११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

‘संसार एक गाउँ’ सम्झाउँदै कोरोना

सभ्यताको सुरुवातदेखि नै मानव जातिले विभिन्न खाले समस्या खेपिरहेका छन् । तीमध्ये कतिपय समस्या मानव आफैबाट सिर्जित छन् भने कतिपय प्राकृतिक प्रकोप एवं रोगका रूपमा देखापरेका छन् । आम नरसंहारकारी युद्ध मानव आफैले सिर्जना गरेका हुन् । आदि सभ्यतादेखि आजसम्मको इतिहास केलाउँदा यस्ता नरसंहारकारी युद्ध भूगोल, धर्म, भाषा, स्त्री, शक्ति–उन्माद इत्यादिका आडमा भएको पाइन्छ । खासगरी १९औं र २०औं शताब्दीमा विकसित औद्योगिकीकरणका आडमा साम्राज्यवादी शक्तिबीचको टकरावका कारण विश्व जगत्ले नरसंहारकारी आणविक युद्ध बेहोर्नुप-यो । २१औं शताब्दीको पूर्वाह्नसँगै विश्वमा देखापरेका तीव्र बसाइँसराइ, आर्थिक उतारचढाव, प्रविधि विकास, विशृंखलित विचार एवं आणविक मुद्दाको होडबाजीले त्यस्ता युद्धको सम्भावना बढाएको देखिन्छ । 

तर कहिलेकाहीं यस्ता विपत्ति पनि आउने गर्छन्, जसले मानव जातिलाई झस्काइदिएका छन् । चाहे ती भूकम्प, ज्वालामुखी, सुनामीजस्ता प्राकृतिक विपत्ति हुन् वा लाखौं मानिसको ज्यान लिने प्लेग, इबोलाजस्ता महामारी, तिनले मानव सभ्यतालाई नै चुनौती मात्र दिइरहेका छैनन्, नयाँ सोचका साथ अगाडि बढ्न अमूल्य शिक्षा पनि दिइरहेका छन् । अहिले विश्वव्यापी महामारी बनेको कोरोना संक्रमण पनि एउटा त्यस्तै परिघटना बनेको छ, जसले फेरि एकपटक मानव जगत्लाई झकझक्याएको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि प्रायः देशले लकडाउनलगायत विभिन्न उपाय अवलम्बन गरिरहेका छन् भने विश्वका वैज्ञानिक यसविरुद्ध खोप तथा औषधि पत्ता लगाउन प्रयासरत छन् । तर पनि कोरोना संक्रमण दिन दुई गुणा रात चौगुणा बढिरहेको छ । 

कोरोना महामारीकै कारण यतिबेला विश्व अर्थ–जगत् ठप्प भएको छ । पुँजीवादी प्रभुत्व रहेको हालको विश्व अर्थ–व्यवस्थाले नराम्ररी धक्का खाएको महसुस गर्न थालिएको छ । अमेरिका, चीन र भारतजस्ता ठूला अर्थतन्त्र नै कोरोना संक्रमणको प्रमुख प्रभाव क्षेत्र बन्नु, ती अर्थतन्त्र चलायमान गराउने बहुराष्ट्रिय कम्पनी सञ्चालन हुन नसक्नुले विश्व–अर्थतन्त्रमै ठूलै गिरावट देखिन थालिसकेको छ । जसको असर साना अर्थतन्त्र रहेका देशमा अझ पेचिलो बन्दै गएको छ । करिब २५ प्रतिशत रेमिट्यान्समा निर्भर नेपाली अर्थतन्त्रलाई कोरोनाले कस्तो असर पार्ला  ? अर्काे कुरा, कृषिप्रधान देश भनेर जति भाषण गरिए पनि कृषिमा न आधुनिकीकरण गर्न सकिएको छ न कृषि र शिक्षालाई जोड्न नै । बरु परम्परागत निर्वाहमुखी कृषि पनि चरम संकटमा पुगेको छ । 

