नयाँ कोरोनाभाइरस ‘कोभिड–१९’ को प्रकोपले धेरै बिगार गरिसकेको छ। अरू कति बिगार गर्ने हो थाहा छैन। यो जातको भाइरसको उद्गमस्थल भएको चीन त अहिले नै अनेक आयाममा अत्यन्तै नराम्रोसँग प्रभावित भई नै सक्यो। सिँगै संसारका लागि पनि कोभिड–१९ आतंकै भएको छ। यो प्रकोपको आतंकलाई चानचुने घटनाका रूपमा होइन, प्रकृतिले मानव जातिलाई दिएको खतराको सूचनाका रूपमा लिन आवश्यक छ। अस्तित्वका निम्ति मानिससँग निरन्तर संघर्षमा रहेका अनेकन् साना/ठूला प्राणीले महत्वपूर्ण सन्देश दिइरहेका छन्, हामीलाई। मानिस भने यी सन्देशलाई बेवास्ता गरेरै बसिरहेका छन्।
मानिसकै कारण असंख्य प्राणी पृथ्वीबाट लोप भइसकेका छन् र लोप हुने क्रममा छन्। तर मानिसभन्दा अर्बौं वर्ष पुरानो मानिएका अनेकन् भाइरस भने छिनछिनमै आफ्नो अवतार फेर्दै, अनेक विषमताका बीच पनि बाँचिरहेकै छन्। केही समय अघिसम्म सोचिन्थ्यो– पृथ्वीमा रहेका निर्जीव भौतिक तत्वबाट जीवनको सुरुवात नै सम्भवतः आदिम भाइरसबाट भएको होला। अचेल भने जीवनको प्रारम्भिक रूप सम्भवतः अर्कै थियो र भाइरस त ब्याक्टेरियाजस्तै पछि विकास हुँदै आएका हुन् भन्ने ठानिन्छ। ब्याक्टेरियाले विकास क्रममा क्रमशः नयाँ जीवन–संयन्त्र थप्दै गए, शरीरमा।
बुद्ध जन्मिएको देशका नागरिक हौं, हामी। आफूभित्र करुणा, मैत्री, मुदिता विकास गरौं।
भाइरसले भने वंशाणुबाहेक आफूसँग भएकै जीवनका अन्य संयन्त्रसमेत त्यागेर हल्काफुल्का हुन थाले। यिनीहरू कहिले जोगीजस्ता लाग्छन्, कहिले जबर्जस्ती अरूका घरमा प्रवेश गर्ने फिरन्ते आवाराजस्ता। आफ्नो खोलसम्म पनि अरूका भरमा बनाउनुपर्छ, यिनले। तैपनि यी अति छिटो बढ्छन्, फैलिन्छन्। जीवनका निम्ति, वंश निन्तरताका निम्ति उनीहरू आफ्नो ‘पहिचान’को पनि खासै वास्ता गर्दैनन्, ‘सम्प्रदाय’ र ‘संस्कार’को पनि मतलब राख्दैनन्। जसको शरीरमा बास बस्यो, त्यसैलाई घर बनाउँछन्। अनुकूलता नहुनेबित्तिकै आफ्ना क्षमता परिवर्तन गर्छन्, रूपै फेर्छन्। अनुकूलता भएका बेला आफ्नो सबभन्दा जब्बर रूपमा अवतरित हुन्छन्। आफूभन्दा खर्बौंं गुना ठूला प्राणीलाई छानीछानी तिनका कोषिकामा बास बस्छन्, तिनकै संयन्त्र प्रयोग गर्छन्, र फैलिन्छन्। हिजोसम्म ‘यी त मानव–शरीरमा प्रवेश गर्ने जातका होइनन्’ भन्ने ठानिएका भाइरस वंश निरन्तताका निम्ति अचानक परिवर्तन भइदिन्छन् र मान्छेका लागि खतरनाक बनेर देखापर्छन्।
कोभिड–१९ पनि कोरोना जातको भाइरसको नयाँ अवतार हो। कसरी यो अवतार प्रकट भयो ? यो नयाँ अवतारले किन मानिसको शरीरलाई नै वंश निरन्तरताका लागि नयाँ आश्रयस्थल बनायो ? आदि प्रश्नका उत्तर क्रमशः आउँदै जालान्। जीव–विज्ञानसँग सम्बन्धित यी उत्तर पर्खिंदापर्खिंदै अरू अझै महŒवपूर्ण प्रश्न उब्जिन थालिसकेका छन्। जस्तै:
–यो कोभिड आतंकले विभिन्न मानिस, राष्ट्र र संस्कृतिबीचको सम्बन्धमा कस्तो असर पारेको छ ?
