२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

बिपी र गणेशमानबाट सिक

‘जननी जन्मभूमिश्च, स्वर्गादपिगरियसी’ वाक्यांशः स्वयं भगवान् रामले आफ्नो १४ वर्षको वनवासपछि अयोध्या-आफ्नो जन्मभूमि) टेक्ने बेला मातृभूमिको माटो आफ्नो माथामा दल्दै उच्चारण गरेका थिए। उनी भगवन् थिए– यो पूरै ब्रह्माण्डको मालिक उनै थिए भने उनलाई अयोध्याको मात्र किन माया र चिन्ता त भन्नेहरू पनि नभएका होइनन्।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने आफू जन्मिएको स्थान स्वर्गभन्दा प्यारो हुन्छ भन्ने सन्देश प्रवाह गरेर भगवान्ले हामी सबैलाई राष्ट्रप्रेमको महत्व दर्शाउन खोज्नुभएको हो। हामी नेपालीको जन्मभूमि नेपाललाई हिजोआज हाम्रै छिमेकीले वक्रदृष्टि लगाइरहेका छन्। हामीलाई वक्रदृष्टि लगाउनेलाई कसरी निस्तेज पार्न सकिन्छ भन्ने जुक्ति खोजका खातिर यो छलफल प्रारम्भ गरिएको हो।

छिमेकीसँगको सम्बन्ध र स्वाभिमानबारे नेपालको आफ्नै समृद्ध इतिहास छ। त्यसको पुनरवलोकन गरे पुग्छ।

पोहोर साल हाम्रा छिमेकीहरू भारत र चीन मिलेर व्यापारको बहानामा हामीलाई पत्तो नदिई लिपुलेकमै हाम्रो सार्वभौमिकताविरुद्ध धावा बोले, हामी चुइँक्क बोलेनौं। त्यसैले उनीहरूको मनोबल बढ्दै गयो। यसपटक चीनका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई भेटेको महिना दिन नपुग्दै भारतले हाम्रो सीमाना मिचेको नक्सालाई औपचारिकता दियो। सुन्नमा आउन थालेको छ– चीनतर्फका सीमास्तम्भहरू पनि धमाधम हराउँदै छन् रे ! के हुन लागेको हो यो ? हामी गरीब भएकैले यस्तो भएको हो ? हामीलाई भीखमंगा ठानेका हुन्, यिनले ? कि हाम्रा नेताहरूको पाइन जाँचिएको हो ?

कुरा जे सुकै होस्, हाम्रो भूमिमा हाम्रै छिमेकी मित्रहरू (?) ले गिद्देदृष्टि लगाएकै हुन्। जो कोहीले पनि बुझ्न सक्ने कुरा हो यो। यसमा कसैको दुईमत छैन। आत्माभिमान नभएकाप्रति हुने यस्तै हो, यस्तै भइरहेछ ! गरिब हुनु अपराध होइन। तर ठूला भन्ने देशले यस्तो संवेदना आत्मसात् गर्न चाहँदैनन्। त्यसैले गरिबले धनी वा बलवान्को मिचाहा प्रवृतिबाट जोगिने यत्न गर्नैपर्छ। पहिलो यत्न भनेको ‘भीख’ नै हो, जुन दिनदेखि हामीले भीख माग्न छाड्छौं, त्यही दिनदेखि हाम्रो कदर गर्न थाल्नेछन्, सबैले। म भोकै बस्छु, तर स्वाभिमान डग्न दिन्नँ भन्न सक्नुपर्छ, हामीले। त्यसो भन्न नसकुन्जेल यस्तो भइरहन्छ। छनोट हाम्रै हो, स्वाभिमान कि भिक्षाटन ?

छिमेकीसँगको सम्बन्ध र स्वाभिमानबारे नेपालको आफ्नै समृद्ध इतिहास छ। त्यसको पुनरवलोकन गरे पुग्छ। चीन र भारतसँग दुई बेग्लाबेग्लै प्रसंगमा नेपाली नेताहरूको अडानको इतिहास प्रस्तुत गर्ने प्रयत्न यहाँ गरिएको छ। जसले हामीलाई शिक्षा दिन सक्छ।

राष्ट्रिय एकता र मेलमिलापको अस्त्र तिखार्न सकिएन भने हावाको एउटा सानो झोक्काले डालीको पूरै फूल नाश गरिदिन सक्छ। सावधान !

