११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

पहिले को हुने कम्युनिस्ट ?

नेपालमा अहिले कम्युनिस्ट पार्टीको सरकार छ। तर कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि कम्युनिस्ट आदर्शबाट विचलित हुन थालेका छन्। गुदी गायब, बोक्रो मात्र बाँकी छ। बोक्रे कम्युनिस्टबाट के पो आशा गर्नु ! यस्तो निराशा नागरिकबाट मात्र होइन, स्वयं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गर्न थालेका छन्।

प्रचण्डले क्रान्तिमा ठूलठूला त्याग गरेका कम्युनिस्टहरू सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने संकेत नेपालमा पनि देखिन थालेको भन्दै असन्तुष्टि पोखेका हुन्। तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको भोलिपल्टै अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आएको हो। उनले भने, ‘आन्दोलन÷क्रान्तिमा हुँदा निकै ठूलो त्याग/तपस्या गरेर जनताको मन जित्न सक्ने कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेका घटना विश्व इतिहासमा थुप्रै छन्।’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नारायणविलाश जोशीको नाममा स्थापना गर्न लागिएको भवन शिलान्यास कार्यक्रममा उनले असन्तुष्टि पोखे, ‘नेपालमा पनि त्यसका लक्षण देखिन थालेका छन्।’

लौन कमरेड प्रचण्ड, कोबाट सुरु गर्ने होला– सत्तामा गएपछि पनि कम्युनिस्टले जनता छाड्दैनन् भन्ने व्यवहार ?

नेतृत्व तहबाट सुरु गर्ने कि ?
प्रचण्डका अनुसार इतिहासका पाना पल्टाउने हो भने कम्युनिस्टहरूले आफूले आफैंलाई सिध्याएका थुप्रै घटना पाइन्छन्। त्यस्तै लक्षण नेपालमा पनि देखिएको भन्दै उनले चिन्ता प्रकट गरेका छन्। ‘क्रान्ति गर्दा जनता जहाँ बस्छन् त्यहीं बस्न सक्ने, जे खान्छन् त्यही खान सक्ने कम्युनिस्टहरू सत्तामा पुगेपछि किन विचलित हुन्छन्,’ उनको प्रश्न छ। अनेक प्रसंग उल्लेख गरेपछि प्रचण्डले यहाँ पनि विश्व इतिहास दोहोरिन लागेको शंका गर्दै दृढता व्यक्त गरे, ‘कम्युनिस्ट पार्टीलाई कम्युनिस्टै  बनाएर लैजानुपर्छ। पार्टी शुद्धीकरण गर्नुपर्छ। जनतासँगको सम्बन्ध राम्रो बनाउने संकल्प गर्ने बेला आइसकेको छ।’ प्रचण्डको चिन्ता अत्यन्त जायज लाग्यो। आजका कम्युनिस्ट नेता÷कार्यकर्तामा कम्युनिस्टको गन्ध पनि आउँदैन। हुन त म पुरानो पुस्ताको भएकाले त्यस्तो लागेको भन्न पनि सकिन्छ। नेपालीको जीवनशैली खर्चिलो र भड्किलो बन्दै गएको छ। अपराध, ठगी, वैदेशिक रोजगारीका नाममा विभिन्न मुलुकमा मानव ओसारपसारको नयाँ धन्दा सुरु भएको छ। यता कम्युनिस्टहरूमा पनि सादगी हराउँदै गएको छ। नेतृत्व तहबाटै सुरु गर्ने हो कि ‘सादा जीवन, उच्च विचार’को अभ्यास ?

कम्युनिस्टहरू कत्तिको पौष्टिक पदार्थ खान पाउँछन् त्यो त थाहा छैन। तर जीउडाल हेरेर अनुमान गर्न सकिन्छ। सस्ता चिनियाँ लुगा आउन थालेपछि र कामदारको ज्याला बढेपछि जीवनशैलीमा देखिने गरी परिवर्तन आएको छ, अहिले नेपालमा। अचेल शारीरिक श्रम गर्ने काम पनि पाइन्छ। पारिश्रमिक पनि धेरै कम छैन। २०७२ सालको भूकम्पपछि घर बनाउने काम प्रशस्त पाउन थालियो। सीप भए त ज्याला राम्रै पाइन्छ। यसर्थ प्रायः मान्छे कमाउँछन् र खर्च पनि गर्छन्। सरकारले सञ्चालन गरेका विभिन्न तालिम, युवा स्वरोजगार, महिला उत्थान, सहकारी आन्दोलनजस्ता अनेकौं कार्यक्रमका लागि गाउँमा बजेट जान्छ। त्यस्ता रकम दुरूपयोग गरेर पनि सत्ता पक्षका मान्छेहरू राम्रै र सुकिलै लगाउँछन्। उनीहरूको हृष्टपुष्ट जीउडाल हेर्दा कष्टकर जीवनशैली छ भन्ने लाग्दैन। सत्तासीन पार्टीका नेता मात्र होइन, कार्यकर्ताको पनि विकास–निर्माणका काममा हात पर्नासाथ मोलमोलाइ सुरु भइहाल्ने ! यस्तो चलन पहिले–पहिले गैरवामपन्थी दलहरूमा थियो। पञ्चायतकालमा त पञ्च नै ठेकदार, ठेकदार नै पञ्च हुन्थे।

