१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

महेन्द्र–बिपी द्वन्द्व

नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ पुस १ गतेको घटना भयो भन्ने कुरा सबै नेपालीले बुझ्न आवश्यक छ। बिपी कोइराला प्रधानमन्त्री भएपछि इजरायल भ्रमणका बेला उनलाई नेपालमा तपार्इंका लागि कुन शक्ति बाधक छ भनेर सोधिएकामा ‘राजसंस्था’ भनेको कुरा व्यायक प्रचार भएको थियो। जुन कुरा भित्रभित्रै वैमनस्यताको कारक बनेको हुन सक्छ। तर राजा महेन्द्र र बिपीबीच कुनै मतभेद थिएन। राजा महेन्द्र र प्रधानमन्त्री बिपी सँगसँगै पैदल दाङको देउखुरी पुगेका थिए। त्यहाँ एउटै मञ्चबाट भाषण गरेका थिए। त्यसपछि राजा महेन्द्र नेपालगन्ज र बिपी काठमाडौं फर्के। नेपालगन्जमा राजा महेन्द्रले गरेको भाषणलाई विवादमा ल्याइयो, तर ‘गोर्खापत्र’मा छापिएन। राजा फर्केपछि भाषण छापियो।

यस्तै सानातिना कुरामा कुरौटेहरूले राजा र बिपीबीच भाँजो हाल्न सुरु गरेका थिए। प्रतिपक्षहरू कांग्रेसको सत्ताविरुद्ध खनिन लागेका थिए। त्यसपछि गोर्खा काण्डले विकराल रूप लियो। २०१७ असोजतिर कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ गोर्खा पुगेका थिए। त्यही साल कात्तिक ९ गते दिउँसो ३ हजार जनाजतिको जुलुस महामण्डलको झण्डा लिई ‘नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौं’ नारा लगाउँदै अड्डाअगाडि आउँदा प्रहरीसँग भिडन्त भयो। ढुंगामुढा, लाठी चार्जपछि गोलीकाण्ड भयो, जसमा ७ जना ठहरै भए भने १० जना गोली लागेर घाइते भए, १० जनाजतिको हातखुट्टा भाँचिए। आतंक सिजर्ना भयो। यो सब योगी नरहरिनाथको उग्र भाषणका कारण भएको भनियो।

राजा महेन्द्रको राष्ट्रवादी सोचाइसँग बिपी कोइराला परिचित हुँदाहुँदै कसको षड्यन्त्रले हो यी दुईबीच ठूलो वैमनस्य खडा हुनु नै अहिलेसम्मको नेपालको संकटको कारण हो। नेपालको प्रजातान्त्रिक लडाइँमा बिपीको ठूलो देन छ। राजा महेन्द्रको चर्चा गर्दा नेपाली कांग्रेसका नेता बिपीको विरोध गर्न खोजेको ठान्नु हुँदैन।

उनलाई पक्राउ गर्न आदेश पनि भयो। कांग्रेसी कार्यकर्ताले कांगे्रस मास्न राजदरबारले योगीलाई लिखत दिएर पठाएको छ भन्ने झुटो कुरा बिपीका कानमा पारेछन्। बिपी पनि यो कुरा विश्वास गरेर दरबारविरुद्ध बोल्न थालेका थिए। बेलायतबाट फर्केपछि राजा महेन्द्रले बिपीलाई बोलाएर बेलायतबाट ल्याएका छालाको ब्याग, टेपरेकर्डर, घडी, ब्रास्लेट उपहार दिँदै नरहरिनाथलाई जोडेर दरबारलाई दोष दिइएका सबै कुरा झुटा भएको बताए। यो कुरा बिपीले आत्मवृतान्तमा उल्लेख गरेका छन्। तर गोर्खाकाण्ड र योगी नरहरिनाथबारेको वास्तविकता त्यस्तो थिएन। कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार श्री ५ महाराजाधिराज सरकारबाट ५०० रुपैयाँ चन्दा बक्सेको छ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेखेका कागज योगीले बोकेकोे र त्यो अरूले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको भन्ने भ्रम फैलाएका थिए। यहींबाट राजा महेन्द्र र प्रधानमन्त्री बिपीबीच सम्बन्ध–विच्छेदको अध्याय सुरु हुन्छ।

