२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

मिडियामा महिला विभेद

नेपाली मिडियामा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै कम छ। टेलिभिजन, रेडियो र अनलाइनमा हुने बौद्धिक बहसमा आक्कल झुक्कल मात्र, महिलालाई सहभागी गराइन्छ। साप्ताहिक, मासिक वा पाक्षिक पत्रिकाहरूमा मात्र हैन, देशका प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकामासमेत लैंगिक विभेद डरलाग्दो छ।

अधिकतर पत्रिकामा महिलाका समाचार भित्री पृष्ठतिर थन्किन्छन्। लेखहरू पत्रिकाका पुछार वा कुनातिर फ्याँकिन्छन्। यसको कारण के हुन सक्छ ? महिलाहरू स्तरीय लेख्नै सक्दैनन् वा सम्पादकहरू उचित स्थान दिदैनन् ? केही महिला लेखिका र नेत्री भेट्दा उनीहरू पत्रिकामा लेख पठाएको तर नछापिएको वा उचित स्थान नदिइएको गुनासो गर्छन्।

पत्रपत्रिकामा लेख÷रचना र समाचार प्रकाशनमा मात्र होइन, महिला र पुरुषलाई दिइने पारिश्रमिकमा पनि विभेद छ।

लेख÷रचना शाखामा काम गर्ने केही पुरुष पत्रकार(अधिकतर पत्रिकाका लेख÷रचना शाखामा पुरुष मात्रै कार्यरत छन्) महिलाबाट नियमित लेख÷रचना नआउने र आएका पनि गुणस्तरीय नहुने खुलस्तै बताउँछन्। ठूला मिडियामा प्रमुख स्थान ओगटेका प्रायः सबै समाचारका स्रोत पुरुष राजनीतिज्ञ नै हुने गर्छन्। महिला नेताहरू मिडियाले आफूहरूलाई महŒव नै नदिएको बताउँछन्। अनि रिपोर्टरहरू अधिकतर महिला नेताले टेलिफोन नै नउठाउने र उठाए पनि उनीहरू समसामयिक राजनीतिमा राम्ररी अपडेट नहुने र कतिपय अवस्थामा सूचना दिन डराउने बताउँछन्।  पत्रिकामा महिलाको उपस्थितिबारे यस लेखमा मैले आफ्नै अनुभवसहित विश्लेषण गरेको छु।

महिलाका लेखहरू
वि.सं २०५७ तिर कान्तिपुर राष्ट्रिय दैनिकमा लेख÷रचना सम्पादन शाखामा कार्यरत थिएँ म। तत्कालीन सम्पादकको इच्छामा उक्त दैनिकमा अञ्जु क्षत्री, मञ्जु थापा र इन्दु तुलाधरका लेखले नियमित स्थान पाएका थिए। त्यसले एक किसिमको हलचल नै ल्याएको थियो। तत्कालीन सम्पादक लैंगिक समानताका लागि महिलालाई उचित स्थान दिएको बताउँथे। तर सहकर्मीहरू पत्रिका अञ्जु÷मञ्जुमय भएको भनी ओठ लेप्र्याँउथे। त्यस बेलासम्म पत्रिकाको छैटौं पृष्ठमा कुनै पनि महिला प्रमुख लेखिकाका रूपमा उभिएका थिएनन्।

महिला समानता र स्वतन्त्रता तबसम्म सम्भव हुँदैन, जबसम्म मिडियामा महिलाको बाक्लो र प्रभावकारी उपस्थिति हुँदैन।

अञ्जु क्षेत्रीको ‘आर्टिकल’ दृष्टिकोण पृष्ठमा मुख्य लेख बनेर छापिएकाले मात्र होइन, उनले उठाउने विषय पनि कतिलाई पच्ने खालका हुन्थेनन्। किनकि तिनी पितृसत्ताविरुद्ध कडा र आक्रामक प्रहार गरिरहन्थिन्, आफ्ना लेखमार्फत। त्यसबेला अञ्जु ,मञ्जु र इन्दु तीन लेखिकाबाहेक अन्य महिलालाई पनि लेख्न अनुरोध नगरिएको होइन। त्यसबेला उक्त पत्रिकाको सातौं पृष्ठका लागि महिला राजनीतिज्ञ, सामाजिक कार्यकर्ता र अन्य लेखिकालाई लेख पठाउन मैले पनि पटकपटक आग्रह गरेकी थिएँ। अधिकतरले कहिल्यै लेखेनन्। केहीले लेखे। दुःखसाथ भन्नुपर्छ– नाम चलेका, पटकपटक मन्त्री र अन्य पदमा रहेका केही महिलाको लेख भाषाशैली र विषयवस्तु दुवै दृष्टिले कमजोर थिए। त्यसैबेला मैले अनुभव गरेकी थिएँ– एकातिर हामी महिलाले आफ्नै क्षमता अभिवृद्धिका लागि संघर्ष गर्नु जरुरी छ भने अर्कातिर मिडियामा व्याप्त लैंगिक विभेदविरुद्ध लड्न आवश्यक छ।