कम्युनिस्ट पार्टी ठट्टाकै पार्टी हो त ? आज गोकुल बाँस्कोटाको पर्दा उघ्य्रो। सरकारमा अझै गोकुलका संस्करण पो छन् कि ? शंका गर्नुपर्ने अवस्था छ।

तर बजेट सानो हुने हुँदा पैसा फालाफाल हुँदैनथ्यो। थोरैमा चित्त बुझाउनुपथ्र्याे। बजार भाउ सस्तो। खर्च गर्ने बानी पनि औकातअनुसार। स्थानीय निर्वाचनमा पैसा खर्च हुँदैनथ्यो वा थोरै मात्र हुन्थ्यो। त्यसकारण पैसा नहुनेहरूले पनि चुनाव जित्थे। केन्द्रीय तहको निर्वाचनमा समेत लाख रुपैयाँजति लाग्थ्यो। तर अहिले पैसा कम हुने वा नहुनेहरूको हातबाट राजनीति चिप्लिँदै गएको छ। राजनीति पैसामुखी हुँदै गएको छ।

अहिले मानिसले छोराछोरी पनि थोरै मात्र जन्माउन थाले। धेरै सन्तान हुँदा खर्च बढी हुन्थ्यो। अबका केटाकेटी पनि खर्चिला भएका छन्। खर्च बढेपछि आम्दानी बढी गर्नैप¥यो। अवैध उपायबाटै किन नहोस्, पैसो थुपार्नैप¥यो। पुँजीवाद पैसा कमाउन बिछट्टै सिपालु। पैसो कमाउने बाटो देखाउन थाले– गैरवामपन्थीले वामपन्थी नेता÷कार्यकर्तालाई। यसरी बिग्रियो– राजनीति।

एमाले होइन, हमाले
स्थानीय तहमा निर्वाचित वामपन्थीहरू दक्षिणपन्थी भ्रष्टहरूबाट शिक्षित÷दीक्षित हुन थाले। यो पैसा कमाउने रोग– अहिले विश्वभर फैलिरहेको नोबल कोरोनाभन्दा पनि कडा खालको भाइरस हो। एउटा वामपन्थीले अरू मानिसलाई वामपन्थी बनाउनुपर्नेमा वामपन्थी आफैं दक्षिणपन्थी, पैसापन्थीमा रूपान्तरण हुन लागे। पहिले कम्युनिस्ट पार्टीको सदस्य हुन धेरैवटा परीक्षा पास गर्नुपथ्र्याे। अब त अंक–गणितको राजनीति सुरु भो। बेलायती राजनीति अर्थात् संसदीय राजनीति। कम्युनिस्ट अनुशासन, आचरण÷व्यवहार केही पनि नचाहिने !

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्व (प्रधानमन्त्री) मा सरकार बन्यो। सिपी मैनाली स्थानीय विकासमन्त्री भए। काठमाडौं र ललितपुर नगरपालिकाको फोहोर थन्क्याउने सुरक्षित ठाउँ खोजी सिफारिस गर्न केशव स्थापितको संयोजकत्वमा कार्यदल बन्यो। म पनि त्यसको सदस्य भएँ, नेपाल वातावरण पत्रकार समूहका तर्फबाट। फोहोर विसर्जन गर्ने स्थान खोज्न यो काठमाडौं खाल्डो धेरै घुमियो। दक्षिणकाली जाने बाटोमा पर्ने सातमूलेमा होला होलाजस्तो भएको थियो, तर त्यहाँको गाउँ विकास समितिका अध्यक्ष एमाले थिए। उनले विरोध गरे। मैले केशव स्थापितसँग सोधें, ‘केशवजी, यो एमालेकै मान्छे किन विरोध गर्छ ?’ केशवले कानमा खुसुक्क भने, ‘यो एमाले होइन क्या सर, हलो (राप्रपा)बाट आएको हो। हलोबाट ‘हमाले’ भएको। अनि विरोध गरिहाल्छ नि !’

