गरिबीसँग यसको प्रत्यक्ष सम्बन्ध छैन्। गरिबलाई अस्वच्छताको स्थितिमा काम गर्नुपर्छ। जसरी भूमिहीन कृषि मजदूरका रूपमा काम गर्छन्, गैरकृषि मजदूर निर्माण कार्यमा काम गर्छन्, त्यसरी नै सफाइकर्मी अस्वच्छताको वातावरणमा काम गर्नुपर्छ जुन जातीय संस्कृतिद्वारा निर्देशित व्यवहार हो।

अस्वच्छताको मुख्य कारण अरु केही नभई मधेसको जातिय संस्कृतिमा छ। उक्त संस्कृतिले कुनै विशेष जातिलाई स्वच्छ बनाइराख्नु जिम्मेवारी ठान्छ। मतलव अस्वच्छता सबैले गर्ने तर सफाइ भने केबल मेस्तर, हलखोर, डोम, भंगी, बालमिकी जातिले गर्ने। मधेसको जातीय संस्कृतिको जनक मनुवादी विचारधारा हुन् जसले सरसफाइ कार्यलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्छ।

देशभरमा डोम र मेस्तरको जनसंख्या १७,१३५ छ। प्रदेश नं. २ मा मात्रै १३,१६९ छन्। लगभग ५५ लाख जनताको स्वच्छताको जिम्मा ०.२३ प्रतिशत विशिष्ट जातलाई दिनु जातीय संस्कृतिलाई संरक्षण गर्नु हो। जसरी देशको सुरक्षाको जिम्मा क्षत्रीय जातिलाई दिँदा देश सुरक्षित महसुस गर्दैन त्यसरी नै ज्ञानको एकाधिकार ब्राह्मणमा सीमित हुँदा नेपाल विकास र समृद्धिको सम्पूर्ण मानकमा पछि प¥यो। स्वच्छताको जिम्मा कुनै निश्चित जातिमा सीमित हुँदासम्म स्वच्छ मधेश वा स्वच्छ नेपालको परिकल्पना गर्न सकिँदैन।स्वच्छ, सुरक्षित र ज्ञानी समाज त्यतिबेला सम्भव हुन्छ जतिबेला सबैको समानुपातिक प्रतिनिधित्व स्वच्छता, सुरक्षा र ज्ञानमा हुन्छ। स्वच्छताका लागि जाति–संस्कृतिको विनाश पहिलो सर्त हो।  

जातिय–संस्कृतिको प्रभाव कोभिड–१९मा

कोभिड–१९को जोखिमपूर्ण स्थितिमा सरकारको जिम्मेवारी अग्रभागमा अति–आवश्यक कार्य गरिरहेका सफाइकर्मीलाई सुरक्षाको सम्पूर्ण सुविधा उपलब्ध गराउनु हो। सुरक्षाको आवश्यक उपकरण उपलब्ध गराएर मात्र उनीहरूको हौसला बढाउन सकिन्छ। उनीहरूप्रति सच्चा धन्यवाद पुष्टि हुन्छ। ताली, थाली, शंख, सिटी र दियो जलाएर उनीहरूको मनोबल बढाउने नाटक बन्द गर्नुपर्छ। यस्ता कार्यले नागरिक तथा सरकारलाई गैरजिम्मेवार बनाउँछ। अन्धविश्वासलाई बढावा दिन्छ।  

एकातिर कोभिड–१९ विरुद्धको लडाइँमा डाक्टरलाई सफेद कोटमा भगवान (गड्स इन ह्वाइट कोट्स) भनिँदैछ भने अर्कोतिर सफाइकर्मीको योगदानलाई नजरअन्दाज गरिँदैछ। सफाइकर्मीको समस्याबारे बोलदिने कोही छैन। राजनीतिक नेता, सरकार, अधिकारकर्मी, अभियानकर्ता सबका सब सफाइकर्मीको समस्यामा गजबको मौनता देख्न सकिन्छ। जहाँको भगवान नै सफाइकर्मीलाई मन पराउँदैन, उनीहरूलाई अछूत मान्छ,त्यो अवस्थामा मनुवादी सरकार, अधिकारकर्मी, अभियानी, (अ)नागरिक समाज बोल्ने कुरै भएन।  

विभिन्न समाचार माध्यमबाट सहजै बुझ्न सकिन्छ कि सफाइकर्मी मेडिकलसम्बन्धी फोहोर, नाला, अस्पतालको शौचालय, कोरोना अस्पतालको सरसफाइ, क्वारेन्टाइनको सरसफाइ आदि बिनाकुनै सुरक्षा (मास्क, ग्लब्स, बुट र सेनिटाइजर) सफा गरिहेका छन्। काम गरेन भने घरको चुलो बल्दैन। जीविकोपार्जनको एउटा मात्र आधार नोकरी पनि खोसिने डर छँदैछ। सरकारको नीतिगत र अन्यापूर्ण शक्ति सम्बन्धका कारण सरकारले उपलब्ध गराएको राहतबाट पनि वञ्चित हुनुपरेका छन्।