भारतीय प्रधानमन्त्री नेहरूको समयमा सन् १९५० को नेपाल–भारत असमान सन्धि र त्यसपछि दिल्ली सम्झौता भएयता भारतले नेपालको सार्वभौमसत्तामा गिद्धे दृष्टि लगाउन थालेको हो। भारतले सहयोग गरेजस्तो गर्छ, तर त्यही सहयोग नेपाललाई सताउने कारक बनिरहेको छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतले सहयोग त ग¥यो, तर राजा त्रिभुवन २००७ कात्तिकमा दिल्ली पुगेपछि दिल्ली सम्झौता गराएर नेपाललाई आफ्नो प्रभावमा राख्ने उसको उद्देश्य थियो। दिल्ली सम्झौताका राष्ट्रघाती बुँदामध्ये श्री ५ त्रिभुवनको सुरक्षा र सहयोगका लागि राजदरबार गेटमा नेपाली सेना, भित्र पन्जाबी सेना र श्री ५ को प्रमुख सचिवका रूपमा राजदरबारमा गोविन्दनारायण सिंह, मन्त्रिपरिषद्को मुख्य सचिवमा भारतकै मुर्देश्वर, नेपालको कानुनी सल्लाहकारमा भारतकै आयंगार, नेपालको आर्मी हेडक्वाटरमा भारतकै जर्नेल शारदानन्दन सिंह राखिएको थियो। यसरी नेपालका हरक्षेत्रमा कब्जा जमाएर भारतले कति दुष्ट दृष्टिकोण राखेको रहेछ भन्ने स्पष्ट हुन्छ। त्यस्तै त्रिभुवन राजपथ भारतीय सेनाबाट निर्माण भएकाले उसको दबदबा बढ्दो थियो। उत्तरी सिमानामा भारतीय सेनाको चेकपोस्ट खडा गरेपछि नेपालको अस्तित्व नै संकटमा परेको थियो।

भारतको यस्तो हस्तक्षेप भएपछि हरक्षेत्रबाट प्रश्न उठ्न थाल्यो– ‘नेपालको सार्वभौसत्ता नेपाल वा भारत कहाँ निहित छ ?’ त्यस्तो अवस्थामा राजा त्रिभुवनबाट २०१० माघ ७ गते बिरामी अवस्थामा– नेपालको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका अबदेखि श्री ५ मा निहित रहनेछ भन्दै लामो घोषणा गरेर नेपालको सार्वभौमसत्ता बचाएका थिए। घोषणाको पूर्ण अंश गृष्मबहादुर देवकोटाबाट संकलित ‘नेपालको राजनीतिक दर्पण’ भाग–१ को पहिलो भागमा छ। यस घोषणपछि दिल्ली सम्झौताको आडमा नेपाललाई भारतीयकरण गर्न चाहने भारतीयहरू लाखापाखा लागे। नेपाली कांग्रेस सत्तामा आएपछि बिपीसँगको मित्रताको फाइदा उठाउँदै भारतले नेपाल कब्जा गर्ने उद्देश्यले कोशी उच्च बाँध, दाङ देउखुरी जलकुण्ड योजनालगयात निर्माण गरेको थियो। २०१७ सालअगाडि भारतले एकलौटी रूपमा नेपाल कब्जा गर्ने रणनीति बनाएको थियो। नेपालको सुरक्षार्थ भन्दै चेकपोस्टका नाममा उत्तरी सिमानामा भारतीय फौैज राखिएको थियो।