–मानिसको कुन कमजोरीका कारण यसले मानव–जगत्मा यतिविघ्न आतंक फैलायो ?
–अबउप्रान्त मानिसले मानवइतर प्राणीसँग कस्तो सम्बन्ध राख्ने ?
–के सूक्ष्म जीवहरूको भिन्दै किसिमको चेतना छ ?
–मानिसविरुद्ध मानवइतर प्राणी युद्ध त छेडिरहेका छैनन् ? आदि इत्यादि।
दुर्भाग्य नै भन्नुपर्छ– कोभिड–१९ को आतंकमा निहुँमा विश्व फेरि नयाँ किसिमले २ चिरा हुन थालेको देखिन्छ। एकथरी यसमा अमेरिकी षड्यन्त्र छ भनेर कथा बुन्दै छन्, अनि अर्काथरी भने यो चीनकै षड्यन्त्र हो पनि भन्दै छन्। जति अपत्यारिला, मूर्खतापूर्ण र हावादारी धारणा भए तापनि मानिस यी दुईमध्ये एउटा धारणालाई ‘हो भन्या, मलाई त साँच्चै हो कि जस्तो लाग्छ’ भनेर जिब्रो पड्काउँदै गफ गरिरहेका भेटिन्छन्। यो विभाजनको खतरनाक असर जताततै देखापर्न थालिसक्यो। एउटा उदाहरण हो– कोरोनाको निहुँमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममामा देखापर्न थालेका फरक–फरक पक्षधरता। यसले के देखाइरहेको छ भने पृथ्वी र मानव जातिकै अस्तित्व रक्षामा संकट देखिन थालिसक्दा पनि मानिस भने विभाजितै रहन चाहने रहेछ। आफंैले बनाएका धारणाका जेलभित्र कैदी भइरहन ऊ रमाउने रहेछ। विभिन्नताबीच समानता खोज्ने यत्न त ऊ गर्नै नचाहने रहेछ। यो डरलाग्दो कुरा हो।
‘साडेन्फ्र्वाइड’ अर्थात् अरूका अप्ठेरा/दुःखमा रमाउने र सन्तुष्टि लिने परपीडक मानसिकता कुनै न कुनै रूपमा हामी सबैमा देखापरिरहेकै हुने रहेछ। परपीडा–सुखमा केही बेर रमाउँदा थाहै नपाई आफैं पनि उस्तै वा फरक खाले पीडामा धेरै बेर डुब्ने स्थिति आउँछ, प्रायः आइरहेकै हुन्छ।
‘साडेन्फ्र्वाइड’ अर्थात् अरूका अप्ठेरा/दुःखमा रमाउने र सन्तुष्टि लिने परपीडक मानसिकता कुनै न कुनै रूपमा हामी सबैमा देखापरिरहेकै हुने रहेछ। स्पष्ट मनोवैज्ञानिक कारण भएकाले यसलाई अस्वाभाविक मान्न मिल्दैन। तर ‘स्वाभाविक’ ठानिने सबै कुराले राम्रो भने गर्दैन। परपीडा–सुखमा केही बेर रमाउँदा थाहै नपाई आफंै पनि उस्तै वा फरक खाले पीडामा धेरै बेर डुब्ने स्थिति आउँछ, प्रायः आइरहेकै हुन्छ। आफ्नो ‘साडेन्फ्र्वाइड’प्रति सचेत हुने हो भने मात्र ‘खुच्चिङ’ भनेर रमाउने यो भाव कमजोर हुँदै जान्छ। अर्थात् परपीडा–सुखको भावबाट उन्मुक्ति खोज्ने हो भने बुद्धले सिकाएझैं ‘चित्तानुपश्यना’ गरेर आफ्नै मनलाई हेर्ने, त्यहाँ दह्रैसँग डेरा जमाएर बसेका अनेक भावको अवलोकन गर्ने र त्यहीं कतै हल्ला गरिरहको ‘परपीडा–सुख’को भावलाई देख्ने/चिन्ने अभ्यास गर्नैपर्ने हुन्छ।