विश्व समुदायले कोरोनाजस्तो महामारीलाई साझा समस्याका रूपमा बुझ्न जरुरी छ । यसरी बुझ्न हिजोका परिस्थितिमा अथ्र्याइएका मानवताका अवधारणा अपूर्ण साबित हुन्छन्।

यस्तो अवस्थामा अब नेपाल कसरी अगाडी बढ्ला ? चिन्ताको विषय बनेको छ । विशेषगरीे कोरोना संक्रमणको ठूलो असर त समाजको श्रमजीवि वर्गमा परेको छ÷पर्नेछ । किनकि यो पुँजीवादी संरचनामा मुनाफामुखी उद्योग, कलकारखाना छन्, जहाँ ती वर्गका मानिस थोरै तलबमा काम गरिरहेका हुन्छन् । यसैगरी निम्न आयस्रोतमा बाँच्न विवश विभिन्न पेसाकर्मी र साना किसान कोरोना संक्रमणबाट पैदा हुने संकटको पहिलो प्रहार खेप्न बाध्य छन्÷हुनेछन् । वास्तवमा श्रमजीवी वर्गका लागि रोगभन्दा त्यसले निम्त्याउने भोक बढी पीडादायी हुन्छ । 

विश्व भूमण्डलीकरणको वर्तमान परिवेशमा कोरोना न कुनै एक मात्र समाजको समस्या हो न त यसले उत्पन्न गराउने आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक समस्याले कुनै एउटा समाज वा राष्ट्र विशेषलाई मात्र असर पार्छ ।  यसर्थ विश्व जगत्ले यसलाई साझा समस्याका रूपमा बुझ्न जरुरी छ । र, सबै व्यक्ति, समाज र राष्ट्र एक भएर कोरोनाविरुद्ध लड्न आवश्यक छ । यसका लागि हिजोसम्मका विश्व घटनाक्रमले जन्माएका मानवताका आधार र विशेषता पछिल्लो समय अमेरिकी पुँजीवादी अर्थतन्त्रका परिसीमाभित्र रहेर अथ्र्याइएका मानवतावादी दृष्टिकोण किन र कसरी अपूर्ण छन्, औंल्याउनुपर्ने बेला आएको छ । खासगरी उदारवादी÷नवउदारवादी अर्थतन्त्रको परिसीमाभित्र रही मानव स्वतन्त्रता (वर्गीय, लैंगिक, धार्मिक, भौगोलिक), मानव र पर्यावरणबीचको पारस्परिक सम्बन्ध, मानवीय पहिचान र मूल्य÷मान्यतालाई जसरी अथ्र्याइयो, त्यसमा स्वाभाविक रूपले प्रश्न उठेका छन् ।

प्रश्न उठेका मूलभूत पक्षमा प्रथमतः आजका नागिरकलाई विश्व नागरिक (ग्लोबल सिटिजन) का रूपमा बुझ्न जरुरी छ । विज्ञान तथा प्रविधिको उच्चत्तम विकाससँगै बढ्दो बसाइँसराइका कारण आजका नागरिक र उसको पहिचान कुनै भूगोल, राष्ट्र वा समुदाय विशेषको सीमाभन्दा बाहिर गइसकेको छ । अर्थात् प्रत्येक व्यक्तिको पहिचान भूगोल, धर्म, जात, नश्ल, समुदाय र लिंग मात्र नभएर ऊ कार्यरत राष्ट्र, समाज र पेसासँग जोडिएको हुन्छ । यो बुझाइले मात्र आजका नागरिकले जुनसुकै राष्ट्रको जुन कुनामा रहेर पनि सुरक्षित महसुस गर्न सक्छन् । केही दिनअघि वर्षैदेखि भारतमा बसेर काम गरेका नेपालीलाई कोरोना संक्रमण बढ्नेबित्तिकै असुरक्षित महसुस हुनु, सहयोग प्राप्त नहुनु, खाडी राष्ट्रमा कार्यरत नेपाली आफ्नो मुलुक फर्कन बाध्य हुनु, अमेरिकामा कार्यरत चिनियाँ कोरोना प्रसारकको आरोपमा चुटिनुजस्ता घटना आजका नागरिकलाई विश्व नागरिकका रूपमा बुझ्न नसक्दा भएका हुन् । 