९० प्रतिशत भारतीय मुद्रा नेपालमा चलनचल्ती हुन्थ्यो। नेपालको जमिन खरिद–बिक्री गर्न भारतीय स्वतन्त्र थिए। नेपालको एक जिल्लाबाट अर्को जिल्लामा जान भारतकै बाटो हिँडनुपर्ने बाध्यता थियो। नेपालमा हिन्दी भाषाले ठूलो प्रभाव जमाएको थियो। एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको आफ्नै फौज, मुद्रा तथा भाषा हुन्छ। राष्ट्रको भूभाग खरिद–बिक्री गर्ने अधिकार नागरिकमा मात्र रहन्छ। तर २०१७ सालअगाडि नेपालको अवस्था त्यस्तो थिएन। त्यसैले मुलुकको सार्वभौम रक्षाका लागि २०१७ सालको परिवर्तन आवश्यक भएको बुझिन्छ। राजा महेन्द्रले संविधानको धारा ५५ प्रयोग गरेर संसद् विघटन गरे। निर्वाचित संसद् विघटन गर्नु झट्ट सुन्दा नराम्रो लागे पनि पछिका दिनमा राष्ट्रियताका सवालमा त्यो कदम समयानुकूल थियो कि भन्ने पनि बुझ्न थालियो। वास्तवमा पुस १ गतेको घोषणा कांग्रेस सत्ताविरुद्ध मात्र केन्द्रित देखिँदैन।

२०१७ सालको परिवर्तनपछि राजा महेन्द्रको नेतृत्वमा कुनै पनि विदेशीले नेपालको जमिन खरिद–बिक्री गर्न नपाउने नियम बनाइयो। नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा लागू गरियो। नेपाली मुद्रालाई नेपाल अधिराज्यभर अनिवार्य गराइयो। भारतीय फौज बिनासर्त नेपालबाट हटाइयो। पहाड–मधेस दुवैलाई सुविधा हुने गरी पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न २०१८ सालमा राजा महेन्द्रबाट गैंडाकोटमा शिलान्यास भयो। विश्वका ठूला राष्ट्रहरूको दबाबबाट मुक्त हुन राजा महेन्द्रकै पहलमा असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर संयुक्त राष्ट्रसंघमा अगुवाइ गर्न नेपाल सफल भएको हो। आधुनिक चीनका शक्तिशाली नेता माओत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरू दुवैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेका थिए। विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, उद्योगधन्दा निर्माण गराउँदै आर्थिक, सामाजिक व्यवस्थामा आमूल परिवर्तन ल्याएर विश्वभरि नेपालको प्रतिष्ठा जगाउने काम राजा महेन्द्रबाटै भएको हो। राजा महेन्द्रको राष्ट्रवादी सोचाइसँग बिपी कोइराला परिचित हुँदाहुँदै कसको षड्यन्त्रले हो यी दुईबीच ठूलो वैमनस्य खडा हुनु नै अहिलेसम्मको नेपालको संकटको कारण हो। नेपालको प्रजातान्त्रिक लडाइँमा बिपी कोइरालाको ठूलो देन छ। राजा महेन्द्रको चर्चा गर्दा नेपाली कांग्रेसका नेता बिपीको विरोध गर्न खोजेको ठान्नु हुँदैन।

राजा महेन्द्र र बिपीबीच कस्तो सौहार्द सम्बन्ध थियो भन्ने कुरा २०२८ माघ २८ गते राजा महेन्द्रको देहवसान हुँदा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री दीनबन्धु अर्यालले आफूसँगै बनारसमा रहेका बिपी यो खबर सुन्नेबित्तिकै अत्यन्त चिन्तित भएको कुरा लेखेबाट स्पष्ट हुन्छ। अर्यालले लखेका छन्– ‘श्री ५ महेन्द्र स्वर्गीय भएको खबरले बिपीलाई रातभर निन्द्रा परेन। राजा महेन्द्र महान् राष्ट्रवादी राजा थिए भनेर बिपीले सजल नेत्रले भन्दा आफूप्रतिको अन्याय बिर्सेको हुनुपर्छ। बिपीले राजसंस्था र राजा व्यक्तिको भेद पनि राम्ररी बुझ्नुभएको थियो। राज्य एकीकरणमा पृथ्वीनारायणका भाइहरूले राज्य बाँडेर केही भाग हामीलाई पनि देऊ भन्दा राज्य टुक्र्याउने चिज होइन भनेर दिएको उत्तर बिपीले सुनाउनुहुन्थ्यो।’

भारतले सिक्किम कब्जा गरेपछि बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर भारतको निर्वासनबाट २०३३ पुसमा नेपाल फर्केका थिए। राजा महेन्द्र र बिपीका विचार बिर्सेर यो देशले निकास पाउँदैन।

प्रकाशित: ३ पुस २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App