७ पुस २०८१ आइतबार
image/svg+xml
विचार

कार्यस्थलमा हुने यौन हिंसा र सुरक्षा

पहिलो प्रसङ्ग
बाबु रोगी। खेतीपातीले खानै नपुग्ने। त्यसमाथि २०७२ सालको भूकम्पले घर पनि भत्काइदियो। त्यसैले २१ वर्षीया तामाङ युवती सिन्धुपाल्चोकको एक गाउँबाट राजधानी झरिन्, गरिखान। ठमेलस्थित एक होटलमा काम गर्ने गाउँकै साथीलाई भेटिन् र काम लगाइदिन आग्रह गरिन्। काम मिल्यो पनि– होटलले नै सञ्चालन गरेको मसाज पार्लरमा।

काम सुरु गरेको केही दिनपछि होटलवालाले त्यहाँ आउने ग्राहकका सबैखाले इच्छा पूरा गर्न भनेन् मात्र, त्यसका लागि दबाबै दिए। उनले मानिनन् तर जबर्जस्ती कोठाभित्र हुलिदिनेसम्मका हर्कत भए। धन्न ! उनी रोइकराई गरेर त्यहाँबाट उम्किन सफल भइन्।

दोस्रो प्रसङ्ग
काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिकाकी श्रेष्ठ थरकी एक महिला म्यानपावर कम्पनीमा काम गर्थिन्। सुरुमा उनको काम– त्यहाँ आउनेलाई सत्कार तथा कार्यालय सरसफाइ गर्ने भनिएको थियो। तर बिस्तारै उनलाई अन्य काम पनि लगाउन थालियो। जायज/नाजायज सबै काम गर्न भनियो। उनले मेनेजरसँग आफूलाई भनेभन्दा बढी काम लगाइएको गुनासो गरिन्। तर उल्टै मेनेजरको खप्की खाइन्।

एक दिन उनकी आमा बिरामी भएकाले कार्यालय आउन सकिनन्। जसका कारण भोलिपल्ट अन्य कर्मचारीका अगाडि उनको झाँको झारे, मेनेजरले। यसरी विवाद बढ्दै गएपछि १ वर्षका लागि राखिएकी उनी १ महिनामै निकालिइन्। त्यो पनि बिनातलब। जतिन्जेल काम गरिन्, एकदमै हेपाइ र पेलाइमा परिन्। तनावै तनावमा बिताइन् र अन्ततः पारिश्रमिकबिनै बाहिरिइन्।

तेस्रो प्रसङ्ग
३१ वर्षीया एक महिला टेम्पो चलाउँछिन्। उनले जीवनमा आफैँ केही गरौँ भनेर चालक काम सिकेर टेम्पो चलाउन थालेकी हुन्। यसरी टेम्पो चलाउने क्रममा उनले धेरै चुनौती सामना गर्नुप-यो। खासगरी आफूजस्तै अरू टेम्पो चालकबाट जोगिन उनलाई धौधौ पर्नेगरेको छ। उनीहरू भेट भयो कि यौन आशयका कुरा मात्र गर्छन्। मानौँ, गफ गर्ने अरू विषय नै छैनन्।

हुँदाहुँदा आफूलाई टेम्पो सिकाउने मान्छेले समेत बरु पैसा दिनुनपर्ने तर ‘भनेको माने’ हुने प्रस्ताव राखे। त्यसपछि उनी त्यहाँबाट उम्किएर अर्कै इन्स्टिच्युट पुगेर चलाउन सिकिन् र चालक अनुमतिपत्रसमेत लिइन्। आफ्नै पेसाका मानिसले महिला चालकलाई हेर्ने नकारात्मक दृष्टिकोणबाट आजित उनीसँग कहिलेकाहीँ प्रहरीले समेत यस्तै आशय प्रकट गर्ने गरेको अनुभव पनि छ।

