डा. टीकाबहादुर कार्की
कृषिको प्राथमिक उपज खाना हो अनि खाना पोषणको प्राथमिक स्रोत। कृषिबिना न खानाको उपलब्धता सम्भव छ न त पोषणकै। त्यसैले कृषि खाद्य सुरक्षाको आधार मात्र होइन, पोषणको पनि प्रमुख स्रोत हो।
मानवमा देखिएका विभिन्न रोगका ११ कारकमध्ये ६ वटा खानासँग सम्बन्धित छन्। विश्वभर हुने शिशु मृत्युमध्ये ४५ प्रतिशत त कुपोषणकै कारण हुने गर्छ भने सुत्केरी मृत्युको अहं कारण फलाम र क्याल्सियम कमीले हो भन्ने पुष्टि भइसकेको छ। नेपालका ५ वर्षमुनिका ३६ प्रतिशत बालबालिका कुपोषणकै कारण पुड्का र २७ प्रतिशत कम तौलका छन्। त्यसैगरी १० प्रतिशत बालबालिको त पोषण अभावमा मृत्यु नै हुने गरेको छ। १५–४९ वर्ष उमेर समूहका सुत्केरी आमामध्ये १७ प्रतिशत कुपोषणबाट प्रभावित छन्।
औसतमा संसारका मानिसले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेभन्दा कम मात्रामा फलफूल र तरकारी खान्छन्। हाम्रो शरीरलाई आवश्यक पौष्टिक पदार्थहरू– कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, रेसा, खनिज र भिटामिन सबैको प्राथमिक स्रोत कृषि उपज नै हुन्। सामान्यतया एक व्यक्तिले दैनिक तरकारी र फलफूल मिसाएर ४०० ग्राम खानुपर्ने हुन्छ। सामान्यतया फलफूलभन्दा तरकारी सस्तो पर्ने भएकाले दैनिक २५० ग्राम तरकारी र १५० ग्राम फलफूल खानेगरी योजना बनाउँदा राम्रो हुन्छ।
पोषण अरू कतैबाट नभएर कृषिबाटै हो र यसबाटै सबै तŒव प्राप्त गर्न सम्भव छ भन्नेतर्फ नीति निर्माता र सबैको ध्यान जान आवश्यक छ।
आवश्यक परिमाणमा पोषणयुक्त खाना सबैको पहुँचमा पु¥याउने प्राथमिक काम कृषि नै हो। र, यसो गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउने, उत्पादनपछि भण्डारण र ढुवानी गरी सहज र सुलभ रूपमा मानव पाचन प्रणालीसम्म पु¥याउने दायिŒव सरकारको हो। कृषिका तीन अभिन्न अंगमा पहिलो– अनुसन्धान, दोस्रो– शिक्षा र तेस्रो– विकास अर्थात् प्रसार पर्छन्। सरकारले नीतिगत रूपमै खाद्य र पोषण सुरक्षालाई प्राथमिकता दिएको छ। कृषि अनुसन्धानको नेतृत्वदायी संस्था नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले आफ्ना नियमित कार्यक्रममार्फत यसतर्फ केही काम गरेको छ।
पोषण सुधारका लागि नार्कले पोसिला बालीहरू– तरकारी र कोसे बाली, कम प्रयोगमा रहेका अन्न बालीहरू(कोदो, तीतेफापर, जौ, लट्टे, चिनो, जुनेलो, कागुनो आदि) तथा तरकारी बालीहरू(पिँडालु, गिठा, तरुल, ओल, भ्याकुर, सिमलतरुल, मेथी, बेथे, सिमसाग, सिस्नु, इस्कुस, कुभिन्डो, निउरो आदि), फलफूलहरू (ओखर, बेल, भोगटे, अमला, सीताफल, ज्यामिर, इम्ली, जामुन आदि) को उत्पादन र उपयोगमा जोड दिएको छ। नार्कले सिफारिस गरेका केही सूक्ष्म तŒव बढी भएका मसुरोका जातमा सन् २०१७ मा सिफारिस गरेको खजुरा मसुरो हो भने सन् २०१८ मा सिफारिस गरेको कालो मसुरो जातमा फलाम र जिंकको मात्रा प्रतिकिलो बीउमा क्रमशः ७५ र ४२ मिलिग्राम पाइएको छ। यो मात्रा मसुरोका अन्य स्थानीय जातमा भन्दा अधिक मानिन्छ। त्यस्तै सखरखण्डमा अन्य जातको तुलनामा फलाम र जिंकको मात्रा बढी पाइएको छ।
मकै बालीमा पोसिलो मकै १ जात सन् २००८ मै सिफारिस गरिएको छ। उक्त जातमा पनि लाइसिन र ट्रिप्टोफान नामका दुई आवश्यक एमिनो एसिड(मानव शरीरले बनाउन नसक्ने) को मात्रा अन्यमा भन्दा बढी रहेको पाइन्छ। यसरी नै मानव मात्रका लागि अत्यावश्यक प्रोटिनको मुख्य स्रोत पशुपन्छी र माछाको पनि पोषण सुरक्षामा अहं भूमिका छ।
देशका दुर्गम गाउँबस्तीमा पोषण सुधारका लागि तरकारी र फलफूलको भूमिका महŒवपूर्ण भएकाले यिनको उत्पादनलाई जोड दिनुपर्छ। यसैगरी सहरी क्षेत्रमा घर बगैंचा र कुखुरा, हाँस, माछा आदि पालनलाई अभियानका रूपमा लैजानुपर्छ। पोषणका अन्य स्रोत खोजी र परिकारको विविधीकरण, खाद्य शृंखलामा उन्नत अभ्यासको विकास, उपभोक्ताको चाहना र मागबमोजिम उद्योगहरू स्थापना गरिनु अबका प्राथमिकता हुन्। यसका लागि कृषि मन्त्रालयका विभिन्न निकायबीच समन्वय जरुरी त छँदै छ, साथै अन्तरमन्त्रालय खासगरी कृषि, स्वास्थ्य, सिँचाइ, वातावरण, खानेपानी, शिक्षा, ऊर्जा र श्रम मन्त्रालयबीच पनि समन्वय खाँचो छ। पोषण अरू कतैबाट नभएर कृषिबाटै हो र यसबाटै सबै तŒव प्राप्त गर्न सम्भव छ भन्नेतर्फ नीति निर्माता र सबैको ध्यान जान आवश्यक छ। नार्कका वरिष्ठ बालीविज्ञ
प्रकाशित: ९ मंसिर २०७६ ०२:५८ सोमबार