१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

काली नदीको मुहान नैसीमा

आर.डि. प्रभास

राष्ट्र पनि एउटा सशक्त  शरीर नै हो। त्यसलाई पनि यदाकदा रोगव्याधि लाग्न सक्छ। तर त्यसको निदान उपयुक्त प्रविधि र उपचारद्वारा नहड्बडाइ बेलामै गरिनुपर्छ। होसियार हुनु जरुरी हुन्छ। कतै त्यसले क्यान्सरको स्वरूप ग्रहण नगरोस्। राष्ट्रका सवल र सशक्त अवयव भनुँ वा सेना, त्यो राष्ट्रका जनता हुन्। लिम्पियाधुरा वा काली नदीको प्रश्नमा सम्पूर्ण राष्ट्र एउटै ठाउँमा उभिएको छ। नउभियोस् पनि कसरी ? कुनै औँलामा मात्र खटिरा आए पूरै शरीरलाई प्रभावित पारिरहेको हुन्छ। राष्ट्रको अखण्डता र सार्वभौमिकताको सुरक्षाको सवालमा नेपाल आमाका सन्तति सबै सदैव तत्पर र समर्पित छन् भन्ने कुरा दिनहुँका विविध माध्यमद्वारा स्पष्ट हुँदै आएकोछ। 

कुनै पनि विषयवस्तुको नक्सा कोर्दा त्यसका नियम तथा इथिक्स हुन्छन्। तर हालसालै भारतीय नक्साकारहरूले तथाकथित भारतको नक्सा कोर्दा शताब्दियौँ पुरानो नेपाली सीमाको इतिहास पढेका रहेनछन् वा पढ्ने सोचै  राखेनन् कि ? या आदेश/उपदेश मात्रै पालन गरेर त्यसको परिणाम वा गाम्भीर्यतिरपनि न सोचेकै हो कि ? आश्चर्य लाग्छ।
भारतको बलमिच्याइँको नक्सा प्रकाशित भएपश्चात् सोको खण्डन गर्दै नेपालका इतिहासविद्,भूगोलविद्, राजनीतिकर्मी,सामाजिक अभियन्ता, अन्य विज्ञ,विद्वान्, विदुषी  र अनुभवीहरूले लिम्पियाधुराबाट बग्ने  काली नदीको मुहान नै नेपाल–भारतको सीमा भएको किटानीसाथ स्पष्ट पारिसकेका छन्। यसै सन्दर्भमा मेरो संकलनमा रहेका सोसम्बन्धी केही तथ्य पनि प्रस्तुत गरिरहेको छुः

हालसालै भारतीय नक्साकारहरूले तथाकथित भारतको नक्सा कोर्दा शताब्दियौँ पुरानो नेपाली सीमाको इतिहास पढेका रहेनछन् वा पढ्ने सोचै  राखेनन् कि ?

दिन/प्रतिदिन कथ्यमै चलिरहेका भाषाहरू दिनहुँ लोप हुँदै गइरहेका समाचार सुनेर म आत्तिएँ। तोतेबोलीबाटै फुटेको मेरो वाक्यपनि मासिन्छ कि भन्ने पीरले वि. सं. २०३९ को एक वरद बेलामा कÞलम उठाएर डोट्याली बृहत् शब्दकोशका निम्ति शब्द संकलन गर्ने अठोट साह्रै कष्टसाध्य अभियानमा एकलव्य भएर हिँडिरहेँ । शब्द संकलन मात्रै नभएर शब्दसम्बन्धी भेटाएका अन्य विवरणलाई पनि प्रविष्टिसँग उल्लेख गर्दै गएँ। त्यतिबेला आजको जस्तो कम्प्युटरको सुविधा थिएन। झण्डै दुई दशक पूरा हुनुमै थिए। एकाएक अपरिचित व्यक्ति आएर त्यो शब्दकोश सम्बन्धमा मेरो अन्तर्वार्ता लिन थाल्नुभयो बानेश्वरस्थित मिलन चोकको एउटा साँघुरो कोठामा। पछि थाहा भो उहाँ कान्तिपुर दैनिकका वरिष्ठ सञ्चारकर्मी गुणराज हुनुहुन्छ भनेर। सर्वप्रथम उहाँले नै घाम लाग्ने  आँगनीमा यो कार्य उभ्याउनुभयो। कहिल्यै न बिर्सिने गुण भयो यो।

दुई दशक लगाएर पूरा भएको शब्दकोशमा ४० हजÞारभन्दा पनि बढी प्रविष्टि छन्। यसमा नेपालका वरिष्ठ भाषाविद् प्रा. बालकृष्ण पोखरेल,प्रा. डा. माधव प्र. पोखरेल, प्रा. डा. चूडामणि बन्धु जस्ता विद्वान्हरूका मननीय अभिमत छन्। मिति २०५८ भाद्र ३० गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट  विमोचन भएको थियो, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको समुपस्थितिमा यस ग्रन्थ। यो शब्दकोश  प्रायः विश्वका नाम चलेका सबै पुस्तकालयमा अभिलिखित हुनेगरी पठाइएको छ। काशी हिन्दुविश्वविद्यालय, नेहरू विश्वविद्यालय दिल्ली आदिका लाइब्रेरीमा पनि उक्त  ग्रन्थ छ। हिन्दी,मैथिली,भोजपुरी जस्ता भारोपेली भाषाका निम्ति त्यो विवरण बोधगम्य पनि छ। त्यसै शब्दकोशको पृष्ठ ७२९–७३०मा लिम्पियाधुराको प्रविष्टिसँगै उल्लेख गरिएको विवरण यसप्रकार छ ः

