६ कार्तिक २०७७ बिहीबार
विचार

भोकमरी लाग्दैन कृषि मन्त्रीज्यू

पासको खोजीमा बस्नेत सर
भूमि अधिकारकर्मी जगत बस्नेतले शुक्रबार सोध्नुभयो– ‘गाउँमा गहुँ भित्र्याउन ढिला भइसक्यो । थन्क्याउन जानुपर्ने । तपाईँलाई सवारी पास लिने प्रक्रियाबारे केही जानकारी छ होला ?’ सिन्धुपाल्चोकस्थित मेलम्ची नजिक तालामाराङ जानुपर्ने बस्नेतलाई काठमाडौँमा बस्न पाए पनि मनमा शान्ति छैन । कारण– पाकेको अन्न बेलैमा भित्र्याउन नपाए के हो के ?

लकडाउनका बेला जरुरी काम परेर हिँड्नुपरेमा पासको व्यवस्था गरेको छ सरकारले । तर बाली भित्र्याउने, दूध बिक्री गर्ने, तरकारी बेचबिखन गर्ने काम जरुरीमा पर्दैन । त्यसैले एकातिर किसान आफ्ना दुग्धजन्य पदार्थ नबिकेर फ्याँक्नुपर्ने बाध्यतामा छन् । अर्कोतर्फ उपभोक्ताचाहिँ तरकारी र दुग्ध पदार्थ नै आउन छाड्यो भन्ने गुनासो गरेर भ्याएका छैनन् । यही कारण बजारमा पाइए पनि त्यो महँगो हुने गरेको छ ।

बाँच्नका लागि खान पर्नु शाश्वत सत्य हो । त्यसैले योभन्दा जरुरी के हुन सक्छ ? तर सरकारी अधिकारीको बुझाइमा खाद्यान्न उत्पादन, सङ्कलन र बिक्री वितरण जरुरीभित्र पर्न सकेन । हो, लकडाउनका बेला सकभर काम नगर्दा पनि हुने हो तर केही गाईँ भैँसी पालेर दूध बिक्री गरी जीविका चलाउँदै आएका व्यक्तिले दूध कसरी जोगाएर राख्न सक्छन् ? तरकारी धेरै दिन राख्न सकिन्छ ? अहिले पाकेको बाली नभित्र्याए वर्षभर खाने के ? तर यति सरल कुरा पनि ख्याल नगरिँदा कृषि कर्मसँग सम्बन्धितहरूका समस्या जटिलतातिर उन्मुख भइरहेका छन् । जबकि एकापसमा दूरी कायम गरेर, मास्क लगाएर तथा अन्य विधि प्रयोग गरेर कृषि कर्म जारी राख्ने व्यवस्था मिलाउन सकिन्थ्यो ।

रोडको चामल
देवीसरा भण्डारा दैलेखको साविक पीपलकोट–८ की बासिन्दा हुन् । उनको घरबाट नजिकको बजार खिड्कीज्यूला (कर्णाली राजमार्ग) आउजाउ गर्न ठ्याक्कै एक बिहान लाग्छ । भिरालो जमिन भए पनि गरिखान पुग्ने जमिन छ उनको । तर उनको रुचि खेतीपातीमा पटक्कै छैन । किनकि उनको जमिनमा धान फल्दैन । मकै, कोदो, गहुँ जस्ता अनाज जिब्रोले मन पराउँदैन ।

हामीकहाँ नेपालीलाई चाहिने जति खाद्यान्न उत्पादन पक्कै हुन्छ तर हामीले आफैँ उत्पादन गरेका खाद्यान्न मिलाएर खान जानेनौँ । त्यसैले सबैले भने जति भात खान नपाउनुलाई हामीले भोकमरीको लालमोहर लगाइदियौँ जबकि यो भोकमरी नभई भातमरी मात्र हो ।

त्यसैले बरु बाख्रा पालनमा रुचि छ उनको । किन ? उनको उत्तर थियो– हामी रोडको चामल खान्छौँ । त्यो किन्नलाई पैसा चाहिन्छ । खसी बोका सजिलै बिक्री हुने भएकाले चामलका लागि पैसा जुटाउन सहज हुन्छ, त्यसैले ।

खसी-बोका खिड्कीज्युला ल्याएर बेच्नु अनित्यही पैसाले चामल लगी छाक टार्नु उनको दिनचर्या रहेछ ।श्रीमान् र एक छोराले भारतमा मजदूरी गरेर पठाएका पैसासमेत रोडकै चामलमा खर्च हुने रहेछ । मोटरले ल्याएर रोड (राजमार्गस्थित पसल) मा झार्ने भएकाले यस्तो चामलको नामै रोडको चामल राखेका रहेछन् स्थानीयले ।

नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये करिब आधामा धान खेती हुन्छ । धानचाहिँ कुल खेतीयोग्य जमिनको आधामा मात्र हुने तर खानचाहिँ शतप्रतिशतले भातै मन पराउने । समस्या यहीँ छ । र, अहिले हामीले भन्दै आएको खाद्यान्न अभावको चुरो पनि यही समस्यासँग जोडिएको छ । भनाइको मतलव हामीकहाँ नेपालीलाई चाहिने जति खाद्यान्न उत्पादन पक्कै हुन्छ तर हामीले आफैँ उत्पादन गरेका खाद्यान्न मिलाएर खान जानेनौँ । त्यसैले सबैले भने जति भात खान नपाउनुलाई हामीले भोकमरीको लालमोहर लगाइदियौँ जबकि यो भोकमरी नभई भातमरी हो । 

आर्थिक सर्वेक्षण २०७५–२०७६ अनुसार हामीकहाँ पछिल्लोपटक मकै ९ लाख ४२ हजार ७९ हेक्टरमा खेती गरियो भने गहुँ ६ लाख ८६ हजार ५ सय ५७ हेक्टरमा । त्यसैगरी कोदो २ लाख ६३ हजार ५ सय ९६ हेक्टर र फापर २८ हजार तथा जौ २३ हजार ६ सय ९४ हेक्टरमा । तर धानपछि बढी फलाइने अनाजलाई हामीले ‘गरिबको खान्की’ भनेर पन्छाइदियौँ ।

यतिमात्र हैन, भटमास, मास, जुनेलो, गहत, मस्याङ, सिलम, चिनो, कागुनो, करु, उवा जस्ता रैथाने अनाज त हामीले फुट्या आँखाले पनि हेर्न छाडिसक्यौँ । अत्यन्तै थोरै उत्पादन हुन थालेका यी खाद्यान्न ‘रोड’ मा पाइने चाउमिनसँग साटिने विषय भएका छन् । दूध र घीउचाहिँ कोकोकोला र खोयाबिर्केसँग साटासाट हुन थालेका छन् । त्यसैले पनि हामीले अहिले आयात गरिरहेका खाद्यान्न वास्तवमै आवश्यक थियो वा थिएन भन्नेबारे पनि अध्ययन आवश्यक देखिएको छ यतिखेर ।

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १९१ किलोग्राम अन्न खपत हुने तथ्याङ्क पाइन्छ । जसमध्ये चामल ९०, मकै ४५, गहुँ ४५ र अन्य खाद्यान्न १४ किलोग्राम खपत हुनुपर्ने हो सन्तुलन मिलाउँदा । तर हामी यो सन्तुलन खल्बल्याउँदै चाहिनेभन्दा ५० किलोग्राम अर्थात १ सय ४० किलोग्राम चामल उपयोग गर्छौँ । हामीलाई भातमरीको समस्यामा फसाउने मूल कारण यही हो । त्यसैले जबसम्म हामी मधुमेह नियन्त्रण गर्ने तथा कोलोस्ट्रोल घटाउन सघाउने तीते र मीठे नाम गरेका फापर बेचेर म म र चाउमिन खाइरहन्छौँ तबसम्म हामीलाई भातमरीको रोगले पछ्याइरहने निश्चित छ ।

लाप्राके कालो आलु
धेरै ठाउँमा धान महोत्सव मनाइएको सुन्दै आएका थिएगोर्खाको लाप्राकबासीले । आफ्नो ठाउँमा धानै नफल्ने उनीहरूले सोचे कि आफ्नै गाउँमा प्रशस्त फल्ने आलु महोत्सव किन नगर्ने ?त्यसपछि २०७४ सालको साउन २७ र २८ गते आयोजना गरे आलु महोत्सव । जसलाई हरेक वर्ष निरन्तरता दिँदैछन् उनीहरू ।यतिबेला ‘आलु गीत प्रतियोगिता’ पनि हुन्छ । जित्नेले पुरस्कार पनि हात पार्छन् ।

