१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

घृणाको मन्तव्य

समाजमा घृणा फैलाउने र सामाजिक सद्भाव भड्काउने मन्तव्य वा विचारलाई घृणाको मन्तव्य भनिन्छ। अर्को अर्थमा– समाजमा व्यक्तिलाई धर्म, लिंग, जाति, आर्थिक अवस्था आदिका आधारमा आक्रमण गर्ने मन्तव्यलाई घृणाको मन्तव्य भनिन्छ।

अहिले हाम्रो समाजका हरेक क्षेत्रमा असहिष्णुता र घृणा बढेको देखिन्छ। देशमा सधैंभरि यो वा त्यो नाममा नागरिकलाई आशा देखाएर राजनीतिक आन्दोलन चर्काइरहने नेता र तिनका दलका व्यवहार तथा चरित्र, तिनैले बोलेका र दस्तावेजमा लेखेका सिद्धान्त र प्रतिबद्धताभन्दा फरक र कतिपय अवस्थामा त उल्टोसमेत हुन थालेपछि नागरिकमा बढाएको निराशाका रूपमा यसलाई लिने गरिएको थियो। तर यसको प्रभाव बिस्तारै समाजका समग्र क्षेत्रमा फैलिँदै गएपछि यो असन्तोष र निराशा क्रमशः अराजकता तथा घृणामा समेत बदलिएको अनुभव भएको छ। हाम्रो बोलीमा देखिएको छाडापन, अरूप्रति बढ्दो असम्मान, अरूका कुरा सुन्दै नसुन्ने प्रवृत्ति, कानुन हातमा लिने, जसले सक्छ उसैले निर्णय गर्ने र त्यो लागू गराउन शक्ति प्रयोग गर्नेजस्ता गलत कार्यले, नागरिकले अनेकौं पटक गरेको रक्तरञ्जित आन्दोलन र बलिदानबाट प्राप्त प्रजातन्त्र, कानुनको शासन एवं नागरिक अधिकारविरुद्ध अनधिकृत आक्रमण एवं अतिक्रमण भइरहेको देखिन्छ। नागरिक अधिकारको सुरक्षा र संस्थागत गर्न स्थापना भएका संस्था तथा संयन्त्रका गलत एवं कतिपय अस्वीकार्य क्रियाकलाप पनि यस किसिमको अराजकता तथा घृणा जन्माउन जिम्मेवार छन् भन्न हिचकिचाउनु पर्दैन। यसबाट कानुनको शासन तथा नागरिक अधिकारमा संकट बढिरहेको अनुभूति भइरहेको छ।

समाजका आम मानिसले दैनिक जीवनमा कुनै न कुनै प्रकारले हिंसा, अपमान, अधिकार हनन तथा घृणा भोगिरहेका भए तापनि धेरैलाई सैद्धान्तिक रूपमा घृणाको मन्तव्यबारे जानकारी छैन।

यो अवस्था हाम्रो नेपाली चरित्र मात्र हो कि भन्ने लाग्न सक्छ। तर त्यसो नभएर यो सबै महादेश, राष्ट्र, संस्कृति एवं परम्परामा पाइन्छ। फरक कति मात्र हो भने कहीं प्रस्ट रूपले मुखरित छ त कहीं अलि अप्रत्यक्ष रूपमा छ। उदाहरणका लागि केही अनुभव राख्न चाहन्छु :

म गत सेप्टेम्बर अन्तिम साता फिलिपिन्सको मनिलामा पेन इन्टरनेसनलको ‘शान्तिका लागि लेखकहरूको समिति’ को बैठकमा सहभागी भएको थिएँ। त्यहाँ छलफल गरिएको प्रमुख विषय थियो– ‘घृणाको मन्तव्य र यसले समाजमा पारेको असर’। त्यहाँ विभिन्न देशका लेखकले आफ्ना देशको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे।

पेन इन्टरनेसनलका बुर्हान सोन्मेजले भने– ‘टर्की मुस्लिम बाहुल्य देश हो। देश धर्मनिरपेक्ष छ। मुस्लिम अतिवादी बढिरहेका छन् र अन्य जाति तथा धर्मका मानिसविरुद्ध अन्याय भइरहेको छ। उनीहरू पीडित छन्। अर्को उदाहरण–  आप्रवासीविरुद्ध घृणा। सिरियालीले यहाँ पौडी खेल्न पाउँदैनन् भनेर समुद्री किनारमा सूचना टाँसिएको छ। महिलाले स्कर्ट लगाउँदा विरोध भएको छ। समस्या सिर्जना भएको छ। यहाँ व्यक्तिको मानव अधिकार एवं इच्छामा अतिक्रमण भएको छ।’

