८ वैशाख २०८१ शनिबार
विचार

एन्टिबायोटिक युगको अन्त्य

नेपालमा अझै पनि एन्टिबायोटिक बजारमा सजिलै किन्न पाइन्छ। मेडिकल प्रेसक्रिप्सनबिना औषधि पसलमा खोजे जति एन्टिबायोटिक भेटिन्छ। अधिकांश पसले सकेसम्म बिरामी छिटो निको हुने अर्थात् कडाखालका एन्टिबायोटिक बेच्ने गर्छन्। अस्पताल नपुगी र डाक्टरै नभेटी सजिलै औषधि पाएकामा ग्राहक पनि खुसी नै हुन्छन्। क्षणिक लाभका लागि क्रेता र बिक्रेताबीच हुने यस्तो सौदाबाजीले देशमा दिन÷प्रतिदिन ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोधक क्षमता विकास गर्दै गएको छ।

एन्टिबायोटिकले संक्रमित ब्याक्टेरिया नियन्त्रण गर्छ। एन्टिबायोटिकको डोज (मात्रा) र ब्याक्टेरिया वास्तवमा प्रतिस्पर्धी हुन्छन्। बिरामीले मापदण्डअनुसार तोकिएको एन्टिबायोटिकको डोज पूरा नगरेमा बिस्तारै ब्याक्टेरियाले उक्त एन्टिबायोटिकविरुद्ध लड्ने जैविक क्षमता विकास गर्छ जसलाई एन्टिबायोटिक प्रतिरोधक असर भनिन्छ। त्यसबाहेक संक्रमित ब्याक्टेरियामा भएको हानिकारक जिन अर्को ब्याक्टेरियामा वातावरणीय असरका कारण सर्दा एन्टिबायोटिक प्रतिरोधक गुण विकास हुन्छ। हालसम्म वैज्ञानिकहरूले करिब १ सय ७७ वटा एन्टिबायोटिक्स प्रतिरोधक जिन पहिचान गरिसकेका छन्। पशुपन्छीमा प्रयोग हुने एन्टिबायोटिक खाद्य चक्रमार्फत मानव शरीरमा प्रवेश गर्ने हुँदा त्यसले पनि ब्याक्टेरियालाई प्रतिरोधक क्षमता विकास गर्न मद्दत गर्छ।   

अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार करिब ५० प्रतिशत स्वास्थ्य समस्यामा आवश्यकता नै नभई बिरामीले एन्टिबायोटिक सेवन गर्छन्।

आज एन्टिबायोटिक प्रतिरोधक समस्याले विश्वलाई हल्लाएको छ। स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपेको छ। अमेरिकामा मात्र प्रतिवर्ष २३ हजार मानिसको मृत्यु यसै कारण हुने गरेको अनुमान छ। मानिसको परिवर्तित जीवनशैली, वातावरणीय असन्तुलन र एन्टिबायोटिकको गलत प्रयोगका कारण संसारमा नै औषधि प्रतिरोधक ब्याक्टेरियाहरू बढ्दै गएका छन्। अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार करिब ५० प्रतिशत स्वास्थ्य समस्यामा आवश्यकता नै नभई बिरामीले एन्टिबायोटिक सेवन गर्छन्। आगामी दिनमा एन्टिबायोटिक प्रतिरोधक समस्याले विश्वमा विकराल समस्या निम्त्याउने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ। संयुक्त राष्ट्र संघ पनि यो समस्यासँग जुध्न क्रियाशील नै छ। यस्ता बहुपक्षीय प्रयासका फलस्वरूप स्वास्थ्य क्षेत्रमा केही सुधारका सङ्केत पनि देखिएको छ। सन् २००५ र सन् २०१५ को बीच विश्वमा संक्रमित रोगबाट मृत्यु हुनेको सख्या बीस लाखले घटेको अनुमान छ। तथापि शोधकर्ताका अनुसार एन्टिबायोटिक प्रतिरोधक समस्याले मृत्यु हुनेको संख्या भने विश्वमा बढ्दो छ।

सन् २०१८ औषधि विकासका क्षेत्रमा महŒवपूर्ण नै रह्यो। अमेरिकामा सार्वजनिक स्वास्थ्य र खाद्य मामलामा निगरानी राख्ने संस्था ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडिए) ले गत वर्ष ५९ वटा औषधि बजारमा पठाएको छ। जसमा मुख्यतः क्यान्सरका औषधिको बाहुल्यता छ। यसमा नयाँ एन्टिबायोटिक पर्दैनन्। अचेल पश्चिमा मुलुकको ध्यान क्यान्सर र जेनेटिक रोगको उपचारमा बढी केन्द्रित भएकोले फर्मास्युटिकल र केमिकल साइन्सका शोध साना (स्मल) मलिक्युललाई कसरी औषधिमा रूपान्तरण गर्ने भन्नेमा बढी केन्द्रित भएको पाइन्छ। त्यसैले सन् २०१८ मा ‘एफडिए’ ले अनुमोदन गरेका औषधिमध्ये चौसट्ठी प्रतिशत ‘स्मल मलिक्युल’ र बीस प्रतिशत एन्टिबडीसम्बन्धी औषधि परेका छन्।