‘लिम्पियाधुरा’ (ना.) काली अर्थात् महाकालीको मुहान। महाकालीको ऊद्गम क्षेत्रको सीमाको वास्तविकता पत्ता लगाउन जनस्तरमा वि. सं. २०५५ आसार १२ गते गठित नापी(विज्ञ, राजनीतिकर्मी, बुद्धिजीवीसमेत सम्मिलित समितिले १५ महिना लामो अनुसन्धानबाट प्राप्त पुराना लिखित र नक्सा प्रमाणका आधारमा लिम्पियाधुरा नै महाकालीको मुहान भएको ठहर गरेकोछ।समितिले सुगौली सन्धि हुनुभन्दा दुई महिनाअघि बनेका नक्सा, तत्कालीन ब्रिटिस इन्डियाका पदाधिकारीले नेपालस्थित ब्रिटिस राजदूतावासलाई कालीनदी सीमा सम्बन्धमा पठाएको पत्र,काली नदीदेखिभित्र परेका सम्पूर्ण जमिनको तिरो तिरेको मालपोत कार्यालयलगायतका महत्वपूर्ण कागजातका आधारमा उक्त कुरा एकिन गरिएको हो।अनुसन्धानको क्रममा संकलन गरिएका बीसवटा पुराना नक्सामध्ये कतिपयमा लिम्पियाधुराबाट निस्केको नदीलाई नै स्पस्टरूपमा कालीनदी नामाङ्कन गरिएकोछ।

सन् १८१७ फेब्रुअरी ४ मा तत्कालीन ब्रिटिस इन्डियाका कार्यबाहक मुख्य सचिव जे आदमले काठमाडाँैस्थित ब्रिटिस रेजिÞडेन्टलाई लेखेको पत्रमा सुगौली सन्धि मुताविक काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतका ठाउँ नेपालको ठहर्छ भनी उल्लेख छ।

कतिपय नक्सामा नेपालको उत्तर पश्चिम सिमानाको अन्तिम विन्दुलाई लिम्पियाधुरा अंकित गरेकोछ भने कतिपयमा कालीनदीलाई कुटियाङ्दी भनिएकोछ।सन् १८५६ देखि हालसम्मका अनेकौँ नक्सामा लिम्पियाधुराबाट निस्केको नदी नै वास्तविक कालीनदी हो भनेर उल्लेख गरिएकोछ।केही नक्सामा भने कालीनदीलाई सर्जु, घाग्रा र गोग्रा पनि उल्लेख गरिएकोछ।२ जनवरी १८१६ को नक्सा सुगौली सन्धि हुनुभन्दा करिब २ महिनापहिले ४ मार्च १८१६ मा ब्रिटेनका राजाका हाइड्रोग्राफरले बनाएको नक्सामा कालीनदी गोग्रा वा सरजको पश्चिमी शाखा भनी उल्लेख छ। सन् १८१९ मा तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारको सर्भे अफ इन्डियाले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाटै निस्किएको नदीलाई काली भनी  लेखिएको छ।

त्यसैगरी इस्टइन्डिया कम्पनी सरकारले नै ब्रिटिस संसदीय ऐनमुताबिक सन् १८२७ फेब्रुअरी १ मा तयार पारिएको नक्सामा पनि काली नै अंकित छ। सुगौली सन्धिको लगत्तै ब्रिटिस इन्डिया सरकारका वरिष्ठ पदाधिकारीहरूले काठमाडौँस्थित रेजिडेन्टलगायत कुमाउका प्रशासकहरूलाई पटकपटक पठाएका पत्रहरूमा कालीनदीको पूर्वमा पर्ने सम्पूर्ण गाउँ नेपालकै सिमानाभित्र पर्ने उल्लेख छ।सन् १८१७ फेब्रुअरी ४ मा तत्कालीन ब्रिटिस इन्डियाका कार्यबाहक मुख्य सचिव जे आदमले काठमाडाैंस्थित ब्रिटिस रेजिडेन्टलाई लेखेको पत्रमा सुगौली सन्धि मुताविक काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतका ठाउँ नेपालको ठहर्छ भनी उल्लेख छ। त्यतिबेला कालीपूर्वको व्यासप्रगन्ना भन्नाले छाङ्रु,टिङ्कर, गÞुंजी,नावी,कुटी, धुलिगडा आदि गाउँ सम्मिलित क्षेत्र बुझिन्छ।

त्यस्तै २२ मार्च १८१७ मा जे आदमले कुमाउका प्रशासकलाई दिएको निर्देशनपत्रमा काली नदीपूर्व पर्ने व्यास प्रगन्नाका सारा गाउँ र जमिन पहिले कुमाउ क्षेत्रअन्तर्गत पर्ने भए तापनि अब सुगौली सन्धिअनुसार नेपाल अन्तर्गत पर्छन् र ती गाउँ नेपाललाई सुम्पन आनाकानी गर्नु एकदमै अवाञ्छनीय हो भनी उल्लेख छ। योगी नरहरिनाथद्वारा प्रकाशित सन्धिसंग्रहमा दिइएको सन् १८१७को १२ व्यास १४ चौदसका टिंकर दुई गाउँलाई सूचना भन्ने कौषीतोषाखानाबाट प्राप्त ऐतिहासिक पत्रले पनि कालीपूर्वका गाउँहरू सुगौली सन्धिको लगत्तै पछि नेपालको अधीनमा छन् भन्ने देखाएको छ। यसका अतिरिक्त वि. सं. १९९७ मंसिर २७ गतेसम्म पनि छाङ्रु,टिङ्कर,गुदी,गुजी, गब्र्याङ,नब्याल आदि गाउँको तिरो नेपालको बैतडी मालमा तिरेको अभिलेख हालसम्म सो मालमा सुरक्षित छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App