चीनसँगको सीमाना विवाद
कुरा २०१६ सालको हो। बिपी कोइरालाको नेतृत्वमा गठित नेपालको इतिहासकै पहिलो निर्वाचित सरकारका वरिष्ठ सदस्यहरू संलग्न टोली मित्रराष्ट्र चीनको भ्रमणमा थियो। चीनका तर्फबाट प्रधानमन्त्री चाउ एनलाइ र नेपालका तर्फबाट प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको टोलीबीच आपसी हितका विषयमा औपचारिक छलफल चलिरहेको थियो। प्रसंगवश चीनका प्रधानमन्त्रीले ‘माउन्ट एभरेस्ट’ चीनकै हो भन्ने जिकिर गरे। प्रत्युत्तरमा नेपाली टोलीका नेता एवं प्रधानमन्त्री बिपीले बडो सावधानी एवं कुशलतापूर्वक यावत् दलिल एवं आफूसँग भएका प्रमाण प्रस्तुत गरे र भने– ‘एभरेस्ट नेपालको होइन, चीनकै हो भन्ने प्रमाण के छ ?’ चीनका प्रधानमन्त्रीसँग प्रमाण केही थिएन। तर उनले आफ्नो लिँडे ढिपी छाडेनन्। एकोहोरो भनिरहे– ‘होइन, एभरेस्ट त चीनकै हो, यो कुरा तपाईंहरूले स्वीकार्नैपर्छ।’

तिनताका प्रधानमन्त्री चाउ एनलाइ पनि विश्वस्तरकै राजनेता मानिन्थे। तर त्यस छलफलमा त उनी ‘बालहठी’जस्ता देखिएका थिए। लामो समयसम्म उनको तर्कशून्य ढिपी मात्रै देखेर आफूनजिकै बसेका गणेशमान सिंहको धैर्यको बाँध टुट्नै लागेको देखेपछि बिपी कोइरालाले त्यो दिनको बैठक भोलिपल्ट पुनः बस्ने गरी स्थगन गरे। होटलमा फर्किएपछि बिपीले गणेशमान सिंहलाई सम्झाउँदै भनेछन्– ‘गणेशमानजी ! चीनले हाम्रो सार्वभौमसत्तामा धावा बोलेको तपाईंले सहन नसकेको मैले राम्रोसँग बुझेको छु। म पनि चाउ एनलाइको कुरा कहाँ स्वीकार्छु र ! तर कूटनीतिमा धैर्य राख्न पनि जान्नुपर्छ। त्यसकारण कृपया संयमित हुनुहोस्। भोलि गम्भीर छलफल हुने नै छ। गणेशमानले आफ्ना नेताका कुरा त माने, तर आफ्नो देशको सार्वभौमिकताप्रति उठेका प्रश्नको जवाफ पर्याप्तचाहिँ थिएन भन्ने उनलाई लागिरहेको थियो।