हाल विश्वको ध्यान ‘स्मल मलिक्युल’ मा आधारित अनुसन्धानमा केन्द्रित भएको पृष्ठभूमिमा गत वर्ष रसियन वैज्ञानिकहरूले १ लाख २५ हजारभन्दा बढी  त्यस्ता ‘स्मल मलिक्युल’ मा अनुसन्धान गरी एक नयाँ एन्टिबायोटिक पत्ता लगाए पनि क्लिनिकल ट्रायलमा त्यो मानव शरीरका लागि केही विषालु देखिएपछि बजारमा आउन सकेन। वास्तवमा कुनै एक नयाँ औषधि (एन्टिबायोटिक) विकास गर्न एक अर्ब डलर खर्च साथै लामो र जटिल परीक्षण चक्र पूरा गर्नुपर्छ।  

हाल ‘स्मल मलिक्युल’ औषधिको बजार हिस्सा करिब ३० हजार मिलियन डलर छ र यसको माग प्रतिवर्ष करिब ८ प्रतिशतले बढ्दै गएको अनुमान छ। निको नहुने दीर्घ रोगको उपचारमा ‘स्मल मलिक्युल’ को उपयोगिता बढ्दै गएपछि यसको माग बजारमा दिन÷प्रतिदिन बढ्दै गएको हो। सिन्थेटिक वा नेचुरल जुनसुकैखालको ‘स्मल मलिक्युल’ पनि भावी औषधि हुन सक्छन्।

एन्टिबायोटिकको विकासमा आएको शिथिलता र बढ्दो प्रतिरोधक ब्याक्टेरिया जस्ता कारणले गर्दा दोस्रो विश्व युद्धपछि सुरु भएको एन्टिबायोटिक युगको अन्त्य छिटै हुने वैज्ञानिकहरूको ठहर छ। ‘स्मल मलिक्युल’ नै भए पनि एन्टिबायोटिकको प्रमुख स्रोत माटोमा पाइने ‘एक्टिनोमाइसेस’ ब्याक्टेरिया हुन्। बजारमा पाइने करिब ९० प्रतिशत एन्टिबायोटिक ‘माइक्रोबियल नेचुरल प्रडक्ट’ हुन अर्थात् माटोमा पाइने स्ट्रेपटोमाइसेस, मिक्जोब्याक्टेरिया र फङ्सबाट निकालिएको प्राकृतिक रसायन हुन्।  

सन् १९२८ मा पेनिसिलिनको आविष्कार भएपछि सुरु भएको फार्मास्युटिकल उद्योग दोस्रो विश्वयुद्धपछि तीव्र गतिले फस्टाए। त्यसपछि लिभिङ अर्गानिज्मबाट नयाँ एन्टिबायोटिक निकाल्ने अध्ययन÷अनुसन्धान सुरु भयो। वैज्ञानिकले हालसम्म बीस हजार एन्टिबायोटिक्स पत्ता लगाइसकेको अनुमान छ तर त्यसमध्ये ज्यादै थोरै अर्थात् करिब १ सय ३७ प्रकारका एन्टिबायोटिक मात्र औषधिका रूपमा विश्व बजारमा आएका छन्। पछिल्लो समय सन् १९८६ मा ‘डाप्टोमाइसिन’ नामक एन्टिबायोटिक पत्ता लागेपछि हाल ३३ वर्षसम्म अर्को नयाँ किसिमको एन्टिबायोटिक बजारमा आएको छैन। ‘एफडिए’ ले डाप्टोमाइसिनलाई सन् २००३ बाट बजारमा ल्याएको थियो। वैज्ञानिकहरूले विकल्पका रूपमा अचेल कम्बिनेसन (ड्रक्स) एन्टिबायोटिक विकास गरेका छन्, जस्तै– ‘नियोस्पोरिन’ जुन तीन फरक एन्टिबायोटक्सको कम्बिनेसन हो। दुई वा तीन फरक फरक एन्टिबायोटिक्स मिसाएर मनाइने कम्बिनेसन एन्टिबायोटिक कडा प्रकृतिका हुन्छन्। एन्टिबायोटिक जति कडा हुन्छ त्यसले कालान्तरमा नयाँ एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरिया विकास गर्ने निश्चित छ। त्यसैले कम्बिनेसन एन्टिबायोटिक समाधानमात्र होइन, समस्या पनि हुन्।
सन् २०१९ मा नेचर माइक्रोबायोलोजी जर्नलमा प्रकाशित लेखका अनुसार छिमेकी भारतमा १८८ वटा निश्चित डोज भएका कम्बिनेसन एन्टिबायोटक्स बजारमा आएका छन्। जसमध्ये ३६ प्रतिशतले मात्र बजारमा बिक्री वितरण गर्ने सरकारी अनुमति पाएका छन्। त्यसको तुलनामा अमेरिका र बेलायतमा जम्मा ५ वटामात्र त्यस्ता कम्बिनेसन एन्टिबायोटक्सले बजारको अनुमति पाएका छन्। यसबाट प्रस्ट हुन्छ कि तेस्रो विश्वमा एन्टिबायोटिकको प्रयोग सरकारी नियन्त्रण बाहिर छ। नेपाल र भारतको खुला सिमानाका कारण त्यस्ता प्रतिबन्धित एन्टिबायोटक कम्बिनेसन ड्रग नेपालमा पनि भित्रिएको वा लुकीछिपी चलनमा आएको हुन सक्छ। नेपालमा पनि पेनिसिलिन समूहमा एन्टिबायोटक कम्बिनेसन ड्रग ज्यादै प्रचलनमा छ। त्यसैगरी नेपालमा ‘सल्फामेथक्साजोल’ मा पनि एन्टिबायोटक कम्बिनेसन फर्मुला प्रयोगमा छ।