सफाइकर्मीलाई (वालमिकी) सम्बोधन गर्दै एकचोटि मोहनदास गान्धीले भनेका थिए– ‘मलाई विश्वास लाग्दैन कि सफाइकर्मी आफ्नो जीविकोपार्जनका लागि मात्र सफाइ कार्य गर्छन्। उनीहरूले सफाइ कार्य गरेर सम्पूर्ण समाज र भगवानलाई खुसी प्रदान गर्छ। भगवानले वालमिकीलाई सफाइ कार्य गर्ने जिम्मा दिएको छ जसबाट उसलाई अध्यात्मिक सुख प्राप्त हुन्छ। एउटा भंगी समाजका लागि त्यो काम गर्छ जुन एउटी आमा आफ्ना बच्चाका लागि गर्छिन्।’ कति खतरनाक छ गान्धीको विचार। यो विचारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियानको माध्यमबाट आफ्नो फासिवादी हिन्दुत्व विचारधारा अगाडि बढाइरहेका छन्। कथित स्वच्छता अभियानवाट जाति–संस्कृतिलाई झन मजबुत गर्ने कामको सिको नेपाल गर्दैछ।

सफाइकर्मीसँग अनागरिकको ब्यवहार  

सफाइकर्मीलाई केवल सफाइकर्मीका रूपमा देख्नु र व्यवहार गर्नु खतरनाक मानसिकताको उपज हुन। यो दृष्टिकोण रहेसम्म सफाइकर्मीसँग मानवीय तथा नागरिकको व्यवहार हुन सक्दैन। सफाइकर्मी पनि नागरिक हुन। उसको पनि नागरिक अधिकार छ। सुरक्षित बाँच्ने हक छ। जातीय संस्कृतिको मनोविज्ञान र मानसिकताले सफाइकर्मीको दुःखलाई आमनागरिकको साझा दुःख बन्न दिएन।  

फ्रान्सिस दार्शनिक अन्टर्र रेरेनले आफ्नो चर्चित भाषणमा भनेका कुरा विचारणीय छ। साझा सुख, साझा दुःख र साझा सपनाबाट राष्ट्र निर्माण हुन्छ। यी तीन कुरामध्ये रेरेनले साझा दुःखलाई सबभन्दा बढी महत्व दिएका थिए। जसले एक–अर्काको दुःखमा एकसाथ रुन सक्दैन त्यसले राष्ट्र बनाउन सक्दैन।

हामीकहाँ एउटा समुदायको दुःख अर्को समुदायलाई महसुससम्म हुँदैन। एउटा जातको दुःख अर्को जातलाई छुँदा पनि छुँदैन। दुःख साझा छैन। सुख साझा छैन। सपना पनि साझा छैन। शायद त्यही कारण सफाइकर्मीको दुःख बाँकी सबका लागि साझा हुन सकेन। सफाइकर्मीको नागरिक अधिकारबारे (अ) नागरिक समाजले बोल्दैन। नागरिक नै नभएको देशमा नागरिक समाज हुने कुरै भएन। हामीकहाँ जातीय समाज छ। समुदायको समाज छ तर नागरिकको समाज छैन्।

कोभिड–१९ महामारीका अवस्थामा जोखिमपूर्ण काम गरिरहँदा पनि देशको (अ) नागरिक समाजको मौनता सहस्यमय देखिन्छ। स्वघोषित नागरिक समाज आफ्नो विरासत बचाउनमा लागेका छन्।

निष्कर्ष  

कोभिड–१९ महामारीले समाजको क्रमिक असमानतालाई झन मजबुत गर्दैछ। विपत्तिले समाजमा सबैलाई समान असर गर्दैन। समाजमा असमानता तथा अन्यायपूर्ण शक्ति सम्बन्धका कारण कोभिड–१९ जस्तो महामारीले सबभन्दा बढी असर समाजको बहिष्कृत समुदायमा पर्दैछ। अब समय आइसकेको छ कि सफाइकर्मीले आफ्नो जीवनको तौरतरिका बदल्नुपर्छ। अन्धविश्वासबाट टाढा रहनुपर्छ। अम्बेडकरी विचारधारालाई जीवनको मूल्य बनाउनुपर्छ। आफ्नो बच्चालाई राम्रो तथा उच्च शिक्षा प्रदान गर्नुपर्छ। आफ्नो भावी पुस्तालाई यति सक्षम बनाओस् जसले गर्दा जीविकोपार्जनका लागि गैरसफाइ पेसा अपनाउन सकोस्। भावी पुस्ता स्वाभिमानसँग आफ्नो जीवन जिउन सकोस्।  

(अम्बेडकरी तथा बहुजन अध्येता)

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App