यो त पुँजीवादी अर्थतन्त्रको प्रतिफल व्यक्तिभन्दा उसको श्रम–शक्तिलाई महत्व दिनु र श्रम–शक्ति घटेसँगै उसलाई उपादेयता सकिएको वस्तु (अनसर्भिसेबल अब्जेक्ट) रूपमा ठान्नु हो । यस्तो संरचनाभित्र मानवता वा मानवीय मूल्य÷मान्यताको सम्भावना देख्नु मानवताको सत्यता बुझ्न नसक्नु हुन जान्छ । यही परिस्थतिमा त रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका कुनै पनि नागरिक दोस्रो दर्जाको मानवका रूपमा सामाजिक, सांस्कृतिक, राजनीतिक, लैंगिक र नश्लीय असमानता भोग्न बाध्य छन् । 

दोस्रो, आजको समाजमा विद्यमान धर्म र धार्मिक मूल्य÷मान्यताप्रतिको बुझाइमा क्लिष्टता देखिनुु ठूलो कमजोरी हो । कुनै पनि धर्मको वकालत गर्ने धार्मिक नेतृत्व पंक्तिले सबै धर्मको सार एकै हो, जुन उच्च मानवीय मूल्यसँग जोडिएको हुन्छ भन्ने मानवतावादी अभिप्राय नबुझ्नु वा बुझेर पनि निहित स्वार्थका लागि धार्मिक अतिक्रमणलाई बढावा दिनु गलत छ । मानव सभ्यताको सुरुवातदेखि नै धर्म नरसंहारकारी युद्धको कारक बन्नु धर्मलाई धर्मको सारमा बुझ्नुभन्दा शक्ति र सामाजिक अस्थिरता निम्त्याउने हतियारका रूपमा प्रयोग गरिनु हो । यसबाट धर्मप्रति मानिसको विश्वास पनि कम हुन पुग्यो । तर पनि मानिसले धर्मलाई आफ्नो पहिचानको आधार बनाइरह्यो । खासगरी यस्तो धार्मिक पहिचानलाई धर्मको सार र धार्मिक सहिष्णुतासँग नजोड्दा वा धर्मभिरुले अनुयायीमा यो मानवीय मूल्य स्थापित गर्न नसक्दा धार्मिक अतिवाद र धार्मिक अतिक्रमण भइरह्यो । तसर्थ यसलाई चिर्न र आजको विश्व नागरिकमा धार्मिक सहिष्णुता कायम गर्न सक्नुपर्र्छ । 

अन्तिम तथा अति संवेदनशील पक्ष हो– मानव जगत् र प्रकृति एवं पर्यायवरणबीचको सह–सम्बन्धलाई उपेक्षा गर्नु । विद्यमान आर्थिक उदारीकरणको नीति अंगीकार गरेका विश्वका ठूला अर्थतन्त्रले आवरणमा जति पर्यावरणीय संरक्षण र सन्तुलनका नारा घन्काए पनि यर्थाथमा त्यो कार्यान्वयन हुन सकेको छैन । पर्यावरणीय असन्तुलनको मुख्य कारक नै ती अर्थतन्त्र बनेका छन् । उदाहरणका लागि चीन, अमेरिका, भारत, रसियाजस्ता ठूला अर्थतन्त्रवाला राष्ट्र नै कूलमा ५ देखि २८ प्रतिशतसम्म कार्बनमोनोअक्साइड उत्सर्जन गर्नेमा पर्छन् । पछिल्लो समय विभिन्न राष्ट्रबीचको शक्ति–संर्घषले आणविक शक्ति निर्माण र प्रर्दशनलाई बढावा दिएका छन् । अमेरिका, रसिया, भारत, पाकिस्तान, चीन र उत्तर–कोरियालगायत राष्ट्रले गरेका निरन्तर आणविक परीक्षण शक्ति प्रदर्शन÷संर्घषका उदाहरण हुन् । 