अनुसन्धानमा नयाँ आयाम

एन्टिबायोटिक युगको अन्त्य नहोस् भनेर वैज्ञानिक अनुसन्धान जारी छ। पहिला क्लिनिकल ट्रायलमा पुगेर विविध कारणले थन्किएका एन्टिबायोटिकमा अचेल थप शोध हुँदैछ। दुई फरक ब्याक्टेरिया वा फन्जाइको कोकल्चर गरेर नयाँ एन्टिबायोटिक विकास गर्नेतर्फ पनि अनुसन्धान भइरहेको छ। दशकौँअगाडि पत्ता लागेका ब्याक्टेरिया (एक्टिनोमाइसेस) मा भेटिएका निश्चित एन्टिबायोटिक बायोसेन्थेटिक जिनहरूलाई क्रिस्पर क्यास ९ जस्ता जिन एडिट प्रविधिबाट हटाएर त्यस्ता ब्याक्टेरियामा सुषुप्त अवस्थामा रहेका जिनहरूलाई क्रियाशील गराएर नयाँ किसिमका एन्टिबायोटिकको विकास गर्नेतर्फ वैज्ञानिकहरू लागेका छन्। केही प्रगति पनि भएको छ। त्यसैगरी

एक निश्चित एन्टिबायोटिक बायोसेन्थेटिक जिनहरूमा ‘जेनेटिक म्यानिपुलेसन’ गरेर हाब्रिड ड्रग विकास गर्नेतर्फ पनि अनुसन्धान भइरहेको छ।
एन्टिबायोटिकको मुख्य स्रोत ब्याक्टेरिया नै भएको तर संसारमा पाइने करिब ९९ प्रतिशत त्यस्ता ब्याक्टेरियालाई प्रयोगशालामा सजिलै कल्चर गर्न नसकिने भएकाले हाल त्यस्ता ब्याक्टेरियाबाट एन्टिबायोटिक बनाउने जिनहरू निकालेर कल्चर हुने ब्याक्टेरिया जेनेटिकल्ली घुसाएर नयाँ एन्टिबायोटिक विकास गर्ने शोध पनि पश्चिमा मुलुकमा भइरहेको छ। त्यसबाहेक ‘स्मल मलिक्युल’ को लाइब्रेरीलाई ‘हाइ–थ्रुपुट स्क्रिनिङ’ विधिमार्फत नयाँ एन्टिबायोटिक पत्ता लगाउने अनुसन्धान पनि जारी नै छ। नेपालले सङ्क्रमित ब्याक्टेरिया (बायोफिल्म) नियन्त्रण गर्न वनस्पतिको रसायन प्रयोग गर्ने जस्ता अनुसन्धान गर्न सक्छ। स्मरण रहोस्, माथि उल्लेख गरिएको जस्तो आधुनिक अनुसन्धान गर्न हाल नेपालमा जनशक्ति अभाव भने छैन।

एन्टिबायोटिक जति कडा हुन्छ त्यसले कालान्तरमा नयाँ एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरिया विकास गर्ने निश्चित छ। त्यसैले कम्बिनेसन एन्टिबायोटिक समाधानमात्र होइन, समस्या पनि हुन्।

अन्तमा,   
सरकारले एन्टिबायोटिकको गलत प्रयोग तत्काल रोक्नुपर्छ। बिनाप्रेसक्रिप्सन एन्टिबायोटिकको बिक्री वितरण रोक्नुपर्छ। चिकित्सकले बिरामीलाई अनावश्यक एन्टिबायोटिक दिन बन्द गर्नुपर्छ। कम्बिनेसन एन्टिबायोटक्स चोरी निकासीबाट नेपाल प्रवेश गरेको छ÷छैन, त्यसको सुनिश्चितता राज्यले गर्नुपर्छ। बजारमा औषधीको अनुगमन व्यापक र नियमित हुनुपर्छ। र, त्यसबाट मात्र सङ्क्रमित रोगको स्रोत एन्टिबायोटिकलाई मानव हितमा नियन्त्रण गर्न सकिन्छ। विश्वमा एन्टिबायोटिक युगको अन्त्य हुनबाट रोक्न प्रत्येक देश र समुदाय जवाफदेही हुनुपर्छ।

प्रकाशित: १३ आश्विन २०७६ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App