भोलिपल्ट पुनः बैठक बस्यो। फेरि हिजोजस्तै लिँडे तर्क चीनका तर्फबाट आइरह्यो। आज त अझ अघि बढेर चीनले भन्यो– माउन्ट एभरेस्टको नेपाली नाम नेपालसँग छँदै छैन भने त्यो उसको भाग कसरी हुन्छ ? तुरुन्त बिपीले भने– ‘माउन्ट एभरेस्ट’ भनी विश्वमा चिनिनुभन्दा सयौं वर्ष अघिदेखि यसलाई ‘सगरमाथा’ भनिन्थ्यो। हामी आजसम्म यसलाई माउन्ट एभरेस्ट होइन ‘सगरमाथा’ नै भन्छौं।’ प्रत्युत्तरमा चीनका प्रधानमन्त्री चाउले भने– ‘त्यसो त हामी पनि यसलाई ‘छोमोलुङ’ भन्छौं।’ तत्क्षण बिपीले प्रतिवाद गरे– ‘चिनियाँ भाषामा ‘छोमोलुङ’ भन्ने शब्द छँदै छैन। यो त तिब्बती भाषा हो।’ यसको प्रमाण पनि छ, हामीसँग भन्दै बिपीले काठमाडौंको वसन्तपुर दरबारको ‘जैशीचोक’बाट ल्याएको प्रमाण देखाए। तर चीन अझ पनि मान्न तयार भएन। यी यावत् हर्कत हेरिरहेका गणेशमानलाई कनसिरीका रौं ठाडा भए। उनले अनायासै जुरुक्क उठेर भन्न थाले– ‘महामहिम प्रधानमन्त्री चाउ एनलाइजी ! यो अन्तहीन र विवेकशून्य बहस धेरै गरिरहनुको अब कुनै अर्थ छैन। जहाँ छलफलमा लिखित प्रमाणको मर्यादा गरिँदैन, त्यहाँ छलफलका निम्ति छलफल मात्र गर्नु उचित हुँदैन। चीन हाम्रो निकट मित्रराष्ट्र हो। उसलाई हामी अन्यथा केही भन्न चाहँदैनौं। यस्तै परिस्थिति उत्पन्न हुँदा विश्वमा कैयौंपटक विभिन्न देशबीच युद्धसमेत भएका छन्। हामी दुई मित्रराष्ट्रबीच त्यस्तो अवस्था हामीले कल्पना गर्ने कुरा पनि भएन। त्यसैले यो विषयमा पछि नै छलफल गर्नु उचित हुन्छ कि ?’ गणेशमान सिंहको भनाइपछि उक्त बैठक पुनः स्थगन गरियो। जहाँ उनको अत्यन्त कूटनीतिक तर मर्यादापूर्ण चेतावनीमा ‘राष्ट्रवाद’ छताछुल्ल भएको थियो। यो देख्ने देशी–विदेशी सबैले गणेशमानलाई ‘लोहा’ माने। पछि बिपी कोइराला स्वयंले गणेशमानलाई भने– ‘गणेशमानजी ! एउटा राष्ट्रवादीले जति गम्भीरतापूर्वक कुरा राख्नुपथ्र्याे त्यो तपाईंले राख्नुभयो। तपाईंलाई बधाई छ ! तर चीनसँग अब हाम्रो सम्बन्ध कस्तो हुने हो, अहिले यसै भन्न सक्ने अवस्था रहेन।’

पर्सिपल्ट उक्त टोली स्वदेश फर्किने कार्यक्रम थियो। साँझको खानपिनपछि टोलीका सबै सदस्य आ–आफ्ना कोठामा सुत्न गए। बिपी राति आफ्नो कोठामा कुनै पुस्तक पढ्दै थिए। अचानक उनको कोठाभित्र ५÷६ जना सेनाका जर्नेल प्रवेश गरे र भन्न थाले– ‘हाम्रा अध्यक्ष माओत्सेतुङ तपाईसँग अहिले नै भेट्न चाहनुहन्छ।’ बिपीले घडीतर्फ नजर घुमाए र भने– ‘रातको १२ बजिरहेको छ। फेरि म सुत्ने पोसाकमा छु, यो कसरी सम्भव हुन्छ ?’ जर्नेलहरूले भने– ‘होइन उहाँ त तपाईसँग भेट्न यही होटलमा आइसक्नुभएको छ। जाऔं तल लबीमा !’ बिपी पनि ‘लौ न त’ भनी तल ओर्लिए। होटलको ठूलो अनि भव्य लाउन्जमा टाढैबाट प्रस्ट चिनिने विश्वका ४–५ जना राजनेतामध्ये गनिने चीनका अध्यक्ष माओत्सेतुङको व्यक्तित्व दृष्टिगोचर हुनासाथ विश्वेश्वरप्रसाद कोइरालाभित्र पनि एक किसिमको रोमाञ्च उत्पन्न भयो।

एकैछिनमा आपसी भेटघाट तथा अभिवादन सम्पन्न भयो र सामान्य औपचारिकतापछि अध्यक्ष माओले नै छलफल प्रारम्भ गर्दै भने– ‘महामहिम प्रधानमन्त्रीजी ! तपाईंको र हाम्रो टोलीबीच २ दिनदेखि भइरहेको वार्तावारे म पूर्णतः जानकार छु। यो विषयलाई धेरै लम्ब्याउन हुन्न भन्ने मेरो ठहर छ। त्यसकारण एउटा बीचको अर्थात् मध्यमार्गी प्रस्ताव लिएर आएको छु, कृपया स्वीकारीदिनुप¥यो। मेरो प्रस्ताव ‘पानी ढलो’ हो। अर्थात् चीनपट्टि बग्ने पानीको पाटो चीनको र नेपालपट्टि बग्नेजति नेपालको। यो मेरो प्रस्तावमा दुवै देशको भलो छ। त्यसकारण मेरो यही प्रस्ताव हामी दुवैले स्वीकार्नुपर्ला।’