फिलिपिन्सका एन्जेलो लकुएस्टाका अनुसार फिलिपिन्समा राष्ट्रपति, ‘लागुपदार्थ र लागुपदार्थ प्रयोग गर्नेलाई घृणा गर्छु’ भन्छन्। यस्ता दुव्र्यसनी मानिस फिलिपिन्समा २० हजार छन्।

रसियाकी अन्जेकिना पोलोनस्काया भन्छिन्– ‘सन् २००० देखि रसियामा सबै किसिमका मानव अधिकारको हुर्मत लिइएको छ। रसियामा स्वतन्त्र पत्रकारिता नष्ट भयो। सबै चिज भ्लादिमिर पुटिन र क्रेमलिनको हातमा गयो। २०१५ देखि अवस्था झन् कठिन भएको छ। स्वतन्त्रता र अधिकारको प्लेकार्ड बोकेर नागरिक बाहिर निस्किन सक्दैनन्। स्वतन्त्रताको आवाज बोल्ने मानिस समातिन्छन् र कसैलाई थाहा हुँदैन, ती कहाँ जान्छन् ?’ उनका अनुसार पुटिन भन्छन्– ‘हामीकहाँ लेखक र राजनीतिक बन्दी छैनन्। कति हास्यास्पद कुरो ! देश शान्त हुन्छ। जनता बोल्दैनन्।’ यति भनिसकेपछि उनी प्रश्न गर्छिन्– ‘जहाँ जनता बोल्दैनन्, त्यहाँको अवस्था विस्फोटनका लागि तयार भइसकेको हुन्छ। तब नबोल्ने देश कसरी शान्त हुन्छ ?’

हङकङकी इलारिया मारिया सालाले अहिले हङकङमा चलिरहेको प्रजातन्त्रवादीको आन्दोलनको चर्चा गर्दै उनीहरूले सरकारी पक्षबाट भोगिरहेको समस्या उल्लेख गरिन्। यस्तै अनुभव बंलादेशका लेखक मोहम्मद मोहेउद्दिनको पनि थियो।

मैले कार्यपत्र त प्रस्तुत गरिनँ। तर उनीहरूले उठाएका समस्या र घृणाको मन्तव्यका कारण सिर्जित समस्या ध्यानपूर्वक सुनें। म यसैबेला हाम्रा प्रधानमन्त्रीले भनेका ‘बारुलाको कथा’, उनका प्रमुख सल्लाहकारले ट्विट गरेका ‘छौंडा’ कुरा र सञ्चारमन्त्रीका घृणाले भरिएका मन्तव्य र विपक्षी दलका प्रमुख नेता तथा अन्य नेताबाट आउने गरेका असम्मानजनक एवं कतिपय आपत्तिजनक अभिव्यक्ति सम्झिँदै थिएँ। जनताले अधिकारको आवाज उठाउँदा ‘दुईतिहाइको सरकारलाई हेप्ने’ भनेर सरकारी सञ्चारमाध्यममा बोलिएका धम्कीपूर्ण आवाज मेरो मानसमा गुञ्जिँदै थियो। आफ्ना असन्तुष्टि व्यक्त गर्दा, प्लेकार्डमा शान्ति–सुरक्षा र विकास माग्दा सरकारी दमन, सुरक्षाकर्मीबाट भएका हत्या शृंखला, निर्मला पन्तलगायत चेलीको बलात्कार तथा हत्याकाण्डपछिका ताण्डव एवं बर्बरता, सार्वजनिक खुलामञ्चको दुर्गतिपछि आफ्नो मत प्रकट गर्न प्रदर्शनीका लागि माइतीघर मण्डला माग्दा प्रदर्शनकारीले भोग्नुपरेको यातना तथा प्रहरीको धरपकड पनि मेरो सम्झनामा घुमिरहेका थिए। त्यसैले छलफलका क्रममा हाम्रो देशमा पैmलिँदै गएको घृणा र यसले समाजमा विकास गरिरहेको जर्जरता एवं असहिष्णुताबारे आफ्नो अनुभव सुनाएँ।

