६ आश्विन २०७७ मंगलबार
विचार

अझै डेंगीको डर

दसैंं, तिहार, छठजस्ता प्रमुख चाडपर्व सकिएसँगै मुलुकमा चिसो मौसम सुरु हुन्छ। यो मौसममा प्रदूषण र अन्य संक्रमणबाहेक लामखुट्टेको टोकाइ आदिबाट भने मुक्ति मिल्छ। वातावरणीय हिसाबले अहिले राजधानीको अवस्था थप सहज बन्दै जानुपर्ने हो। तर अझै काठमाडौं उपत्यकामा डेंगीको संक्रमण फैलिरहेको खबर आइरहेको छ, जुन ज्यादै चिन्तालाग्दो कुरा हो। गर्मी मौसममा यसपटक उपत्यकालगायत देशका विभिन्न स्थानमा डेंगीले आतंक  मच्चाएको हामीले बिर्सिसकेका छैनौं। त्यसमा पनि डेंगीको संक्रमण बर्सेनि झन्झन् भयावह बन्दै जाने खतरा पनि विशेषज्ञहरूले संकेत गरिरहेका छन्। डेंगी संक्रमण गराउने लामखुट्टेले पारेका अन्डा लामो समयसम्म सुरक्षित रहन सक्ने र अनुकूल अवस्था आउनासाथ त्यसैबाट थप वृद्धि हुन सक्ने क्षमता त्यसमा हुन्छ। यस आधारमा पनि यसको संक्रमणबाट बच्न हरेक वर्ष सफाइ र यसको प्रभाव न्यूनीकरणका निम्ति आवश्यक पहल गर्नुपर्ने अवस्था देखिन्छ। आगामी वर्ष यो नफैलियोस् भनेर पूर्वतयारी गर्नु उचित हुन्छ। रोग लागेर उपचार गर्नुभन्दा रोेग लाग्न नदिनु नै बुद्धिमानी हो। त्यसका लागि खासगरी स्वास्थ्य मन्त्रालयको ध्यान यसतर्फ जानु आवश्यक छ।

जाडो मौसममा डेंगीको संक्रमण हुने क्रम अन्त्य भइसक्नुपर्नेमा काठमाडौंमा अहिलेसम्मै यसका बिरामी पाइएपछि चिकित्सक नै आश्चर्यमा परेका छन्। काठमाडौंका कलंकी, कुलेश्वर, कालीमाटी, टेकु, बालाजु र नयाँबजारआसपास अझै यसको संक्रमण कायम रहेपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। चिकित्सकहरूले विभिन्न माध्यमबाट यसबारे चर्चा चलाइरहेकै छन्। त्यति मात्र होइन, उनीहरूले सामाजिक सञ्जालमा समेत यसप्रति चिन्ता सार्वजनिक गरिरहेका छन्। ललितपुरका सानेपा, जवलाखेल र भक्तपुरमा समेत डेंगी संक्रमित बिरामी फेला परेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का चिकित्सकले यो मौसममा समेत दैनिक ५ देखि ७ जनासम्म डेंगीका बिरामी आइरहेका बताएका छन्। उक्त अस्पतालमा आउने बिरामीको संख्या हेर्दा अन्य अस्पतालमा पनि डेंगीका बिरामी गएको अनुमान गर्न सकिन्छ। चिसो मौसम आइहाल्यो भनेर अहिले डेंगीजस्तो संक्रमणमा हेल्चक्र्याइँ गर्न मिल्दैन। चिसो मौसम सुरु भएपछि डेंगीको समस्या हट्ला भन्ने अनुमानविपरीत यो फैलिरहेको छ भने निश्चय पनि लामखुट्टेको प्रतिरोध क्षमता बलियो हुँदै गएको हुन सक्छ । त्यसैले यसबारे थप अध्ययन÷अनुसन्धान गराउन विश्वविद्यालय र अन्य संस्था सक्रिय हुन आवश्यक देखिन्छ। यस विषयमा सरोकारवाला स्वास्थ्य मन्त्रालयको थप सक्रियता जरुरी छ।

जाडो मौसममा पनि डेंगी संक्रमण देखिएका आधारमा अन्य रोग संक्रमणमा पनि यस्तै परिवर्तन आइरहेको अनुमान गर्न सकिन्छ। तसर्थ त्यसतर्फ पनि ध्यान दिन आवश्यक छ। डेंगीका नयाँ बिरामी देखिएकाले सर्वसाधारणलाई सधैं यसप्रति सतर्क गराउन जानकारीमूलक सन्देश दिन पनि उत्तिकै आवश्यक छ। हामीकहाँ कतिपय रोग लागिसकेपछि उपचारका लागि राज्यले सहयोग÷अनुदानसमेत दिने गरेको छ। तर त्यसो गर्नुभन्दा रोग रोकथाम र जनचेतनाका निम्ति खर्च गर्ने प्रक्रिया थालनी आवश्यक हुन्छ। ‘स्मार्ट’ सरकारहरूको ध्याउन्न रोकथामतर्फ हुने गर्छ। यस सन्दर्भमा अन्य मुलुकतिरको पनि अनुभव हेर्न सकिन्छ। हामीकहाँ रोगको संक्रमण र त्यसका कारणबारे कमै अध्ययन हुने गर्छन्। तर, डेंगीका सन्दर्भमा केही अध्ययन भएका छन्। अहिले जाडो मौसममा पनि यो देखिएको छ भने यसबारे फेरि अध्ययन आवश्यक छ। स्वयं चिकित्सकहरूले यसबारे थप अध्ययन आवश्यक रहेको बताएका छन्। यसबाहेक डेंगी संक्रमण भएका क्षेत्रमा लामखुट्टे र यसका अन्डा नष्ट गर्ने अभियानमा समेत लाग्नुपर्ने देखिन्छ। यसका अन्डा सुरक्षित रहन सक्ने ठाउँ पहिचान गरी नष्ट गर्ने कार्यमा लाग्नु आवश्यक छ। जाडो मौसममा हुने अन्य विभिन्न रोगको संक्रमणमा पनि सतर्कता आवश्यक हुन्छ। जताततै धुवाँ, धुलो र प्रदूषणले गर्दा रुघाखोकी, काठमाडौंको एउटा सदाबहार संक्रमणजस्तो बनेको छ। राजधानीका केही सडकमा अहिले कालोपत्रे भएका छन्। तर धेरै ठाउँमा निर्माण पूरा नभएका कारण धुलो उडेको देखिन्छ। बर्खा याममा पानी परिरहने हुनाले कम्तीमा प्रदूषणप्रति त्यति चिन्ता गर्नुपर्ने अवस्था रहँदैन। तर जाडोमा प्रदूषण राम्ररी उडेर जान नसक्ने र राजधानीमा सवारीसाधन पनि धेरै भएका कारण थप धुवाँधुलो जमिनको सतहभन्दा माथि बसिरहने गर्छ। यसले राजधानीवासीलाई थप संक्रमणको समस्या हुन्छ। अतः यो जाडोमा समेत डेंगीको संक्रमण देखिनुलाई यसतर्फको सतर्कता अपनाउनुपर्ने संकेतमा रूपमा लिनु आवश्यक छ।

प्रकाशित: १८ कार्तिक २०७६ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App