यहाँ हुने कालो आलु अन्यत्र कहीँ पनि पाइँदैन । जुन दुई टुक्रा पारेर काट्दा भित्र रातो धर्सा हुन्छ । यो असाध्यै मीठोसमेत हुन्छ । यही कारण यहाँको आलु बारपाक, बालुवा, माछाखोला, चनौटे, भच्चेक, नयाँ साँघु, गोर्खादेखि आँबु खैरेनीसम्म हारालुछ बिक्री हुने गरेको छ । त्यतिमात्र हैन, लाप्राकबासीले जौबारी, मुच्चोक टार, ताकुकोट, सौरपानी, मसेल, झ्याल्ला आदिसम्म पुगेर धान, भटमासलगायत अन्नसँग साट्ने पनि गरेका छन् । रोप्ने बेलामा त लाप्राकमा बीउ लिन आउनेको लर्को नै लाग्ने गर्छ । कतिपयले पैसा तिरेर लैजान्छन् भने कतिपयले चाहिँ आफूसँग भएको केरा, खुर्सानी, अम्बा, सुन्तला, नास्पाती, बदाम, मह आदि लिएर आउँछन् र त्यो दिएर वा साटेर आलुको बीउ लैजान्छन् । अचम्मको छ यहाँको आलु । यो ठाउँको बीउ लगेर रोपेमा उम्रन्छ तर उनीहरूले त्यही आलुबाट फेरि बीउ राखे भने त्योचाहिँ फल्दैन । धार्चे गापा–४ का वडाध्यक्ष राजका अनुसार यो लाप्राकबासीलाई प्रकृतिले नै दिएको ‘बोनस’ हो रे ।
के हामी आफ्नो ठाउँमा जे उत्पादन हुन्छ त्यसैलाई आम्दानीको मुख्य स्रोत बनाउन सक्दैनौँ ?कहाँ गयो चितवने तोरीको बखान ?,लिलामीको सूचना निकाल्दा पनि किन बिकेनन् कर्णालीबाट काठमाडौँ ल्याइएका गेडागुडी ?, एक बिहानमै आइपुगिने भीमटारको मास किन प्रिय हुन सकिरहेको छैन राजधानीमा ?,जुम्लाको स्याउ किन बजार लिन सकिरहेको छैन ? यी यस्ता केही प्रतिनिधि प्रश्न हुन् जसको उत्तर खोज्ने हो भने पनि हामी ‘भोकमरी’ को रागबाट मुक्त हुन सक्ने छौँ ।

प्रसङ्ग पत्रको
कृषि मन्त्री घनश्याम भुसालले कोरोना भाइरसको साम्राज्य फैलिएसँगै पालिका प्रमुखहरूका नाममा लेखेका पत्रमा भनेका छन्– ‘एउटा प्रभावकारी हस्तक्षेप नहुने हो भने हामी भोकमरीको चपेटामा पर्न सक्छौँ ।’ र, यसको कारणमा उनले अहिलेको प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्ने, महँगी बढ्ने तथा कृषि उत्पादन आयातमा समस्या पर्ने उल्लेख गरेका छन् । 

मन्त्रीको यो भनाइमा विमतिराख्नुपर्ने कारण छैन । तर उनले पनि बुझ्नुपर्ने कुराचाहिँ के हो भने पहिलो कुरा नेपालमा देखिएको खाद्यान्न समस्या माथि भनिएझैँ भोकमरीको हुँदै हैन, मात्र व्यवस्थापनको हो । र, यी पृथक अनाजमा हुने पौष्टिक तत्व तथा यिनको मिसावटबाट हुने फाइदा बुझाउने दायित्व तीन तले सरकारको हो । जसको नेतृत्व कृषि मन्त्रालयले लिनुपर्छ । दोस्रो कुरा, सम्भावित समस्या समाधान गर्नचालिनुपर्ने प्रभावकारी हस्तक्षेप ।त्यसको रिमोट पनि कृषि मन्त्रीकै हातमा छ, अरुमा हैन । कुनै हालतमा कृषि कर्म रोकिनुहुन्न किनकि कोरोनाले छाड्यो भने पनि बाँच्नका लागि यो त चाहिन्छ÷चाहिन्छ । यत्ति कुरा बुझियो भने नेपालबाट भातमरीको समस्या डाँडो काट्नेछ । र, जुनसुकै मुलुकले खाद्यान्न निकासीमा प्रतिबन्ध लगाए पनि हामी खान नपाएर मर्ने छैनौँ । स्वाद भनेजस्तो नहोला, त्यत्ति हो ।

र, अन्त्यमा
एकादेशमा बूढी आमा र तरुनी छोरी रहेछन् । आमा मरिहाल्छिन्, त्यसपछि म पोइल गइहाल्छु भनेर छोरीले भएको खेतीपाती पनि गरिनछिन् । एकातिर सोचेअनुसार आमा मरिनछिन्, आमा नमरेपछि छोरी पोइल जाने कुरै भएन । अर्कोतिर घरमा भएको अनाज पनि सकिएछ । आमा-छोरी नै भोकमरीको चपेटामा परेछन् ।यतिबेला हामीले पनि कोरोनाको जपमा मस्त भएरकृषि कर्म भुल्यौँ र गर्न पनि दिएनौँ भने हुने पारा तिनै आमा-छोरीको हो । चेतना भया ।

प्रकाशित: १ वैशाख २०७७ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App