यी प्रदर्शन कुनै पनि बेला नरसंहारकारी युद्धमा परिणत हुन सक्ने प्रबल सम्भावना छ । यसबाहेक आज विश्वमा देखापरिरहेको चरम वातावरणीय संकट मानव र मानव–र्सिजित समस्याबाट निम्त्याइएको हो । अहिलेको यो कोरोना संक्रमण उत्पन्न हुनु तथा फैलिनुमा पनि यही पक्षको प्रत्यक्ष÷अप्रत्यक्ष भूमिका छ । तर यसको असर पर्यावरणीय असन्तुलनमा मुख्य भूमिका खेल्ने वा आणविक शक्तिको होडबाजीमा रमाउने राष्ट्रमा मात्र होइन, त्यस्ता क्रियाकलापमा तुलनात्मक रूपले कम संलग्न वा असंलग्न राष्ट्र पनि उत्तिकै प्रभावित भइरहेका छन् । जस्तै: उद्योग, कलकारखानाबाट कार्बनमोनोअक्साइड न्यून रहेको हाम्रो देश मौसम परिवर्तनको ठूलो चपेटामा पर्नु र वातावरणीय सन्तुलन कायम राख्ने हिमालमा हिँउको मात्रा तीव्र रूपले घट्नु यसका प्रत्यक्ष उदहारण हुन् । 

यसर्थ विश्व समुदायले कोरोनाजस्तो महामारीलाई साझा समस्याका रूपमा बुझ्न जरुरी छ । यसरी बुझ्न हिजोका परिस्थितिमा अथ्र्याइएका मानवताका अवधारणा अपूर्ण साबित हुन्छन् । विश्वका ५ प्रतिशत धनीका हातमा विश्व पुँजीको ठूलो हिस्सा हुनु, उनीहरूबाट निर्देशित नीतिका आधारमा पुँजीको लगानी, व्यवस्थापन र वितरण हुनु, शक्ति–राष्ट्रका सरकार जनताप्रतिको उत्तरदायित्व बिर्सेर मुनाफामुखी बहुराष्ट्रिय कम्पनीको रक्षाकवच बन्नु, विकासोन्मुख राष्ट्रका सरकार आफ्नो माटो सुहाउँदो विकासका वैकल्पिक बाटा पहिल्याउनको साटो त्यस्ता कम्पनीका लागि आफ्ना नागरिकलाई श्रमिकका रूपमा पठाउनु र रेमिट्यान्समा देश चलाउनुजस्ता विडम्बना चिर्नैपर्ने देखिन्छ । अनि मात्र आजका नागरिकलाई विश्व नागरिक (ग्लोबल सिटिजन) का  रूपमा बुझ्न सकिन्छ र कुनै पनि देश, समाज, वर्ग एवं समुदायका नागरिकका स्वतन्त्रता र मानवीय मूल्यलाई सम्मान गर्न सकिन्छ । 

आज कोरोना संक्रमणले विश्व आक्रान्त छ, जसलाई संयुक्त राष्ट्र संघले मानव जातिका लागि दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भनेको छ । यो चुनौतीसँग लड्न समयानुकूल बहस आवश्यक छ । अर्थात् कोरोनाबाट सिर्जित मानवीय संकट, मानवीय मूल्य÷मान्यताको संकट, मानव र पर्यावरणको सह–अस्तित्वको संकट र समग्रमा मानवतावादी विचारको संकटविरुद्ध नवीन मानवतावादी सोच विकास गर्न अपरिहार्य छ । लामो समयदेखि शान्ति क्षेत्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपाल र विश्वभर छरिएर रहेका हामी नेपालीले यस घडीमा नयाँ मानवतावादी अवधारणाका मूल मुद्दामा केन्द्रित हुन जरुरी छ । 
(डा.देवकोटा त्रिभुवन विश्वविद्यालय, सेरिडमा शोधार्थी छन् ।)

प्रकाशित: १५ वैशाख २०७७ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App