अरण्यरोदन मात्रै हो कि ?  
एमाले फुटेर माले र एमाले दुइटा पार्टी हुँदा निर्वाचनमा निकै कटाक्ष भए। हुँदाहुँदा आजका नेकपाका उपाध्यक्ष वामदेव गौतम त्यसबेला लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा गृहमन्त्री भए। अर्थमन्त्री भए– रवीन्द्रनाथ शर्मा। त्यतिबेला अवैध सुन पनि धेरै भित्रियो रे। विमानस्थलको नाम नै ‘गोल्ड एयरपोर्ट’ भएको थियो, भित्रभित्र। यिनै वामदेवलाई खुला मञ्चबाट एमालेले नेपालको एक मात्र ठूलो भ्रष्टाचारी भनी घोषणा गरेको कुरा आजका नेकपाका नेताले बिर्से पनि तत्कालीन अखबारका अथवा आफ्नै स्मृतिका पाना पल्टाउने हो भने स्पष्ट हुन्छ।

हाम्रा राजनीतिक नेताहरू भोलि को आउँछ ठूलो नेता भएर भन्नेतर्फ यादै गर्दैनन्। हिजो नानाथरी आरोप लगायो, आज उसकै डोली बोक्न तयार ! यस्तो अभ्यासलाई निरन्तरता दिएपछि आज कम्युनिस्ट पथभ्रष्ट भए, आदर्शबाट विचलित भए भनी पुर्पुरोमा हात राखेर के गर्नु ! आफू वा आफ्नो पक्षलाई ‘शुभ–लाभ’ हुने देखे झ्यालबाट भिœयाउन खोज्ने, अशुभ–अलाभ हुने संकेत पाए राजनीतिक ‘सिस्नुपानी’ लाउन खोज्ने !

राजनीति यति हलुका हो र कमरेड प्रचण्ड ? कम्युनिस्ट पार्टी ठट्टाकै पार्टी हो त ? आज गोकुल बाँस्कोटाको पर्दा उघ्य्रो। सरकारमा अझै गोकुलका संस्करण पो छन् कि ? शंका गर्नुपर्ने अवस्था छ। तपाईंहरूकै पार्टी नेकपाले जन्मदिन, पास्नी, व्रतबन्धजस्ता कार्य पारिवारिक तहमा सामान्य रूपमा मात्र गर्ने आचार–संहिता बनाएको होइन र ? तर अर्का अध्यक्षले जन्मथलो गएर १५ किलोको केक काटेर जन्मदिन  मनाए त ! यो आचारसंहिता ककसलाई लाग्छ, ककसलाई लाग्दैन ? अन्यथा तपाईं (प्रचण्ड)को यो अरण्यरोदनको के अर्थ ?

तपाईंहरूबाटै सुरु गर्न सकिएला ?
सोभियत संघ खोटो समाजवादतिर लाग्यो र विघटन भयो। क्रान्तिको नेतृत्व गर्ने नेता नै सरकारको नेतृत्व गर्दासम्म कम्युनिस्ट पद्धति चल्ने तर अर्को पुस्तामा नेतृत्व सर्नासाथ नचल्ने हो भने त्यो व्यवस्था कम्युनिस्ट हो कि होइन, गम्भीर विश्लेषण गर्न जरुरी छ। क्युबाका फिडेल क्यास्ट्रोले सत्ता परित्याग गरेपछि त्यहाँको राज्य सञ्चालन सरल र सहज छैन। दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेलाले राष्ट्रको नेतृत्व तथा संसार छाडेपछि नयाँ परिस्थिति सिर्जना भएको छ। यी केही उदाहरण हुन्।

यता हामीकहाँ सिंहदरबार छिरेपछि वामपन्थी नेतामा पनि चन्द्रशमशेरको अहं पलाउन थाल्दोरहेछ। क. प्रचण्ड, तपाईं पनि सिंहदरबारको बडाहाकिम भइसक्नुभएको छ। तपार्इंमा पनि चन्द्रशमशेर हुने इच्छा पो अंकुरायो कि ? लौन क. प्रचण्ड, कोबाट थाल्ने होला– सत्तामा गएपछि पनि कम्युनिस्टले जनता छाड्दैनन् भन्ने व्यवहार ? क्रमभंगमा विश्वास गर्ने तपाईंबाटै सुरु गर्ने हो कि ?

प्रकाशित: १८ फाल्गुन २०७६ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App