नेपालमा घृणाको मन्तव्य र यसका प्रभाव वा असरबारे गम्भीरतापूर्वक पर्याप्त छलफल भएको पाइँदैन। समाजका आम मानिसले दैनिक जीवनमा कुनै न कुनै प्रकारले हिंसा, अपमान, अधिकार हनन तथा घृणा भोगिरहेका भए तापनि धेरैलाई सैद्धान्तिक रूपमा घृणाको मन्तव्यबारे जानकारी छैन। अझ भन्नुपर्दा अधिकतर नागरिक तथा बुद्धिजीवी राजनीतिक दलका छहारीमा समेटिएका अवस्थामा स्वतन्त्र नागरिक आवाज सुन्न पाउनु दुर्लभ कुरा भएको छ। कसैले स्वतन्त्र आवाज उठाइरहेको अवस्थामा समेत विश्वास गर्न कठिन हुने स्थिति सिर्जना भएको छ। शक्तिमा भएका दल र तिनका नेताका बोली÷व्यवहार जति नै अप्रजातान्त्रिक एवं अधिनायकवादी भए तापनि तिनकै छहारीमा ओत लागेकाहरूबाट विरोध हुने कुरै भएन। यसले अराजकता र अधिनायक सोचलाई अझ बढाउन मद्दत गर्छ।

लोकतान्त्रिक दर्शनमा प्रजातन्त्र र वाक् स्वतन्त्रता पर्यायावाची शब्द हुन्। जुन साथसाथै रहन्छन्। यी दुई छुट्टिएपछि समस्या सुरु हुन्छ। हामीकहाँ अहिले देखिएका समस्या, बढिरहेको घृणा र अराजकताका पछाडि यही कानुनी  शासनप्रति असम्मान तथा वाक् स्वतन्त्रतालाई गरिएको बेवास्ता प्रमुख रूपले जिम्मेवार छन्। प्रजातान्त्रिक पद्धति पालना गर्छु भन्नु राम्रो कुरा हो, प्रजातान्त्रिक पद्धतिअनुसारै राजनीति वा सत्तामा आउनु पनि राम्रो कुरा हो। तर व्यवहारमै प्रजातान्त्रिक चरित्र प्रदर्शन गर्नु, घृणाको राजनीति तथा व्यवहार बहिष्कार गर्नु र सभ्य एवं संस्कारयुक्त समाज निर्माणका दिशामा काम गर्नु साँच्चै राम्रो र प्रशंसनीय विषय हो।

समाजमा घृणा तथा अराजकता पैmलाउन सामाजिक सञ्जालको पनि प्रयोग धेरै हुने गरेको देखिन्छ। सामाजिक सञ्जालले कतिपय अवस्थामा सूचना सम्प्रेषण तथा सम्बन्ध स्थापना गर्न सकारात्मक योगदान गरेको भए पनि यसका प्रयोगकर्ता सचेत एवं जिम्मेवार भएनन् भने समाजमा असहष्णिुता÷घृणा पैmलाउन यो धेरै सजिलो माध्यमका रूपमा देखिएको छ। मनिलाको छलफल कार्यक्रममा फेसबुकजस्ता सामाजिक सञ्जालको गलत प्रयोगले समाज बिथोलिरहेको अवस्थाप्रति सबै लेखक÷कवि चिन्तित थिए। यो चिन्ता हामी जिम्मेवार एवं प्रबुद्ध नेपाली लेखक÷कविको चिन्तासँग मिल्दो थियो। समाजलाई सभ्य, परिष्कृत, सुसंस्कृत र बस्नयोग्य बनाउन सामाजिक सञ्जालको प्रयोगशैली  सच्याउन ज्यादै जरुरी छ। यसका लागि आवश्यक परे अनुगमन पनि गरिनुपर्छ।

समाजमा बढिरहेको असहिष्णुता, घृणा, आक्रमण र आत्मरतिमा रमाउने अनुभव जुनसुकै महादेश, धर्म तथा सम्प्रदायको पनि उस्तै रहेछ। सोच्छु– जब असामान्य सबै कुरा बिस्तारै सामान्य बन्छ, समाजमा खतरा बढेर जान्छ। मान्छेलाई सपना देख्न जोखिमयुक्त हुन्छ। मानिसलाई सपना लेख्न जोखिमयुक्त हुन्छ। हाम्रो समाज पनि बिस्तारै–बिस्तारै बोल्न छाड्दै छ। कति बोल्ने, कसैले सुने पो ! भनेजस्ता ‘फ्रस्ट्रेसन’ जनमानसमा चुलिँदै गएको प्रस्ट देखिन्छ। अपराध, बेथिति, भ्रष्टाचार एवं असुरक्षा महसुस हुने गरी र देखिने गरी बढेका छन्। यी सबै कुरा नेपाली समाजमा बिस्तारै सामान्य हुँदै जाने हुन् कि भन्ने चिन्ता सबैभन्दा बलियो भएको बेला छ, अहिले। यो चिन्ता राजनीतिक नेतृत्वकर्ता, प्रशासनिक नेतृत्वकर्ता, नागरिक समाज र स्वयं नागरिकले समेत पर्याप्त मनन गरी घृणाको मन्तव्यलाई निरुत्साहन र अस्वीकार गर्न आवश्यक भइसकेको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App