दुःखबाट मुक्ति पाउन बुद्धले देखाएका अष्टांगिक–मार्गको एउटा महत्वपूर्ण अंग हो– सम्यक् वचन। ‘झुटो होइन सत्य बोल, नमीठो होइन मीठो बोल, झगडा लगाउने होइन, सद्भाव जगाउने कुरा बोल, नचाहिने कुरा होइन, चाहिने कुरा बोल।’ यति सरल लाग्ने कुरा व्यवहारमा उतार्न भने सजिलो छैन। वास्तवामा घण्टौंसम्म रमाउँदै अरूका कुरा काटेर बस्न सक्छौं, हामी। बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्ममा कति जनाको कुरा काट्यौं भनेर सम्झिन सकेका मात्र संख्याले पनि अचम्म लाग्नेछ। कसैका सकारात्मक पक्षबारे बोल्नु प-यो भने त हामी छिट्टै थाक्छौं। दिनभरिमा कति जनाका विषयमा राम्रा कुरा ग¥यौं त भनेर सम्झिँदा एक जना पनि पाइएन भने अचम्म मान्नुपर्दैन। कसैले मीठो बोल्दा स्वाङपारे जस्तो लाग्छ। कसैलाई गाली गर्दा, थर्काउँदा, होच्याउँदा भने आफू बहादुर भएको अनुभूति हुन्छ।
‘बुझ्नु भो, मैले त त्यसलाई मज्जैले दनक दिएँ नि’ भन्न खुब मजा लाग्छ, मान्छेलाई। यस्तै ‘बहादुरी’मा तुष्टि खोजिरहेका हुन्छौं, हामी। हामीभित्रको परपीडामुखी प्रवृत्तिलाई छर्लङ्ग देखाइदिने ऐना भएका छन्, सामाजिक सञ्जाल। सामाजिक सञ्जालमा देखिने अभिव्यक्तिमा ठ्याक्कै कति प्रतिशत यस्ता ‘बहादुरी प्रदर्शन’ हुन्छन्, यति नै बेला त्यसको स्पष्ट तथ्यांक त छैन तर पक्कै पनि यो प्रतिशत उल्लेख्य होला भन्ने अनुमान गर्न सकिन्छ।
पत्रपत्रिका पढ्दा, रेडियो सुन्दा, टिभी हेर्दा वा सञ्चारका जुनसुकै माध्यम चलाउँदा दसवटा राम्रा कुरा छन् र एउटा नराम्रो कुरा छ भने त्यो नराम्रै कुरामा ध्यान बढी जान्छ हाम्रो र त्यही नै स्मृतिमा धेरै बेर रहन्छ पनि। र, यसले गर्दा ‘साडेन्फ्र्वाइड’ले निरन्तरता पाइरहेको हुन्छ, जो विभिन्न रूपमा देखापर्न सक्छ। अरूका परपीडक अभिव्यक्तिबाट प्रभावित भएर, त्यसैलाई कुनै न कुनै रूपमा स्थापित गर्ने काम त भइरहेको छैन भनी आफूलाई सोध्नु पनि एक किसिमको ‘चित्तानुपश्यना’ हो, ‘विपश्यना’ हो। कसैप्रति पूर्वाग्रह, दूराग्रह बोकिरहेको कसैको अभिव्यक्तिमा मसला थपेर, चटपटे बनाएर पस्किनु पनि त्यत्तिकै असुन्दर काम हो जति अरूका मान्यतालाई सम्मान नगरी आफ्नो शक्तिको दम्भ देखाउनु।
कोभिड–१९ को यो प्रकोपका कारण चिनियाँ दुःखी छन्। अत्यन्त गम्भीरतापूर्वक लडिरहेका छन्। सुरुमा भएका गल्तीको पनि समीक्षा गरिरहेका होलान्। यस्तो बेला छिमेकीका हैसियतले सार्थक सहयोग गर्न नसके पनि हाम्रो कर्तव्य उनिहरूप्रति सहानुभूति देखाउनु हुन्छ, ऐक्यबद्धता देखाउनु हुन्छ। राजनीतिक रूपमै पूर्वाग्रही रहेका मात्र होइन, कुनै बेला विरोधी सैन्य–गठबन्धनकै अधिकारी रहेका व्यक्तिको अभिव्यक्तिमा मसला थपेर पस्किँदा, चिनियाँको चित्त दुख्नु स्वाभाविकै हो।
वैज्ञानिक अध्ययनले देखाएका छन्– मानिसमा आत्मविश्वासको जति कमी भयो, उति नै ऊ परपीडामा रमाउने मनस्थितिको हुन्छ। साडेनफ्र्वाइडको कुनै पनि किसिमको अभिव्यक्तिबाट प्रभावित भएर त्यसैको लहैलहैमा लाग्दा अनावश्यक झन्झट बेहोर्नुपर्ने मात्र होइन, कुनै बेला त अन्यायकै पक्षधर पनि भइरहेका हुन सक्छौं। आफ्नो अहम् तुष्टिका निम्ति झन्झन् असुन्दर अभिव्यक्ति दिनुपर्ने स्थिति आउन सक्छ।
बुद्ध जन्मिएको देशका नागरिक हौं, हामी। आफूभित्र करुणा, मैत्री, मुदिता विकास गरौं।
प्रकाशित: ९ फाल्गुन २०७६ ०५:३३ शुक्रबार