दुनियाँका सबै मानिस औपचारिक क्षेत्रमा मात्र काम गर्दैनन्। लाखौँ मानिस औपचारिक क्षेत्रमा काम गर्छन् तर लाखौँ व्यक्ति अनौपचारिक क्षेत्रमा छन्। अनि यस्ता ठाउँमा काम गर्नेहरू पुरुष मात्र हुँदैनन्। विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने महिलालाई यौन दुर्व्यवहार नै बढी हुने गरेका छन्। उसो त औपचारिक क्षेत्र पनि यस्तो उत्पीडनबाट अछूतो छैन।

कार्यस्थलमा हुने यौन दुर्व्यवहार नियन्त्रण क्षेत्रमा पनि यही अवस्था छ। भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर ‘कारबाही गर्न सकिएन’ भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ।

माथिका ३ घटना त प्रतिनिधिमूलक मात्र हुन्। विश्वभर सामान्य रूपमा लिइने यस्ता घटना नेपालमा पनि बर्सेनि बढ्दो छ। तर फरक के मात्र हो भने अन्यत्र यस्ता घटना सामान्यबाट संवेदनशीलमा रूपान्तरण भइसक्दा  नेपालमा भने अझै ‘ख्यालख्याल’बाट माथि उठ्न सकेको छैन। यही परिवर्तन र संवेदनशीलता बुझ्न नसक्दा नै हामीकहाँ कार्यस्थलमा महिलालाई हुने यौन दुव्र्यवहार/हिंसा दिनहुँ बढ्दो छ।

के भन्छन् सन्धि र कानुन ?
कार्यक्षेत्रमा हुने हिंसा र दुर्व्यवहार उन्मूलनसम्बन्धी महासन्धिको धारा ६ ले– हरेक सदस्यले महिला श्रमिकका साथै कार्यस्थलमा असङ्गतपूर्ण तरिकाले हुने हिंसा दुव्र्यवहारबाट प्रभावित भएका एक वा सोभन्दा बढी जोखिमपूर्ण समूहमा रहेका अन्य व्यक्ति वा जोखिमपूर्ण अवस्थामा रहेका समूहलगायत रोजगारी तथा पेसामा समानताको हक र गैरभेदभावको सुनिश्चितताका लागि कानुन, नियम र नीतिहरू लागु गर्नेछन्, भनेको छ।

यसैगरी कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारको उन्मूलनसम्बन्धी सिफारिसले हिंसा र दुव्र्यवहारलाई समर्थन गर्नेखालका भेदभाव, शक्ति–सम्बन्ध र लैङ्गिक/सामाजिक मूल्य/मान्यताहरूको दुरूपयोगबाट उत्पन्न हुने खतरा र जोखिमहरूलाई ध्यान दिनुपर्ने बताएको छ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ ले कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरूपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य आशयले शरीरको कुनै अङ्ग छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य दृश्य, अन्य सूचना प्रविधि, साधन वस्तु वा सामग्री प्रयोग प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा र यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा यौनजन्य दुव्र्यवहार गरेको मानिने जनाएको छ।

राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति २०७६ ले दूरदृष्टिमा सुरक्षित तथा स्वस्थ कार्य वातावरणमा काम गर्न पाउने श्रमिकको अधिकार सुनिश्चित एवं उत्पादकत्व अभिवृद्धि भन्ने उल्लेख गरेको छ।

नेपालमा कुनै पनि क्षेत्रमा नीति, ऐन र कानुन अभाव भन्दा पनि तिनको कार्यान्वयन पक्ष कमजोर हुने गरेका छन्। कार्यस्थलमा हुने यौन हिंसा/दुर्व्यवहार नियन्त्रणका क्षेत्रमा पनि यही अवस्था छ। भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर ‘कारबाही गर्न सकिएन’ भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ। कारबाही गर्न चाहने हो भने माथिकै कानुन पर्याप्त छन् भन्ने यसका बुँदा बुँदा केलाउँदा स्पष्ट हुन्छ।

मुख्य समस्या
उल्लिखित प्रतिनिधिमूलक घटनाका पीडित मात्र होइन, यस्ता सयौँ पीडित छन्, हाम्रा गाउँ÷सहरमा। जो बरु पीडा मनभित्रै गुम्स्याउन तयार हुन्छन् तर न्यायिक/अर्धन्यायिक निकायमा जानै चाहँदैनन्। न्याय मागे मात्र पाइन्छ भन्ने चेत उनीहरूमा घुसेकै देखिन्न। यस्तो परिस्थितिले पीडकलाई यस्ता हर्कत अझ बढाउन उत्तोलकको वातावरण बनाइदिएको छ।

