१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

कुरा पत्रु खानाकै

श्रद्धा भट्टराई
शहरमात्र नभएर कर्णाली जस्ता ठाउँमा पनि प्याकेटका खानेकुरा सजिलै उपलब्ध छन् । त्यसैले त्यहाँका बासिन्दा फापर, कोदो, जौ, सिमी जस्ता पौष्टिक खाना छाडेर यस्ता खाना रुचाउँछन् । कर्णालीमा कुपोषण बढ्नुको कारण एउटा यो पनि हो जसले गर्दा त्यहाका बालबालिकाको मानसिक र शारीरिक विकाश दुवैमा रोक लागेको छ ।  यस्ता खानाले बालबालिकामा  निमोनिया, एनिमिया र छातीसम्बन्धी रोग बढिरहेका छन् ।

विकट ठाउँमा अज्ञानताका कारणले पनि यस्ता पत्रु खानाको बढी प्रयोग भएको पाइन्छ । भर्खरै चर्चामा आएको एचकेआइले गरेको अनुसन्धानले प्रस्ट पारेको छ कि काठमाडौँका बच्चाले पनि अत्यधिक मात्रामा पत्रु  खाना खान्छन् ।शहरका मानिस पढेलेखेका हुनेहँुदा जंक फुड भनिने पत्रु खाना कम खान्छन् भन्ने सोचाइलाई यसले चुनौती दिएको छ ।

यसरी पत्रु खानाको मोह बढ्दै जाँदा विश्वमै यसको रोकथामका लागि विभिन्न कदम चालिएका  छन् ।छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशले आआफ्नो तरिका अपनाएर बच्चामा पत्रु खानाको रोक लगाउन प्रयास गरेका छन् । जस्तो– पन्जाबको बाल अधिकार फोरमले स्कुलमा पत्रु खानालाई प्रवेश दिइए स्कुल पुरै बन्दको आदेश दिएको छ ।महराष्ट्रले स्कुलको चमेनागृहमा पत्रु खानाको बिक्री बन्द गरेको छ । बच्चाहरूको मस्तिष्क विकासमा पर्न गएको नकारात्मक असरलाई नियालेर उनीहरूले १२ किसिमका पत्रु खानामा रोक लगाएका छन् । जस्तै– आलु चिप्स, चाउचाउ, हल्का पेय पदार्थ, पिज्जा, बर्गर, पेस्ट्री, पानी पुरी आदि ।सँगै गहुँको रोटी, तरकारी हालेको चामलको पुलाउ, दाल, चना, फापरको दलिया, राज्मा, खिर, दही, मही, लस्सी, तरकारी हालेको पाउरोटीको स्यान्डविच, नरिवल पानी आदिमा भने जोड दिइरहेका छन् ।

पत्रु खानाको नराम्रो प्रभाव अमेरिका जस्तो शक्तिशाली देशमा पनि परिरहेको छ । अमेरिकाले बिस्तारै धेरै क्यालोरीका स्पोर्टस पेय र क्यान्डिबारलाई हटाएर पौष्टिक पेय पदार्थ राख्ने निर्णय गरेको छ । अर्को उदाहरणका लागि उत्तर अमेरिकी राष्ट्र ग्वाटेमालालाई पनि लिन सकिन्छ । त्यहाँ आधाभन्दा बढी ५ वर्षमुनिका बालबालिका कुपोषित थिए । यही कारण हालै एफएओको सहयोगमा खाद्य कानुन अनुमोदन गराइयो । अधिक पौष्टिक र पर्याप्त स्कुलको खानाले बालबालिकाको उचित संख्यात्मक र शरीरिक विकास सुनिश्चित गर्न मद्दत गर्छ भन्ने उद्देश्यले यो कानुन जारी गरिएको हो । यो कानुन ल्याएपछि २.५ मिलियन स्कुले विद्यार्थीले पौष्टिक आहार पाएका छन् । जसले गर्दा उनीहरू स्वस्थ, खुसी र जाँगरिलोसमेत भएका दाबी गरिएको छ ।

यसरी विश्वभरि पत्रु खानाको नकारात्मक असरहरू पहिल्याउँदा हाम्रो देशका नीतिनियम बनाउने आधिकारिक व्यक्तिहरूमा केही सचेतना ल्याउला कि भन्ने आशा छ । नेपाल जस्तो देश जहाँ अधिकांश जनता विपन्न छन् त्यहाँका जनताको मूल सम्पत्ति भन्नु नै स्वस्थ शरीर हो जसले उनीहरूलाई केही काम गरिखान सक्ने अवस्थामा राख्छ । यदि उनीहरूले पत्रु खाना त्यागी घरमै बनाइएका स्वास्थवर्धक खानामा जोड दिएमा देशको स्वस्थ जनशक्तिमा वृद्धि भई ‘समृद्ध नेपाल:सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन मद्दत पुग्नेछ भन्नु अत्युक्त नहोला ।

जसरी सरकारले रक्सी÷चुरोटको विज्ञापनमा रोक लगाएको छ त्यसरी नै अब यस्ता पत्रु  खानाको विज्ञापनमा पनि अलि कडाइ गरिदिए मानिसमा यसको लत कम गर्ने मद्दत पुग्थ्यो । अझ बालबालिकाको पाठ्यक्रममा नै यस्ता विषय समावेश गर्न सके अझ सजिलै जनचेतना जगाउन सकिन्थ्यो भन्नेमा दुई मत नहोला ।

प्रकाशित: २५ मंसिर २०७६ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App