८ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

मुक्कासहितको सेवा !

नेपाल प्रहरी सरकारको अनुहार हो। व्यक्तिको जीवनमा प्रहरी जतिबेला पनि जोडिन्छ। सडकमा निस्किनासाथ ट्राफिक प्रहरी भेटिन्छन्। अन्य बेलामा पनि सबैभन्दा बढी निकट हुने राज्यको निकाय प्रहरी हो। यसका सदस्यले गर्ने व्यवहारका आधारमा राज्यप्रतिको धारणा बन्ने गर्छ। त्यही भएर प्रहरीले अघि सारेको नारा हो– मुस्कानसहितको सेवा। यसको अर्थ नेपाल प्रहरीले सेवा मात्र गर्दैन, मुस्कान पनि दिन्छ भन्ने हो। भन्ने बेलामा ‘मुस्कानसहितको सेवा’ तर गर्नेचाहिँ ‘मुक्कासहितको सेवा’ जस्तो बन्न पुग्छ बेलाबेलामा। दक्षिण एसियाली खेलकुल (साग) समापनका क्रममा नेपाल प्रहरीले दिँदै आएको ‘मुक्कासहितको सेवा’को प्रत्यक्ष अनुभव सर्वसाधारणले समेत गरेका छन्। राज्यले आयोजना गरेको खेलमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि सर्वसाधारण उत्साहित बनेर रंगशालामा आउनु स्वाभाविक हो। सिंगै राष्ट्र गौरवान्वित बनेका बेला त्यसका अभिन्न अंग नागरिकलाई प्रोत्साहित पनि गर्नुपर्छ। तर, यसरी आएका सर्वसाधारणलाई लात्ती, लाठी र मुक्का प्रहार गरिरहेका प्रहरीलाई तस्बिर र भिडियोमा देखेपछि आश्चर्य नमानी सुख छैन। प्रहरीले लिने तलबभत्ता, सुविधा र लाठीको खर्चसमेत आमनागरिकले तिरेको करबाटै प्राप्त हुन्छन्।

सागको सुरक्षामा खटिएका डिएसपी रुगम कुँवरले एक सर्वसाधारणलाई कुटपिट गरेको तस्बिर खिच्दै गर्दा हाम्रा सहकर्मी चापागाईंमाथि सोह्रखुट्टे वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का प्रहार गरी घाइते बनाएका थिए। यी प्रहरीहरूमाथि कारबाही नहुने हो भने नेपाल प्रहरीको ‘मुस्कानसहितको सेवा’मा गम्भीर धक्का लाग्नेछ।

हाम्रो प्रहरीले भीड नियन्त्रण कसरी गर्छ भन्ने यो जिउँदोजाग्दो नमुना हो। यतिका धेरै मानिसले देखिरहेको समयमा त प्रहरीको यस्तो व्यवहार छ भने कसैले नदेखेका ठाउँमा तिनले कति बर्बर आक्रमण गर्दा हुन्। रंगशालामा आएका सर्वसाधारणलाई मुक्का, लात्ती र लाठी बर्साइरहेका प्रहरीलाई देख्दा सबैका आँखीभौं आश्चर्यले उचालिएका छन्। तिनले सर्वसाधारणलाई मात्र यसो गरेनन्, प्रहरीले गरिरहेको दुव्र्यवहारको तस्बिर खिच्दै गर्दा हाम्रा सहकर्मी सुमन चापागाईंमाथि बर्बर आक्रमण गरियो। प्रहरीको आक्रमणमा परेर उनको कानबाट रक्तश्राव हुन पुग्यो। एक हिसाबले यो सुमनमाथि आक्रमण होइन, सिंगो पत्रकारितामाथिकै आक्रमणका रूपमा हामीले लिएका छौं। समाचार संकलनका लागि कार्यक्षेत्रमा खटिएका पत्रकारमाथि गरिने यो व्यवहारबाट प्रहरीले आफ्ना कर्मचारीलाई आवश्यक तालिम दिन सकेको रहेनछ भन्ने महसुस हुन्छ। अहिले प्रहरी नेतृत्वमा रहेका महानिरीक्षक सर्वेन्द्र खनाललगायत वरिष्ठ प्रहरीहरू विगतमा सडक आन्दोलनका क्रममा समेत खटिएका हुन्थे। तिनले सडकमा आएका मानवअधिकारकर्मी, पत्रकार आदिलाई यथोचित स्थानमा सुरक्षित राखेर आफ्नो जिम्मेवारी पूरा गरेको देखिन्थ्यो। अहिले स्थिति भिन्न भएको छ। भीड नियन्त्रणका न्यूनतम कला र व्यवहार नसिकेका प्रहरीले एकाएक लाठी, लात्ती र मुक्काको उपयोगलाई प्राथमिकतामा राखेको देखिएको छ। यसबाट प्रहरीको ‘मुक्कासहितको सेवा’ सार्थक हुन पुगेको छ।

प्रहरीको यो व्यवहार यहाँ मात्र होइन, जहाँसुकै उस्तै देखिएको छ। तिनले हालै नेपालगन्जमा गरेको बर्बर आक्रमण अर्को उदाहरण हो। त्यहाँ बालिकालाई ट्रकले किचेपछि आक्रोशित विद्यार्थी, अभिभावक र अन्य सर्वसाधारणलाई सम्झाइबुझाइ गर्नुभन्दा पनि सीधै आक्रमण गर्नुलाई प्रहरीले आफ्नो पुरुषार्थ सम्झेको देखिएको छ। पछिल्ला दिनमा प्रहरीबाट भइरहेका गैरन्यायिक हत्याका घटनालाई समेत यसक्रममा सम्झनुपर्ने हुन्छ। सर्लाहीमा कुमार पौडेललाई पक्राउ गरी हत्या गरेको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले समेत गम्भीरतापूर्वक लिएको छ। यसमा कारबाही गर्नसमेत सिफारिस गरिएको छ। राजधानी काठमाडौंमै पनि गैरन्यायिक हत्या भएका छन्। यस विषयमा पनि गम्भीर छानबिन हुनु आवश्यक छ। रंगशालामा भएको प्रहरी दमनको विरोध भएपछि एसएसपी श्यामलाल ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। तर, यो समिति तत्काल देखिएको आक्रोश साम्य पार्न मात्र गठन भएको हो भने त्यसले अपेक्षित सुधार गर्न सक्दैन। सागको सुरक्षामा खटिएका डिएसपी रुगम कुँवरले एक सर्वसाधारणलाई कुटपिट गरेको तस्बिर खिच्दै गर्दा हाम्रा सहकर्मी चापागाईंमाथि सोह्रखुट्टे वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का प्रहार गरी घाइते बनाएका थिए। यी प्रहरीहरूमाथि कारबाही नहुने हो भने नेपाल प्रहरीको ‘मुस्कानसहितको सेवा’मा गम्भीर धक्का लाग्नेछ।

प्रकाशित: २७ मंसिर २०७६ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App