कार्यस्थलमा विद्यमान जोखिम तथा खतराबाट श्रमिकको सुरक्षा र स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्ने उद्देश्यले विक्रम संवत् २०१६ मै कारखाना तथा कारखानामा काम गर्ने मजदुरसम्बन्धी ऐन तर्जुमा भएको थियो। ऐनमा कार्यस्थलमा सुरक्षाको उचित प्रबन्धसहित कारखाना निरीक्षणको व्यवस्था गर्ने उल्लेख थियो। तर पहिलो ऐन बनेको ६० वर्ष बितिसक्दा पनि कार्यस्थल सुरक्षित हुन नसक्नु राष्ट्रिय लज्जाको विषय हो। यसबाट हाम्रा कानुन कति प्रभावकारी छन् अर्थात् भरपर्दा छन् भन्ने पुष्टि हुन्छ।

गर्न सकिने कुरा
नेपालको सन्दर्भमा अनौपचारिक क्षेत्रमा काम गर्ने मानिस भनेका राम्रो ठाउँमा अवसर नपाएका, कम पढे/लेखेका र काम नगरी मुखमा माडै नलाग्नेखालका हुन्छन् भन्ने बुझिन्छ। यसर्थ, उनीहरूको ज्ञानमा पहुँच कमै हुन्छ। त्यसैले श्रमिकका कर्तव्य मात्र बुझाइएका उनीहरूलाई अधिकार र जोखिमबाट मुक्तिका पाठसमेत पढाइनु आवश्यक छ। र, यसका लागि अभियान नै थालिनुपर्छ।

काम खोज्ने र काम दिनेको सूची बनाएर उनीहरूलाई मिलन गराइदिने वातावरण बनाउन सकिन्छ। जस्तो– होमनेट नेपालले ‘अर्बन जब हब’ सञ्चालन गरेको छ। जसमा काम खोज्नेले निवेदन दिन सक्छन् भने कामदार चाहिनेले पनि। यसरी दिइएका निवेदनका आधारमा माग र पूर्तिबीच समन्वय गराइदिन्छ, यसले। माथि उल्लिखित घटनाका पात्र पनि काम खोज्ने सिलसिलामा यही हबमा आइपुगेका बेला खुलेका हुन्। अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको हकहितका लागि काम गर्ने होमनेटजस्ता संस्थाको सक्रियताले मात्र कार्यस्थलमा हुने यौन दुव्र्यवहार न्यूनीकरणमा मद्दत पुग्न सक्छ।

कानुन कार्यान्वयन, कार्यस्थलमा हुने यौन दुव्र्यवहार/हिंसा न्यून गर्न सकिने अर्को महत्वपूर्ण आधार हो। भएका व्यवस्था तथा कानुनको प्रभावकारी कार्यान्वयन मात्र हुने हो भने यस्ता घटना स्वतः कम हुन्छन्। जसले पीडितको आत्मबल बढाउँछ भने पीडकलाई हतोत्साही तुल्याउँछ।

अन्त्यमा,
२१ वर्षीया एक युवतीले २०७५ जेठ १६ गते बेलुकी आफूलाई बलात्कार गरेको भन्दै रसुवास्थित आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका ३७ वर्षीय सलामबहादुर तामाङविरुद्ध २०७५ जेठ ३१ गते उजुरी दिइन्। जिल्ला अदालतले २०७५ असार २६ गते झुटो उजुरी दिएको भन्दै उजुरीकर्तालाई नै हजार रुपियाँ जरिवाना र ५ हजार क्षतिपूर्ति भराउने फैसला सुनायो।
कार्यस्थलको यौन दुर्व्यवहारका आडमा बिनासुझबुझ र बदला लिने सोचले अघि बढेमा भने यस्तै फन्दामा परिनेबारे पनि सोच्न जरुरी छ।

प्रकाशित: २० माघ २०७६ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App