बिपी कोइराला एकछिन असामञ्जस्यमा परेझंै देखिए। तर बिपी न हो ! आफूमा कुनै लघुताभास हावी हुन नदिई तुरुन्त, तर कूटनीतिक मर्यादाभित्र रहेर भने– ‘अध्यक्ष महोदय ! उमेरले तपाईं मेरा पितासरहको मान्छे। तपाईंको कुरा काट्ने मेरो न मनसाय हो न त त्यसो गर्ने मेरो स्वभाव नै छ, तथापि हाम्रो (नेपालको) ऐतिहासिक प्रमाणहरूको बर्खिलापमा म जान सक्ने कुरा भएन। फेरि मैले एक्लै कुनै निर्णय गर्न पनि हुन्न। हाम्रो देश नेपालमा प्रजातन्त्र छ। म प्रधानमन्त्रीको हैसियतले मेरो देशको संसद्प्रति पूर्णतः जवाफदेही छु। त्यसकारण महामहिम अध्यक्षको प्रस्ताव म मेरो सदनमा राख्नेछु। सदनको जे निष्कर्ष होला, त्यो म चीन सरकारलाई सम्झाउने नै छु। कृपया मलाई एक्लै कुनै निणर्यमा पुग्न बाध्य नगराइयोस्।’ यो जवाफपछि केही क्षण भलाकुसारी गरी दुई नेता छुट्टिए।

बिपी कोइराला र गणेशमान सिंहले यसरी बचाएको सगरमाथाको शिर सन् १९६५ मा राजा महेन्द्रले चीनलाई माओकै प्रस्तावअनुसार बुझाए। दोस्रो प्रसंग पनि २०१६ सालकै हो। भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू, जो विश्वस्तरका राजनेताका रूपमा परिचित थिए, उनले उनकै देशको कुनै आन्तरिक प्रसंग जोड्दै भनिदिए– ‘भारतको सुरक्षा सिमाना नेपालको उत्तरी हिमशृङ्खलाहरू हुन्।’

नेहरूको यो भनाइ सबै नेपालीका कानसम्म पुग्न नपाउँदै नेपालका तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले कडा वक्तव्य जारी गर्दै भने– ‘भारतका प्रधानमन्त्री नेहरूजीले नेपालको स्वतन्त्र अस्तित्वको ख्याल नगरी बोलेका कुरा शतप्रतिशत गलत हो। यसबारे उहाँले आफ्नो भनाइ सार्वजनिक रूपमा फिर्ता लिनुपर्छ।’ नभन्दै वक्तव्य सार्वजनिक भएको तेस्रो दिनमै नेहरूले भारतको संसद् (लोकसभा) मा भने– ‘असावधानीवश नेपालबारे मबाट बोलिएको कुरा फिर्ता लिन्छु।’

समकालीन नेपालको राजनीतिमा बिपी कोइराला र गणेशमान सिंहसँग दाँज्नलायक नेता दृष्टिगोचर हुँदैन। तर भारतले नेपालमा लगाएको नाकाबन्दीविरुद्ध एक शब्द उच्चारण गर्न पनि आफ्नो नशा–नाडी गल्ने नेपाली कांग्रेसभन्दा तत्कालीन एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली साहसी देखिए, जसले भारतलाई उसको हैसियत देखाइदिए।

आज परिस्थिति बदलिएको छ। हिजोको नाकाबन्दीभन्दा यो मुद्दा बढी पेचिलो छ। हाम्रो सरकारले रणनीतिक समझदारीको बहानामा धेरै गल्ती गरिसक्यो। अब त्यो सच्याउन कुनै व्यक्ति वा पार्टी विशेषले सक्ने होइन। तसर्थ राष्ट्रिय एकता र मेलमिलापको अस्त्र तिखार्न सकिएन भने हावाको एउटा सानो झोक्काले डालीको पूरै फूल नाश गरिदिन सक्छ। सावधान !

प्रकाशित: ३ मंसिर २०७६ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App