११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

रेडियो र रक्सी

मैले एसएलसी दिने बेलासम्म २०१७ सालताका गाउँमा रेडियो थिएन। हामीलाई समाचार सुन्दा  रेडियोभित्र मान्छे छ होला भन्ने लाग्थ्यो। रेडियोभित्र मान्छे नभई समाचार कसरी आउँछ भनेर साथीबीच छलफल गथ्र्यौं, त्यही बेला ‘ग्राम विकास’ संस्था आयो। त्यसका प्रमुख थिए– प्रेमराज पाण्डे। उनी पाण्डे भएकाले होटलमा खाँदैन थिए। हाम्रो घरमा खान्थे। त्यसैले मेरो उनीसित राम्रो सम्बन्ध थियो। त्यसबेला सर्वसाधारणलाई समाचार र विकाससम्बन्धी कार्यक्रम प्रसारण गरेर सूचना र ज्ञान दिने उद्देश्यले आफ्नो कार्यक्रमका लागि एउटा र विभिन्न ग्रामीण इलाकामा रेडियो अथवा श्रवण केन्द्र खोल्ने उनले बताए।

म पनि उनको साथ लागेर रेडियो किन्न दार्जिलिङको ‘केसिडे’ रेडियो पसलमा गएँ। त्यहाँ १५/२० वटा साना रेडियो किन्यौं। मेरा खुट्टा भुइँमा थिएनन्। कतिबेला फिक्कल पुगेर रेडियो बजाउने भन्ने भयो। बेलुकीपख फिक्कल फक्र्यौं। रेडियो, गोरखापत्र र अन्य पत्रपत्रिका राखेर स्थानीयलाई विकासबारे जानकारी दिने उद्देश्य थियो। फिक्कलमा केही मारवाडी तथा ठूलाबडाका घरमा रेडियो हुन्थे। तर उनीहरू धेरैजसो भारतीय समाचार र हिन्दी गीत सुन्थे। मलाई अल इन्डिया रेडियोको समाचार सुन्ने बानी नै भइसकेको थियो। पछि मलाई नेपाल टेलिभिजनमा जागिर खाँदा भारतको दिल्लीमा इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन संस्थामा एमएस्तरको पत्रकारिता कोर्स गर्ने मौका मिल्यो। एकबर्से त्यो कोर्समा एकपल्ट कुनै सञ्चारमाध्यममा गएर ‘इन्टर्नसिप’ गर्नुपथ्र्यो। संयोगले ‘रेडियो नेपाल’मा काम गरेको अनुभवका आधारमा मलाई अल इन्डिया रेडियोमा खटाइयो। म खुसी भएर गएँ।

तेस्रो दिनतिर समाचार सम्पादकले ‘शर्माजी आपने तो रेडियो नेपालमे काम किया है। आजका बुलेटिनका सम्पादन/प्रसारण आपके जिम्मा’ भनेर खटाइदिए। रेडियो नेपालमा त राससबाट प्राप्त बुलेटिनलाई काटकुट पारेर छोटकरीमा समाचार तयार गरिन्थ्यो। त्यहाँ त वायर सर्भिसमा प्राप्त समाचारको कागज लिएर सम्पादकले वाचन गर्दागर्दै ‘टाइपिस्ट’ले टाइप गर्नुपर्दोरहेछ। बोलीचालीको भाषामा, छोटा वाक्यमा समाचार बनाउन टाइप गरेर सम्पादककहाँ पठाइँदोरहेछ। सम्पादनपछि म (समाचार संयोजक)कहाँ आउँदोरहेछ। सम्पादन त गरेकै हो रेडियो नेपालमा, तर भारतीय रेडियोको नीति थाहा थिएन।

मैले तयार गरेको बुलेटिनमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीबारे  पनि सानो समाचार पनि थियो। सम्पादकलाई सोधें– ‘प्रधानमन्त्री गान्धीबारे सानो समाचार छ। हेडलाइन दिनलायक त छैन, तर हामीकहाँ पद हेर्ने चलन छ, यहाँ के छ ?’ उनले भने, ‘अरे शर्माजी, हामी पनि गान्धीको समाचार महत्वको नभए पनि अगाडि राख्छौं। तपाईंको आफ्नो राजाको समाचार राखेजस्तै हेडलाइन दिनोस्।’ आखिर रेडियो नेपाल र भारतको रेडियोको नीति मिल्दोरहेछ। त्यसपछि अरू दिन पनि त्यसै गर्न थालें। करिब १५ दिनमा म अल इन्डिया रेडियोको समाचार सम्पादक भएँ।

