विश्वले रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर जस्ता प्रविधिको खोजी,उपयोग एवम परिमार्जन गर्दै आएको छ। र, विश्वव्यापीकरणको प्रभावले नेपालीले पनि त्यस्ता सामग्रीको उपयोगलाई अंगीकार गर्दै आएका पाइन्छ। तथापि सरसफाइ र स्वच्छता प्रवर्धनमा भने नेपाली समाजको तदारुकता अपेक्षित मात्रामा बढ्न सकेको पाइन्न। सरसफाइ एवं स्वच्छता अझै पनि मानिसको जीवनशैली बन्न नसकेको वास्तविकतालाई मध्यनजर गरी नेपालमा सरसफाइमा सामाजिक उत्तरदायित्वको आवश्यकता महसुस गरिएको हो।
बितेको दशक नेपाल पिउने पानी र सरसफाइ प्रवर्धनका दृष्टिले ज्यादै महŒवपूर्ण मानिए पनि यथार्थमा भने पछाडि नै देखिन्छ।कुनै समय औँलामा गन्न सकिने संस्थाले मात्र पिउने पानी र सरसफाइ प्रवर्धनको कार्य गर्ने भन्ने सोच थियो। यस कालखण्डमा आएर यो कार्य सरकारी, गैरसरकारी संस्था, दातृनिकाय तथा अन्य सरोकारवालामाझ साझा अजेन्डा बन्न पुग्यो। यस अवधिमा देशले अनेकौँ विपत्ति सामना गर्नुपरे पनि त्यस क्रममा सरसफाइ र स्वच्छतालाई दिनुपर्ने महŒव भने दिइएन।
करिब २० वर्षअगाडिसम्म पिउने पानीलाई मात्र महŒव दिइन्थ्यो।पछिल्लो समय भने सरसफाइ र स्वच्छता पनि जोडिन पुगेको छ। किनकि यी दुुवै पक्ष एउटै रथका दुई पांग्रा हुन् भन्ने बुझाइ झांगिएको छ यसबीचमा। तर पनि उपभोक्तामाझ भने यो धारणा फैलिन सकेको छैन।सबै गाउँघरमा यी समस्या प्रत्यक्ष नियाल्न सकिन्छ।एकातिर विश्व स्वास्थ्य संगठनले मानिसलाई करिब ८० प्रतिशत रोग पिउनेपानीका कारण लाग्छ भनेको छ अर्कोतिर हामी पानीका कुरा गर्दा सरसफाइ बिर्सन्छौँ। समस्याको जड यहीँनेर छ।
यति हुँदाहुँदै पनि ग्रामीण स्तरमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि हुन कठिन देखिन्छ। उपभोक्ता समितिमा बस्नेकै बुझाइ कमजोर छ।सीमित ज्ञान भए पनि त्यो व्यवहारमा लागु भएको देखिन्न।सिन्धुपाल्चोकमा काम गर्ने क्रममा एकजना स्थानीयलाई सोधेकी थिए“– ‘तपाईँलाई पानी शुद्धीकरण गर्ने विधि थाहा छ ?’‘थाहा त छ तर म गर्दिन’, उनको तत्कालै पाएको उत्तरपछि फेरि सोधेँ– ‘किन ?’,थपिन्– ‘जाबो पानी फोहोर, सफा शुद्धीकरण सबै हेर्ने फुर्सद हँुदैन।’उनले सुनाए कि श्रीमतीले शुद्धीकरण गरेर दिए त्यही पिउने, नदिए पनि उस्तै पिउने। तर आफू भने नगर्ने।
बडो नमजा लाग्यो– श्रीमतीले भ्याइनन् भने बरु फोहोरै पिउने तर आफू भने नगर्ने।यसबाट देखिन्छ कि घरायसी काम, सरसफाइलगायत वातावरणसँग सम्बन्धित सबै काम महिलाको जिम्मेवारीमा सारिदिएको छ हाम्रो समाजले।तर अर्को अचम्मचाहिँ यो छ कि उपभोक्ता भने प्रायः पुरुष नै हाबी हुन्छन्।त्यसैले यो विडम्बनापूर्ण जरा नउखेली सरसफाइ र स्वच्छतामा सुधार आउन कठिन देखिन्छ।जसका लागि अझै धेरै कसरत गर्नुपर्ने देखिन्छ। भनाइको मतलव यसका लागि संस्थाका कर्मचारीले परियोजनाको समय अवधिसम्म घोकाएर केही हुनेवाला छैन। उनीहरूकै भित्री मनदेखि महसुस हुन जरुरी छ– सरसफाइ आफ्नै लागि हो न कि अरुका लागि गरिदिने।
प्रकाशित: १० मंसिर २०७६ ०३:१३ मंगलबार