हो, विद्यमान पितृसत्तात्मक सामाजिक संरचनालाई महिलाको पछौटेपनको कारण ठानिन्छ। बच्चा हेर्ने र पारिवारिक कामको बोझले आफूलाई सक्षम बनाउन नसकिएको तर्क अघि सार्न सकिन्छ। तर अहिले अधिकतर  महिला लामो समय अविवाहित बस्छन्। सहरी क्षेत्रमा मात्र हैन, ग्रामीण क्षेत्रमा पनि दुइटाभन्दा बढी सन्तान जन्माइँदैन। श्रीमान् र परिवारबाट घरायसी काम र बच्चाको स्याहारमा ठूलो सहयोग प्राप्त हुन थालेको छ। यस्तो अवस्थामा महिलाले घरपरिवार र समाजलाई मात्रै दोष दिनुको सट्टा आफ्नो ‘सेल्फस्टिम’ बढाउन  जरुरी छ। अर्कातर्फ यो पनि सत्य हो– अधिकतर पत्रिकाले लेखको गुणस्तरका आधारमा भन्दा लेखकको पद र सामाजिक प्रतिष्ठा हेरेर स्थान दिन्छन्। पुरुष पत्रकारहरूमा महिलाले राम्रो लेख्दैनन् र गम्भीर विषयमा लेख्न सक्दैनन् भन्ने पूर्वाग्रही सोच बढी नै छ। महिलाका लेख र समाचार स्तरीय नै भए पनि कुनातिर फ्याँकिदिनु एक किसिमको संस्कारजस्तै बनेको छ। पछिल्ला वर्षहरूमा दैनिक पत्रिकाहरूले लैंगिक विभेदमा कमी ल्याउने प्रयत्न गरेको देखिन्छ। विगतमा हस्ती मानिएकाहरूको भन्दा नयाँ विचार बोकेका युवाका लेख÷रचना अग्रस्थानमा छापिन थालेका छन्। महिलाले पनि अलिकति उच्च स्थान पाउन थालेका छन्।

तैपनि केही अपवादबाहेक महिला अझै स्तम्भकारका रूपमा उभिएका छैनन्। अधिकतर लेखिका महिला, नारीवादी चरित्र, एनजिओ र बालबालिकाका विषयमा मात्रै केन्द्रित छन्। मानौं, महिलाले अरू समसामयिक विषयमा कलम चलाउनै हुन्न। महिला लेखिकाले गुणस्तर सुधारमा केन्द्रित हुने र पत्रिकाले लैंगिक समानताका लागि पहल गर्ने हो भने पक्कै अवस्था सुधारिनेछ। केही पत्रिकाले राजनीति र निजामती प्रशासनको देखासिकी गर्दै आरक्षणकै शैलीमा हरेक दिन गुणस्तरीय भए पनि नभए पनि एउटा महिलाको लेख छाप्ने गरेका छन्। यसबाट सम्पादकहरू कति पुरातन सोच बोक्छन् भन्ने प्रस्ट हुन्छ। महिलाका लेख आरक्षणमा होइन, गुणस्तरकै आधारमा छापिन पर्छ। यसो भयो भने कुनै दिन पत्रिकामा सबै महिला लेखकका लेख पनि आउन सक्छन्, जसरी उनीहरूका पुरुष समकक्षीका लेख छापिने गरेका छन्। कुनै दिन महिलाको कुनै लेख नछापिन पनि सक्छ।

समाचारमा महिला
हाम्रा पत्रिकाका प्रथम पृष्ठ सधैं राजनीतिक समाचारले भरिन्छन्। पत्रिकामा कार्यरत पत्रकार महिला कमै मात्र राजनीतिक समाचार लेख्छन्। राजनीतिक समाचार नलेखेपछि महिला पत्रकार स्वतः भित्री पृष्ठतिर धकेलिन्छन्। दुई दशकअगाडि दैनिक पत्रिकामा पत्रकारका रूपमा कार्यरत रहँदा मेरा अधिकतर  समाचार प्रथम पृष्ठमै छापिन्थे। त्यस बेलाका सम्पादकहरू महिलालाई राजनीतिक ‘बिट’ दिनुपर्छ भन्ने ठान्दैनथे। आफूलाई दिइएको अन्य बिटका समाचार गर्नुको सट्टा राजनीतिक विषयवस्तुमा केन्द्रित भएर मात्र मैले आफ्नो स्थान सुरक्षित गरेको हैन, बरु अन्य सामाजिक विषयवस्तुलाइ पनि उत्तिकै प्राथमिकता दिनुपर्छ भनी बारम्बार आवाज उठाएकाले मेरा समाचार सधैं अग्रस्थानमा छापिएका थिए।

