नोवल कोरोना भाइरस आतंकले यतिबेला विश्व हल्लाएको छ। त्यसमा पनि चीनको निकट छिमेकी मुलुक नेपाल यसबाट अछूत रहने कुरै भएन। खासगरी नेपालबाट अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा कोरोनाको उद्गमस्थल चीनको हुेबेई प्रान्तमा रहेका नेपाली आतंकका बीच अझै उतै अड्किइरहेका छन्। चीनको हुबेई प्रान्तअन्तर्गत उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युले दिनप्रतिदिन भयावह रूप लिइरहेको छ। कोरोना संक्रमणका कारण आइतबारसम्म हुबेई प्रान्तमा मात्रै ७ सय ८० जनाको मृत्यु भइसकेको छ। ८ सय ३ मध्ये दुई जनाबाहेक सबैको मृत्यु चीनको ‘मेनल्यान्ड’मा भएका छ। यसअघि श्वासप्रश्वाससम्बन्धी रोगले सन् २००३ मा दुई दर्जनभन्दा बढी मुलुकमा गरी ७ सय ७४ व्यक्तिको मृत्यु भएको थियो। यसपटक कोरोना भाइरसबारे जानकारी गराउने हुबेई प्रान्तको वुहानस्थित अस्पतालमा कार्यरत चिकित्सक ली वेनलियाङको मृत्यु भइसकेको छ। उनको मृत्युले समेत चीनमा एक किसिमको आक्रोशसमेत फैलिएको छ।
कोरोना भाइरसबाट चीनमा दैनिकजसो मृत्यु भएको खबरसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई त्यहाँबाट उद्धार गरी स्वदेश फर्काइसकेका छन्। दक्षिणको छिमेकी मुलुक भारतले पनि आफ्ना नागरिकलाई उद्धार गरी ल्याइसकेको छ। तर नेपाली नागरिकले मातृभूमि आउन पाऊँ भनी आग्रह गरेको यतिका दिन बितिसक्दा पनि मागको सुनुवाइ भएको छैन। तिनका परिवारले समेत सरकारलाई उद्धार गरिदिन निरन्तर आग्रह गरिरहेका छन्। मृत्युको त्रासभन्दा ठूलो मानव जीवनमा अरू के हुन्छ र ? त्यसमा पनि आफूलाई कुनै संक्रमण नहोस् भन्ने चाहनाले त्यहाँबाट चाँडै उम्किन खोजेका नेपालीको आग्रह सुनुवाइ नहुनु वा नगर्नुजस्तो अमानवीय काम अरू के हुन सक्छ ! नेपाल सरकार आफैंले तिनलाई उद्धार गरेर ल्याउन नसक्ने भए भारत सरकारसँग आग्रह गरेको भए पनि मानवीय नाताले यो काम भइसक्थ्यो। माल्दिभ्सका नागरिकलाई समेत भारतले उद्धार गरिदिएको तथ्य सामुन्नेमै छ। फेरि यस्तो बेला जसको मद्दत लिए पनि हुन्छ। अझ सुरुका दिनमा हुबेईमा रहेका नेपालीलाई ल्याउन जहाजको नियमित उडान समेत नभएको होइन।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता सरकारी निकायका जिम्मेवार पदाधिकारीसँग बैठक गरी चीनमा रहेका नेपालीको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यसले धेरैलाई आशावादी बनाएकै हो। त्यति मात्र होइन, चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई सुरक्षित रूपमा राख्न सरकारले चार स्थान पहिचानसमेत गरिसकेको हो। तर त्यहाँबाट ल्याइने नेपालीलाई तोकिएको अवधिसम्म अलग्गै राखेर घर फर्काउने तयारी गर्दा स्थानीयस्तरमा विरोध भएको छ। यसले हामीमा रहेको स्वार्थी भावना छताछुल्ल पारेको छ। सरकारले चीनका नेपालीलाई स्वदेश फर्काएर राख्न सक्ने ठाउँ भएन र स्थानीय समुदायले समेत विरोध गर्न सक्ने स्थिति देखियो। अझ यहाँ ल्याइने नेपाली कसैमा भाइरस संक्रमण देखिएमा उपचार गर्न समस्या हुने जिम्मेवार पदाधिकारीहरूले सोचेको हुनुपर्छ। यस्तो अवस्थामा नेपालमा ल्याउनुभन्दा चीनमै राखेर उपचार गराउनु उचित हुन्छ भन्ने पनि कसैले ठानेको हुन सक्छ। तर सम्बन्धित परिवार र चीनमै रहेका नेपालीका ठाउँमा उभिएर सोच्ने हो भने यसो गर्न गाह्रो छ। सबैजसो नेपाली त्यहाँ पनि सुरक्षित देखिन्छन्। तिनलाई यहाँ ल्याएर छुट्टै राख्ने र परिवारमा पठाउने काममा ढिलाइ गर्नु भनेको सम्बन्धित नागरिकप्रति देशको जिम्मेवारी बोध नभएकोजस्तो देखिन्छ।
कुनै पनि नागरिकले आफूलाई उद्धार गरिदेऊ भनी बारम्बार आग्रह गर्दा पनि नसुन्नु वा संवेदनशील रूपमा नलिनु विडम्बना हो। अझ हामीले हाम्रा संरचना कसरी ध्वस्त पारेछौं भन्ने उदाहरण पनि हो यो। हामीले सार्वजनिक र मानव वस्तीभन्दा टाढा यस्तै संक्रमणका बेला काम लाग्ने गरी स्वास्थ्य संरचनासमेत बनाएका छैनौं। राणाकालमा १९९० सालमा भूकम्प गएपछि उपचारका लागि भनेर त्रिचन्द्र मिलिटरी हस्पिटल खोल्न सक्ने ल्याकत भएको मुलुकले अहिले अलग्गै बिरामी राख्ने अस्पतालसमेत नबनाएको स्थिति हो यो। चीनले एक सातामै अस्पताल बनाएर उपचार गर्ने व्यवस्था मिलायो। हाम्रो गति चीनको जस्तो नभए पनि भविष्यलाई ध्यानमा राख्दै यस्तो अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्छ। अहिलेको यो कोरोना कहरबाट नागरिकलाई आश्वस्त तुल्याउन र राज्यले आफ्नो मानवीय चरित्र प्रदर्शन गर्न अति आवश्यक छ।
प्रकाशित: २७ माघ २०७६ ०४:२९ सोमबार