भोलिपल्ट मेरा साथीले ‘हिजो समाचार पढ्दा आँखा अलि राता थिए नि ! कि पिएर पढिस्’ भने। मैले झल्याँस्स ब्राम्ही दत्त पाण्डे सम्झें। मैले पनि स्याम्पेन पिएर समाचार पढेको एउटा रेकर्ड नै बनाएको छु।

त्यसैबीच मैले सानोमा समाचार पढ्ने स्वरका धनी ब्राम्ही दत्त पाण्डे सम्झें। सम्पादकसित सोधें, ‘उनलाई कहाँ भेटिन्छ ?’ उनले भने, ‘अरे शर्माजी आप किसी स्टुडियो में जाइए ना वह दारु पिकर  समाचार देख रहे।’ म छक्क परें। ‘दारु’ (रक्सी) पिएर पनि समाचार पढ्ने ! मैले उनलाई एउटा खाली सानो स्टुडियोमा भेटें। नभन्दै उनी दारु पिउँदै रहेछन्। मलाई पनि ‘पिउने हो ? पत्रकारहरू त पिउँछन्’ भनेर सोधे। मैले धन्यवाद दिँदै पिउँदिन भनें। त्यहाँका केही मानिसले भने, ‘वह दारु या कोही चिज  पिकर भी बहुत अच्छा समाचार वाचन कर्ता हैं। कहीं उनका त्रुटि नहि होता।’

भारतको वेङलोरमा दोस्रो सार्क शिखर सम्मेलनसम्बन्धी समाचारका लागि म क्यामरा पर्सन जयसिंह शाहलाई लिएर बैंग्लोर गएको थिएँ। फर्किंदा तत्कालीन शाही नेपाल वायुसेवा निगमको विशेष विमानमा आयौं। बेलुककाको समय  थियो। विमान उडेको केही बेरमै आज नेपालको पञ्चायत व्यवस्था २५ वर्ष पूरा भएका अवसरमा तपार्इंहरू (विमानमा नेपाली मात्र थियौं)लाई राजाबाट स्याम्पेन बक्सेको कुरा सुनाइयो र प्लास्टिकका कपमा स्याम्पेन वितरण गर्न थालियो। हामीले पनि आजलाई काम गर्नु छैन भनेर ढुक्कसँग स्याम्पेन पियौं।

त्रिभुवन विमानस्थलमा ओर्लिंदा बेलुकाको ६ बजिसकेको थियो। विमानस्थलको ढोकैमा हाम्रा कर्मचारी लय संग्रौला पर्खेर बसेका रहेछन्। उनले भने, ‘तपाईं त घर होइन, सीधै सिंहदरबार (अफिस) जानुपर्ने भयो।’ थाकेर आएको र स्याम्पेन पनि चढेको मलाई अफिस जानुपर्ने कुरा पत्याउन गाह्रो भयो। सुरुमा नेपाल टेलिभिजनमा समाचार पढ्ने म र रमा सिंह मात्र थियौं। अरू कर्मचारी लिन बाँकी नै थियो। ‘रमाजी कता जानुभयो,’ मैले भनें। लय ‘रमा त बिरामी भएकाले समाचार पढ्न आउन नसक्ने भन्ने खबर आयो। त्यसैले तपाईं गएर समाचार नपढे, आज नेपाल टेलिभिजनबाट समाचारै जाँदैन’ भन्न थाले।

अब नगई सुखै छैन भनेर गाडी चढें। समाचार सम्पादक राजेन्द्रदेव आचार्य बुलेटिन तयार पारेर मलाई नै पर्खिरहेका रहेछन्। बुलेटिनको बिटो बोकेर स्टुडियो पस्ता बेलुकीको ७ बज्न ५ मिनेट बाँकी थियो। राजेन्द्र अहिले यो संसारमा छैनन्, उनी एक कुशल पत्रकार, लेखक र समाचारवाचक थिए। उनलाई सम्झिँदा आँखा भिज्छन्, मेरा।

मैले समाचार पढें। कहीं–कतै स्याम्पेनको असर देखिएन। भोलिपल्ट मेरा साथीले ‘हिजो समाचार पढ्दा आँखा अलि राता थिए नि, कि पिएर पढिस्’ भने। मैले झल्याँस्स ब्राम्ही दत्त पाण्डे सम्झें। मैले पनि स्याम्पेन पिएर समाचार पढेको एउटा रेकर्ड नै बनाएको छु।

प्रकाशित: २५ पुस २०७६ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App