अहिले पनि विभिन्न पत्रिकामा कार्यरत पत्रकार महिला आफ्ना समाचार प्रथम पृष्ठमा नछापिएको गुनासो गरिहन्छन्। पत्रकार महिलाले आफ्नो उपस्थिति प्रभावकारी बनाउन सबैभन्दा पहिले समसामयिक समाचार के हो, बुझ्न सक्नुपर्छ। समाचार यसरी लेख्नुपर्छ ताकि आफूलाई मन नपराउने सम्पादकले पनि फाल्न नसकुन्।

महिला नेताहरूले पनि मिडियामा छाउन क्षमता प्रदर्शन गर्नैपर्छ। सधैंभरि आरक्षणमा सांसद हुने रहर पाल्नेहरूलाई त केही भन्नु छैन, तर राजनीतिमा पद होइन, प्रभाव जमाउन चाहने नेत्रीहरूले भने यस विषयमा सोच्नैपर्ने हुन्छ। उनीहरूले नेतृत्व क्षमता निखार्ने र आफ्नो ‘इमेज कन्स्ट्रक्सन’ गर्ने हो भने मिडियामैत्री हुनैपर्छ। यसका लागि उनीहरूले सूचनामा पहुँच कायम गर्ने र सूचना दिन नहिचकिचाउने बानी बसाल्न जरुरी छ। लाग्दैन, राम्रो सूचना र विश्लेषण क्षमता भएका नेत्रीहरूलाई मिडियाले सधैं पन्छाइरहनेछन्। क्षमता देखाउन र क्षमता निखार्न अवसर त चाहिन्छ, तर त्यो भन्दा बढी समर्पण, मिहिनेत र अध्ययन जरुरी छ। नेत्री हुन सजिलो छ, तर नेतृत्व विकास गर्न गाह्रो।

पारिश्रमिकमा विभेद
पत्रपत्रिकामा लेख÷रचना र समाचार प्रकाशनमा मात्र होइन, महिला र पुरुषलाई दिइने पारिश्रमिकमा पनि विभेद छ। महिला र पुरुष  दुवैथरी लेखकसँग कहिलेकाहीं म उनीहरूको लेखलाई दिइने  पारिश्रमिकबारे सोध्ने गर्छु, अनि थाहा पाउँछ–ु त्यहाँ पनि लैंगिक  विभेद छ। तुलनात्मक रूपमा महिला लेखिकाले कम पारिश्रमिक पाएका छन्। पत्रिकाले दिने लेखकत्व केवल पैसा मात्र होइन, त्यो त सम्मान, समानता र आत्मसन्तुष्टिसँग जोडिएको विषय पनि हो। पत्रिकामा आफूले भन्दा नराम्रो लेख्ने पुरुषहरूले बढी पारिश्रमिक पाउँदा महिलाको अपमान र अवमूल्यन हुन्छ नै। पत्रकार महिलाको अवस्था त झन् दयनीय छ। उनीहरू मासिक तबल नै कम पाएको गुनासो गर्छन्। विभिन्न शीर्षकमा दिइने सेवा–सुविधा र भत्ता पनि पत्रकार महिलाले कम पाउने गरेको पीडितहरू बताउँछन्।

हुन त नेपालमा मात्र हैन, संसारभरि नै मिडियामा महिलालाई विभेद गरिएको छ। अमेरिकाको विमन मिडिया सेन्टरले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार त्यहाँ पनि पत्रिकाको बाइलाइन र क्यामेरामा पुरुषले ६४ प्रतिशत ओगटेका छन् भने महिला ३६ प्रतिशत मात्र छन्। वालस्ट्टी जर्नल, न्युयोर्क टाइम्स र सिकागो टाइम्सजस्ता प्रतिष्ठित पत्रिकाहरूमा पनि पुरुषकै लेख÷रचनाले बढी स्थान पाउँछन्। विश्वभर लोकप्रिय  न्युयोर्क टाइम्समा त झन् पुरुष र महिलाको विभेद सबैभन्दा बढी छ। युरोपमा पनि मिडियामा महिला असमानता छ। मिडियामा हुने लैंगिक विभेदमा विकसित देशले बहस गर्न थालेको लामो समय भइसकेको छ। मूलधारका मिडियाले महिलाका मुद्दालाई राम्ररी उठान नगरेकाले र महिला लेखिकालाई कम महŒव दिने गरेकाले वैकल्पिक मिडिया पनि जन्मेका छन्। नेपालमा भने भर्खरै यो विषयमा फाट्टफुट्ट बहस हुन थालेका छन्। प्रश्न पनि उठ्न सक्छ– किन आवश्यक छ, मिडियामा महिलाको प्रभावकारी उपस्थिति ? मिडियाले आम मानिसको धारणा बनाउन महŒवपूर्ण भूमिका खेलेको हुन्छ। मिडिया सामाजिक परिवर्तनको प्रमुख संवाहक हो। अनि लैंगिक समानता कायम गर्ने सबैभन्दा ठूलो शक्ति पनि। महिला समानता र स्वतन्त्रता तबसम्म सम्भव हुँदैन, जबसम्म मिडियामा महिलाको बाक्लो र प्रभावकारी उपस्थिति हुँदैन।

प्रकाशित: १४ आश्विन २०७६ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App